
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले संघीयतासम्बन्धि सबै विषय प्रधानमन्त्रीलाई सोध्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने बताउनुभएको छ ।
आईतवार पार्टीद्वारा ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । अध्यक्ष राईले संघीयताको मर्मअनुसार काम नभएको भन्दै त्यस्तो स्थितिको अन्त्य हुनुपर्ने बताउनुभएको हो । उहाँले मुलुकमा विकास, निर्माणको काम गर्नका लागि कानूनमा तत्काल ठूलो परिवर्तन ल्याउन पनि सरकारलाई आग्रह गर्नुभयो । विकास निर्माणको काम अघि बढाउनका लागि कानूनमा ठूलो परिवर्तन ल्याउन आवश्यक रहेको अध्यक्ष राईको बुझाई थियो । उहाँले भौतिक पूर्वाधार मन्त्रालयले गरिरहेको काममा वन मन्त्रालयले रोक्न विरोधाभाष अवस्था विद्यमान रहेकाले त्यसमा सुधार गर्ने काममा सरकारले ढिलाई गर्न नहुने स्पष्ट पार्नुभयो ।
अध्यक्ष राईले भन्नुभयो,‘हामी संस्कृतिवादी मान्छे । सबै संस्कृतिको हामीले सम्मान गर्छौ । यो हिसावले हामी सबै संस्कृतिको सम्मान गर्छौ । कोही मान्छे अल्पसंख्यक छ । त्यसको संस्कृतिलाई पेल्नुपर्छ, ठेल्नुपर्छ, मास्न पर्छ भन्ने होइन । संघीयता मर्म अनुसारको होस । सबै कुरा प्रधानमन्त्रीलाई सोध्नुपर्छ भन्ने खालको स्थिति नहोस् भन्न म चाहन्छु । कानूनमा ठूलो फेरबदल हामीले ल्याउनु पर्छ । कस्तो खालको कानून छ भन्दाखेरी मैले हिजो कानूनमन्त्रीजीलाई पनि भेटेँ । टिप्पणी उठाउनुपर्छ भन्दै हुनुहुन्थ्यो । हामीले के बुझ्न जरुरी छ भने कानूनमा हामीले परिवर्तन ल्याउन सकेनौ भने काम गर्न सकिँदैन । जस्तै एउटा उदाहरण दिन्छु, बाटो बनाउने मन्त्रालयले बाटो बनाउन खोज्छ, वन मन्त्रालयले रोक्छ । पानी खुवाउने मन्त्रालयले टयांकी बनाउन खोज्छ, वनले आएर रोकि हाल्छ । यस्तो खालको विरोधाभाष देशमा छ ।’
अध्यक्ष राईले सरकारले श्रमदान गर्नेहरुलाई आवश्यक स्रोत र साधनको व्यवस्था गर्नुपर्ने पनि बताउनु भयो ।
नेपाली काँग्रेसका प्रदीप पौडेलले बदलिँदो राजनीतिक परिवेश र सामाजिक सञ्जालको प्रभावलाई मध्यनजर गर्दै पार्टीलाई प्रविधिमैत्री र सांगठनिक रूपमा चुस्त बनाउनुपर्नेमा जोड दिनुभएको छ । पौडेलले पार्टीको डिजिटल उपस्थिति र आन्तरिक संगठन सुदृढीकरणका लागि गम्भीर हुन आह्वान गर्नुभएको हो । आईतवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले अबको चुनाव परम्परागत शैलीबाट मात्र जित्न नसकिने स्पष्ट पार्नुभयो । महामन्त्री पौडेलले सामाजिक सञ्जालमा पार्टीको प्रभाव बढाउन केन्द्रको डिजिटल युनिटले गर्ने पोस्टहरूलाई तल्लो तहसम्म पु¥याउनुपर्ने बताउनु भयो । यो अभियान पार्टीलाई जिताउन र संगठन विस्तारका लागि भएको उहाँको भनाइ छ । पार्टीका पुराना सदस्यहरूको रेकर्ड व्यवस्थित गर्न बैंकको ‘केवाइसी’ जस्तै सदस्यता अध्यावधिक गर्न लागिएको पौडेलले जानकारी दिनुभयो । यसले पुराना सदस्यहरूको विवरण राख्न र उनीहरूलाई पार्टीमा सक्रिय बनाउन मद्दत गर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । महामन्त्री पौडेलले कतिपय निर्वाचन क्षेत्रमा क्रियाशील सदस्यभन्दा कम मत आएको बताउनु भयो । ७ सय १ सय क्रियाशील सदस्य भएको ठाउँमा जम्मा ४ हजार २ सय मत आउनुलाई उहाँले ‘बेइमानीको पराकाष्ठा’ का रुपमा चित्रण गर्नुभयो । यस्ता समस्या समाधान गर्न सदस्यता नवीकरण र अध्यावधिक अभियान अनिवार्य रहेको उहाँको तर्क थियो । पार्टीका वडा सभापति, क्षेत्रीय र जिल्ला समितिलाई काममा सक्रिय हुन पौडेलले आग्रह गर्नुभयो । नेपाली काँग्रेसको सदस्य भएर आफ्नै उम्मेदवारलाई भोट नहाल्ने प्रवृत्तिको अन्त्य हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।
उहाँले भन्नुभयो, ‘यदि केन्द्रले गरेको पोस्ट एकैपटक १ लाखले शेयर गर्ने स्थिति बन्यो भने हामीलाई सामाजिक सञ्जालमा कसैले हराउन सक्दैन । अब एल्गोरिदम र ब्ल्याक ह्याटसँग लड्न सक्नुभएन भने चुनाव जित्न कठिन छ । नयाँ पोलिटिक्सको भेरिएसन चेन्ज भएको कारणले हामीले आफूलाई पनि परिवर्तन गर्न खोजेका हौँ । ३६४ दिन काँग्रेस हुने तर चाहिएको दिन अरू नै हुने स्कुलिङमा समस्या छ ।
यसलाई व्यवस्थित गर्न निष्ठावान् र इमान्दार सदस्य बनाउने प्रक्रिया अगाडि सारिएको उहाँले बताउनु भयो । काठमाडौंमा यो अद्यावधिक अभियान वैशाख महिनाभित्रै सम्पन्न गर्न उहाँले आह्वान गर्नुभयो । काठमाडौंको सफल म्यासेजले देशभर उत्साह भर्ने उहाँको दाबी छ । जिल्ला कार्यालयले नवीकरण गरेका र १५ औँ महाधिवेशनमा इन्ट्री भएका सदस्यहरूको मात्र विवरण अध्यावधिक हुने पनि उहाँले प्रस्ट पार्नुभयो ।
सरकारले आईतवार र सोमवार देशभरका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउउन शुरु गरिएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकाअनुसार ६ महिनादेखि ५९ महिना सम्मका करिव २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र १ वर्षदेखि ५ वर्षमुनिका करिव २० लाख बालबालिकालाई जुकाको औषधि (अलबेन्डाजोल) खुवाइँदैछ । अभियानअन्तर्गत ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका र १५ हजार स्वास्थ्यकर्मीहरू देशभरका विभिन्न खोप केन्द्रहरूमा परिचालन गरिएका छन् । प्रत्येक वर्षको कात्तिक र वैशाखमा सञ्चालन हुने यो कार्यक्रमले बालबालिकाको आँखाको ज्योति रक्षा, रोग प्रतिरोधात्मक क्षमता वृद्धि, र कुपोषण न्युनिकरणमा महत्वपूर्ण भुमिका खेल्ने चिकित्सकहरूले बताएका छन् । नजिकैको खोप केन्द्रमा लगी आफ्ना बालबालिकालाई औषधि खुवाउन मन्त्रालयले सम्पूर्ण अभिभावकहरूमा अनुरोध गरेको छ ।
अब वार्षिक २० करोड रुपैयाँभन्दा बढी कारोबार गर्ने व्यवसायीले अनिवार्य रूपमा विद्युतीय माध्यमबाट बिलबीजक जारी गर्नुपर्ने भएको छ ।
यसअघि २५ करोड रुपैयाँभन्दा बढी कारोबार गर्ने व्यवसायीका लागि मात्रै लागू रहेको यो व्यवस्था आन्तरिक राजस्व विभागले चैत अन्त्यमा सीमा घटाउँदै नयाँ निर्णय कार्यान्वयनमा ल्याएको हो । विभागका अनुसार तोकिएको सीमाभन्दा बढी कारोबार गर्ने कम्पनीहरू अनिवार्य रूपमा केन्द्रीय बीजक अनुगमन प्रणाली (सीबीएमएस) मा आबद्ध हुनुपर्नेछ । यस प्रणालीमार्फत जारी हुने हरेक बिल स्वतः सरकारको केन्द्रीय सर्भरमा रेकर्ड हुनेछ ।
विभागकाअनुसार आगामी वर्षहरूमा यो सीमा अझै घटाउँदै सबै व्यवसायलाई प्रणालीमा ल्याउने लक्ष्य राखिएको छ । यसले पारदर्शिता बढाउने र अनियमितता नियन्त्रण गर्न सहयोग गर्ने अपेक्षा विभागले राखेको छ ।
विद्युतीय बिलिङ प्रणाली लागू भएसँगै कर छली न्यूनीकरण, राजस्व संकलन वृद्धि र करदाता तथा सरकारबीच विश्वास अभिवृद्धि हुने अपेक्षा गरिएको विभागको भनाइ छ ।
विभागले साना व्यवसायीलाई पनि स्वेच्छाले प्रणालीमा आबद्ध हुन प्रोत्साहन गर्ने तयारी गरेको जनाएको छ । यद्यपि बैंक तथा वित्तीय संस्थाहरूलाई हालका लागि केन्द्रीय बिलिङ व्यवस्थापन प्रणाली (सीबीएमएस) मा आबद्ध हुनुपर्ने बाध्यता नरहेको स्पष्ट पारिएको छ ।

प्रसिद्ध कथावाचक एवं भारतको तुलसी पीठका पीठाधीश्वर जगद्गुरु रामभद्राचार्यले नेपाल समृद्ध र पूर्णरूपमा आत्मनिर्भर हुनुपर्नेमा जोड दिनुभएको छ ।
जनकपुरधाममा जानकी नवमीको अवसरमा भ्रमणका लागि आउनुभएका उहाँले यस्तो बताउनुभएको हो । नेपाल आउँदा आफूलाई आफ्नै घर आएको जस्तो हुने भन्दै नेपाल कुनै पनि देशको भर पर्नु नहुने बताउनु भयो । प्रधानमन्त्री बालेन्द्र साहको आलोचना गर्दै साहको रवैया राम्रो नभएको जिकिर गर्नुभयो । प्रधानमन्त्री साहसँग राजनीति र गाम्भीर्यको अनुभव कम रहेको उहाँले बताउनु भयो । उहाँको भारतप्रतिको दृष्टिकोण शुद्ध हुनुपर्ने र भारतविरोधी हुनु नहुने बताउनु भयो । साहमा हिन्दुत्वप्रति आकर्षण र प्रेम हुनु आवश्यक रहेको बताउनु भयो ।
उहाँले नेपालमा राजसंस्थाको आवश्यकता रहेको बताउनु भयो । नेपालमा अत्याधिक धर्मान्तरण भइरहेकोमा पनि उहाँले चिन्ता व्यक्त गर्नुभयो ।
अब शेयर मूल्य एकैदिन १५ प्रतिशतसम्म घटबढ हुनसक्ने भएको छ । नेपाल धितोपत्र बोर्ड (सेवोन) बाट ‘धितोपत्र कारोबार सञ्चालन (चौथो संशोधन) विनियमावली, २०८२’ स्वीकृत भएसँगै नेप्सेले यो नयाँ व्यवस्था कार्यान्वयनमा ल्याउन लागेको हो ।
सोमबवारबाट लागू हुन लागेको नयाँ व्यवस्थाअनुसार अब सूचीकृत कम्पनीहरूको शेयर मूल्य एकैदिन १५ प्रतिशतसम्म घटबढ हुन सक्नेछ । यसअघि यस्तो सीमा १० प्रतिशत मात्र रहेको थियो । बजारलाई थप चलायमान बनाउन र मूल्य निर्धारण प्रक्रियालाई यथार्थपरक बनाउन यो सीमा बढाइएको नेप्सेले जनाएको छ ।
नयाँ नीतिअनुसार बजार खुल्नुअघिको प्रि–ओपन सेसनको मूल्य सीमामा पनि परिवर्तन गरिएको छ । यसअघि २ प्रतिशत रहेको यस्तो सीमालाई बढाएर ५ प्रतिशत कायम गरिएको छ । यसले बजार खुल्ने बित्तिकै हुने अस्वाभाविक उतारचढावलाई नियन्त्रण गर्ने अपेक्षा गरिएको छ ।
यसैगरी, नेप्से परिसूचक (इन्डेक्स) मा आधारित सर्किट ब्रेकर प्रणालीलाई पनि सरलीकृत गरिएको छ । अब तीन तहको सट्टा दुई तहको मात्र सर्किट ब्रेकर रहनेछ । कारोबार सुरु भएको दुई घण्टाभित्र बजार सूचक ५ प्रतिशतले घटबढ भएमा १५ मिनेटका लागि कारोबार रोकिनेछ । यदि सूचक ८ प्रतिशतले घटबढ भएमा उक्त दिनको सम्पूर्ण कारोबार बन्द गरिनेछ । यसअघि ४/५ र ६ प्रतिशतको तीन तहको जटिल सर्किट प्रणाली रहेको थियो । नयाँ व्यवस्थाले बजारको अवरोध कम गरी कारोबारलाई सहज बनाउने लक्ष्य लिएको छ ।
यस्तै नेपाल धितोपत्र बोर्डले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) प्रक्रियालाई थप पारदर्शी र विश्वसनीय बनाउन नयाँ व्यवस्था लागू गरेको छ ।
आईपीओका लागि पेस भएका कम्पनीहरुको विवरणको पुनरावलोकन गर्ने सम्बन्धी मापदण्ड बोर्डले परिमार्जन गर्दै वैशाख १ देखि लागू गरेको हो । नयाँ व्यवस्थाअनुसार अब आईपीओका लागि आवेदन दिने कम्पनीहरूको वित्तीय अवस्था र मापदण्डको जाँच लेखा विशेषज्ञबाट अनिवार्य पुनरावलोकन गराइनेछ ।
मापदण्डअनुसार धितोपत्र बोर्डले कम्पनीहरूको पछिल्लो तीन वर्षको लेखापरीक्षण भएको विवरण जाँचबुझ गर्नेछ । कम्पनीको कुल बिक्रीको ७५ प्रतिशतभन्दा बढी रकम उठ्न बाँकी देखिएमा पुनरावलोकन गरिनेछ । उत्पादनमूलक क्षेत्रमा पनि ७५ प्रतिशत र होटल तथा पर्यटन क्षेत्रमा ५० प्रतिशतभन्दा बढी प्राप्य रकम भएमा यो नियम लागू हुनेछ । बोर्डले विभिन्न क्षेत्रका लागि छुट्टाछुट्टै वित्तीय सूचकहरू पनि तय गरेको छ ।
पेट्रोलियम पदार्थमा भएको भारी मूल्य वृद्धिको बाछिटा कालिमाटी फलफूल तथा तरकारी बजारमा प्रस्ट देखिन्छ । ढुवानी भाडा बढ्दा उपभोक्ताको थाली महँगो भएको छ । आजको बजारमा तरकारीको मूल्यमा विविधता देखिएको छ । गोलभेडा ठूलो (भारतीय) को मूल्य ७५ रुपैयाँ (औसत) रहँदा लोकल गोलभेडा ३० रुपैयाँमै उपलब्ध छ । यसले भारतीय आयातित गोलभेडा भन्दा स्थानीय उत्पादन २.५ गुणा सस्तो रहेको देखाउँछ । च्याउ र कुरीलो जस्ता विलासी तरकारीहरूको मूल्य भने आकासिएको छ । सिताके च्याउको मूल्य प्रतिकेजी ९ सय रुपैयाँ पुगेको छ भने डल्ले च्याउ ४ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ । न्युन आय भएकाहरूका लागि स्थानीय घिउ सिमी (२२.५०), लौका (२२.५०) र घिरौला (३०) केही राहत दिने वस्तु बनेका छन् । फलफूलको मूल्य आज झनै आक्रामक देखिएको छ । विशेष गरी एभोकाडो (७ सय) र किबि (३ सय ७५) मध्यम र उच्च वर्गको मात्र पहुँचमा देखिन्छन् । दैनिक उपभोग्य फलफूलमा स्याउ (फूजी) २ सय ८५ रुपैयाँ र अनार ३ सय ६५ रुपैयाँ पुग्नुले बिरामी र बुढाबुढीलाई फलफूल खुवाउन समेत समस्या पर्ने स्थिति आएको छ ।
केरा प्रतिदर्जन २५० रुपैयाँ र कागती ३ सय ५५ रुपैयाँ प्रतिकेजी हुनुले नेपाली बजारमा आयातित फलफूलको दबदबा र ढुवानी खर्चको प्रत्यक्ष असरलाई पुष्टि गर्दछ ।
तरकारीको तुलनामा ताजा माछाको मूल्य केही स्थिर देखिएको छ । ताजा माछा (बचुवा र छडी) २ सय ९० देखि ३ सय ५ रुपैयाँमा पाइन्छ । यद्यपि, सुकेको माछाको मूल्य ९ सय रुपैयाँ पुग्नुले संरक्षण र भण्डारण खर्च बढेको सङ्केत गर्दछ ।





