तुइन हटाउने नीति लिएको कर्णाली प्रदेश सरकारले त्यससम्बन्धी तथ्याङ्क सङ्कलन गरेको छ। प्राप्त तथ्याङ्कअनुसार प्रदेशका १० जिल्लामध्ये सात जिल्लाबाट प्राप्त विवरणमा ५० वटा तुइन रहेका छन्।

प्रदेशको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयका सिनियर डिभिजनल इन्जिनियर रमेश सुवेदीका अनुसार तुइन विस्थापित गर्दै झोलुङ्गे पुल निर्माण गर्ने योजनाअनुरूप विवरण माग गरिएको थियो। मन्त्रालयका प्रवक्ता सुवेदीले पूर्वाधार विकास कार्यालयमार्फत प्राप्त विवरण अनुसार ५० वटा तुइन रहेको जानकारी दिए।
सङ्कलित विवरणअनुसार सबैभन्दा धेरै तुइन हुम्ला जिल्लामा छन्। हुम्लामा मात्र १५ वटा तुइन रहेको उल्लेख गरिएको छ, जसमा कर्णाली नदीमाथि मात्रै छ वटा तुइन छन्।
त्यस्तै, कालीकोट र जाजरकोटमा समान रूपमा १२/१२ वटा, सुर्खेतमा ८ वटा, डोल्पामा ३ वटा, दैलेख र मुगुमा २/२ वटा तुइन रहेको विवरणमा उल्लेख छ।
दैलेख, जुम्ला र रुकुम पश्चिम जिल्लाबाट भने विवरण प्राप्त भएको छैन।











