अष्ट्रेलिया, जहाँ नवजात शिशुको दायित्व राज्यले लिन्छ
मेरो देश, जहाँ अस्पताल नपुगी सुत्केरी र शिशुको ज्यान जान्छ**

सुत्केरीपछि रगत नरोकिएर प्राण गुम्छ। बाटोमै सुत्केरी हुनुपर्छ। सरकारको उपस्थितिसम्म हुँदैन। कहिले पुग्ला हाम्रो देश त्यो स्तरमा?
अष्ट्रेलिया भ्रमण मेरो जीवनको ११औँ वैदेशिक यात्रा थियो। देश फेरिए पनि अनुभव भने नयाँ थिएन, किनभने यसअघि पनि म थुप्रै देश घुमिसकेको थिएँ। तर मेरी श्रीमतीका लागि भने यो पहिलो विदेश यात्रा थियो। पहिलो पटक जहाज चढ्ने, नयाँ देश हेर्ने र नयाँ अनुभव लिने अवसरले उनी अत्यन्त उत्साहित थिइन्।
हाम्रो छोरा त अझ दुई वर्षको पनि भएको थिएन। उसले पनि सानैमा आफ्नै पहिलो अन्तर्राष्ट्रिय यात्रा गर्यो। हाम्रै आमा पनि साथमै हुनुहुन्थ्यो। उहाँका लागि यो यात्रा झनै विशेष थियो—छोरा–बुहारी, छोरी–ज्वाईं र नातिनीहरूसँग भेट हुने उत्साहले भरिएको।
परिवारका सदस्यहरूको यो पहिलो सामूहिक अन्तर्राष्ट्रिय यात्रा, आ–आफ्नै उत्साह र भावना, अनि बेग्लै अनुभवले अष्ट्रेलिया यात्रा मेरो जीवनको अविस्मरणीय क्षण बन्यो।
तर आज म ती रमाइला पलहरूभन्दा पनि एउटा फरक, गहिरो र चेतनादायी अनुभवको प्रसंग लेख्दैछु—अष्ट्रेलियाको मातृ–शिशु सेवा प्रणालीबारे, जसले मलाई भित्र–भित्रसम्म हल्लायो।
हामी अष्ट्रेलिया पुगेको करिब १५–२० दिन जति भएको थियो। संयोगवश, मेरा भाइ र बुहारी पहिलो सन्तानको आगमनको तयारीमा थिए। अचानक एक दिन बुहारीलाई सुत्केरी व्यथा लाग्यो, र तुरुन्तै अस्पताल लैजानुपर्ने भयो।
अस्पताल सरकारी (सामुदायिक) नै थियो, तर सेवा, सरसफाइ, सुविधा र व्यवहारले पाँचतारे होटलजस्तो लाग्यो। न लुगाफाटो बोकिनु पर्यो, न त औषधि र खानेकुरा। न त बिरामीको स्याहारका लागि २–४ जना आफन्तको खटाइ। सबै कुरा अस्पतालकै व्यवस्था—चिटिक्क परेको कोठा, सफा ओछ्यान, समयमै आउने स्वास्थ्यकर्मी, र सेवाभावयुक्त व्यवहार।

मैले महसुस गरें—सेवा भनेको केवल पैसाको कुरा होइन, व्यवस्थापन र इच्छाशक्तिको विषय हो।
बुहारी रोशनीकै इच्छाअनुसार, सम्भव भएसम्म प्राकृतिक (नर्मल) डेलिभरी गराउने निर्णय गरिएको थियो। स्वास्थ्यकर्मीहरू पनि आमाको चाहना सम्मान गर्दै सक्दो प्रयास गर्थे। अन्ततः अस्पताल भर्ना गरिएको दोस्रो दिन एक सानी परीले यो संसारमा पाइला टेकिन्। आँखा रसाइ, ओठमा मुस्कान, र मनमा अपार कृतज्ञता थियो।
नेपालमा सामान्य डेलिभरी भए भोलिपल्टै डिस्चार्ज गरिन्छ। म पनि त्यही सोचमा थिएँ। तर अष्ट्रेलियाको प्रक्रिया फरक रहेछ। जबसम्म आमाले आफैं विश्वस्त भएर भनिनन्—”अब म तयार छु, मलाई डिस्चार्ज गरिदिनुहोस्”, तबसम्म अस्पतालले छुट दिँदैन।
ती दिनहरूमा स्वास्थ्यकर्मीहरू हरेक दिन आउने–जाने गर्थे। बच्चा सम्हाल्ने, स्तनपान गराउने, नुहाउनेदेखि आमा आफैंको स्वास्थ्य र मानसिक सन्तुलनसम्मका सबै कुरा सिकाउने गर्थे। त्यो समर्पण, त्यो धैर्य र सेवाभाव देख्दा मनमा गहिरो सम्मानको भावना जाग्यो।
घर फर्किएपछि पनि नियमित रूपमा अस्पतालबाट फोन आउँथ्यो—”बच्चा कस्तो छ?”, “आमा ठिक छिन् नि?”, “केही समस्या छ भने तुरुन्त बताउनुहोस् है।”
त्यति मात्रै होइन, एक दिन त अस्पतालकै नर्स इन्चार्ज चेकलिस्ट बोकेर घरमै आइपुगिन्। सुरुमा बाहिरी सरसफाइ हेरेर, उनी सिधा भाइ–बुहारी बसेको कोठातिर लागिन्। केही समय उनीहरूसँग बसेपछि भाइलाई बाहिर पठाइन् र बुहारीसँग मात्र एक्लै कुराकानी गरिन्।
भाइलाई सोध्दा उनले भने—”उनी नानी सुत्ने ठाउँ, सरसफाइ, हावापानी, खाना, स्तनपान, निद्रा, श्रीमानको साथ–सहयोग सबै कुरा बुझ्दै थिइन्।”
यो सुन्दा म चुप भएँ। भित्रभित्रै सोच्दै थिएँ—कति ठूलो माया! हाम्रो बच्चाका लागि राज्यका सेवकहरू यति संवेदनशील! त्यसपछि मैले नर्सलाई सोधें—”यो त हाम्रो बच्चा हो, तपाईंहरूले यति धेरै चिन्ता किन लिनुहुन्छ?”
नर्सको उत्तर थियो—“हो, यो तपाईंहरूको बच्चा हो। तर अब यो बच्चा केवल तपाईंहरूको मात्रै होइन। यो हाम्रो स्टेटको पनि हो, हाम्रो देशको पनि हो। उहाँ–हामी सबैको साझा जिम्मेवारी हो—स्वस्थ, सुरक्षित र सम्मानजनक हुर्काइ दिनु।”
त्यो वाक्यले मेरो हृदय छाम्यो। म स्तब्ध भएँ।
त्यो उत्तर सुनेर मलाई मेरो देश सम्झियो—जहाँ सुत्केरी महिलालाई भोलिपल्टै डिस्चार्ज गरिन्छ, जहाँ आफ्नै बच्चाका लागि सरकार अदृश्य हुन्छ। जहाँ अस्पताल जानुअघि नै परिवारलाई तयारीको सन्दूक बोक्नुपर्ने हुन्छ—औषधि, खाना, लुगाफाटो, स्याहार सबै आफैंले। राज्यको भूमिका कहाँ हो?
तर यहाँ, अष्ट्रेलियामा—बच्चा जन्मेपछि सरकारको हात न्यानो स्पर्श भएर आइपुग्छ। त्यो जिम्मेवारी, त्यो व्यवस्थापन, त्यो माया—त्यो नै साँचो सेवा हो।
त्यो दिन मैले बुझें—बालअधिकार कागजमा लेखिएको शब्द होइन, जब व्यवहारमा लागू हुन्छ, तब मात्र त्यो संरक्षण साँचो हुन्छ।
Pokhara TV









