
युरोपेली संघ (ईयू) का नेताहरूले सोमवार मध्यपूर्वमा जारी तनाव कम गर्नका लागि आफ्नो तर्फबाट भुमिका खेल्न तयार रहेको बताएका छन् । उनीहरूले स्थितिको न्युनिकरण र पुनः वार्ताको प्रक्रियामा फर्कन समेत आह्वान गरेका छन् । युरोपेली परिषद्का अध्यक्ष एन्टोनियो कोस्टा र युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयनले यस क्षेत्रका नेताहरूसँगको भिडियो कन्फरेन्सपछि जारी गरेको संयुक्त वक्तव्यमा ईयू तनाव कम गर्न र वार्ताको टेबलमा फर्कन सहयोग पु¥याउन हरसम्भव योगदान दिन तयार रहेको उल्लेख गरिएको छ । उनीहरूले संवाद र कुटनीति नै अगाडि बढ्ने एक मात्र व्यावहारिक मार्ग रहेको कुरामा जोड दिएका छन् ।वक्तव्यका अनुसार भोन डेर लेयन र कोस्टाले मध्यपूर्वको क्षेत्रीय स्थिरताका लागि ईयुको प्रतिवद्धता पुनः दोहो¥याउँदै सर्वसाधारणको सुरक्षा, अन्तर्राष्ट्रिय कानून, अन्तर्राष्ट्रिय मानवीय कानून र संयुक्त राष्ट्र संघको बडापत्रका सिद्धान्तहरूको पूर्ण पालना गर्न समेत आह्वान गरेका छन् ।
लेबनानका स्वास्थ्यमन्त्री राकन नसरेद्दिनले बताएअनुसार मार्च २ यता लेबनानभर इजरायली हवाई आक्रमणबाट मृत्यु हुनेको संख्या ३ सय ९४ पुगेको छ । जसमा ८३ बालबालिका र ४२ महिला रहेका छन् भने अन्य १ हजार १ सय ३० जना घाइते भएका छन् । पत्रकार सम्मेलनमा बोल्दै नसरेद्दिनले घाइतेहरूमा २५४ बालबालिका र २७४ महिला रहेको बताउनु भयो । धेरैजसो आक्रमणले आवासीय क्षेत्र र नागरिक सुविधाहरूमा प्रहार गरेको छ । दक्षिणी र पूर्वी लेबनानमा विगत ४८ घण्टामा धेरै घातक घटनाहरू रेकर्ड गरिएका छन् । बेका उपत्यकामा भएको एक आक्रमणमा एउटै परिवारका छ जना सदस्य – चार बालबालिका र उनीहरूका आमाबाबु – मारिएका थिए । जबकि शहर र गाउँहरूमा भएका अन्य आक्रमणहरूले धेरै हताहत गराएका छन् । नसरेद्दिनले यो पनि भने कि उद्धार कार्यमा खटिएका बेला आपतकालीन र चिकित्सा टोलीहरूलाई प्रत्यक्ष निशाना बनाइएको छ । स्वास्थ्य मन्त्रालयकाअनुसार लेबनानी रेडक्रसका प्यारामेडिकहरू, नागरिक सुरक्षा टोलीहरू र अन्य आपतकालीन उद्धारकर्ताहरूसहित नौ स्वास्थ्यकर्मी मारिएका छन् र अन्य १६ जना घाइते भएका छन् । नोभेम्बर २७, २०२४ मा युद्धविराम लागू भएयता हिजबुल्लाहले गत हप्ताको सोमवार बिहान लेबनानबाट इजरायलतर्फ रकेट प्रहार गरेपछि यो तनाव बढेको हो ।
पोखरा । पछिल्लो समय काठमाडौं उपत्यकामा वायु प्रदूषणको स्तर अत्यधिक बढेको छ । प्रदूषणका कारण उपत्यकाको आकाश धमिलो छ भने घाम राम्रोसँग लाग्न सकेको छैन । बिहानैदेखि काठमाडौंको मौसम धुम्म छ । दृश्य क्षमता घटेका कारण यातायात सञ्चालन र हवाई उडानमा समेत सामान्य प्रभाव परेको छ । हावामा धुलोका कण र धुवाँको मात्रा बढेकाले सर्वसाधारणले आँखा पोलेको र श्वासप्रश्वासमा असहज महशुस गरेका छन् । वातावरण विभागकाअनुसार उपत्यकाको वायु गुणस्तर सूचकांक जोखिमपूर्ण स्तरमा पुगेको छ । लामो समयदेखि हिउँदे वर्षा नभएको र देशका विभिन्न भागमा लागेको डढेलोको धुवाँ हावाको माध्यमबाट उपत्यकामा भित्रिएका कारण प्रदूषण ह्वात्तै बढेको मौसमविद्हरूले बताएका छन् । विशेषगरी बालबालिका, वृद्धवृद्धा र श्वासप्रश्वाससम्बन्धी दीर्घरोगीहरूलाई घरबाहिर ननिस्कन र निस्कनै परे अनिवार्य रूपमा गुणस्तरीय मास्कको प्रयोग गर्न स्वास्थ्य विज्ञहरूले सुझाव दिएका छन् । तत्काल ठूलो वर्षा हुने वा तिब्र हावा चल्ने सम्भावना कम रहेकाले आगामी केही दिनसम्म प्रदूषणको यो अवस्था कायमै रहन सक्ने अनुमान गरिएको छ । सम्बन्धित निकायले अनावश्यक रूपमा सवारी साधन नचलाउन र फोहोर नजलाउन सर्वसाधारणलाई अपिल गरेको छ ।
पोखरा । प्रतिनिधि सभा सदस्यको निर्वाचनपछि पहिलो पटक खुलेको शेयर बजारमा दोस्रो सर्किट ब्रेक लागेको छ ।
सोमवार शेयर बजारमा दोस्रो सर्किट ब्रेक लागेको हो । दोस्रो सर्किट लागेपछि कारोबार ४० मिनेटका लागि बन्द भएको छ । यसअघि बजार खुलेको एक मिनेटमै नेप्से परिसूचक चार प्रतिशतले बढेर पहिलो सर्किट ब्रेक लागेको थियो । पहिलो सर्किट ब्रेक लागेर २० मिनेटपछि खुलेको शेयर बजारमा दोस्रो सर्किट ब्रेक लागेको हो । पहिलो सर्किट ब्रेकपछि थप १ प्रतिशत अर्थात समग्रमा ५ प्रतिशतले बजार बढेपछि दोस्रो सर्किट ब्रेक लागेर कारोबार स्थगित भएको छ । हाल नेप्से परिसूचक २८४८ अंकमा पुगेको छ भने बजार १३५ अंकले बढेको छ । त्यस्तै २८ करोड ५१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यदी बजार ६ प्रतिशतमा बढेमा दिनभरीकै लागि कारोबार रोक्का हुने छ ।
प्रतिनिधि सभा सदस्यको निर्वाचनले स्थिर सरकार निर्माण हुनेगरी म्याण्डेड दिएपछि लगानीकर्तामा उत्साह बढेको हो । निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले करिव दुई तिहाई सिट हासिल गर्ने भएको छ ।
पोखरा । पूर्वी लेबनानको नाबी चित गाउँमा इजरायली हवाई आक्रमण र झडपमा परी मृत्यु हुनेको संख्या ४१ पुगेको छ । अन्य ४० जना घाइते भएका छन् । जनस्वास्थ्य मन्त्रालयको जनस्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रले एक विज्ञप्तिमा जनाएअनुसार बालबेक जिल्लाको नाबी चित र वरपरका सहरहरूलाई लक्षित गरी इजरायलले गरेको शृंखलाबद्ध आक्रमणका कारण यी हताहती भएका हुन् । स्थानीय बासिन्दाहरू पनि इजरायली सेनाको सामना गर्न हिजबुल्लाह सदस्यहरूसँग सामेल भएका थिए । इजरायली लडाकु विमान र हेलिकप्टरहरूले पछि गाउँ र वरपरका क्षेत्रमा करिव ४० हवाई आक्रमण गरेका थिए । नोभेम्बर २७, २०२४ मा युद्धविराम लागू भएयता हिजबुल्लाहले सोमबार बिहान लेबनानबाट इजरायलतर्फ रकेट प्रहार गरेपछि यो तनाव बढेको हो । यो उक्त समूहको पहिलो यस्तो आक्रमण थियो ।
त्यसयता इजरायलले हिजबुल्लाहविरुद्ध आक्रामक सैन्य अभियान भन्दै भारी हवाई आक्रमणका साथै सीमामा स्थलगत घुसपैठ शुरु गरेको छ । लिटानी नदीको दक्षिण र बेरुतको दक्षिणी उपनगरका क्षेत्रहरू खाली गर्न चेतावनी दिएको छ ।
पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा काठमाडौं क्षेत्र नम्बर ८ बाट नवनिर्वाचित सांसद विराजभक्त श्रेष्ठले २०४६ सालयताका सबै भ्रष्टाचार प्रकरणहरुको फाइल खोलेर देशलाई न्याय दिने उद्घोष गर्नुभएको छ ।
शुक्रवार विजयी भएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो उद्घोष गर्नुभएको हो । उहाँले आफ्नो जितलाई पदभन्दा पनि ठूलो जिम्मेवारीका रूपमा लिएको बताउनु भयो । निकटतम प्रतिद्वन्द्वीभन्दा अत्याधिक फराकिलो बढी मत ल्याएर विजयी हुनुभएका श्रेष्ठले यो जित सुशासन, भ्रष्टाचार अन्त्य र परिवर्तनको पक्षमा जनताले दिएको बलियो जनादेश भएको प्रस्ट पार्नुभयो । देशभर देखिएको रास्वपाको लहर र जनताको उत्साहजनक समर्थनबारे बोल्दै उहाँले यो आम नागरिकको परिवर्तनप्रतिको चाहना भएको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘संसदमा हाम्रो सानो संख्या हुँदा पनि सामथ्र्यले भ्याएसम्म भ्रष्टाचार र मानव तस्करीविरुद्ध डटेर आवाज उठायौँ । त्यही बेला भएको ‘जेन–जी’ आन्दोलनले ताजा जनादेशको माग ग¥यो । अहिलेको नतिजाले नेपाली नागरिक सुशासन र भ्रष्टाचारको अन्त्य चाहन्छन् भन्ने प्रमाणित गरेको छ । जनताले हामीले अपेक्षा गरेभन्दा बढी विश्वास गरेर ठूलो जिम्मेवारी सुम्पनुभएको छ । मानव तस्करीविरुद्धको फाइलबाट शुरु गर्दै २०४६ सालयताका सबै भ्रष्टाचारका काण्डहरूको फाइल खोलेर देशलाई न्याय दिनुपर्छ भन्ने मेरो व्यक्तिगत धारणा छ । यस विषयमा हामी पार्टी र संसदीय दलमा पनि गम्भीर छलफल गर्नेछौँ ।’
आगामी योजना र संसदमा खेल्ने भुमिकाबारे स्पष्ट पार्दै उहाँले अबको प्रमुख दायित्व नीतिगत सुधार हुने बताउनु भयो । अनावश्यक नीतिहरू खारेज गर्ने, भएका नीतिलाई परिमार्जन गर्ने र आवश्यक नयाँ नीतिहरू निर्माण गर्नेतर्फ आफ्नो ध्यान केन्द्रित हुने उहाँको भनाइ छ । भ्रष्टाचारविरुद्ध कडा रूपमा प्रश्तुत हुने संकेत गर्नुभयो । सम्पूर्ण मतदातालाई धन्यवाद दिँदै उहाँले देश बनाउने काम कुनै एक व्यक्ति वा दलको मात्र नभई सम्पूर्ण नेपालीको सामूहिक जिम्मेवारी भएको बताउनु भयो ।
त्यसैगरी, पुराना राजनीतिक दलहरूप्रति टिप्पणी गर्दै श्रेष्ठले उनीहरूको विगतको लोकतान्त्रिक योगदानको कदर गर्नुभयो । पुराना दलहरूले अहिलेको जनमत र नतिजालाई स्वीकार गरेको भन्दै उहाँले अहिलेसम्मको अनुभव र विशेषगरी राजनीतिमा ‘के गर्नु हुँदैन’ भन्ने सिकाइ हाम्रो नयाँ पुस्ता र समग्र देशका लागि मार्गदर्शन बन्ने बताउनु भयो ।
पोखरा । देशभरका सम्पूर्ण मतदान केन्द्रहरूमा शान्तिपूर्ण, स्वतन्त्र र उल्लासमय वातावरणमा मतदान कार्य जारी रहेको निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचन आयुक्त डा। जानकीकुमारी तुलाधरले अहिलेसम्म देशका कुनैपनि मतदान केन्द्रमा मतदान कार्य नरोकिएको र सबै ठाउँमा सुचारु रूपले सञ्चालन भइरहेको जानकारी दिनुभएको हो । मतदानको पछिल्लो अवस्थाबारे जानकारी दिँदै आयुक्त डा। तुलाधरले आम मतदाताहरू उत्साह र उल्लासका साथ मतदान केन्द्रमा पुगेर आफ्नो मताधिकार प्रयोग गरिरहेको बताउनु भयो । सुरक्षा व्यवस्था र मतदान केन्द्रको समग्र व्यवस्थापनका विषयमा बोल्दै उहाँले यस पटकको निर्वाचनमा सुरक्षाको दृष्टिकोणले अत्यन्तै राम्रो प्रवन्ध मिलाइएको स्पष्ट पार्नुभयो । मतदान केन्द्रहरूको वातावरण शान्त र भयरहित रहेको बताउँदै उहाँले निर्वाचन व्यवस्थापनका हरेक कार्यहरू उत्कृष्ट तरिकाले सम्पन्न भइरहेको दाबी गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘आम मतदाताहरू एकदमै स्वतन्त्र किसिमले आफ्नो मतदान गरिरहनुभएको छ । सबै मतदान केन्द्रहरूमा अहिलेसम्म हामीले त्यस्तो केही मतदान केन्द्रहरू रोकिएको अवस्था पाएका छैनौँ ।’
आयुक्त तुलाधरकाअनुसार निर्वाचन आयोगले यसपटक मतदान केन्द्रहरूलाई विशेष रूपमा पहुँचयोग्य बनाएको छ । सबै वर्ग र समुदायका नागरिकले सहजै मतदान गर्न सकुन् भन्ने उद्देश्यले आयोगले मतदान स्थलको निर्माण र व्यवस्थापनमा विशेष ध्यान दिएको छ । बेलुका ५ बजेसम्म मतदानको समय तोकिएको हुनाले समयमै आफ्नो मतदान केन्द्रमा पुगेर अमूल्य मत खसाल्न आयोगले सम्पूर्ण मतदाताहरूलाई आग्रह समेत गर्नुभयो।
अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले ‘प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२’ का लागि देशभर पूर्ण रूपमा सुरक्षाको प्रत्याभुति गरिएको बताउनुभएको छ । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, धाँधलीरहित र भयमुक्त वातावरणमा सम्पन्न गर्न सरकारले सम्पूर्ण तयारी पूरा गरेको बताउनुभएको हो । उहाँले मतदातालाई ढुक्क भएर मतदानमा सहभागी हुन अपिल गर्नुभएको हो । गृहमन्त्री अर्यालले निर्वाचन सुरक्षा, मतपत्र तथा मतपेटिका ढुवानीको स्पष्ट मापदण्ड, उश्रृङ्खल गतिविधि गर्नेमाथि कडा कारबाही हुने बताउनु भयो । गृहमन्त्री अर्यालकाअनुसार सरकारले निर्वाचनका लागि ‘एकीकृत सुरक्षा योजना’ पारित गरी सोही आधारमा सुरक्षा संयन्त्रहरू परिचालन गरिसकेको छ । अहिले देशभरका सबै मतदान स्थलहरूमा सुरक्षाकर्मीहरू पुगिसकेका छन् ।
उहाँले भन्नुभयो, ‘ प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ एकीकृत सुरक्षा योजना पारित गरेर त्यसैको आधारमा हाम्रा संयन्त्रहरु परिचालित छन् । त्यो अनुसार अब सबै अहिले सुरक्षा संयन्त्रहरु मतदान स्थलसम्म पुगेका छन् । र अब जतिखेर जे आवश्यक पर्छ, परिएको अवस्थामा सुरक्षाको अवस्थालाई काबुमा राख्ने, सहजीकरण गर्ने गरि देशभरि नै पूर्ण रुपमा अहिले सुरक्षाको प्रत्याभुति दिएको अवस्था छ । गृहमन्त्री अर्यालले सुरक्षा व्यवस्था मजबुत रहेकाले कुनैपनि प्रकारको असुरक्षाको महशुस गर्नुन पर्ने स्पष्ट पार्नुभयो ।
मतपेटिका ढुवानीमा कडा सुरक्षा र गाडीको सिट–प्लान नै तय
मतदान सम्पन्न भइसकेपछि मतपेटिकाहरू कसरी सुरक्षित रूपमा निर्वाचन अधिकृतको कार्यालयसम्म ल्याइन्छ भन्ने विषयमा पनि गृहमन्त्री अर्यालले प्रष्ट पार्नुभयो । सुरक्षा योजनाको अनुसूचि २ मै मतपेटिका बोक्ने गाडीको व्यवस्थापनबारे स्पष्ट लेखिएको उहाँले जानकारी दिनुभयो । उहाँकाअनुसार गाडीमा सबैभन्दा अगाडि ड्राइभर र मतदान अधिकृत बस्नेछन् । त्यसको पछाडि मतपेटिका राखिनेछ, मतपेटिकाको पछाडि प्रहरी बस्नेछन् र सबैभन्दा पछाडि मात्र उम्मेदवारका प्रतिनिधिहरू रहनेछन् । यसका साथै, उक्त मतपेटिका बोकेको गाडीलाई नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको गाडीले स्कर्टिङ गर्ने र आवश्यक परेको खण्डमा वा असुरक्षा महसुस भएमा नेपाली सेनाको गाडीले समेत स्कर्टिङ गर्न सक्ने व्यवस्था मिलाइएको छ ।
निर्वाचन विरोधी गतिविधि गर्नेलाई सिधै अदालत पु¥याइने
निर्वाचनको समयमा कुनैपनि गैरकानूनी वा अवाञ्छित गतिविधि गर्नेलाई सरकारले नछाड्ने गृहमन्त्री अर्यालको चेतावनी छ । त्यस्ता गतिविधि नियन्त्रणमा मात्र सिमित नरही कडा कानूनी कारबाहीको दायरामा ल्याइने उहाँले स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, ‘त्यस्ता गतिविधि देखिए हामी नियन्त्रणमा मात्रै लिँदैनौँ, कानूनी कारबाही गर्छौं । अनुसन्धान गर्छौं, अभियोजन गर्छौं र अदालतमा पनि पेश गर्छौं । उहाँहरू दण्डको भागिदार बन्नुपर्छ, ।’
लोकतन्त्रको गुणस्तर र राजनीतिक सुशासनका लागि सुझबुझपूर्ण मतदानको अपिल
अन्तरिम सरकारले गराउन लागेको यो निर्वाचन विगतका निर्वाचनहरू भन्दा अझै सुदृढ, स्वच्छ र धाँधलीरहित हुने दाबी गृहमन्त्री अर्यालले गर्नुभयो । उहाँले नागरिकको भयमुक्त वातावरणमा मतदान गर्न पाउने अधिकार सरकारले सुनिश्चित गरेको बताउनु भयो । यस निर्वाचनलाई केवल प्रतिनिधि छान्ने र सरकार बनाउने प्राविधिक प्रक्रियाका रूपमा मात्र नहेरी राजनीतिक सुशासन कायम गर्ने अवसरका रूपमा लिन उनले मतदातालाई आग्रह गर्नुभयो ।
निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बिहीवार हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा निर्धक्क भएर मतदान गर्न सम्पूर्ण मतदातालाई आह्वान गर्नुभएको छ । निर्वाचनको सञ्चालन तथा व्यवस्थापनसम्बन्धी सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिँदै उहाँले आफ्नो मताधिकार प्रयोग गर्न आग्रह गर्नुभएको हो । गत भदौ २३ र २४ गते भएको नवयुवाहरूको विद्रोहपछि विकसित विषम परिस्थितिमा यो आकस्मिक निर्वाचन हुन गइरहेको उहाँले बताउनु भयो । कार्यवाहक प्रमुख आयुक्त भण्डारीले निर्वाचनले नेपालको संविधान र संघीय लोकतान्त्रिक व्यवस्थालाई अझै सुदृढ एवं परिपक्व बनाउने विश्वास व्यक्त गर्नुभयो । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउन आयोग पूर्ण रूपमा तयार रहेको उहाँले बताउनु भयो । निर्वाचनलाई कुनैपनि अवाञ्छित गतिविधिबाट प्रभावित हुन नदिई आस्था, विचार, सिद्धान्त र निष्ठाबाट निर्देशित एवं परिचालित हुने वातावरण बनाउन आयोग दृढ संकल्पित रहेको भण्डारीले स्पष्ट पार्नुभयो । मतदानलाई मतदाताको नैसर्गिक अधिकार र कर्तव्य दुवै भएको उल्लेख गर्दै उहाँले लोकतान्त्रिक व्यवस्थामा निर्वाचन सबैभन्दा ठूलो अनुष्ठान भएको बताउनु भयो । उहाँले मतदाताको सहभागितालाई राजनीतिक सचेतना, सामाजिक जिम्मेवारी र नागरिक संलग्नताको उच्चतम अभिव्यक्तिको रूपमा लिइने भन्दै सुसूचित मतदानले शासनप्रतिको नागरिक अपनत्व बढाउने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘गत भदौ २३ र २४ गते भएको नवयुवाहरूको विद्रोहपछि विकसित विषम परिस्थितिमा सम्पन्न हुन गइरहेको यो आकस्मिक प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ ले नेपालको संविधान र संघीय लोकतान्त्रिक व्यवस्थालाई अझै सुदृढ एवं परिपक्व बनाउने विश्वास मैले लिएको छु । प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ लाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउन आवश्यक पर्ने निर्वाचन सञ्चालन तथा व्यवस्थापनसम्बन्धी सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी गराउँदछु । निर्वाचनमा मतदाता र मतदान सर्वाधिक महत्वपूर्ण हुन्छ । निर्वाचनमा कुनै उम्मेदवार, व्यवस्था वा पक्षलाई चुन्न मतदाताले दिने सहमति वा स्वीकृति नै मतदान हो । संविधान र कानूनबमोजिम निश्चित उमेर पूरा भएको नागरिक मतदाता हुन्छन् र सबै मतदाताको मतको मूल्य बराबर हुन्छ । त्यसैले मतदानलाई मतदाताको नैसर्गिक अधिकार मानिन्छ । राजनीतिक व्यवस्थाको स्वरूप निर्धारण, शासन, सरकार, नीति र नेतृत्वको कस्तो हुने भन्ने निर्धारण हरेक मतदाताले निर्वाचनमा खसाल्ने एक एक मतले तय गर्ने भएकाले लोकतान्त्रिक व्यवस्थामा निर्वाचन सबैभन्दा ठूलो अनुष्ठान हो । यो अनुष्ठानमा सहभागी भएर सम्पूर्ण मतदाताले आ–आफ्नो अधिकार सुरक्षित गर्नुहुनेछ भन्ने विश्वास मैले लिएको छु । यो अनुष्ठानमा सहभागी हुनु हरेक सार्वभौम अधिकार सम्पन्न मतदाताको कर्तव्य पनि हो । कुनै पनि निर्वाचनमा मतदाताको सहभागितालाई राजनीतिक सचेतना, सामाजिक जिम्मेवारी र नागरिक संलग्नताको उच्चतम अभिव्यक्तिको रूपमा लिने गरिन्छ । जब नागरिकहरू आफ्ना अधिकारप्रति सचेत र जागरुक भएर मतदाताको रूपमा दर्ता हुनुहुन्छ र निर्वाचनमा सुसूचित मतदाता भएर आफ्नो सहभागिता जनाउनुहुन्छ तब मात्र शासनप्रतिको नागरिक अपनत्व बढ्दै जान्छ । निर्वाचन आयोग निर्वाचनलाई कुनैपनि अवाञ्छित गतिविधिबाट प्रभावित हुन नदिइ आस्था, विचार, सिद्धान्त र निष्ठाबाट निर्देशित एवं परिचालित हुने वातावरण बनाउन दृढ संकल्पित रहेकोले यस कार्यमा सबैको सकारात्मक सहयोग र इमान्दार प्रयत्न हुनेछ भन्ने विश्वास व्यक्त गर्दछु ।
निर्वाचन व्यवस्थापनको सन्दर्भमा राजनीतिक दल, उम्मेदवार, मतदाता, नागरिक समाज, सञ्चारकर्मी, आमसञ्चारमाध्यम लगायत सबै सरोकारवालाहरुको सहयोग र सहभागिताले आयोगलाई आफ्नो भूमिका निर्वाह गर्न थप ऊर्जा, हौसला र प्रेरणा प्राप्त भएकोमा धन्यवाद दिँदै आयोग निरन्तर सहयोगको अपेक्षा गर्दछ । निर्वाचन, प्रतिनिधिमूलक शासन व्यवस्थाको आधारशीला भएको र आफूले रोजेको प्रतिनिधिमार्फत शासन सञ्चालन गर्न पाउने जनताको अधिकारलाई निर्वाचनले नै वैधता र सुनिश्चितता प्रदान गर्ने हुँदा भोलि २०८२ फागुन २१ गते बिहीबार आ–आफ्ना मतदान केन्द्रमा उपस्थित भइ निर्धक्क भएर मतदान गर्नुहुन म सम्पूर्ण मतदातालाई हार्दिक अनुरोध गर्दछु । निर्वाचन व्यवस्थापनका सन्दर्भमा राजनीतिक दल, उम्मेदवार, नागरिक समाज, सञ्चारकर्मी र आमसञ्चारमाध्यम लगायत सबै सरोकारवालाबाट प्राप्त सहयोगले आयोगलाई आफ्नो भुमिका निर्वाह गर्न थप ऊर्जा र हौसला मिलेको बताउनु भयो । प्रतिनिधिमूलक शासन व्यवस्थाको आधारशीला नै निर्वाचन भएको र आफूले रोजेको प्रतिनिधिमार्फत शासन सञ्चालन गर्न पाउने जनताको अधिकारलाई निर्वाचनले नै वैधता प्रदान गर्ने हुँदा बिहीवार आ–आफ्नो मतदान केन्द्रमा उपस्थित भई निर्धक्कका साथ मतदान गर्न आग्रह गर्नुभयो ।
यात्रा प्रतिवन्धका कारण अबुधाबीमा अलपत्र परेका पर्यटक तथा आगन्तुकहरूको लागि अबुधाबीको संस्कृति तथा पर्यटन विभागले रोकिएर बस्ने सबैको खर्च व्यहोर्ने भएको छ । विभागले ५ दिनअघि नै निर्णय गरिएको एक परिपत्र जारी गर्दै, आबुधावी क्षेत्रमा काबु बाहिरको परिस्थिति परिस्थितिले गर्दा आफ्नो देश फर्कन नसकेका र भिसा वा होटलको चेक–आउट मिति सकिएका पाहुनाहरूको बसाइ अवधि लम्ब्याउन त्यहाँका सबै होटलहरूलाई निर्देशन दिएको छ । विभागले होटलका महाप्रवन्धकहरूलाई पठाएको पत्रमा स्पष्ट पारेको छ कि चेक–आउट मिति पुगे पनि काबु बाहिरको परिस्थितिका कारण यात्रा गर्न नसक्ने पाहुनाहरूलाई, उनीहरू प्रस्थान गर्न सक्षम नभएसम्म होटलमै बस्ने व्यवस्था मिलाउनुपर्नेछ । यसरी थपिएको बसाइ अवधिको सम्पूर्ण खर्च अबु धाबी संस्कृति तथा पर्यटन विभाग स्वयंले व्यहोर्ने भएको छ । होटलहरूलाई यस अवधिको बिल तथा इनभ्वाइसहरू विभागको तोकिएको इमेल ठेगानामा पठाउन सूचित गरिएको छ । यस प्रक्रियामा थप जानकारी आवश्यक परेमा वा कुनै समस्या आएमा विभागले आफ्नो ‘बिजनेस कन्टिन्युटी टिम’ को सम्पर्क नम्बर ०२६५७६२८३ समेत सार्वजनिक गरेको छ । अबुधाबी सरकारको यो निर्णयले अनपेक्षित यात्रा प्रतिबन्धका कारण आर्थिक तथा मानसिक तनावमा परेका पर्यटकहरूलाई ठूलो राहत मिल्ने अपेक्षा गरिएको छ ।





