नेपालले आर्थिक वर्ष २०८१/८२ मा ७० करोड रुपैयाँभन्दा बढीको आँप र अम्बा आयात गरेको छ। भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार, गएको एक वर्षमा ७० करोड ७३ लाख ५३ हजार रुपैयाँ बराबरको आँप र अम्बा नेपाल भित्रिएको हो।

गत आवमा मात्र ६४ करोड २७ लाख ५८ हजार रुपैयाँको ९६ लाख ५४ हजार २ सय ९२ किलो आँप आयात गरिएको थियो। सोही परिमाणको आँप आयातबाट भन्सार विभागले १५ करोड ५९ लाख ९३ हजार रुपैयाँ राजस्व संकलन गरेको छ।
त्यसैगरी, अघिल्लो वर्ष ६ करोड ४५ लाख ९५ हजार रुपैयाँ बराबरको १२ लाख ९३ हजार ३ सय ८९ किलो अम्बा आयात गरिएको तथ्यांकमा उल्लेख छ। सो परिमाणको अम्बा आयातबाट १ करोड ५७ लाख ६८ हजार रुपैयाँ राजस्व संकलन भएको छ।











