धनुषामा विद्युतीय मोटर प्रयोग गरी खेतमा सिँचाइ गर्ने क्रममा करेन्ट लाग्दा एक जना किसानको ज्यान गएको छ।

धनुषा जिल्लाको हंसपुर नगरपालिका–३ मलहनियाका ६० वर्षीय असर्फी महराको बुधबार दिउँसो करेन्ट लागेर मृत्यु भएको हो। करिब पौने ४ बजेतिर आफ्नै खेतमा सिँचाइ गरिरहेका बेला मोटरमा जडान गरिएको विद्युत् तार सर्ट भएर उनलाई करेन्ट लागेको थियो।
घाइते अवस्थामा उनलाई उपचारका लागि हंसपुरस्थित एक स्थानीय क्लिनिकमा लगिएको थियो, तर त्यहाँ उनको मृत्यु भएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी वरुणबहादुर सिंहले जानकारी दिएका छन्।
यसअघि बुधबार नै मधेस प्रदेशको रौतहटमा धान खेतमा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर दुई जना किसानको पनि ज्यान गएको थियो।
मधेसमा लामो खडेरीका कारण धेरै किसानले धान रोप्न पाएका छैनन्। रोपिसकेको धानसमेत सुक्न थालेपछि किसानहरू विकल्पको रूपमा विद्युतीय मोटरको प्रयोग गरी सिँचाइ गरिरहेका छन्। तर सावधानी नअपनाउँदा दिनहुँजसो करेन्ट लागेर किसानहरूले ज्यान गुमाउनु परिरहेको छ।










