आज भाद्र कृष्ण औँसी अर्थात् सनातन धर्मावलम्बीहरूको महत्त्वपूर्ण पर्व ‘कुशे औँसी’ घरघरमा पवित्र कुश भित्र्याएर श्रद्धापूर्वक मनाइँदैछ। वर्षभरि गरिने सम्पूर्ण देवकार्य तथा पितृकार्यका लागि आजकै दिन पुरोहितद्वारा मन्त्रोच्चारण गरी उखेलिएको कुश भण्डारण गर्ने धार्मिक एवं शास्त्रीय मान्यता रहिआएको छ। यस दिनलाई सन्तानले आफ्ना जन्मदाता पिताप्रति श्रद्धा, आदर र कृतज्ञता प्रकट गर्दै मीठा परिकार तथा वस्त्र उपहार दिएर ‘बुवाको मुख हेर्ने’ विशेष पारिवारिक पर्वका रूपमा समेत उल्लासका साथ मनाउने गरिन्छ। यही तिथिसँगै आज नेपाली गजल तथा आधुनिक साहित्यका युगप्रवर्तक युवाकवि मोतीराम भट्टको १६१औँ जन्मजयन्ती पनि मुलुकभर साहित्यिक कार्यक्रमका साथ मनाइँदैछ। वि.सं. १९२३ को कुशे औँसीमा जन्मिएर १९५३ सालको कुशे औँसीकै दिन ३० वर्षको अल्पायुमा परलोक भएका राष्ट्रिय विभूति भट्टले भानुभक्तको रामायण प्रकाशमा ल्याउनुका साथै नेपाली भाषा र साहित्यको श्रीवृद्धिमा अतुलनीय योगदान पुर्याएका थिए। यसै अवसरमा नेपाली शिक्षा परिषद् र प्रज्ञा प्रतिष्ठानसहित विभिन्न साहित्यिक संघसंस्थाले कवि सम्मेलन तथा मोती पुरस्कार वितरणजस्ता कार्यक्रम आयोजना गरेका छन्।












