चितवनको कालिका नगरपालिका-५ घर भएका पत्रकार सन्तकुमार चौधरी दैनिकजसो खगेरीबाट भोजाड हुँदै भरतपुर आउजाउ गर्छन्। विगत ४ वर्षदेखि बर्खामा हिलो र हिउँदमा धूलोको सास्ती खेप्दै आएका चौधरीजस्ता सयौँ स्थानीयलाई यो सडक कालोपत्रे भएसँगै ठूलो राहत मिलेको छ।

कालिका नगरपालिका र भरतपुर महानगरपालिकालाई जोड्ने भोजाड–खगेरी सडकको जंगलको भाग हालै कालोपत्रे गरिएको छ। चितवनको सदरमुकाम भरतपुर, मुख्य बजार नारायणगढ, ठूला कलेज र अस्पतालहरू समेत भरतपुरमै भएकाले सयौँ मानिस दैनिक यो सडक हुँदै भरतपुर आउजाउ गर्छन्। कालिका नगरपालिकाका ११ वटै वडा, रत्ननगर नगरपालिकाको माथिल्लो भेगका केही वडा र इच्छाकामना गाउँपालिकाका बासिन्दाहरूले समेत यो सडक प्रयोग गर्छन्।
करिब डेढ किलोमिटर लामो यो सडक विगतमा बिग्रिएको अवस्थामा थियो। बर्खामा हिलो र हिउँदमा धूलोले गर्दा यहाँ आउजाउ गर्नेहरूले निकै दुख पाएका थिए। जंगली जनावरको डर त छँदै थियो, बिग्रिएको सडकले सबै यात्रुलाई सास्ती दिएको थियो। यो सडक कालोपत्रे गर्ने मुद्दा स्थानीय चुनावमा प्रमुख एजेन्डा बनेको थियो। सबैजसो राजनीतिक दलले यो सडक कालोपत्रे गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
यो सडक कालिका नगरपालिकाको प्रवेशद्वार भए पनि यसको अधिकांश भूभाग भरतपुर महानगरपालिकामा पर्छ। तर, यो सडकको उपयोग कालिकावासीले बढी गर्छन्। सडकको स्वामित्व एक पालिकामा र उपयोग अर्को पालिकाले गर्ने भएकाले समयमै कालोपत्रे हुन नसक्दा स्थानीयले लामो समय सास्ती खेप्नुपर्यो।
एक करोड ११ लाखको लागतमा कालोपत्रे
चालु आर्थिक वर्षमा भ्याटसहित एक करोड ११ लाखको लागतमा गुणा निर्माण सेवाले यो सडक कालोपत्रे गरेको हो। सडकको बीचको केही भागमा ढलान गरिएको छ भने बाँकी भागमा कालोपत्रे गरिएको छ। सडक डिभिजन कार्यालय भरतपुरका सूचना अधिकारी इन्जिनियर कृष्ण आचार्यका अनुसार करिब १,२०० मिटरभन्दा बढी सडक कालोपत्रे गरिएको छ।
सडक कालोपत्रे भएपछि कालिकावासीलाई भरतपुर आउजाउ गर्न सहज भएको पत्रकार चौधरी बताउँछन्। “म दैनिकजसो भरतपुर आउजाउ गर्थें। मैले खाएको धूलो र पाएको दुखको कुनै हिसाब छैन। धूलोले गर्दा नजिकै के छ भनेर पनि देखिँदैनथ्यो, सास फेर्न गाह्रो हुन्थ्यो। धूलोकै कारण कतिपयले टाँडी हुँदै घुमेर भरतपुर जाने गरेका थिए,” उनले भने, “अहिले सडक कालोपत्रे भएपछि विभिन्न कामले भरतपुर आउजाउ गर्न सबैलाई सहज भएको छ।”
नगरप्रमुखको प्रयास र चुनौती

कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मीले यो सडकको नाजुक अवस्थाले विगत ४ वर्षदेखि स्थानीयबाट धेरै गुनासो सुन्नुपरेको बताए। “सडक भरतपुर महानगरपालिकामा पर्ने, तर कालिकावासीले बढी प्रयोग गर्ने भएकाले यो कम प्राथमिकतामा पर्यो जस्तो लाग्छ,” उनले भने, “मैले सडक डिभिजन कार्यालयमा पटक-पटक गएर लबिङ गरेँ, ठेकेदारलाई काममा लगाएँ। बल्लतल्ल सडक कालोपत्रे भएको छ। अब जनताको गाली खानुपर्दैन जस्तो लाग्छ।”
रेग्मीले कालिका नगरपालिकाको क्षेत्रमा पर्ने खगेरी खोलाभन्दा पूर्वको सडक पहिल्यै कालोपत्रे भइसकेको, तर भरतपुरतर्फको क्षेत्रमा ढिलाइ भएको बताए। “आफ्नो पालिकाभित्र काम गर्न सजिलो हुन्छ, तर अर्को पालिकाको क्षेत्रमा काम गराउन चुनौतीपूर्ण रहेछ,” उनले भने, “बर्खामा हाम्रो पालिकाका डोजर र एक्साभेटर लगेर पनि काम गराएँ। म नगरप्रमुख भएदेखि नै यो सडकलाई प्राथमिकतामा राखेको थिएँ।”
कृषि र व्यवसायमा सहजता
नगरप्रमुख रेग्मीका अनुसार यो सडक भएर दैनिक ४ देखि ५ हजार मानिस आवतजावत गर्छन्। यो सडक भरतपुर र पूर्वी चितवन जोड्ने वैकल्पिक मार्गका रूपमा पनि प्रयोग हुन्छ। कालिका नगरपालिका कृषि, मौरीपालन र व्यवसायिक पशुपालनमा अग्रणी छ। सडक कालोपत्रे भएसँगै यहाँका कृषि उपजलाई नारायणगढ बजारसम्म पुर्याउन सहज भएको छ।
यो सडकको कालोपत्रेले कालिका र भरतपुरका बासिन्दालाई मात्र नभई समग्र पूर्वी चितवनको आवागमन र आर्थिक गतिविधिलाई सहज बनाएको छ। स्थानीयले अब धूलो र हिलोको सास्तीबाट मुक्ति पाएका छन्, र यो सडकले दैनिक जीवनमा ठूलो सुविस्ता ल्याएको छ।










