धादिङका सरोज थापाले सानो घर बनाउने सपनासहित खाडीको यात्रा गरे, तर त्यही यात्राले उनलाई विश्वस्तरीय पेस्ट्री सेफको रूपमा परिचित बनायो। काठमाडौँमा एसएलसी सकेर सुरू भएको संघर्षको यात्रा उनलाई साउदी अरबको क्याम्पिन्स्की होटलको एक्जुकेटिभ पेस्ट्री सेफसम्म पुर्यायो। उनले यूएई, कतार, ओमान, कुवेत लगायतका देशहरूमा आफ्नो सीप र कलात्मकता प्रदर्शन गर्दै १८ घण्टा काम गर्ने दिनहरू पार गरे। यिनै दिनहरूले उनलाई विश्वका चर्चित सेफहरूसँग प्रतिस्पर्धा गर्न सक्ने बनाए। उनले चकलेट डे, वेडिङ केक प्रतियोगिता लगायत विश्वस्तरीय प्रतिस्पर्धाहरूमा मेडल जित्दै नेपाली पेस्ट्री सीपलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याए।

आज सरोज थापाको सपना नेपालमै पेस्ट्री हब बनाउने छ। उनले “जूजू धौ केक” ब्रान्ड सुरू गर्दै नेपाली जडीबुटीलाई समेटिएको स्वादहरू प्रस्तुत गरिरहेका छन्। अब उनले ३–४ हजार युवालाई तालिम र रोजगारी दिने योजना बनाएका छन्। पेरिसजस्ता देशबाट डिप्लोमा प्राप्त गरेका सरोज नेपालमै युरोपियन स्तरको बेकरी उत्पादन गर्न चाहन्छन्, जसका लागि उनी सरकारसँग नीति र सामग्री सहज बनाइदिन आग्रह गर्छन्। उनको जीवन, संघर्ष र समर्पण नेपाली युवाहरूका लागि प्रेरणाको श्रोत बनेको छ।











