लेकसाईडबाट पर्यटकलाई अनावश्यक दुःख हैरानी दिने १६ जना महिलाहरु नियन्त्रणमा
पोखराको मुख्य पर्यटकीय केन्द्र लेकसाइड क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकलाई अनावश्यक दुःख हैरानी दिने र अनैतिक क्रियाकलापमा संलग्न रहेको आरोपमा १६ जना महिलाहरू पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामबाट खटिएको संयुक्त टोलीले मिति २०८३ वैशाख ५ गते बिहान राति १२:३० बजेदेखि २:०० बजेसम्मको विशेष अपरेसनका क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो। लेकसाइडको सडकमा रातिको समयमा
पर्यटकहरूलाई विभिन्न प्रलोभन देखाउने, हैरानी दिने तथा लुटपाट र अनैतिक कार्यमा संलग्न भई शान्ति सुरक्षामा खलल पुऱ्याएको भन्ने जनगुनासो व्यापक आएपछि प्रहरीले यो कदम चालेको हो। पक्राउ परेका महिलाहरूलाई जिल्ला प्रहरी कार्यालयमा राखेर आवश्यक कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइएको छ। पोखराको पर्यटनलाई सुरक्षित र मर्यादित बनाउन प्रहरीले यस्ता गतिविधिमा संलग्नमाथि निगरानी र कडाइलाई निरन्तरता दिने बताएको छ।












