२०८३ बैशाख ३ बिहीबार
२०८३ बैशाख ३ बिहीबार

डिंगरनगर सहकारीमा ३० करोड अपचलन

तिलोत्तमास्थित डिंगरनगर दूरगामी बहुउद्देश्यीय सहकारी संस्थामार्फत ऐन तथा नियमविपरीत ८० करोड रुपैयाँभन्दा बढी कारोबार, करिब ३० करोड अपचलन, र १० करोडभन्दा बढी हिनामिना भएको तथ्य छानबिनबाट खुलेको छ।

सहकारीका करिब २ हजार बचतकर्ताको रकम पदाधिकारीहरूले निजी खातामा जम्मा गरेका, व्यक्तिगत तजबिजमा लगानी गरेका, ऋण नलिएका व्यक्तिहरूको नाममा ऋण देखाएको र सहकारीको सफ्टवेयरमा १३ हजारपटक ‘डिलिट’ कमाण्ड प्रयोग गरिएको तथ्य आन्तरिक छानबिनबाट उजागर भएको हो।

प्रतिवेदन तयार, प्रदेशमा बुझाइने तयारी

समग्र लेखापरीक्षण र ऋण प्रवाहमा भएका अनियमितताको अध्ययन गरी तयार गरिएको प्रतिवेदन सहकारीका कोषाध्यक्ष सुरेन्द्रमान बज्राचार्य र आन्तरिक छानबिन समिति संयोजक तथा सहकारीका सल्लाहकार बेलप्रसाद शर्मालाई बुझाइएको छ।

अडिटर योगेन्द्र बास्तोला र विवेक चौधरीले २८ दिन लगाएर तयार पारेको यो प्रतिवेदन ४३० पृष्ठ लामो छ, जुन आजै प्रदेश सहकारी दर्ता कार्यालयका प्रमुख दिनेशचन्द्र आचार्यलाई बुझाइने छ। संयोजक शर्माका अनुसार, ‘प्रतिवेदन आजै बुझाउँछौं, त्यसपछि उहाँहरूले विस्तृत जानकारी दिनुहुन्छ।’


ऋण प्रवाहमा चरम लापरबाही

छानबिन समितिका अनुसार, सहकारीका ५८५ ऋणीमध्ये करिब ५० जनालाई विनाधितो ऋण प्रवाह गरिएको पाइएको छ। केही ऋणहरूमा धितो मूल्यांकन समेत नगरिएको, र नाममात्रको धितो देखाइएको लेखापरीक्षणबाट खुलेको हो।

करिब २ हजार बचतकर्ताको रकम बैंकमा नजमानी, अध्यक्ष, सचिव र व्यवस्थापकको मिलेमतोमा निजी खातामा राखिएको छ।

अफ आवर (कार्यालय समय बाहिर) सहकारीको सफ्टवेयर चलाइएको, ऋण नलिएका व्यक्तिको नाममा ऋण देखाइएको र विनाधितो करिब ५० जनालाई ऋण प्रवाह गरिएको पुष्टि सहकारीका शेयर सदस्य कमल शर्मा पौडेलले गरे।

ऋण प्रक्रिया पनि झेलझाम

  • ऋण फाइलमा प्रक्रिया नपु¥याइएको,

  • १० लाखभन्दा बढीको फाइलमा इन्जिनियरिङ मूल्यांकन नगरिएको,

  • नाम मात्रको धितो,

  • सचिव रामबहादुर थापाले मात्र ८७ पटक ऋण प्रवाह गरी करिब ४३ करोड रुपैयाँ ऋण सेवा शुल्कविना प्रवाह गरेको,

  • महिनाको अन्त्यमा देखिएको ऋण अर्को महिनाको सुरुआतमा ‘शून्य’ बनाइएको,

  • नक्कली सदस्य बनाएर ऋण लगानी,

  • ऋण लगानी गरेपछि मात्र सदस्य बनाइएको

जस्ता गम्भीर अनियमितता फेला परेका छन्।

शर्माका अनुसार, ‘६४ लाखको धितो मूल्यांकन गरेर १ करोड १४ लाख लगानी गरेको फाइल समेत भेटिएको छ।’


अध्यक्ष र सचिव फरार, व्यवस्थापक पक्राउ

सहकारीका अध्यक्ष घनश्याम तिवारीसचिव रामबहादुर थापा असार १७ देखि फरार छन्। उनीहरूविरुद्ध रुपन्देही जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरिसकेको छ। तर, प्रहरीको निष्क्रियताले बचतकर्ता आक्रोशित छन्।

उनीहरू दुबै नेपाली कांग्रेसका स्थानीय नेता हुन्। पीडित बचतकर्ताहरूले उनीहरूलाई गृहमन्त्री रमेश लेखकको संरक्षणमा रहेको आरोप समेत लगाएका छन्।

तीन सयभन्दा बढी बचतकर्ताले प्रदेश सहकारी दर्ता कार्यालयइलाका प्रहरी कार्यालय बुटवलमा सञ्चालकविरुद्ध उजुरी दिएका छन्। उनीहरूले मुलुकी अपराध संहिता, २०७४ को दफा २४९ अनुसार कारबाहीको माग गरेका छन्।

राजनीतिक संरक्षण र अनियमितता

सहकारीका अधिकांश पदाधिकारी नेपाली कांग्रेसका स्थानीय नेता कार्यकर्ता हुन्।

  • अध्यक्ष तिवारी कांग्रेसबाट वडाध्यक्ष पदका आकांक्षी थिए,

  • सचिव थापा कांग्रेस तिलोत्तमा नगर समितिका पूर्व सचिव हुन्,

  • सह–कोषाध्यक्ष केशरी पाण्डे कांग्रेस तिलोत्तमा–३ की सभापति हुन्।

१३ सदस्यीय सञ्चालक समितिमा तीन बाहेक सबै कांग्रेस समर्थक छन्। यही कारण सहकारीमा अनियमितता मौलाएको शेयर सदस्यहरूको आरोप छ।


तमसुकमा ९ करोड अपचलन भेटियो

व्यवस्थापक बसन्त पराजुली भने प्रहरी हिरासतमा छन्। उनले अध्यक्ष र सचिवको निर्देशनमा काम गरेको बयान दिएका छन्।

उनका अनुसार:

  • आफूले २–३ करोड रुपैयाँ चलाएको

  • बाँकी रकम तमसुक गराएर दबाबमा लिएको

  • कार्यालयमै ९ करोड रुपैयाँ बराबरको तमसुक भेटिएको

पनि छानबिन समितिले पुष्टि गरेको छ।

पराजुली सम्पर्कविहीन भएको बेला उनकी श्रीमतीले जिल्ला अदालतमा सम्बन्ध विच्छेदको मुद्दा दायर गरेकी थिइन्, जसबाट संपत्ति जोगाउने प्रयास भएको आशंका गरिएको छ।


१७ वर्षदेखि एउटै अध्यक्ष, ऐन उल्लंघन

२०५० सालमा स्थापित डिंगरनगर सहकारीको हालको पुँजी ३८ करोड रुपैयाँ रहेको छ।

तर अध्यक्ष तिवारी १७ वर्षदेखि एउटै पदमा छन्, जुन प्रदेश सहकारी ऐन, २०७६ को दफा ३७(१) अनुसार निषेधित हो। ऐन अनुसार एउटै व्यक्तिले लगातार दुई कार्यकालभन्दा बढी सञ्चालन गर्न मिल्दैन।

शेयर सदस्यहरूका अनुसार, तिवारी र सचिव थापाले घडेरी, होटल र चुनढुंगा खानीमा अपचलन गरिएको रकम लगानी गरेका छन्। रकम फिर्ताको माइन्युट नै च्यातेर फरार भएको भन्दै थप हिनामिनाको आशंका गरिएको छ।


बिनाधितो ऋणसम्बन्धी कानुनी सीमा

सहकारी ऐन अनुसार, सञ्चालकहरूले बचत रकमको पाँच गुणा वा बढीमा पाँच लाखमध्ये जुन कम हुन्छ, त्यत्तिकै मात्र बिनाधितो ऋण लिन सक्ने व्यवस्था छ।

तर डिंगरनगर सहकारीमा यस व्यवस्थाको खुला उल्लंघन गरिएको छ।


जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका सूचना अधिकारी गणेश सापकोटाका अनुसार, फरार अध्यक्ष र सचिवको खोजी जारी रहेको र छिट्टै पक्राउ गरिने दाबी गरिएको छ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।