नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले बैंक तथा वित्तीय संस्थाहरूसँग ५ खर्ब २० अर्ब रुपैयाँ लगानीयोग्य रकम थन्किएको बताउँदै लगानीका अवसरहरू पहिचान गर्नुपर्नेमा जोड दिएका छन्। आर्थिक पत्रकार समाज (सेजन)ले आयोजना गरेको ‘प्रि-मोनिटरी पोलिसी डिस्कसन’लाई सम्बोधन गर्दै उनले बैंकहरूमा निक्षेप उच्च रहेको र विदेशी मुद्रा सञ्चिति पनि पर्याप्त रहेकाले दिगो र सन्तुलित विकासका लागि लगानीको उपयुक्त समय आएको उल्लेख गरे।

गभर्नर पौडेलले मौद्रिक नीति र वित्त नीतिबीच समन्वय गरेर अघि बढ्नुपर्ने आवश्यकता औंल्याए। उनले ऊर्जालगायतका क्षेत्रमा लगानीका अवसर पहिचान गरी वित्त नीतिले नेतृत्व गर्नुपर्ने बताए। साथै, माइक्रो-इकोनोमिक दृष्टिकोणबाट बैंक तथा वित्तीय संस्थाहरूको नियमनमा ध्यान दिनुपर्ने उनको भनाइ छ।
उनले ग्रामीण क्षेत्रमा अझै पनि अपेक्षित रूपमा ऋण प्रवाह नभएको गुनासो रहेको उल्लेख गर्दै आगामी मौद्रिक नीतिमार्फत यो समस्यालाई सम्बोधन गरिने प्रतिबद्धता व्यक्त गरे। उनले भने, “जुन क्षेत्रमा ऋण पुगोस् भन्ने चाहेका हौं, त्यहाँ पुग्न सकेको छैन भन्ने गुनासो छ। आगामी मौद्रिक नीतिमा यसलाई सम्बोधन गर्ने प्रयास हुनेछ।”
गभर्नर पौडेलले सबै क्षेत्र र वर्गलाई समेट्ने तथा दिगो विकासलाई प्राथमिकता दिने मौद्रिक नीति बनाउने बताए। उनले राष्ट्र बैंकले सधैं दिगो विकासलाई प्राथमिकता दिँदै आएको र यो नीतिलाई निरन्तरता दिइने स्पष्ट पारे।











