२०८३ बैशाख ३ बिहीबार
२०८३ बैशाख ३ बिहीबार

पोखरा, श्रावण १९- एनएमबि बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत कास्की जिल्लाको हेमजास्थित मानवसेवा आश्रममा सौर्य सामग्री हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ।


उक्त कार्यक्रममा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत (CEO) गोविन्द घिमिरे, गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री बिन्दुकुमार थापा, आश्रमका पदाधिकारीहरू, स्वयंसेवकहरू तथा स्थानीयबासीहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमको अवसरमा बैंकले आश्रमलाई १,००० लिटर क्षमताको तातोपानी सौर्य प्रणाली तथा आधुनिक इलेक्ट्रोनिक सोलार सिस्टम हस्तान्तरण गरेको हो। यस सहयोगले आश्रममा बसोबास गरिरहेका सेवा प्राप्तकर्ताहरूको दैनिक जीवन सहज र सुविधाजनक हुने विश्वास गरिएको छ।


बोल्दै सीईओ घिमिरेले एनएमबि बैंकले सामाजिक उत्तरदायित्वको भावना अनुरूप शिक्षा, स्वास्थ्य, वातावरण संरक्षणजस्ता विभिन्न क्षेत्रमा निरन्तर सहयोग गर्दै आएको उल्लेख गरे। उनले आगामी दिनहरूमा पनि यस्ता सहयोगात्मक कार्यक्रमलाई निरन्तरता दिइने प्रतिवद्धता व्यक्त गरे।

मन्त्री बिन्दुकुमार थापाले बैंकको सामाजिक योगदानको प्रशंसा गर्दै यस्तो पहलले समाजमा सकारात्मक सन्देश जाने बताए। साथै, उनले सामाजिक सेवामा सक्रिय सम्पूर्ण संस्थाहरूलाई धन्यवाद ज्ञापन गरे।

कार्यक्रमको आयोजना मानवसेवा आश्रम पोखरा शाखाले गरेको थियो।

सिरहाबाट हलेसी मन्दिर दर्शन गरेर फर्किंदै गरेको यात्रुहरू सवार माइक्रोबस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्।

प्रदेश २–०–१–००१ ज ००५३ नम्बरको माइक्रोबस मध्यपहाडी लोकमार्गअन्तर्गत जयराम–हलेसी सडकखण्डको कदुवास्थित डौँठेखोला नजिक आज बिहान करिब ९ बजे दुर्घटना भएको हो।

मृतक र घाइतेहरूको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

घाइतेहरूलाई उद्धार गरी उपचारका लागि एम्बुलेन्समार्फत घुर्मीतर्फ पठाइएको हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका वडाध्यक्ष तथा प्रवक्ता कमल गिरीले जानकारी दिएका छन्।

घाइतेमध्ये छ जनालाई अवस्था गम्भीर रहेकाले काठमाडौँस्थित राष्ट्रिय ट्रमा सेन्टर पठाइएको छ। बाँकी आठ जनाको उपचार घुर्मीस्थित जनसेवा पोलिक्लिनिकमा भइरहेको छ, र उनीहरूको अवस्था सामान्य बन्दै गएको स्वास्थ्यकर्मीहरूले बताएका छन्।

दुर्घटनाग्रस्त माइक्रोबसमा कुल १६ जना यात्रु सवार रहेको खुलेको छ।

प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा उद्धार कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिएका छन्।

प्रत्यक्षदर्शीका अनुसार माइक्रोबस सडकबाट करिब २०० मिटर तल खसेको थियो। दुर्घटनास्थल वरिपरि बुट्यान र झाडी रहेकाले ठूलो मानवीय क्षति हुन नपाएको प्रवक्ता गिरीले जनाएका छन्।

दुर्घटनाको कारण खुल्न बाँकी रहेको र विवरण संकलनको काम भइरहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा परेका यात्रीहरू विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसीमा लागेको ‘बोलबम’ मेला सकेर फर्किंदै गरेका थिए।

हिन्दू, बौद्ध र किरात धर्मावलम्बीहरूको तीर्थस्थल हलेसीमा साउन महिनाभर बोलबम मेला लाग्ने गर्दछ। दर्शनार्थीहरू निजी वा भाडाका सवारीसाधन रिजर्भ गरेर मेला भर्न आउने गर्छन्।

७८ लाख रुपैयाँभन्दा बढीको अवैध अभौतिक मुद्रा (क्रिप्टो) कारोबार गरेको आरोपमा एक युवा पक्राउ परेका छन्।

पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका–१६ चिसापानी निवासी २१ वर्षीय सुशान्त दाहाल रहेका छन्।

प्रहरीका अनुसार उनले ७८ लाख ३० हजार ३८८ रुपैयाँ बराबरको क्रिप्टो कारोबार गरेका थिए।

दाहालविरुद्ध अभौतिक मुद्रा कारोबार गर्न नपाइने कसुरअन्तर्गत अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता कुलदीप चन्दले जानकारी दिएका छन्।

सोमबार बिहान सवा ६ बजेतिर बूढानीलकण्ठ नगरपालिका–२ भंगाल दूधडेरी नजिक हातमा हत्कडी लगाएको एक व्यक्ति देखिएपछि स्थानीयहरू अचम्ममा परे।

प्रहरीको उपस्थिति नरहेको र ती व्यक्तिसँग कोही पनि नदेखिएपछि एक स्थानीयले प्रहरी प्रभाग, बूढानीलकण्ठमा खबर गरे – ‘हत्कडीसहितको व्यक्ति भेटिएको छ।’

खबर प्राप्त भएपछि प्रभागबाट प्रहरी टोली तत्काल घटनास्थल पुगेको थियो। स्थानीयको भनाइअनुसार, त्यहाँ हत्कडी लगाएका एक व्यक्ति फेला परे। प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ।

पक्राउ परेका ती व्यक्ति २० वर्षीय दिलीप राय हुन्।

रायलाई लागुऔषध नियन्त्रण ब्युरोको टोलीले लागुऔषधसहित पक्राउ गरेको थियो। उनलाई पक्राउ गरेर हत्कडी लगाएको अवस्थामा पनि फरार भएको खुलेको छ।

हाल रायलाई पुनः नियन्त्रणमा लिइ लगत्तै लागुऔषध नियन्त्रण ब्युरोको जिम्मा लगाइएको प्रहरीले जानकारी दिएको छ।

सुनको मूल्यमा लगातार वृद्धि भइरहेको छ। सोमबार पनि सुनको भाउ वृद्धि भएको छ। अघिल्लो दिनको तुलनामा सोमबार तोलामा १ सय रुपैयाँले मूल्य बढेको हो। त्यसअघि आइतबार एकैदिनमा सुनको भाउ तोलामा ३४ सय रुपैयाँले बढेको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारका लागि छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९६ हजार ६ सय रुपैयाँ तोकिएको छ। अघिल्लो दिन यसको मूल्य १ लाख ९६ हजार ५ सय रुपैयाँ थियो। यसअघि वैशाख ९ गते सुनको मूल्य प्रतितोला १ लाख ९७ हजार ९ सय रुपैयाँ पुगेको थियो, जुन हालसम्मको उच्च मूल्य हो।

चाँदीको मूल्य पनि बढेको छ। अघिल्लो दिन प्रतितोला २,२५० रुपैयाँ रहेको चाँदी सोमबार ५ रुपैयाँले बढेर २,२५५ रुपैयाँमा पुगेको छ।

माबिलुङ इनर्जीले सर्वसाधारणका लागि साउन २६ देखि प्राथमिक सेयर (आईपीओ) जारी गर्ने भएको छ। कम्पनीले अंकित मूल्य १ सय रुपैयाँ दरले कुल १८ लाख ९० हजार ५३० कित्ता सेयर सर्वसाधारण समूहमा निष्कासन गर्न लागेको हो।

जसले जारी पूँजीको ४८.९९ प्रतिशत भाग प्रतिनिधित्व गर्छ। वैदेशिक रोजगारमा रहेका, आयोजना प्रभावित तथा सामूहिक लगानी कोषलाई छुट्याएपछि बाँकी रहेको १२ लाख ४८ हजार ९०४ कित्ता सेयर सर्वसाधारणमा उपलब्ध गराइएको हो।

सर्वसाधारणले न्यूनतम १० र अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। आवेदन अनलाइन प्रणाली ‘मेरोसेयर’ मार्फत दिन सकिनेछ। बिक्री प्रवन्धक लक्ष्मी सनराइज क्यापिटलले सार्वजनिक सूचना मार्फत यो जानकारी दिएको छ। आवेदन दिने अन्तिम मिति साउन २९ गते रहेको छ।

कम्पनीले संखुवासभा जिल्लाको माथिल्लो पिलुवाखोला–३ मा ४.९५ मेगावाट क्षमताको आयोजनाको निर्माण गरेको छ, जसको प्रतिमेगावाट लागत २२ करोड ९५ लाख रुपैयाँ छ।

गत चैत मसान्तसम्मको अपरिस्कृत वित्तीय विवरणअनुसार कम्पनीको प्रतिसेयर नेटवर्थ १०६ रुपैयाँ ९५ पैसा रहेको छ भने प्रतिसेयर आम्दानी १ रुपैयाँ ५ पैसा रहेको छ। यसअनुसार साधारण लगानी फिर्ता हुने अनुमानित अवधि ९.४३ वर्ष रहेको छ।

नेपाली पब्जी टोली होरा इस्पोर्ट्स साउदी अरेबियामा जारी इस्पोर्ट्स विश्वकप अन्तर्गत पब्जी मोबाइल विश्वकपमा नवौं स्थान हासिल गर्न सफल भएको छ।

फाइनलको अन्तिम दिन अन्तिम खेलमा चिकन डिनर जित्दै होराले समग्र १८ खेलमा १०० अंकसहित नवौं स्थान प्राप्त गरेको हो।

यस जितसँगै होराले ग्रुप स्टेजबाट २७,५०० अमेरिकी डलर, सर्भाइभल स्टेजबाट २५,००० डलर, शो म्याचबाट १५,००० डलर र फाइनलको नवौं स्थानबाट ६०,००० डलर गरी कुल १ लाख २७,५०० अमेरिकी डलर पुरस्कार जितेको छ।

आजको विनिमय दरअनुसार उक्त रकम करिब १ करोड ७८ लाख ९७ हजार १७५ नेपाली रुपैयाँ बराबर हुन्छ।

गत शुक्रबारदेखि आइतबारसम्म भएको लिग स्टेजमा होरा इस्पोर्ट्स १३औं स्थानमा रहेकाले सिधै ग्राण्ड फाइनलमा पुग्न सकेको थिएन।

लिग स्टेजमा शीर्ष ८ मा नपरेपछि होराले सर्भाइभल स्टेजमा प्रतिस्पर्धा गरी त्यहाँ विजयी भई फाइनलमा प्रवेश गरेको थियो। सर्भाइभल स्टेजको शीर्ष ८ टोली फाइनल स्टेजमा पुग्ने व्यवस्था छ।

सर्भाइभल स्टेजमा होराले १२ खेलमा २ चिकन डिनरसहित कुल १०८ अंक जोड्दै २५,००० अमेरिकी डलर पुरस्कार जितेको थियो।

लिग स्टेजमा १३औं स्थानमा रहेर पनि होराले उक्त पोजिसनको पुरस्कार स्वरूप २७,५०० डलर पाएको थियो।

पब्जी मोबाइल विश्वकपको उपाधि म्यानमारको वाइजी इस्पोर्ट्सले जितेको छ

रुसको कामचाट्का प्रायद्वीपमा ५०० वर्षपछि क्रशेनिनिकोभ ज्वालामुखी विस्फोट भएको छ। चार दिनअघि ८.८ म्याग्निच्युडको भूकम्प गएको सोही क्षेत्रमा ज्वालामुखी सक्रिय भएको रुसी अधिकारीहरूले जनाएका छन्।

बीबीसीका अनुसार, अगस्ट २ तारिखमा भएको यो विस्फोटबाट करिब ६ हजार मिटर उचाइसम्म खरानीको मुस्लो फैलिएको थियो। यसका कारण सो क्षेत्रको हवाई मार्ग अस्थायी रूपमा बन्द गरिएको थियो। यद्यपि, विस्फोटबाट बस्ती क्षेत्रमा कुनै प्रत्यक्ष खतरा नरहेको रुसी अधिकारीहरूले स्पष्ट पारेका छन्।

रुसको आपतकालीन मामिला मन्त्रालयले आइतबार क्रशेनिनिकोभ ज्वालामुखी विस्फोट भएको औपचारिक जानकारी दिएको हो। यो ज्वालामुखी यसअघि १५औँ शताब्दीमा विस्फोट भएको र त्यसपछि निष्क्रिय रहेको जनाइएको छ।

भूकम्पसँग सम्बन्ध?

वैज्ञानिकहरूका अनुसार यो ज्वालामुखी विस्फोट चार दिनअघि कामचाट्कामा गएको ८.८ म्याग्निच्युडको शक्तिशाली भूकम्पसँग सम्बन्धित हुन सक्छ। ‘भल्केनिक इरप्सन रेस्पोन्स टिम’की प्रमुख ओल्गा गिरिनाले ज्वालामुखी सक्रियताको कारण भूकम्पको ऊर्जा सर्नु हुनसक्ने बताएको बीबीसीले उल्लेख गरेको छ।

सो भूकम्पपछि क्षेत्रमै परकम्पहरू भइरहेका छन्। आइतबार कुरिल द्वीपमा ७ म्याग्निच्युडको अर्को भूकम्प पनि मापन गरिएको थियो।

रिंग अफ फायर क्षेत्रभित्र

कामचाट्का र आसपासका क्षेत्रहरू ‘रिंग अफ फायर’ नामक भूगर्भीय क्षेत्रमा पर्दछन्। यो क्षेत्रमा थुप्रै टेक्टोनिक प्लेटहरू एकआपसमा जुध्ने हुँदा विश्वका अधिकांश ज्वालामुखी विस्फोट र भूकम्पहरू यहीं हुने गर्छन्।

भूगर्भविद्का अनुसार, विश्वका ७५ प्रतिशत सक्रिय ज्वालामुखी र ९० प्रतिशत भूकम्पहरू यही क्षेत्रभित्र पर्छन्। रिंग अफ फायर करिब ४० हजार किलोमिटर लम्बाइमा फैलिएको छ र यसमा जापान, रूस, फिलिपिन्स, इन्डोनेसिया, न्युजिल्यान्ड, अमेरिका, चिली लगायत १५ देशहरू पर्छन्।

जुलाई महिनामा मात्र ६ शक्तिशाली भूकम्प

कामचाट्का क्षेत्रमा जुलाई महिनामा मात्र ६ वटा शक्तिशाली भूकम्प मापन भएका थिए। तीमध्ये दोस्रो ठूलो भूकम्प ७.४ म्याग्निच्युडको थियो। अगस्टको सुरुमा गएको ८.८ म्याग्निच्युडको भूकम्पलाई वैज्ञानिकहरूले विश्वको छैठौं शक्तिशाली भूकम्पको रूपमा वर्गीकृत गरेका छन्।

यस भूकम्पपछि रूस, अमेरिका, जापान र चिलीले सुनामीको चेतावनी जारी गरेका थिए। जापानले त आफ्नो फुकुशिमा परमाणु रिएक्टर खाली गर्नुका साथै लाखौँ मानिसलाई सुरक्षित स्थानमा सार्न निर्देशन दिएको थियो।

इतिहासमा कामचाट्कामा सन् १९५२ नोभेम्बर ४ मा ९.० म्याग्निच्युडको भूकम्प गएको थियो। सो भूकम्पले ९.१ मिटर उचाइका समुद्री छालहरू उठाएको थियो, तर मानवीय क्षति भने भएको थिएन।


मुख्य बुँदाहरू:

अष्ट्रेलिया, जहाँ नवजात शिशुको दायित्व राज्यले लिन्छ

मेरो देश, जहाँ अस्पताल नपुगी सुत्केरी र शिशुको ज्यान जान्छ**

सुत्केरीपछि रगत नरोकिएर प्राण गुम्छ। बाटोमै सुत्केरी हुनुपर्छ। सरकारको उपस्थितिसम्म हुँदैन। कहिले पुग्ला हाम्रो देश त्यो स्तरमा?

अष्ट्रेलिया भ्रमण मेरो जीवनको ११औँ वैदेशिक यात्रा थियो। देश फेरिए पनि अनुभव भने नयाँ थिएन, किनभने यसअघि पनि म थुप्रै देश घुमिसकेको थिएँ। तर मेरी श्रीमतीका लागि भने यो पहिलो विदेश यात्रा थियो। पहिलो पटक जहाज चढ्ने, नयाँ देश हेर्ने र नयाँ अनुभव लिने अवसरले उनी अत्यन्त उत्साहित थिइन्।

हाम्रो छोरा त अझ दुई वर्षको पनि भएको थिएन। उसले पनि सानैमा आफ्नै पहिलो अन्तर्राष्ट्रिय यात्रा गर्‍यो। हाम्रै आमा पनि साथमै हुनुहुन्थ्यो। उहाँका लागि यो यात्रा झनै विशेष थियो—छोरा–बुहारी, छोरी–ज्वाईं र नातिनीहरूसँग भेट हुने उत्साहले भरिएको।

परिवारका सदस्यहरूको यो पहिलो सामूहिक अन्तर्राष्ट्रिय यात्रा, आ–आफ्नै उत्साह र भावना, अनि बेग्लै अनुभवले अष्ट्रेलिया यात्रा मेरो जीवनको अविस्मरणीय क्षण बन्यो।

तर आज म ती रमाइला पलहरूभन्दा पनि एउटा फरक, गहिरो र चेतनादायी अनुभवको प्रसंग लेख्दैछु—अष्ट्रेलियाको मातृ–शिशु सेवा प्रणालीबारे, जसले मलाई भित्र–भित्रसम्म हल्लायो।

हामी अष्ट्रेलिया पुगेको करिब १५–२० दिन जति भएको थियो। संयोगवश, मेरा भाइ र बुहारी पहिलो सन्तानको आगमनको तयारीमा थिए। अचानक एक दिन बुहारीलाई सुत्केरी व्यथा लाग्यो, र तुरुन्तै अस्पताल लैजानुपर्ने भयो।

अस्पताल सरकारी (सामुदायिक) नै थियो, तर सेवा, सरसफाइ, सुविधा र व्यवहारले पाँचतारे होटलजस्तो लाग्यो। न लुगाफाटो बोकिनु पर्‍यो, न त औषधि र खानेकुरा। न त बिरामीको स्याहारका लागि २–४ जना आफन्तको खटाइ। सबै कुरा अस्पतालकै व्यवस्था—चिटिक्क परेको कोठा, सफा ओछ्यान, समयमै आउने स्वास्थ्यकर्मी, र सेवाभावयुक्त व्यवहार।

मैले महसुस गरें—सेवा भनेको केवल पैसाको कुरा होइन, व्यवस्थापन र इच्छाशक्तिको विषय हो।

बुहारी रोशनीकै इच्छाअनुसार, सम्भव भएसम्म प्राकृतिक (नर्मल) डेलिभरी गराउने निर्णय गरिएको थियो। स्वास्थ्यकर्मीहरू पनि आमाको चाहना सम्मान गर्दै सक्दो प्रयास गर्थे। अन्ततः अस्पताल भर्ना गरिएको दोस्रो दिन एक सानी परीले यो संसारमा पाइला टेकिन्। आँखा रसाइ, ओठमा मुस्कान, र मनमा अपार कृतज्ञता थियो।

नेपालमा सामान्य डेलिभरी भए भोलिपल्टै डिस्चार्ज गरिन्छ। म पनि त्यही सोचमा थिएँ। तर अष्ट्रेलियाको प्रक्रिया फरक रहेछ। जबसम्म आमाले आफैं विश्वस्त भएर भनिनन्—”अब म तयार छु, मलाई डिस्चार्ज गरिदिनुहोस्”, तबसम्म अस्पतालले छुट दिँदैन।

ती दिनहरूमा स्वास्थ्यकर्मीहरू हरेक दिन आउने–जाने गर्थे। बच्चा सम्हाल्ने, स्तनपान गराउने, नुहाउनेदेखि आमा आफैंको स्वास्थ्य र मानसिक सन्तुलनसम्मका सबै कुरा सिकाउने गर्थे। त्यो समर्पण, त्यो धैर्य र सेवाभाव देख्दा मनमा गहिरो सम्मानको भावना जाग्यो।

घर फर्किएपछि पनि नियमित रूपमा अस्पतालबाट फोन आउँथ्यो—”बच्चा कस्तो छ?”, “आमा ठिक छिन् नि?”, “केही समस्या छ भने तुरुन्त बताउनुहोस् है।”

त्यति मात्रै होइन, एक दिन त अस्पतालकै नर्स इन्चार्ज चेकलिस्ट बोकेर घरमै आइपुगिन्। सुरुमा बाहिरी सरसफाइ हेरेर, उनी सिधा भाइ–बुहारी बसेको कोठातिर लागिन्। केही समय उनीहरूसँग बसेपछि भाइलाई बाहिर पठाइन् र बुहारीसँग मात्र एक्लै कुराकानी गरिन्।

भाइलाई सोध्दा उनले भने—”उनी नानी सुत्ने ठाउँ, सरसफाइ, हावापानी, खाना, स्तनपान, निद्रा, श्रीमानको साथ–सहयोग सबै कुरा बुझ्दै थिइन्।”

यो सुन्दा म चुप भएँ। भित्रभित्रै सोच्दै थिएँ—कति ठूलो माया! हाम्रो बच्चाका लागि राज्यका सेवकहरू यति संवेदनशील! त्यसपछि मैले नर्सलाई सोधें—”यो त हाम्रो बच्चा हो, तपाईंहरूले यति धेरै चिन्ता किन लिनुहुन्छ?”

नर्सको उत्तर थियो—“हो, यो तपाईंहरूको बच्चा हो। तर अब यो बच्चा केवल तपाईंहरूको मात्रै होइन। यो हाम्रो स्टेटको पनि हो, हाम्रो देशको पनि हो। उहाँ–हामी सबैको साझा जिम्मेवारी हो—स्वस्थ, सुरक्षित र सम्मानजनक हुर्काइ दिनु।”

त्यो वाक्यले मेरो हृदय छाम्यो। म स्तब्ध भएँ।

त्यो उत्तर सुनेर मलाई मेरो देश सम्झियो—जहाँ सुत्केरी महिलालाई भोलिपल्टै डिस्चार्ज गरिन्छ, जहाँ आफ्नै बच्चाका लागि सरकार अदृश्य हुन्छ। जहाँ अस्पताल जानुअघि नै परिवारलाई तयारीको सन्दूक बोक्नुपर्ने हुन्छ—औषधि, खाना, लुगाफाटो, स्याहार सबै आफैंले। राज्यको भूमिका कहाँ हो?

तर यहाँ, अष्ट्रेलियामा—बच्चा जन्मेपछि सरकारको हात न्यानो स्पर्श भएर आइपुग्छ। त्यो जिम्मेवारी, त्यो व्यवस्थापन, त्यो माया—त्यो नै साँचो सेवा हो।

त्यो दिन मैले बुझें—बालअधिकार कागजमा लेखिएको शब्द होइन, जब व्यवहारमा लागू हुन्छ, तब मात्र त्यो संरक्षण साँचो हुन्छ।
Pokhara TV

वैदेशिक रोजगार विभागमा हाल करिब ३६ हजार मुद्दा थाती छन्। ती मुद्दा समाधान गर्न वर्षौं लाग्न सक्ने देखिएपछि सरकारले व्यक्तिगत ठगीसम्बन्धी उजुरीको अनुसन्धान प्रहरीमार्फत र न्याय निरूपण जिल्ला अदालतमार्फत गर्ने प्रस्ताव अघि सारेको छ।

सरकारले वैदेशिक रोजगार ऐन, २०६४ संशोधन गर्ने तयारी अन्तिम चरणमा पुर्‍याएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ८७ दफासहितको ऐनका २३ दफा संशोधन गर्ने प्रस्ताव तयार पारेको हो।

मन्त्रालयले विभागमा थुप्रिएका मुद्दाको चाप घटाउने उद्देश्यले व्यक्तिगत ठगीसम्बन्धी उजुरीको अनुसन्धान प्रहरी र अभियोजन जिल्ला अदालतमार्फत गर्न सकिने व्यवस्था प्रस्ताव गरेको हो। वैदेशिक रोजगार व्यवस्थापन महाशाखाका सहसचिव जीवलाल भुसालको संयोजकत्वमा गठित समितिबाट ऐन संशोधनको मस्यौदा तयार पारिएको हो।

संशोधन प्रस्तावमाथि हाल मन्त्रालय सरोकारवालासँग छलफल गरिरहेको छ। ऐनको प्रस्तावनादेखि नै संशोधन प्रक्रिया अघि बढाइएको छ।


मुख्य विवाद: क्षेत्राधिकार र न्याय निरूपण

संशोधन प्रस्तावको सबैभन्दा महत्त्वपूर्ण तथा विवादास्पद बुँदा भनेको व्यक्तिगत ठगीसम्बन्धी दफा ४३ को मुद्दाको क्षेत्राधिकार परिवर्तनसँग सम्बन्धित छ।

हालसम्म वैदेशिक रोजगार विभागले नै ठगी मुद्दाको अनुसन्धान गर्दै आएको छ। तर अब ऐन संशोधनपछि व्यक्तिगत ठगीसम्बन्धी मुद्दा जिल्ला अदालतमार्फत सुनुवाइ गरिने तयारी छ।

श्रम कानुन विज्ञ अधिवक्ता सोम लुइँटेलले ठगीको अनुसन्धान प्रहरीलाई दिनु सकारात्मक भए पनि मुद्दाको सुनुवाइ जिल्ला अदालतमार्फत गर्नु प्रतिगामी कदम हुने बताए।

उनका अनुसार, विगतमा जिल्ला अदालतमा मुद्दा हेर्दा प्रक्रिया ढिलो हुने र प्रभावकारिता कमजोर देखिएको थियो। “हाल वैदेशिक रोजगार न्यायाधीकरणले गरेका ९२ प्रतिशत फैसला सर्वोच्च अदालतबाट सदर भएका छन्,” उनले भने, “यसले न्यायाधीकरणको प्रभावकारिता देखाउँछ।”

उनले व्यक्तिगत (दफा ४३) सँगै संस्थागत (दफा ४४) ठगीको अनुसन्धान पनि प्रहरीलाई दिनुपर्ने तर न्याय निरूपण वैदेशिक रोजगार न्यायाधीकरणमार्फतै गरिनुपर्ने सुझाव दिए। सर्वोच्च अदालतको आदेशअनुसार प्रदेशस्तरीय उच्च अदालतमा ‘वैदेशिक रोजगार बेञ्च’ स्थापना गरेर पहुँच विस्तार गर्न सकिने उनको भनाइ छ।

हाल बबरमहलस्थित वैदेशिक रोजगार न्यायाधीकरणमार्फत वैदेशिक रोजगार विभाग वा प्रहरीमार्फत अनुसन्धान भएका मुद्दाको फैसला हुँदै आएको छ।

मन्त्रालयका एक अधिकारीका अनुसार मस्यौदामाथि अझै छलफल जारी छ। “एकपटक अन्तिम बैठक बसेपछि मस्यौदालाई टुंगो लगाइनेछ,” उनले भने, “त्यसपछि कानुन मन्त्रालयको राय लिएर मन्त्रिपरिषद् हुँदै संसदमा पेस गरिनेछ।”


श्रमिकका लागि सकारात्मक प्रस्ताव

मस्यौदामा श्रमिकहितमा केहि सकारात्मक प्रस्तावहरू पनि समावेश गरिएको छ। बीमा, सामाजिक सुरक्षा कोष र कल्याणकारी कोषलाई एकीकृत गरी ‘एकद्वार प्रणाली’मार्फत सञ्चालन गर्ने प्रस्ताव गरिएको छ।

यस व्यवस्थाले श्रमिकले फरक–फरक निकायमा रकम बुझाउनुपर्ने झन्झट हट्ने र उनीहरूले पाउने सुविधा पनि बढ्ने अधिकारीको भनाइ छ।

“हाल श्रमिकले कल्याणकारी कोषबाट १० लाख र बीमाबाट १४ लाख गरी कुल २४ लाख रुपैयाँसम्म पाउँदै आएका छन्,” ती अधिकारीले भने, “अब एकीकृत प्रणालीबाट एउटै प्याकेजमा ३० लाख रुपैयाँसम्म सुविधा दिन सकिनेगरी छलफल भइरहेको छ।”

यसका अतिरिक्त, वैदेशिक रोजगार बोर्ड पुनर्संरचना गरी सदस्य संख्या २५ बाट १७ मा झार्ने, बोर्डको क्षेत्राधिकार विस्तार गर्ने, र श्रम स्वीकृति प्रक्रिया सहज बनाउने प्रस्ताव पनि मस्यौदामा समेटिएको छ।

अधिवक्ता लुइँटेलले तीनवटै कोषलाई एउटै प्याकेजमा ल्याउने प्रस्तावको स्वागत गर्दै यसले प्रशासनिक झन्झट घटाउने र श्रमिकको हितमा सकारात्मक प्रभाव पार्ने बताए।

त्यस्तै, व्यक्तिगत श्रम स्वीकृतिमा समेत कडाइ गर्ने विषयमा छलफल भइरहेको छ। वकिल, डाक्टरजस्ता दक्ष जनशक्ति र परिवारका सदस्यद्वारा बोलाइएको अवस्थामा मात्रै व्यक्तिगत स्वीकृति दिने र अन्य सबैलाई संस्थागत प्रक्रियाबाटै पठाउने प्रावधान ल्याउने प्रस्ताव गरिएको छ। यसले नियमन र उद्धारमा सहजता ल्याउने लुइँटेलको भनाइ छ।


ऐनमा प्रस्तावित प्रमुख संशोधनहरू

१. ‘कामदार’ शब्दको सट्टा ‘श्रमिक’ प्रयोग

— अन्य कानुनहरूसँग तादात्म्यता मिलाउन र व्यापक अर्थ दिन ‘श्रमिक’ शब्द प्रयोग गरिने।

  1. मागपत्र प्रमाणीकरणको स्पष्ट समयसीमा

    — नेपाली कूटनीतिक नियोग भएको मुलुक र कार्यक्षेत्र भएका सहप्रमाणीकृत मुलुकले १५ दिनभित्र मागपत्र प्रमाणीकरण गर्नुपर्ने। नभए स्वचालित रूपमा प्रमाणीकरण भएको मानिने।

  2. शब्दावली परिमार्जन

    — ‘श्रम स्वीकृति’को सट्टा ‘वैदेशिक रोजगार अनुमति’ र ‘पुनः श्रम स्वीकृति’को सट्टा ‘पुनः अनुमति’ प्रयोग गरिने।

  3. निलम्बन तथा सजायको व्यवस्था

    — तोकिएको विवरण समयमै नदिने संस्थालाई तीन महिनासम्म निलम्बन वा ५० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजायको व्यवस्था।

  4. सेवा शुल्क स्पष्ट पार्ने

    — कामदार सेवा शुल्क र प्रवर्द्धन खर्च छुट्याएर अब ‘सेवा शुल्क’ मात्र राख्ने प्रस्ताव।

  5. बीमा रकम कोषमा जम्मा हुने व्यवस्था

    — बीमासम्बन्धी रकम अब कल्याणकारी कोषमा जम्मा हुने व्यवस्था गरिने।

  6. अनुसन्धानको कानुनी आधार स्पष्ट

    — दफा ४३ अन्तर्गत ठगी मुद्दालाई मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ अनुसार अनुसूची १ बमोजिम कसुर मानिने।

  7. पुनरावेदनको अधिकार न्यायाधीकरणलाई

    — हाल नेपाल सरकारसमक्ष पुनरावेदन गर्नुपर्ने व्यवस्था अब वैदेशिक रोजगार न्यायाधीकरणमा गर्न सकिने प्रस्ताव।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।