पोखरा महानगरपालिका–१७ स्थित छोरेपाटनमा रहेको गण्डकी प्रदेशकै पुरानो विद्यालयमध्ये एक, छोरेपाटन माध्यमिक विद्यालयका व्यवस्थापन समिति अध्यक्षमाथि कालो मोसो दलिएको घटनाप्रति भू.पु. विद्यार्थी मञ्चले गम्भीर आपत्ति जनाएको छ।

नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) बाट प्रेरित समूहद्वारा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री बद्रीनाथ पहारीलाई विद्यालयको विषयमा गरिएको उक्त अमानवीय व्यवहारप्रति भू.पु. विद्यार्थी मञ्चले घोर विरोध जनाउँदै यस्तो गैरजिम्मेवार गतिविधि शैक्षिक वातावरण प्रतिकूल हुने जनाएको छ।
प्रेस विज्ञप्तिमा भनिएको छ, “विद्यालय जस्तो पवित्र स्थानमा हुने कुनै पनि प्रकारका अमानवीय क्रियाकलापमा हामी भू.पु. विद्यार्थी मञ्च परिवारको घोर आपत्ति रहनेछ।”
विद्यालयको शान्त वातावरणमा अवरोध पुग्ने गरी हातपात वा आक्रोशपूर्ण व्यवहार गर्नु विद्यालयको प्रतिष्ठामाथि आँच पुर्याउने कार्य भएको मञ्चको ठहर छ।

प्रेस विज्ञप्तिमा थप भनिएको छ, “विद्यालय शान्ति क्षेत्र भएको हुँदा विद्यालय हाताभित्र र क्षेत्रभित्र कुनै पनि प्रकारका अवाञ्छित क्रियाकलाप कसैले पनि नगर्नुहुन हार्दिक अनुरोध गर्दछौं।”










