
अमेरिकी नौसेनाको एफ–३५ लडाकु विमान क्यालिफोर्नियामा दुर्घटनाग्रस्त क्यालिफोर्नियाको नेभल एयर स्टेसन लेमूर नजिक अमेरिकी नौसेनाको एफ–३५ लडाकु विमान दुर्घटनाग्रस्त भएको छ। विमान पाइलटले समयमै ज्यान जोगाएका छन्। प्रशिक्षण उडानका क्रममा भएको दुर्घटनाबारे हाल अनुसन्धान जारी छ। विमानको मूल्य करिब १० करोड डलर रहेको जनाइएको छ। #F35Crash #USNavy
तिलोत्तमास्थित डिंगरनगर दूरगामी बहुउद्देश्यीय सहकारी संस्थामार्फत ऐन तथा नियमविपरीत ८० करोड रुपैयाँभन्दा बढी कारोबार, करिब ३० करोड अपचलन, र १० करोडभन्दा बढी हिनामिना भएको तथ्य छानबिनबाट खुलेको छ।
सहकारीका करिब २ हजार बचतकर्ताको रकम पदाधिकारीहरूले निजी खातामा जम्मा गरेका, व्यक्तिगत तजबिजमा लगानी गरेका, ऋण नलिएका व्यक्तिहरूको नाममा ऋण देखाएको र सहकारीको सफ्टवेयरमा १३ हजारपटक ‘डिलिट’ कमाण्ड प्रयोग गरिएको तथ्य आन्तरिक छानबिनबाट उजागर भएको हो।
प्रतिवेदन तयार, प्रदेशमा बुझाइने तयारी
समग्र लेखापरीक्षण र ऋण प्रवाहमा भएका अनियमितताको अध्ययन गरी तयार गरिएको प्रतिवेदन सहकारीका कोषाध्यक्ष सुरेन्द्रमान बज्राचार्य र आन्तरिक छानबिन समिति संयोजक तथा सहकारीका सल्लाहकार बेलप्रसाद शर्मालाई बुझाइएको छ।
अडिटर योगेन्द्र बास्तोला र विवेक चौधरीले २८ दिन लगाएर तयार पारेको यो प्रतिवेदन ४३० पृष्ठ लामो छ, जुन आजै प्रदेश सहकारी दर्ता कार्यालयका प्रमुख दिनेशचन्द्र आचार्यलाई बुझाइने छ। संयोजक शर्माका अनुसार, ‘प्रतिवेदन आजै बुझाउँछौं, त्यसपछि उहाँहरूले विस्तृत जानकारी दिनुहुन्छ।’
ऋण प्रवाहमा चरम लापरबाही
छानबिन समितिका अनुसार, सहकारीका ५८५ ऋणीमध्ये करिब ५० जनालाई विनाधितो ऋण प्रवाह गरिएको पाइएको छ। केही ऋणहरूमा धितो मूल्यांकन समेत नगरिएको, र नाममात्रको धितो देखाइएको लेखापरीक्षणबाट खुलेको हो।
करिब २ हजार बचतकर्ताको रकम बैंकमा नजमानी, अध्यक्ष, सचिव र व्यवस्थापकको मिलेमतोमा निजी खातामा राखिएको छ।
अफ आवर (कार्यालय समय बाहिर) सहकारीको सफ्टवेयर चलाइएको, ऋण नलिएका व्यक्तिको नाममा ऋण देखाइएको र विनाधितो करिब ५० जनालाई ऋण प्रवाह गरिएको पुष्टि सहकारीका शेयर सदस्य कमल शर्मा पौडेलले गरे।
ऋण प्रक्रिया पनि झेलझाम
-
ऋण फाइलमा प्रक्रिया नपु¥याइएको,
-
१० लाखभन्दा बढीको फाइलमा इन्जिनियरिङ मूल्यांकन नगरिएको,
-
नाम मात्रको धितो,
-
सचिव रामबहादुर थापाले मात्र ८७ पटक ऋण प्रवाह गरी करिब ४३ करोड रुपैयाँ ऋण सेवा शुल्कविना प्रवाह गरेको,
-
महिनाको अन्त्यमा देखिएको ऋण अर्को महिनाको सुरुआतमा ‘शून्य’ बनाइएको,
-
नक्कली सदस्य बनाएर ऋण लगानी,
-
ऋण लगानी गरेपछि मात्र सदस्य बनाइएको
जस्ता गम्भीर अनियमितता फेला परेका छन्।
शर्माका अनुसार, ‘६४ लाखको धितो मूल्यांकन गरेर १ करोड १४ लाख लगानी गरेको फाइल समेत भेटिएको छ।’
अध्यक्ष र सचिव फरार, व्यवस्थापक पक्राउ
सहकारीका अध्यक्ष घनश्याम तिवारी र सचिव रामबहादुर थापा असार १७ देखि फरार छन्। उनीहरूविरुद्ध रुपन्देही जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरिसकेको छ। तर, प्रहरीको निष्क्रियताले बचतकर्ता आक्रोशित छन्।
उनीहरू दुबै नेपाली कांग्रेसका स्थानीय नेता हुन्। पीडित बचतकर्ताहरूले उनीहरूलाई गृहमन्त्री रमेश लेखकको संरक्षणमा रहेको आरोप समेत लगाएका छन्।
तीन सयभन्दा बढी बचतकर्ताले प्रदेश सहकारी दर्ता कार्यालय र इलाका प्रहरी कार्यालय बुटवलमा सञ्चालकविरुद्ध उजुरी दिएका छन्। उनीहरूले मुलुकी अपराध संहिता, २०७४ को दफा २४९ अनुसार कारबाहीको माग गरेका छन्।
राजनीतिक संरक्षण र अनियमितता
सहकारीका अधिकांश पदाधिकारी नेपाली कांग्रेसका स्थानीय नेता कार्यकर्ता हुन्।
-
अध्यक्ष तिवारी कांग्रेसबाट वडाध्यक्ष पदका आकांक्षी थिए,
-
सचिव थापा कांग्रेस तिलोत्तमा नगर समितिका पूर्व सचिव हुन्,
-
सह–कोषाध्यक्ष केशरी पाण्डे कांग्रेस तिलोत्तमा–३ की सभापति हुन्।
१३ सदस्यीय सञ्चालक समितिमा तीन बाहेक सबै कांग्रेस समर्थक छन्। यही कारण सहकारीमा अनियमितता मौलाएको शेयर सदस्यहरूको आरोप छ।
तमसुकमा ९ करोड अपचलन भेटियो
व्यवस्थापक बसन्त पराजुली भने प्रहरी हिरासतमा छन्। उनले अध्यक्ष र सचिवको निर्देशनमा काम गरेको बयान दिएका छन्।
उनका अनुसार:
-
आफूले २–३ करोड रुपैयाँ चलाएको
-
बाँकी रकम तमसुक गराएर दबाबमा लिएको
-
कार्यालयमै ९ करोड रुपैयाँ बराबरको तमसुक भेटिएको
पनि छानबिन समितिले पुष्टि गरेको छ।
पराजुली सम्पर्कविहीन भएको बेला उनकी श्रीमतीले जिल्ला अदालतमा सम्बन्ध विच्छेदको मुद्दा दायर गरेकी थिइन्, जसबाट संपत्ति जोगाउने प्रयास भएको आशंका गरिएको छ।
१७ वर्षदेखि एउटै अध्यक्ष, ऐन उल्लंघन
२०५० सालमा स्थापित डिंगरनगर सहकारीको हालको पुँजी ३८ करोड रुपैयाँ रहेको छ।
तर अध्यक्ष तिवारी १७ वर्षदेखि एउटै पदमा छन्, जुन प्रदेश सहकारी ऐन, २०७६ को दफा ३७(१) अनुसार निषेधित हो। ऐन अनुसार एउटै व्यक्तिले लगातार दुई कार्यकालभन्दा बढी सञ्चालन गर्न मिल्दैन।
शेयर सदस्यहरूका अनुसार, तिवारी र सचिव थापाले घडेरी, होटल र चुनढुंगा खानीमा अपचलन गरिएको रकम लगानी गरेका छन्। रकम फिर्ताको माइन्युट नै च्यातेर फरार भएको भन्दै थप हिनामिनाको आशंका गरिएको छ।
बिनाधितो ऋणसम्बन्धी कानुनी सीमा
सहकारी ऐन अनुसार, सञ्चालकहरूले बचत रकमको पाँच गुणा वा बढीमा पाँच लाखमध्ये जुन कम हुन्छ, त्यत्तिकै मात्र बिनाधितो ऋण लिन सक्ने व्यवस्था छ।
तर डिंगरनगर सहकारीमा यस व्यवस्थाको खुला उल्लंघन गरिएको छ।
जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका सूचना अधिकारी गणेश सापकोटाका अनुसार, फरार अध्यक्ष र सचिवको खोजी जारी रहेको र छिट्टै पक्राउ गरिने दाबी गरिएको छ।
चितवन राष्ट्रिय निकुञ्जले घडियाल प्रजनन केन्द्रमा हुर्काइएका १३३ वटा घडियाल गोहीहरू राप्ती नदीमा छाडेको छ। तीमध्ये २ वटा भाले र बाँकी पोताहरू छन्। यी गोहीहरू गत आर्थिक वर्षमा विभिन्न समयमा राप्ती नदीमा छाडिएका हुन्।
निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार, यस वर्ष छाडिएका गोहीहरू सहित हालसम्म २०९० वटा घडियाल गोही प्रजनन केन्द्रमा हुर्काएर विभिन्न नदीहरूमा छाडिएको छ।
थापामगरका अनुसार, तीमध्ये सबैभन्दा बढी १३३५ वटा गोही राप्ती नदीमा छाडिएको हो।
अन्य नदीहरूमा छाडिएका गोहीको विवरण यसप्रकार छ:
-
नारायणी : ४१९ वटा
-
सप्तकोशी : ११५ वटा
-
बबई : ११० वटा
-
कर्णाली : ४१ वटा
-
कालीगण्डकी : ३५ वटा
-
शुक्लाफाँटाको चौधारा : २५ वटा
-
बाँकेको राप्ती : १० वटा
अघिल्लो आर्थिक वर्षमा कुल १०५ वटा गोही छाडिएको थियो। त्यसमध्ये २५ वटा शुक्लाफाँटामा, १० वटा बाँकेको राप्तीमा, र बाँकी राप्ती नदीमै छाडिएको हो।
गत वर्ष छाडिएका गोहीहरू सन् २०२० मा जन्मिएका हुन्। हरेक वर्ष गोहीहरू नदीमा छाडिँदै आइए तापनि, गणनामा देखिने गोहीको संख्या उल्लेखनीय रूपमा बढ्न सकेको छैन।
उदाहरणका लागि, गत पुसमा राप्ती र नारायणी नदीमा गरिएको गोही गणनामा जम्मा ३५२ वटा गोही मात्र देखिएको थियो।
प्रजनन केन्द्रको स्थिति
हाल चितवनको प्रजनन केन्द्रमा ७८२ वटा घडियाल गोही रहेका छन्। तीमध्ये:
-
१८५ वटा यस वर्ष कोरलिएका बच्चा हुन्।
-
१५३ वटा अघिल्लो वर्षका हुन्।
-
बाँकी अन्य गोहीहरू त्यसअघिका वर्षहरूमा जन्मेका हुन्।
प्रजनन केन्द्रमा एउटा मात्र पुरानो भाले गोही छ, अरू भालेलाई छुट्ट्याइएको छैन।
संकटमा परेको प्रजाति
घडियाल गोही एक संकटापन्न प्रजातिको सरीसृप हो। विगतमा पाकिस्तान, बंगलादेश, भुटान, म्यानमार लगायतका देशहरूमा पाइने घडियाल गोही अहिले नेपाल र भारतमा मात्र सीमित बनेको छ।
सन् १९४० को दशकमा विश्वभर १० हजारको हाराहारीमा घडियाल गोही रहेका थिए।
तर सन् १९७० सम्म आइपुग्दा, त्यसको संख्या घटेर २ प्रतिशत मात्र बाँकी रहेपछि यस प्रजातिको संरक्षणप्रति गम्भीर ध्यान दिइएको थियो।
नेपालमा चितवन राष्ट्रिय निकुञ्जको स्थापनापछि, सन् १९७५ मा कसरामा घडियाल प्रजनन केन्द्र स्थापना गरिएको थियो। त्यसबेला देशभर एक सयभन्दा कम घडियाल रहेको अनुमान गरिन्छ।
मुख्य चुनौतीहरू
सूचना अधिकारी थापामगरका अनुसार, नदीमा:
-
बढ्दो मानवीय गतिविधि,
-
नदीजन्य पदार्थहरूको उत्खनन्,
-
प्रदूषण,
-
माछा मार्ने चलन
इत्यादिका कारण घडियाल गोहीहरूको प्राकृतिक बासस्थान असुरक्षित बन्दै गएको छ।
त्यसैगरी, नदीमा आउने बाढीका कारण गोहीहरू बगेर सीमापारसम्म पुग्ने समस्या पनि देखिएको छ।
यद्यपि हरेक वर्ष गोहीहरू नदीमा छाडिँदै आएको छ, अपेक्षाअनुसार संख्या भने वृद्धि हुन सकेको छैन।
नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरअनुसार अमेरिकी डलर, युरोपियन युरो र युके पाउन्ड स्ट्रलिङको भाउ बढेको छ।
राष्ट्र बैंकका अनुसार, आज अमेरिकी डलरको खरिददर १३९ रुपैयाँ ५८ पैसा र बिक्रीदर १४० रुपैयाँ १८ पैसा निर्धारण गरिएको छ।

थन्डरबोल्ट्स डेभलपमेन्ट सेन्टर (टिडीसी) को आयोजनामा नेपाल स्कुल फुटबल लिग (एनएसएफएल) हुने भएको छ। यो लिगको पहिलो संस्करण यही साउन १७ गतेदेखि (अगस्ट २ सम्म) आयोजना गरिने जानकारी दिइएको छ।
लिगमा काठमाडौंका आठ वटा विद्यालय सहभागी हुनेछन्। प्रतियोगितामा १८ वर्ष मुनिका विद्यार्थीहरू भाग लिनेछन्।
प्रतिस्पर्धामा सहभागी विद्यालय र टिमहरूको नाम यसप्रकार छन्:
-
जेम्स थन्डरबोल्ट्स (जेम्स स्कुल)
-
सुपर डाँफेज (डीएभी स्कुल)
-
एफसी माउन्ट कान्जिरोवा (कान्जिरोवा स्कुल)
-
एलए (लिटिल एन्जल्स)
-
रेड पान्डाज (रातो बंगला)
-
चेल्सी फाल्कन्स (चेल्सी वर्ल्ड स्कुल)
-
केडब्लूएस लोखुग एफसी (काठमाडौं वर्ल्ड स्कुल)
-
युलेन्स प्यान्थर्स (युलेन्स स्कुल)
आयोजकका अनुसार, नियमित अन्तरविद्यालय प्रतियोगिता नहुँदा विद्यार्थीहरूलाई प्रतिस्पर्धात्मक अवसर नपाएको अवस्थामा यो लिगले त्यस रिक्तता पूर्ति गर्नेछ। प्रतियोगिता राउण्ड रोबिन लिगका आधारमा खेलाइनेछ।
लिगको विजेता टोलीलाई नगद ५ लाख रुपैयाँ पुरस्कार प्रदान गरिनेछ भने उपविजेताले २ लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। साथै उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्ता जस्ता व्यक्तिगत पुरस्कारका लागि पनि ५० हजार रुपैयाँ छुट्टाइनेछ।
नगद पुरस्कारसँगै उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई छात्रवृत्ति र अन्य अवसरहरू प्रदान गरिने आयोजकले जनाएको छ। यस प्रतियोगिताको मुख्य उद्देश्य विद्यालयस्तरमा अनुशासित, प्रतिस्पर्धात्मक र प्रतिभापूर्ण खेल वातावरण सिर्जना गर्नु रहेको छ।
नक्कली प्रतिनिधिका रूपमा गैरसरकारी संस्थाको नाममा युवा पठाएको आरोपमा प्रहरीले छानबिन अघि बढाएको छ। संयुक्त राष्ट्रसंघीय कार्यक्रम “विकासका लागि वित्तको अन्तर्राष्ट्रिय सम्मेलन” को सहभागी बनाएर ५५ जनालाई युरोप पठाउने प्रयास भएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (CIB) ले अनुसन्धान थालेको हो।
कीर्ते कागजात र नक्कली एनजीओ
स्पेनको सेभियामा आयोजना भएको सम्मेलनमा सहभागी बनाउन दिल्लीस्थित स्पेनिस दूतावासबाट भिसा लिएका व्यक्तिहरू मध्ये केहीले कीर्ते कागजात बोकेको पाइएको छ। कतिपयले सम्मेलनमा भाग लिन नक्कली पत्र पेश गरेका थिए भने केहीले गैरकानुनी रूपमा एनजीओको नाममा सिफारिस लिएका थिए।
भिसा प्राप्त गरेकाहरूमा कोही सम्मेलनपछि फर्किएका छैनन् भने कोहीले किन स्पेन जान लागेको भन्ने नै बताउन नसकेको प्रहरीको भनाइ छ। उनीहरूमध्ये केहीले अंग्रेजी राम्रोसँग बोल्न नसकेको पनि एयरलाइन्स अधिकारीहरूले जानकारी दिएका छन्।
प्रहरीको छानबिन
प्रहरीले नाम सार्वजनिक भएका ५५ जना व्यक्तिको विवरण राहदानी विभागसँग मागेर उनीहरूलाई सोधपुछ सुरु गरिसकेको छ। तीमध्ये धेरैजसो राजधानीबाहिरका हुन् र कतिपयको मोबाइल स्विच अफ रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार, अनुसन्धानको दायरामा आएका मध्ये केहीसँग प्रारम्भिक बयान लिइएको छ। विस्तृत छानबिनका लागि स्पेनिस दूतावाससँग सहभागीहरूको भिसा आवेदन, कागजात र प्रमाणहरू माग गरिएको छ।
संलग्न संस्थाहरू
सीआईबीले काठमाडौं–१६ मा रहेको इन्टिग्रेटेड डेभलपमेन्ट फाउन्डेसन नेपाल र ललितपुरस्थित समाज परिवर्तनका लागि एकता नामक संस्था छानबिनको दायरामा ल्याएको छ। समाज परिवर्तनका लागि एकता संस्थाका अध्यक्ष प्रदीप शर्माले भने दिल्लीस्थित दूतावासमा पठाइएको सिफारिसपत्रमा रहेको हस्ताक्षर आफ्नो नभएको दाबी गरेका छन्।
“त्यो हस्ताक्षर मेरो होइन, म त नाम पनि प्रदीप चौंलागाईं लेख्छु,” शर्माले भने। उनले सिफारिसमा परेको नाम (जनकबहादुर टमटा) पहिलो पटक सुनेको र संस्थाबाट कोही पनि स्पेन नगएको दाबी गरेका छन्।
गैरसरकारी संस्था महासंघ पनि छानबिनमा
प्रहरीले गैरसरकारी संस्था महासंघका केही अधिकारीहरूसँग पनि सोधपुछ गरिसकेको छ। महासंघका अधिकारीहरूले आफूहरूले सिफारिस गरेका एक जना मात्र व्यक्ति स्पेन गएका र फर्किइसकेको जानकारी दिएको प्रहरी स्रोतले जनाएको छ।
मानव तस्करीको आशंका
अनुसन्धानमा संलग्न अधिकारीहरूका अनुसार कतिपय युवाबाट १५ लाख रुपैयाँसम्म असुली गरिएको जानकारी प्राप्त भए पनि उनीहरूले जाहेरी नदिएकोले मानव तस्करीअन्तर्गत अनुसन्धान अघि बढाउन कठिनाइ भएको छ। यदि जाहेरी नआएमा लिखत कीर्तेको अभियोगमा अनुसन्धान अघि बढाइने प्रहरीले जनाएको छ।
सरकारले चासो देखायो
गृहमन्त्री रमेश लेखकले प्रहरी महानिरीक्षक दीपक थापालाई छानबिन गर्न निर्देशन दिएका थिए। त्यसपछि एसएसपी होविन्द्र बोगटीको नेतृत्वमा समिति गठन गरिएको हो।
अनुसन्धानको प्रक्रिया अघि बढेपछि युरोप छिरेका केही युवालाई फिर्ता आउन भनिएको स्रोतले जनाएको छ। कतिपयलाई त निःशुल्क टिकट दिई फिर्ता ल्याउने प्रयाससमेत भएको बताइएको छ।
युवाहरू स्पेनबाट अन्य युरोपेली मुलुकमा
हाल स्पेनमा रहेका कतिपय युवाहरू काम नपाएर घरबाट रकम मगाउन बाध्य भएका छन्। कतिपय चाहिँ जर्मनीलगायतका अन्य युरोपेली मुलुक पुगिसकेको स्रोतको भनाइ छ। “यत्रो खर्च गरेर आइसकेपछि फर्किने कुरै हुँदैन, तर सम्पर्कमा नआउँदा केही अफ्ठ्यारो भएको छ,” युरोपबाट एक नेपालीले भने।
लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नागढुंगा र प्रहरी प्रभाग नागढुंगाको संयुक्त टोलीले १४ हजार ७६० ट्रामाडोल क्याप्सुलसहित दुई युवालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा पर्साको विन्दवासिनी गाउँपालिका–५ निवासी २० वर्षीय राजकुमार पटेल र सोलुखुम्बु घर भई हाल काठमाडौं बसोबास गर्दै आएका १८ वर्षीय नर्बु शेर्पा छन्। उनीहरूको साथबाट नगद ६० हजार रुपैयाँ समेत बरामद भएको प्रहरीले जनाएको छ।
बुधबार राति करिब १ बजे बागमती प्रदेश ०२–०५७ प १५१५ नम्बरको मोटरसाइकल र बा ७२ प ६६२७ नम्बरको स्कुटरलाई नागढुंगाको पिप्लामोडदेखि काठमाडौंतर्फ जाँदै गर्दा चेकजाँच गरिएको थियो। जाँचका क्रममा उक्त परिमाणको लागुऔषध र नगद फेला परेको हो।
दुबै युवालाई थप अनुसन्धानका लागि प्रहरी वृत्त थानकोटमा राखिएको प्रहरीले जनाएको छ।
नेकपा एमालेले भदौमा हुने विधान महाधिवेशनको व्यवस्थापनका लागि नेताहरूलाई विभिन्न जिम्मेवारी तोकेको छ। बुधबार बसेको केन्द्रीय सचिवालय बैठकले कार्यविभाजनसहितको निर्णय गरेको हो।
महासचिव शंकर पोखरेलको अध्यक्षतामा बसेको बैठकले महाधिवेशनमा सहभागी प्रतिनिधिको संख्या यकिन गर्न संगठन विभागलाई जिम्मा दिएको छ। १०औं राष्ट्रिय महाधिवेशनका प्रतिनिधिमध्ये कति जनाको मृत्यु भयो, कति जना पार्टीबाट बाहिरिए, त्यो विवरण पनि संकलन गर्न सोही विभागले काम गर्नेछ। उक्त जानकारी पार्टी केन्द्रीय कार्यालय प्रमुख डा. भिष्म अधिकारीले दिएका हुन्।
स्वास्थ्य तथा आकस्मिक सेवाको जिम्मा स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख कृष्णगोपाल श्रेष्ठलाई दिइएको छ। स्वयंसेवक परिचालनको जिम्मेवारी जनसंगठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकालले पाएका छन्।
सचिवालय तथा खानपान व्यवस्थापन डा. भिष्म अधिकारीकै जिम्मामा हुनेछ। यातायात र मञ्च व्यवस्थापनको काम केन्द्रीय सदस्य विनोद श्रेष्ठले सम्हाल्ने छन्।
प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमलाई प्रचारको जिम्मा दिइएको छ भने स्वागत नृत्यसहितको सांस्कृतिक कार्यक्रमको संयोजन केन्द्रीय सदस्य हेमराज राईले गर्ने छन्।
महाधिवेशनमा सहभागी प्रतिनिधिहरुले आवासको व्यवस्था व्यक्तिगत रूपमा गर्नुपर्ने एमालेले जनाएको छ। तर, व्यवस्थापन गर्न नसक्ने प्रतिनिधिका लागि सम्बन्धित जिल्ला वा प्रदेश सम्पर्क समन्वय समितिले सहयोग गर्नेछ। यसका लागि लालबाबु पण्डितलाई जिम्मेवारी दिइएको छ।
एमालेको विधान महाधिवेशन भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीस्थित सनराइज हलमा हुने छ। महाधिवेशनमा करिब २ हजार २७९ जना प्रतिनिधि सहभागी हुने अनुमान गरिएको छ।
बागमती प्रदेशका नवनियुक्त मन्त्रीहरूको आजका लागि तय गरिएको शपथग्रहण कार्यक्रम अनिश्चितकालका लागि स्थगित गरिएको छ। प्रदेश प्रमुखको स्वास्थ्यमा समस्या आएपछि कार्यक्रम रद्द गरिएको हो।
प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता देवेन्द्र सापकोटाले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, “बागमती प्रदेश सरकारका नवनियुक्त माननीय मन्त्रीज्यूहरूको शपथ ग्रहण समारोह मिति २०८२ साउन १५ गते बिहीबार दिउँसो १:०० बजेका लागि तोकिएकोमा माननीय प्रदेश प्रमुखज्यूको स्वास्थ्यमा अकस्मात् समस्या देखिएकाले उपचारार्थ आज बिहानै काठमाडौं प्रस्थान गर्नु भएकाले अर्को सूचना प्रकाशित नभएसम्मका लागि शपथग्रहण कार्यक्रम स्थगित गरिएको व्यहोरा जानकारी गराइन्छ।”
मुख्यमन्त्री बहादुरसिंह लामाले बुधबार गोविन्द लम्साल, गीता गुरुङ र माया श्रेष्ठलाई मन्त्रीमा नियुक्त गरेका थिए। तर नेपाली कांग्रेस संसदीय दलको नेताको निर्वाचन कार्यक्रम परेका कारण बुधबारको सट्टा शपथग्रहण बिहीबारका लागि सारिएको थियो।
उक्त निर्वाचनमा मुख्यमन्त्री लामा कांग्रेस नेता इन्द्रबहादुर बानियाँसँग पराजित भएका थिए। बानियाँले कांग्रेसका बहुमत प्रदेशसभा सदस्य आफ्नो पक्षमा रहेको भन्दै मुख्यमन्त्री लामालाई राजीनामा दिन दबाब दिँदै आएका छन्।
तर लामा भने संसदीय दलको नेताबाट हटिएकोमा मात्र मुख्यमन्त्री पद नछोड्ने अडानमा छन्। उनी संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्री नियुक्त भएका हुन्।
संविधानको उक्त धारामा प्रदेशसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेमा दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्न सक्ने व्यवस्था छ। लामाको तर्कअनुसार, यस व्यवस्था अनुसार मुख्यमन्त्री बन्न पार्टीको संसदीय दलको नेता हुनु आवश्यक छैन।
‘सानुभाइ’ नामले चिनिने युवराज गुरुङ गुण्डागर्दीसम्बन्धी गतिविधिमा संलग्न भएको आरोपमा पक्राउ परेका छन्। उनलाई बुधबार राति काठमाडौंको ठमेलस्थित नगरकोट दोहोरी साँझबाट प्रहरीले पक्राउ गरेको हो।
काठमाडौं प्रहरी परिसरका एसपी कुलदीप चन्दका अनुसार, गुरुङले सो दोहोरी साँझमा झगडा गरेपछि पक्राउ गरिएको हो। प्रहरीका अनुसार, गुरुङ विगतमा पनि पटक–पटक पक्राउ पर्दै छुट्दै आएका थिए।
२०८० सालको असारमा ठमेलको क्लब ओम्नियाका सञ्चालकलाई कुटपिट गरेको आरोपमा उनलाई पक्राउ गरिएको थियो। त्यतिबेला प्रहरीले उनलाई हत्कडीसहित ठमेल बजार क्षेत्रमा घुमाएको थियो। प्रहरीले गुण्डागर्दीमा संलग्नलाई ‘सबक’ सिकाउन उक्त उपाय अपनाएको जनाएको थियो। पछि जिल्ला प्रशासन कार्यालय, काठमाडौंले अभद्र व्यवहारको कसुरमा उनलाई १० हजार रुपैयाँ धरौटीमा छाडेको थियो।
त्यसपछि पनि उनी कुटपिट र असुलीमा संलग्न हुँदै फेरि–फेरि पक्राउ पर्दै छुट्दै आएका थिए।
कुमार घैंटे समूहमा सक्रिय
प्रहरीको रेकर्डअनुसार, युवराज गुरुङ कुनै समय कुख्यात गुण्डा नाइके कुमार घैंटेको समूहमा सक्रिय सदस्य थिए। २०७२ साल भदौ ३ गते घैंटे प्रहरी मुठभेडमा मारिएपछि गुरुङ बुलेट प्रुफ ज्याकेट लगाएर हिँड्न थालेका थिए।
काठमाडौं प्रहरीका तत्कालीन प्रमुख दानबहादुर कार्कीका अनुसार, २०७२ साल पुस २५ गते गुरुङलाई नुवाकोटबाट २८ बोर रिभल्वर र एकथान गोलीसहित पक्राउ गरिएको थियो। त्यतिबेला उनको साथबाट बुलेट प्रुफ ज्याकेट समेत बरामद गरिएको थियो।
त्यस्तै, २०६७ साल कात्तिक ७ गते गोंगबुस्थित गणेशस्थान नजिकै मिलन लामामाथि धारिलो हतियार प्रहार गरेको घटनामा पनि गुरुङ संलग्न रहेको प्रहरीले जनाएको छ।
२०७६ सालमा उनीविरुद्ध दरबारमार्ग प्रहरी वृत्तमा बैंकिङ कसूरसम्बन्धी मुद्दा चलाइएको थियो भने २०७७ कात्तिक २६ गते ताज भनिने भीम गुरुङलाई पेस्तोल देखाएर कुटपिट गरेको आरोपमा पनि उनी पक्राउ परेका थिए।





