नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश मेघराज पोखरेललाई न्यायाधीश पदमा नियुक्त नहुन सुझाव दिएका छन्। पोखरेलको विगतको सक्रिय राजनीतिक संलग्नता र व्यापारिक घरानाबाट प्रभावित भएको भन्दै बर्तौलाले संसदीय सुनुवाइ समितिको बैठकमा उनलाई यो प्रक्रियाबाट अलग हुन आग्रह गरेका हुन्।

पोखरेलले बैठकमा आफ्ना योजना प्रस्तुत गरेपछि बर्तौलाले भने, “मेरो व्यक्तिगत मत यो छ कि तपाईं यो प्रक्रियाबाट अलग हुनु उपयुक्त हुन्छ। तपाईं अगाडि नबढेर बाहिरिनुहोस्, यो मेरो व्यक्तिगत सुझाव हो।”
बर्तौलाले पोखरेलमाथि व्यवसायिक घरानाको प्रतिनिधित्व गर्दै एक बैंकको सञ्चालक बनेको आरोप लगाए। उनले भने, “तपाईं राजनीतिक आवरणमा विभिन्न जिम्मेवारीमा रहनुभए पनि तपाईंको मनोवृत्ति चर्चित व्यापारिक घरानाहरूबाट बढी प्रभावित छ भन्ने प्रश्न उठेको छ। यो कुरा कानुन, न्यायिक र व्यवसायिक क्षेत्रमा तपाईंका बारेमा चर्चा हुन्छ। तपाईं व्यापारिक घरानाप्रति बफादार भएर वकालत गर्नुभएको र उनीहरूकै प्रतिनिधिको रूपमा काम गर्नुभएको भन्ने बुझाइ छ। यो गलत हो भनी तपाईं कसरी प्रमाणित गर्नुहुन्छ?”
बर्तौलाले कार्यवाहक प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध तत्कालीन सर्वोच्च बारका अध्यक्षका रूपमा पोखरेलले प्रश्न उठाएको र व्यापारिक हितका लागि काम गरेको दाबी गरेको स्मरण गरे। उनले प्रश्न गरे, “प्रस्तावित न्यायाधीश बन्ने बित्तिकै सात महिनाअघिको प्रतिबद्धता च्यातेर हिँड्न मिल्छ? यदि तपाईंले यस्तो गर्नुभयो भने भविष्यमा न्यायिक क्षेत्रमा विचलन आउँदैन भन्ने कुराको ग्यारेन्टी कसरी हुन्छ? के हामी वकिलहरूले पद पाउनासाथ जे पनि गर्न मिल्छ भन्ने मानक स्थापित गर्न खोजेका हौँ?”
पोखरेलले सुनुवाइ समितिमा आफ्ना योजना प्रस्तुत गर्दै सर्वोच्च अदालतको न्यायाधीशमा अनुमोदन भएमा राजनीतिक पहिरन त्याग्ने प्रतिबद्धता व्यक्त गरेका थिए।











