अमेरिकाको ओहायो राज्यमा विश्वकै सबैभन्दा पाको उमेरको बच्चा जन्मिएको छ — जसको वास्तविक उमेर ३० वर्ष पुगेको छ। नवजात शिशुको नाम थेडियस डेनियल पियर्स राखिएको छ।

“पाको उमेरको शिशु” भन्ने शब्दावली सुन्दा अपत्यारिलो लाग्न सक्छ, तर यो सत्य हो। वास्तवमा, थेडियसको जन्म हालै भए पनि उनको भ्रूण सन् १९९४ मा नै फ्रिज गरिएको थियो। सोही ३० वर्ष पुरानो भ्रूणबाट अहिले उनको जन्म भएको हो।
न्यूयोर्क पोस्टका अनुसार, ओहायो निवासी ३४ वर्षीया लिन्डसे र ३५ वर्षीय टिम पियर्स थेडियसका माता–पिता हुन्। सन् २०२४ को जुलाई २६ मा जन्मिएका थेडियसको भ्रूण एक आइभिएफ (IVF) केन्द्रमा सन् १९९४ मै विकास गरिएको थियो। त्यो बेला टिम र लिन्डसे आफैं ४/५ वर्षका मात्र थिए, जसका कारण छोरा र आमाबाबुको उमेरको अन्तर केवल चार वर्ष मात्र रहेको छ।
सबैभन्दा लामो समयपछि जन्मिएको शिशु
यो घटनासँगै थेडियसले “संसारको सबैभन्दा वृद्ध भ्रूणबाट जन्मिएको शिशु” को कीर्तिमान कायम गरेका छन्। MIT Technology Review सँगको कुराकानीमा आमाले भनिन्, “हामीले कीर्तिमानको लागि होइन, सन्तानको आशाले भ्रूण ग्रहण गरेका थियौं। ३० वर्ष पुरानो भ्रूण काम गर्छ भन्ने हामीले कल्पनासमेत गरेका थिएनौं।”
विवाहको सात वर्षपछि पनि सन्तान प्राप्तिमा असफल भएपछि लिन्डसे दम्पत्ति एउटा कार्यक्रममा सहभागी भए जहाँ उनीहरूलाई थेडियसको भ्रूण प्रदान गरिएको थियो।
दिदी ३० वर्षकी, भान्जी १० वर्षकी
थेडियससँग सम्बन्धित अर्को अनौठो तथ्य के छ भने — उनको एउटी ३० वर्षीया दिदी पनि छिन्, जसकी १० वर्षीया छोरी छ। थेडियसको भ्रूण सन् १९९४ मा लिन्डा आर्चर्ड र उनका तत्कालीन पतिका लागि IVF उपचार अन्तर्गत तीन अन्य भ्रूणसँगै विकास गरिएको थियो। सो भ्रूणमध्ये एकलाई प्रत्यारोपण गरिएपछि एक छोरी जन्मिएकी थिइन् — ती अहिले ३० वर्षकी भई आमासमेत बनेकी छिन्।
बाकी तीन भ्रूणलाई क्रायोजेनिक रूपमा फ्रिज गरिएको थियो। लिन्डाले ती भ्रूणहरूलाई “तीन साना आशाहरू” भनेर सम्बोधन गर्थिन्। पछि सम्बन्धविच्छेद भएपछि उनले थप सन्तान जन्माउने योजना त्यागिन्, तर भ्रूण संरक्षण शुल्क (प्रति वर्ष १००० डलर) तिर्इरहिन्।
दानमार्फत भ्रूण हस्तान्तरण
अन्ततः लिन्डाले आफ्ना भ्रूणहरू नाइटलाइट क्रिश्चियन एडप्शन एजेन्सीमार्फत दान गर्ने निर्णय गरिन्। उक्त संस्था भ्रूण दाता र ग्रहण गर्न चाहने दम्पतीहरूलाई भेटाउने प्लेटफर्म हो। त्यही कार्यक्रममा पियर्स दम्पतीले लिन्डासँग सम्पर्क गरे र उनले एक भ्रूण प्रदान गरिन्।

लिन्डा आर्चर्डका अनुसार, जब उनले लिन्डसेबाट नवजात शिशुको तस्वीर प्राप्त गरिन्, खुसीको सीमा नै रहेन। उनले भनिन्, “थेडियसको अनुहार मेरी छोरीकै जस्तो देखिन्छ।” उता, लिन्डसे पनि अति खुसी छिन् — उनले केवल सन्तानलाभ मात्रै होइन, एउटा अद्वितीय इतिहास पनि बनाएकी छन्।










