प्रतिबन्धित पाराक्वेट नामक झार मार्ने विषादी सेवन गरेकी एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ।

मकवानपुरको हेटौंडा उपमहानगरपालिका–८ घर भएकी ३९ वर्षीया ती महिलाको चुरेहिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ।
गत साउन ९ गते विषादी सेवन गरेकी ती महिलालाई सुरुमा चितवन मेडिकल कलेजको आईसीयूमा भर्ना गरिएको थियो। तर, आफन्तको अनुरोधमा उनलाई हेटौंडा रिफर गरिएको थियो। अस्पताल पुगेपछि उनले सुरुमा काँचो आँप खाएको बताइन्, तर स्वास्थ्य परीक्षण गर्दा उनले पाराक्वेट विषादी सेवन गरेको पुष्टि भएको चिकित्सकहरूले जनाए।
विषादी सेवन गरेपछि सुरुका केही दिन सामान्य समस्या देखिए पनि ४–५ दिनमा असर तीव्र बनेको थियो। यसका कारण मिर्गौला र कलेजोमा गम्भीर क्षति पुगेको चिकित्सकहरूले बताए।
ती महिलाका एक छोरा, एक छोरी र श्रीमान् छन्। उनका श्रीमान् सवारी चालकको रूपमा कार्यरत छन्।
विशेषज्ञहरूका अनुसार, झार मार्ने रासायनिक विषादीको जथाभावी प्रयोग मानव स्वास्थ्य, वातावरण र जीवजन्तुका लागि गम्भीर खतरा बन्दै गएको छ। कतिपयले आफ्नै घरको आँगनमा समेत विषादी छर्किने गरेको पाइन्छ, जसको नकारात्मक असर बढ्दो छ।











