गत असोजमा आएको बाढी–पहिरोले काभ्रेको कृषि क्षेत्रमा करिब एक अर्ब रुपैयाँ बराबरको क्षति पुर्याएको थियो। तर, नौ महिनापछि सरकारले केवल ३५९ जना किसानलाई ७७ लाख रुपैयाँ बराबरको मात्र राहत दिने सिफारिस गरेको छ।

कृषि तथा पशु सेवा कार्यालय काभ्रेका तथ्यांकअनुसार कृषि तथा पशुपालन क्षेत्रमा ९० करोड २७ लाख ८१ हजार रुपैयाँ बराबरको क्षति पुगेको छ। ठूलो क्षति भए पनि राहत रकम अत्यन्त न्यून सिफारिस भएको हो। बाढी–पहिरोबाट प्रत्यक्ष प्रभावित करिब ४ सय किसानमध्ये आवेदन दिएका ३५९ जनालाई मात्र राहत वितरण गरिने भएको छ।
कृषि विकास कार्यालय काभ्रेका प्रमुख कुलप्रसाद दवाडीका अनुसार राहतका लागि सिफारिस गरिएका किसानका नाममा ७७ लाख ७९ हजार ५७० रुपैयाँ बराबरको रकम उनीहरूको खातामा सिधै जम्मा गरिने व्यवस्था गरिएको छ।
क्षतिको विवरण र राहतको आधार
कृषि विकास कार्यालयका अनुसार ती ३५९ जना किसानले लगाएको करिब ३,१४० रोपनी क्षेत्रफलमा रहेका खाद्यान्न, तरकारी, फलफूल बाली तथा १,३८० वर्गमिटर टनेलमा क्षति पुगेको हो।
दिएको विवरणअनुसार:
-
२,०३० रोपनी खाद्यान्न बाली,
-
४०५ रोपनी तरकारी बाली,
-
७०५ रोपनी फलफूल बाली
-
१,३८० वर्गमिटर टनेल

सिफारिस गरिएको राहत दरअनुसार:
-
खाद्यान्न बालीमा प्रति रोपनी १,५०० रुपैयाँ,
-
तरकारी बालीमा प्रति रोपनी २,५०० रुपैयाँ,
-
फलफूल बालीमा प्रति रोपनी ५,००० रुपैयाँ,
-
टनेलमा प्रति वर्गमिटर १४० रुपैयाँ राहत दिइनेछ।
कागजात परीक्षण र अस्वीकार
३६९ किसानले आवेदन दिएकोमा १० जनाको कागजात अपुष्ट देखिएकाले उनीहरूको निवेदन पुनः निरीक्षणपछि मात्र सिफारिस गरिने जानकारी जिल्ला समन्वय समितिका प्रमुख एवं छनोट समितिका संयोजक दीपक गौतमले दिएका छन्। किसानहरूले निवेदनसँगै क्षतिको विवरण, तस्वीर, प्रहरी प्रतिवेदन, वडाको सिफारिस, कृषि शाखाको प्राविधिक रिपोर्ट र लालपुर्जाको प्रतिलिपि पेश गरेका थिए।
पशुपालनतर्फको क्षति
पशु सेवा कार्यालयका प्रमुख स्रिजा वाग्लेले दिएकी जानकारी अनुसार, बाढी–पहिरोमा करिब २,२०० पशु चौपाया नष्ट भएका छन्। हालसम्म ६५ वटा राहत आवेदन संकलन भइसकेको र बाँकी संकलन भइरहेकाले एक–डेढ साताभित्र सिफारिस गर्ने योजना रहेको बताइएको छ।
पशुपालन क्षेत्रमा:
-
२,६६३ वटा पशु,
-
१५,४९५ पंक्षी,
-
३२ लाख लिटर दूध
नष्ट भई जम्मा ३३ करोड ६६ लाख ८१ हजार रुपैयाँ बराबरको क्षति पुगेको छ।
त्यसमध्ये:
-
दूधमा: २४ करोड,
-
दुहुना गाई: २ करोड ५ लाख,
-
भैंसी: ३ करोड ९३ लाख,
-
कुखुरा/हाँस: १ करोड ५४ लाख ९५ हजार,
-
बोका–बाख्रा, गोरु, बाच्छाबाच्छी, राँगो, पाडापाडी, बंगुर: १ करोड ५० लाख १५ हजार बराबरको क्षति भएको उल्लेख गरिएको छ।
पहिलेको आपतकालीन सहयोग
बाढीपछि तत्काल जीवनयापनका लागि विश्व खाद्य कार्यक्रम (WFP) मार्फत २,६४० घरधुरीलाई राहत वितरण गरिएको थियो।
-
५ जनासम्मको परिवारलाई १५,००० रुपैयाँ,
-
५ भन्दा बढीको परिवारलाई २०,००० रुपैयाँ प्रदान गरिएको थियो।
त्यसअनुसार:
-
बेथान्चोक : २३५ घर परिवार
-
रोशी : १,२१९ घर परिवार
-
तेमाल : १,१८६ घर परिवार
लाई गरी ४ करोड २३ लाख रुपैयाँ वितरण गरिएको कृषि विकास कार्यालय काभ्रेका प्रमुख दवाडीले बताए।










