२०८३ भाद्र १८ बिहीबार
२०८३ भाद्र १८ बिहीबार

राष्ट्रिय सभाका सदस्यहरूले भोटेकोशी नदीमा आएको विनाशकारी बाढी र त्यसले निम्त्याएको अकल्पनीय जनधनको क्षतिप्रति गहिरो चिन्ता व्यक्त गर्दै सरकारको ध्यानाकर्षण गराएका छन् । बुधवार बसेको राष्ट्रिय सभाको बैठकको शुन्य समयमा बोल्दै सांसदहरूले बेपत्ता नागरिकहरूको खोजी, प्रभावकारी राहत वितरण र ‘राष्ट्रिय शोक दिवस’ घोषणा गर्न माग गरेका हुन् । बैठकमा बोल्दै सांसद कमला पन्तले मनसुनजन्य विपत्तिका बारेमा संसदमा पटक–पटक पूर्वसावधानीका लागि ध्यान आकर्षण गराउँदा पनि सरकारले बेवास्ता गरेको भन्दै आपत्ति जनाउनु भयो । उहाँले जलवायु परिवर्तनका कारण यस्ता जोखिम बढिरहेकाले चेतावनीलाई बेवास्ता नगरी तत्काल उद्धारमा राज्यको सम्पूर्ण शक्ति परिचालन गर्न आग्रह गर्नुभयो । सांसद मदनकुमारी शाहले बाढीका कारण ९ सय भन्दा बढीको मृत्यु भएको र हजारौँ बेपत्ता भएको जानकारी दिँदै १७ हजारभन्दा बढी बालबालिका प्रभावित भएको बताउनु भयो । उहाँले ‘अरूको विकासको कारण हामीले विनाश भोग्नुपरेको’ उल्लेख गर्दै राष्ट्रिय झण्डा झुकाएर शोक व्यक्त गर्न र सेल्टरमा रहेका महिला तथा बालबालिकाको सुरक्षामा विशेष ध्यान दिन माग गर्नुभयो । 

अर्का सांसद युवराज शर्माले नेपालको कमजोर पूर्वसूचना प्रणालीलाई अत्याधुनिक बनाउनुपर्नेमा जोड दिँदै प्रचारभन्दा पनि परिणाममुखी कार्य गर्न सरकारलाई सुझाउनु भयो ।  उहाँले राहत र पुनस्र्थापनामा ढिलाइ भए महामारीको अर्को सङ्कट निम्तिन सक्ने चेतावनीसमेत दिनुभयो ।  विपद्को समयमा राहत वितरणका लागि अपनाइएको ‘एकद्वार प्रणाली’ले पीडितलाई थप आक्रान्त बनाएको भन्दै सांसद नरबहादुर विष्टले त्यसको कडा निगरानी गर्न आग्रह गर्नुभयो । सांसद नारायणदत्त मिश्रले १५ दिनसम्म सम्पर्कमा नआएका बेपत्ता व्यक्तिहरूलाई मृतक घोषणा गरी प्रक्रिया अघि बढाउन र नदी किनारभन्दा निश्चित दूरीमा मात्र सडक तथा भवन निर्माण गर्ने नीति ल्याउन सुझाव दिनुभयो ।  सांसद जयन्तीदेवी राईले बाटो, बिजुली र सञ्चार विच्छेद भएका कारण राहत पु¥याउन कठिन भइरहेको भन्दै काठमाडौं छिरेका विस्थापितहरूका लागि होल्डिङ सेन्टर र गुम्बाहरूमा उचित व्यवस्थापन गर्न माग गर्नुभयो। यस्तै, सांसद राजेन्द्रलक्ष्मी गैरेले सुरुङ र भग्नावशेषमा पुरिएकाहरूको खोजीमा तदारुकता देखाउन र दीर्घरोगीहरूका लागि औषधिको व्यवस्था गर्न ध्यानाकर्षण गराउनु भयो ।   सांसद सुरेशकुमार आले मगरले विकसित राष्ट्रहरूको पुँजीवादी विकासका कारण वातावरणीय सन्तुलन बिग्रिएको र त्यसको मूल्य नेपालजस्ता मुलुकले चुकाउनुपरेको भन्दै अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउन सरकारसँग माग गर्नुभयो । सांसद सोनाम ग्याल्जेन शेर्पाले विपद्को यस घडीमा सबै एकजुट हुन आह्वान गर्दै उद्धारमा खटिएका सुरक्षाकर्मी र सङ्घसंस्थाप्रति आभार व्यक्त गर्नुभयो ।  बैठकमा सांसद भुवनबहादुर सुनारले मुलुक विपत्तिमा परेका बेला प्रधानमन्त्रीको मुस्ताङ भ्रमण र त्यहाँ भएका भेटघाटहरूका विषयमा जनस्तरबाट उठेका आशङ्काहरूबारे स्पष्ट पार्न माग गर्नुभयो । सांसदहरूले बाढीमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरेका छन् । 

भोटेकोशीमा आएको बाढीका कारण रसुवामा निर्माणाधीन २१६ मेगावाट क्षमताको अपर त्रिशूली–१ जलविद्युत आयोजनाको सुरुङमा सम्पर्कविहीन भएका कर्मचारी तथा प्राविधिकको उद्धारमा ढिलाइ भएको भन्दै आफन्तहरुले दबाबमूलक अभियान चलाएका छन् ।  मंगलवार सम्पर्कविहीन भएका प्राविधिक तथा कर्मचारीका आफन्तहरुले आयोजनाको निर्माण कम्पनी नेपाल वाटर एण्ड इनर्जी डेभलपमेण्ट कम्पनीमा गएर यथाशिघ्र उद्धार गर्न दबाब दिएका छन् । काँकडभिट्टाका कृष्ण खरेलले बाढी गएको सातौँ दिनपछि बल्ल उद्धार कार्य शुरु गरिएको भन्दै आक्रोश व्यक्त गर्नुभयो । उहाँले आयोजनामा फसेका नागरिकमाथि राज्य र निर्माण कम्पनीले पशुवत् व्यवहार गरेको आरोप पनि लगाउनु भयो । आयोजनाको कार्यालय बाढीले बगाएकाले सम्पर्कविहीन भएका कर्मचारीको यकिन तथ्यांक नरहेको जानकारी दिँदै निर्माण कम्पनीले संवेदनहीन व्यवहार गरेको उहाँको भनाइ छ । खरेलले आफन्तको खोजी आफैँ गर्न खोज्दा सरकारले अनुमति नदिएको र सरकार स्वयंले समेत उद्धार नगरेको बताउनु भयो । उहाँले उद्धारका लागि हेलिकप्टर उपलब्ध नभएको जानकारी पाएपछि पीडितहरुले सोमवार साँझ कम्पनीको कार्यालयमा तोडफोड गर्नुपरेको पनि बताउनु भयो । उहाँले बाढीपछि ४३ जना आयोजनाको सुरुङमा रहेको जानकारी आफूले प्राप्त गरेको समेत बताउनु भयो । 

उहाँले भन्नुभयो,‘अपर त्रिशूली–१ जलविद्युत आयोजनामा कार्यरत कर्मचारी तथा प्राविधिकहरुमाथि पशुवत व्यवहार भइरहेको छ निर्माण कम्पनी र राज्यको तर्फबाट । आयोजनामा फसेर सम्पर्कविहीन भएका कर्मचारीको खोजी हिजोदेखि मात्र शुरु गर्नुभएको हो । हिजोसम्म अफिस नै बगाएको कारण डाटा नभएको भनि भनियो । हामी स्वयंले हराएका आफन्त खोज्छौँ भन्दा अनुमति दिइएन । ६ वटा हेलिकप्टरसहित सगरमाथा उद्धार टोलीलाई अनुमति दिनको लागि हामी आफैंले आर्मीको चिफ र गृह मन्त्रालयका सचिवसँग कुरा गरेर यहाँ आइपुगेका हौँ । अनि रेस्क्यु गर्न जानको लागि हेलिकप्टर नै छैन भनेपछि हामी पीडितहरुले बाध्य भएर यो अफिस तोडफोड गर्नुपरेको हो बाध्य भएर । आज बाढी गएको सातौँ दिनमा भर्खर उद्धार कार्य शुरु गरेको छ । टनेलभिध ठूलो ढुंगाले रोकेको मछ भनिएको छ । त्यसकारण प्राविधिक टोली खटाउनुप¥यो अहिले हामीले जेनेरेटरको व्यवस्था गर्दैछौँ । यति सानो सानो कुरा पनि सरकारले हेरेको छैन मान्छे मरिरहेका छन् । यहाँ अहिले ८७ जनाको लिष्ट आएको छ । जसमध्ये ४३ जना चाँही त्यहाँ छन् भन्ने कुरा आएको छ ।’ सरकारले मंगलवार मात्र जलविद्युत निर्माण कम्पनीहरुलाई उद्धारको अनुमति दिएको छ । रसुवा, नुवाकोट र धादिङमा निर्माणाधीन विभिन्न जलविद्युत आयोजनाका सुरुङ तथा टनेलभित्र अझै झण्डै ९ सय जना उद्धारको पर्खाइमा छन् ।

भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा परी ज्यान गुमाएका १०२ जनामध्ये हालसम्म १६ जनाको शव सनाखत भएको छ । पोखरा लगिएका १०२ शवमध्ये १६ जनाको मात्रै सनाखत भएको हो । पहिचान हुन नसकेका बाँकी शवहरूलाई पोखरा महानगरपालिका वडा नम्बर १६ स्थित सिंचाईको स्वामित्वमा रहेको जमिनमा समाधिस्थ गर्ने तयारी भइरहेको छ । शव व्यवस्थापनका लागि हाल उक्त स्थानमा तीनवटा एक्साभेटर प्रयोग गरी खाडल खन्ने कार्य भइरहेको छ । भदौ १० गतेको प्राकृतिक विपत्तिमा परी उनीहरूको निधन भएको थियो । पहिचान हुन नसकेका मृतकहरूको शव व्यवस्थापनका लागि स्थानीय प्रशासनले आवश्यक प्रक्रिया अगाडि बढाएको छ ।

पृथ्वीराजमार्ग अन्तर्गतको कृष्णभीर पहिरोले अवरुद्ध बनाएको सडक खुलाउन अझै कम्तीमा १५ दिन लाग्ने भएको छ ।  भोटेकोशीमा आएको ठूलो बाढीका कारण त्रिशूली नदीमा पानीको बहाव बढेपछि कृष्णभीर क्षेत्रमा सडकको तल्लो भाग कटान भई राजमार्ग अवरुद्ध भएको छ । सडक विभागले अवरुद्ध सडक १५ दिनभित्रमा सञ्चालन ल्याउनेगरी तयारी गरेको जनाएको छ । विभागले प्राविधिक तथा भौगर्भिक विज्ञसहितको टोली कृष्णभीरमा परिचालन गरी तत्काल सडक सञ्चालनमा ल्याउने तयारी थालेको हो । पहिरोले कटान गरेको सडकको स्थलगत अनुगमनपछि सडक विभागका सहसचिव चुणाराज ढकालले बाढीका ठूलो बहावका कारण सडकको तल्लो भाग कटान भएको र माथिल्लो भूभागमा समेत चिरा परेकोले पहिरो खसेको बताउनु भयो । उहाँले राजमार्गलाई उच्च प्राथमिकतामा राखेर तत्काल सुचारु गर्नेगरी काम अघि बढाइने जानकारी दिनुभयो । विज्ञहरूको टोलीबाट प्राविधिक राय लिएर सम्भव भएसम्म १० देखि १५ दिनमा राजमार्ग खुलाउने प्रयत्न गर्ने उहाँको भनाई छ । उहाँले हाल वैकल्पिक रुट र स्थानीय सडक प्रयोग गरेर यातायात सञ्चालन गर्ने तयारी गरेको जानकारी दिनुभयो । सडक विभागले आगामी दिनमा नदी करिडोरमा निर्माण हुने राजमार्गलाई थप दिगो र विपद्–प्रतिरोधी बनाउने नीति आवश्यक रहेको जनाएको छ । विभागका सहसचिव ढकालले नदीको उच्च बहावको स्तरलाई ध्यानमा राखेर सडकको उचाइ बढाउने, वैकल्पिक लिंक तथा रुट विकास गर्ने, अग्ला पुल र आवश्यक ठाउँमा साना सुरुङ निर्माण गर्ने तथा प्राविधिक रूपमा सुरक्षित संरचना विकास गर्नुपर्ने बताउनुभयो । उहाँका अनुसार सुरुआती लागत केही बढेपनि दीर्घकालीन रूपमा टिकाउ हुने प्रविधिमा आधारित राजमार्ग निर्माणलाई प्राथमिकता दिनुपर्ने आवश्यकता देखिएको छ । उहाँले भन्नुभयो, ‘राजमार्ग खुलाउनलाई सडक विभागले यसलाई हाइप्रायोरिटी दिएको छ । आज हामी पनि हेरेर यसको एउटा प्रतिवेदन दिन्छौँ र तत्कालै यही राजमार्ग खुलाउने र पारीबाट वैकल्पिक मार्गहरू पनि प्रयोग गर्ने गरी काम गर्छौं । यो राजमार्ग नेपालकै लाइफलाइन भएको हुनाले यसलाई हाम्रो उच्च प्राथमिकता दिएर तत्काल गर्नुपर्ने सबै कदम चाल्छौँ । सबै विज्ञहरूको टिम बनाएर उहाँहरूको राय अनुसार र विभागको सम्पूर्ण टिम बसेर निर्णय गरेर सकेसम्म हामी १० देखि १५ दिनमा खुलाउन प्रयत्न गर्छौँ भने वैकल्पिक रुटहरू, स्थानीय सडकहरूलाई पनि प्रयोग गरेर राजमार्गलाई सुचारु गर्छौँ । 

सडक विभागका भू–प्राविधिक विज्ञ मधुसुदन आचार्यले कृष्णभीरको पहिरो पुरानै स्लोप फेलियर भएको क्षेत्रमा दोहोरिएको गएको बताउनु भयो । उहाँकाअनुसार तत्काल सडक खुलाउन माथिल्लो भागको जोखिमयुक्त माटो तथा संरचना हटाएर सिंगल लेन डाइभर्सन निर्माण गर्न सकिने सम्भावना छ । सडक माथिबाट कटिङ गर्दा स्लोपलाई चरणवद्ध रूपमा निलिङ गर्दै लैजानुपर्ने उहाँले बताउनु भयो । तल्लो भागमा नदी कटान हाल रोकिएको प्रारम्भिक अध्ययनबाट देखिएको उहाँको भनाई छ । ड्रोनबाट खिचिएको तस्बिरमा नदीको तल्लो भागमा बेडरक भेटिएको हुन सक्ने देखिएकाले हाललाई माथिबाट डाइभर्सन निर्माण गरेर सडक खोल्ने सम्भावना रहेको उहाँले बताउनु भयो । नदीको टो–स्कर तथा कटान नियन्त्रण गर्न जिओब्याग, ग्याभिन नेट तथा बोल्डरलाई नेटले ¥याप गरेर तल्लो भाग संरक्षण गर्ने प्रविधि प्रयोग गर्न सकिने उहाँको भनाई छ । यस्तो संरचनाले नदीको कटान कम गरी विद्यमान स्लोपलाई थप भत्किनबाट जोगाउन सहयोग गर्नेछ । उहाँकाअनुसार हाल सडक सञ्चालनमा ल्याउन करिव १०० मिटर लम्बाइ र १० देखि १५ मिटर उचाईको प्रभावित क्षेत्रबाट हजारौँ घनमिटर सामग्री हटाउनुपर्ने देखिन्छ । तीन–चारवटा मेसिन परिचालन गरी तिब्र गतिमा काम गर्न १५ दिनमा सडक सञ्चालनमा ल्याउन सकिने उहाँले बताउनु भयो । उहाँले भन्नुभयो, ‘हामीले राजमार्ग छिटो सञ्चालन ल्याउन वैकल्पिक उपायहरू सोच्नुपर्छ । वैकल्पिक बाटो छ भने ट्राफिक डाइभर्ट गरेर गर्नसक्छौँ । होइन, यहीबाट हामीले खोल्नुपर्छ भने त्यही नजिकै हामीले डाइभर्सन निकाल्न सकिन्छ भने डाइभर्सन निकाल्नुप¥यो । टो–कटिङलाई केही हदसम्म रोक्नलाई जिओब्यागहरू, ग्याभिन नेटलाई ¥याप गर्नसक्छौँ । बोल्डरहरूलाई नेटमा ¥याप गरेर तलतिर बटममा त्यो स्करलाई प्रोटेक्सन गर्नसक्छौँ । त्यो बोल्डरलाई नेटमा ¥याप गर्नलाई नेट पहिला माथिबाट तल झार्छौँ, रोपको सहायताले तल झार्छौँ र त्यसको माथिबाट बोल्डर गुडाउँदै जान्छौँ । नेटको अर्को एन्डलाई हामी माथितिर तान्छौँ अनि ¥याप गरेर तलको टो–स्करलाई अलिकति मिनिमाइज गर्न सक्छौँ । टो–स्करलाई मिनिमाइज ग¥यो भने एक्जिस्टिङ स्लोप जुन एङ्गलमा अहिले बसेको छ, त्यही एङ्गलमा बस्निरहन उसलाई अप्ठ्यारो हुँदैन । फेरि भत्किने चान्स कम हुन्छ । टो–इरोजिनलाई हामीले केही प्रोटेक्सन गर्न सक्छौँ । पहिरोको लम्वाई सय मिटर जति छ, यसको हाइट पनि १५ मिटर जति देखिन्छ । हामीले कम्तीमा पनि १५ दिन जति तीन–चार वटा मेसिन राम्रोसँग मोबिलाइज गरेर निलिङ ग¥यौँ भने पनि १५ दिन जतिमा हामीले बाटो खोल्न सक्छौँ ।’ उहाँले पहिरो पन्छाएर हाललाई सिंगल लेनको बाटो बनाउन सकिने बताउनु भयो । सडकको भित्तो कटिङ गरेर केही माथीबाट सडक खुलाउन सकिने उहाँको भनाई छ । 

भोटेकोशी नदीमा आएको विनासकारी बाढीवाट प्रभावित नागरिकहरुको राहत तथा पुनर्स्थापनाका लागि निरन्तर सहयोग जम्मा हुने क्रम चलिरहेको छ । देश संकटमा पर्दा गरिने जुनसुकै पनि सहयोगले ठुलो राहत मिल्छ भन्ने भनाईका साथ गैरीथोके पैङगी लामा भाइखलक परिवारले प्रधानमन्त्री राहत कोषमा दुई लाख रुपैया सहयोग गरेको छ ।

स्याङ्जा जिल्ला पुतलीबजार नगरपालिका वाड नः ८ र ९ कोल्मा गैरीथोक र डाडास्वरा बिरुवा गाउँपालिका वाड नः ४ खुदी ,डिही र चाम्रकी बस्ने गैरीथोके पैङगी लामा भाइखलक परिवारले उक्त सहयोग गरेको हो । आर्थिक सहयोग संकलन परिवारका आवद्ध सदस्य हरुको सक्रियतामा भएको थियो । भाइखलकका सदस्यहरु लगायत देश बिदेश रहेका सम्पूर्ण गैरीथोके परिवारका सदस्यहरुले सहयोग गरेको गैरीथोके पैङगी लामा भाइखलक परिवारका अध्यक्ष जित बहादुर गुरुङले जनाकारी दिनुभयो ।

रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते बुधवार आएको भीषण बाढीका कारण ठूलो मात्रामा जनधनको क्षति भएको छ । बाढी प्रभावित क्षेत्रमा हाल बेपत्ता भएकाहरूको खोजी तथा जोखिममा परेकाहरूको उद्धार कार्यलाई निरन्तरता दिइएको छ । बाढीका कारण विस्थापित भएका परिवारहरूको राहत व्यवस्थापन र फसेका व्यक्तिहरूको उद्धारका लागि सरकारले सक्रियता देखाएको छ ।

यसका साथै, बाढीमा परी ज्यान गुमाएकाहरूको शव संकलन तथा व्यवस्थापनको कार्य समेत तदारुकताका साथ अगाडि बढाइएको छ । स्थानीय प्रशासन र सम्बन्धित निकायहरूले प्रभावित क्षेत्रमा राहत र पुनस्र्थापनाका कार्यहरूलाई प्राथमिकतामा राखेर काम गरिरहेका छन् । 

१० भदौ रसुवाको भोटेकोशीमा आएको भीषण बाढीपछि झन्डै दुई हजार चार सय जना अझै सम्पर्कविहीन छन् ।  उनीहरुका परिवार अहिले पीडामा छन् । आफन्तको खोजीमा भौंतारिरहेका परिवारजन सरकारसँग खोज तथा उद्धार कार्य तिब्र बनाउन आग्रह गरिरहेका छन् । सिन्धुपालचोककी निरुता तामाङका श्रीमान रसुवाबाट सम्पर्कविहीन भएको आईतवार पाँच दिन भइसक्यो । दुई वर्षको सानो बच्चासहित श्रीमानको खोजीमा अहिले उहाँ काठमाडौं आइपुग्नुभएको छ । तामाङले श्रीमान कतै जंगल वा सुरक्षित स्थानमा पुगेर बाँचिरहेको हुन सक्ने आशा अझै नमरेको बताउनु भयो । उहाँले सरकारसँग सम्पर्कविहीन भएका मानिसको खोजी तथा उद्धारलाई तत्काल प्रभावकारी बनाउन आग्रह गर्नुभयो । उहाँले अहिले पनि सयौँ नागरिक रसुवा, नुवाकोट र धादिङका जंगलहरुमा पर्खाइमा रहेको भन्दै उद्धार कार्य छिटो बनाउन आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘मेरो श्रीमान आशिष तामाङ बाढीमा सम्पर्कविहीन हुनुभएको छ । मेरो बच्चा २ वर्षको मात्र भयो । कतै भेटिनुहुन्छ कि भनेर यहाँसम्म आएकी हुँ । सरकारलाई पनि छिटोभन्दा छिटो खोज, उद्धार गरिदिन आग्रह गर्न चाहान्छु । बाढी आएको बेला कतै माथि जंगलतिर जानुभयो होला बाँच्नुभयो होला भन्ने आशा छ । जंगलमा रहेका मानिसहरुको छिटोभन्दा छिटो उद्धार गरिदिनुपर्यो भन्न चाहन्छु ।

यस्तै, गोसाइँकुण्ड तीर्थयात्रामा जाने क्रममा बाढीमा परेका धादिङका दर्जनौँ यात्रु बससहित अझै सम्पर्कविहीन छन् । धादिङका गोपाल विश्वकर्माका अनुसार नीलकण्ठ नगरपालिका–९ र १२ तथा अन्य पालिकाका समेत गरेर २६ जना बाढीपछि सम्पर्कविहीन भएको बताउनुभयो । उहाँले सम्पर्कविहीन साथिहरुको खोजिको लागि आफू काठमाडौं आएको बताउनुभयो । उहाँका अनुसार बाढीको त्रासदीबीच बेत्रावती पुगेपछि बसमा रहेका एक जनाले पोखरामा रहेका साथीलाई फोन गर्दै बस बगिसकेको र आफूहरुलाई पनि बाढीले बगाउन सक्ने भन्दै घरपरिवार र छोराछोरीको हेरचाह गरिदिन गरेका थिए ।
उहाँले भन्नुभयो, ‘मेरा साथिहरु गोसाइकुण्ड जाने क्रममा बाढीमा परी सम्पर्कविहीन हुनुभएका धादिङ जिल्ला निलकण्ठ नगरपालिका–१२, ९ लगायतका ठाउँका २६, २७ जना साथिहरु हराइरहनुभएको छ । उहाँहरु बससहित जानुभएको थियो । बससहित अहिलेसम्म सम्पर्कमा हुनुहुन्न । बेत्रावती पुगेपछि एक जना साथिले मेरो पोखरामा रहेका साथिलाई फोन गरेर बस बगाइसक्यो, हामीलाई पनि बगाउँछ । घरपररिवार र छोराछोरी हेरिदिनुहोला भनेर फोन गरेको भन्ने बताउनुभएको थियो । एउटा लास यहाँ आएको छ । थप केही लास पनि आइरहेको भन्ने त थाहा पाएँ । अझै १९ जना सम्पर्कविहीन हुनुहुन्छ । त्रिवि शिक्षण अस्पतालमा आफन्तहरूको बाक्लो उपस्थिति थियो । बाढी आएपछि सम्पर्क हुन नसक्दा अवस्था बुझ्न र खोजी गर्न आएका परिवारजनका कारण अस्पताल परिसर व्यस्त छ ।

नेपाल प्रहरीले बाढीबाट क्षतिग्रस्त तथा भग्नावशेष बनेका भवनमा अनधिकृत रूपमा प्रवेश गरी आपराधिक गतिविधि नगर्न चेतावनी दिएको छ ।  आईतवार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै केन्द्रिय प्रहरी प्रवक्ता अविनारायण काफ्लेले उद्धारको नाममा क्षतिग्रस्त घर तथा भवनमा अनधिकृत रूपमा प्रवेश गर्न नपाइने बताउनुभएको हो । उहाँका अनुसार प्रहरीको उपस्थितिमा मात्रै क्षतिग्रस्त घर तथा भवनभित्र खोज तथा तलासी गर्न पाइनेछ । विपद्को फाइदा उठाउँदै कानूनले वर्जित गरेका गतिविधि गर्ने व्यक्तिमाथि प्रहरीले निगरानी बढाएको उहाँको भनाइ छ । उहाँले आपराधिक मनसाय भएका व्यक्ति भग्नावशेष तथा खण्डहर भवनमा प्रवेश गरेको देखिए तत्काल प्रहरीलाई खबर गर्न समेत सबैमा आग्रह गरेको छ । उहाँले विपद्का सम्बन्धमा गलत तथा मिथ्या सूचना फैलाउने गतिविधिमाथि समेत प्रहरीले निगरानी गरिरहेको बताउनु भयो । मिथ्या सूचना फैलाएको पाइए कानूनबमोजिम कारबाही गरिने उहाँले बताउनुभयो । उहाँले राहत सामग्री वितरणका नाममा भइरहेका गतिविधिलाई समेत एकद्वार प्रणालीअनुसार सञ्चालन गर्न आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘बाढीबाट भग्नावशेष तथा खण्डहर भवनहरू जुन रहेका छन्, ती भवनहरूमा अनावश्यक रूपमा, अनाधिकृत रूपमा छिर्न कानुनद्वारा वर्जित छ । रेस्क्युको नाममा गलत गतिविधि गर्न पाइँदैन, कानुन उल्लङ्घन गर्न पाइँदैन । त्यस्ता आपराधिक मनसायका व्यक्तिहरू पनि त्यहाँ छिरे प्रहरीलाई खबर गर्न समेत नागरिकलाई आग्रह गरिएको छ । प्रहरीको उपस्थितिमा मात्र घर तथा भवनभित्र खोज तलासी हुनेछ । विपद्को फाइदा उठाएर नाजायज गतिविधि गर्ने, कानुन उल्लङ्घन गर्ने व्यक्तिहरू प्रति नेपाल प्रहरीले कडा निगरानी गरिरहेको छ । गलत सूचनाहरू दिने, मिथ्या सूचनाहरू दिने कुराहरूमा पनि नेपाल प्रहरीले गम्भीर भएर मोनिटरिङ गरिरहेको छ । त्यस्ता गतिविधिमा कोही संलग्न भएमा कानून बमोजिम कारबाही गरिने नै छ । राहत सामग्रीहरू वितरणको नाममा विभिन्न किसिमको कामहरु पनि भइरहेका छन् । नेपाल सरकारले एकद्वार प्रणालीबाट राहत वितरण गर्ने निर्णय गरिसकेको र त्यो अनुसारको कार्यविधि समेत भएको कारणले त्यसलाई चाहिँ फलो गर्नुपर्छ । त्यसको लागि आफ्नो राहतहरू स्थानीय निकायमा गएर त्यहाँको स्थानीय सरकारलाई, जिल्ला सुरक्षा समितिसँग समन्वय गरेर मात्र राहत वितरण गरौँ । सरकारले एकद्वार प्रणालीबाट राहत वितरण गर्ने निर्णय गरिसकेकाले स्थानीय तह र जिल्ला सुरक्षा समितिसँग समन्वय गरेर मात्रै राहत वितरण गर्न समेत प्रवक्ता काफ्लेले आग्रह गर्नुभयो 

पोखरा महानगरपालिका वडा नम्बर १४ मा रहेको  विशाल नगर आमा समूहको पाँचौँ अधिवेशनबाट  प्रतिमा गिरीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्य समिति चयन भएको छ । शनिवार सम्पन्न अधिवेशनको उद्घाटन गर्दे पोखरा महानगरपालिका वडा नम्बर १४ का वडा अध्यक्ष बोधबहादुर कार्कीले सामूहिकतामा नै एकता हुने भएकोले आमा समूहलाई बलियो र सशक्त बनाएर लैजान नयाँ कार्यसमितिलाई शुभकामना दिनुभयो । साथै अध्यक्ष कार्कीले  विगतका दिनमा टोलमा हुने हुने गरेका विभिन्न गतिविधिमा आमा समूहको सक्रिय सहभागिता रहेको जनाउँदै आगामी दिनमा पनि सक्रियता कायमै रहने विश्वास समेत व्यक्त गर्नुभयो । 

अधिवेशनले आगामी दूइ बर्षिय कार्यकालको लागी उपाध्यक्षमा यशोदा गौतम, सचिवमा यशोदा रेग्मी,कोषाध्यक्षमा सङ्गीता गैह्रे र सहसचिवमा शारदा तिवारीलाई निर्वाचित गरेको छ । त्यसै गरी समूहको सदस्यमा राधिका ढुङ्गाना, विष्णु शर्मा, शर्मिला कोइराला, सङ्गीता सुवेदी, बिनम गुरुङ, सरस्वती कोइराला, सङ्गीता श्रेष्ठ, बौमाया गुरुङ र रुबि गुरुङ निर्वाचित भएका छन् । कार्यक्रममा मादी गाउँपालिका वडा नम्वर ९ का वडा अध्यक्ष अध्यक्ष मनोज कुमार गुरुङ, पोखरा महानगरपालिका वडा नम्बर १४ का वडा सदस्य कृष्णहरि काफ्‌ले, तनुजा थापा तथा छिमेकी आमा समूहका प्रतिनिधिहरूले पनि शुभकामना व्यक्त गरेका थिए ।

पोखरा महानगरपालिका वडा नम्बर १४ मा रहेको  विशाल नगर आमा समूहको पाँचौँ अधिवेशनबाट  प्रतिमा गिरीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्य समिति चयन भएको छ । शनिवार सम्पन्न अधिवेशनको उद्घाटन गर्दे पोखरा महानगरपालिका वडा नम्बर १४ का वडा अध्यक्ष बोधबहादुर कार्कीले सामूहिकतामा नै एकता हुने भएकोले आमा समूहलाई बलियो र सशक्त बनाएर लैजान नयाँ कार्यसमितिलाई शुभकामना दिनुभयो । साथै अध्यक्ष कार्कीले  विगतका दिनमा टोलमा हुने हुने गरेका विभिन्न गतिविधिमा आमा समूहको सक्रिय सहभागिता रहेको जनाउँदै आगामी दिनमा पनि सक्रियता कायमै रहने विश्वास समेत व्यक्त गर्नुभयो । 

अधिवेशनले आगामी दूइ बर्षिय कार्यकालको लागी उपाध्यक्षमा यशोदा गौतम, सचिवमा यशोदा रेग्मी,कोषाध्यक्षमा सङ्गीता गैह्रे र सहसचिवमा शारदा तिवारीलाई निर्वाचित गरेको छ । त्यसै गरी समूहको सदस्यमा राधिका ढुङ्गाना, विष्णु शर्मा, शर्मिला कोइराला, सङ्गीता सुवेदी, बिनम गुरुङ, सरस्वती कोइराला, सङ्गीता श्रेष्ठ, बौमाया गुरुङ र रुबि गुरुङ निर्वाचित भएका छन् । कार्यक्रममा मादी गाउँपालिका वडा नम्वर ९ का वडा अध्यक्ष अध्यक्ष मनोज कुमार गुरुङ, पोखरा महानगरपालिका वडा नम्बर १४ का वडा सदस्य कृष्णहरि काफ्‌ले, तनुजा थापा तथा छिमेकी आमा समूहका प्रतिनिधिहरूले पनि शुभकामना व्यक्त गरेका थिए ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।