२०८३ आश्विन १ बिहीबार
२०८३ आश्विन १ बिहीबार

सरकारको काम युद्धस्तरमा भइरहेको छः रवि लामिछाने

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विपद्पछिको खोजी, उद्धार, राहत तथा पुनस्र्थापनाका काममा सरकारका विभिन्न निकायबीच निरन्तर समन्वय भइरहेको बताउनुभएको छ ।  सर्वदलीय बैठकपछि बुधवार सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले वन तथा पर्यावरण, महिला बालबालिका तथा ज्येष्ठ नागरिक, गृहलगायत विभिन्न मन्त्रालय, विभाग र सरकारी संयन्त्रहरू विपद् व्यवस्थापनमा सक्रिय रहेको बताउनुभएको हो । उहाँकाअनुसार सरकारले विपद्पछि सबैभन्दा पहिले खोजी तथा उद्धारलाई प्राथमिकता दिएको थियो । अहिले राहत वितरणको काम भइरहेको र त्यसमा केही कमीकमजोरी हुन सक्ने भएपनि भौगोलिक जटिलताका बाबजुद सम्बन्धित निकायहरूले काम गरिरहेको उहाँले बताउनु भयो । लामिछानेले अब पुनस्र्थापना र पुनर्निर्माणको चरण बाँकी रहेको उल्लेख गर्दै त्यसका लागि मन्त्रालय, विभाग तथा सम्बन्धित प्राधिकरणहरूले योजना निर्माणदेखि फिल्डमा काम गरिरहेको बताउनु भयो । नीतिगत निर्णयदेखि कार्यान्वयन तहसम्मका काम निरन्तर भइरहेको उहाँको दाबी छ । उहाँले सरकारको कामकारबाही सार्वजनिक नै रहेको भन्दै सरकार अप्ठ्यारो परेको ठाउँमा पुगिरहेको र आफ्ना नीतिअनुसार काम गरिरहेको बताउनु भयो । मन्त्रिपरिषद्का निर्णयहरू पनि सार्वजनिक भइरहेकाले सरकारको कार्यसम्पादनबारे नागरिकले मूल्यांकन गर्नसक्ने उहाँको भनाइ छ । 

उहाँले भन्नुभयो, ‘विपद् व्यवस्थापनमा वन तथा वातावरण, गृह, महिला तथा बालबालिका लगायत विभिन्न मन्त्रालय, विभाग र सम्बन्धित निकायहरू संलग्न छन् । सबै निकायले आ–आफ्नो जिम्मेवारीअनुसार काम गरिरहे पनि उनीहरूबीच आवश्यक समन्वय निरन्तर भइरहेको छ । सरकारले प्रारम्भमा खोज तथा उद्धारलाई प्राथमिकताका साथ अघि बढायो । त्यसपछि राहत वितरणको काम भइरहेको छ । भौगोलिक जटिलताका कारण केही व्यावहारिक कठिनाइ र कमजोरी देखिन सक्ने भए पनि राहत कार्य निरन्तर जारी छ । अब पुनस्र्थापना र पुनर्निर्माणको दीर्घकालीन चरणमा सम्बन्धित मन्त्रालय, विभाग तथा प्राधिकरणहरू सक्रिय रूपमा योजना निर्माण र कार्यान्वयनमा जुटिरहेका छन् । नीतिगत निर्णयदेखि फिल्डस्तरको कामसम्म सम्बन्धित निकायहरू निरन्तर सक्रिय छन्। विपद्को अवस्थामा सरकार आवश्यक ठाउँमा पुग्ने र आफ्नो जिम्मेवारीअनुसार काम गर्ने प्रक्रिया जारी रहेको छ ।’ रास्वपाभित्रैबाट सरकारको कामप्रति उठ्ने आलोचनाबारे लामिछानेले पार्टीभित्रको आन्तरिक लोकतन्त्र बलियो भएकाले नेताहरूले आफ्ना धारणा स्वतन्त्र रूपमा राख्ने गरेको बताउनु भयो । उहाँले आफ्नै सरकारको आलोचना गर्ने विषयलाई पनि लोकतान्त्रिक अभ्यास भएको दाबी गर्नुभयो । नेताहरू तथा सांसदहरूको अभिव्यक्ति दिने शैली फरक–फरक हुने भन्दै उहाँले त्यसलाई पार्टीभित्रको असहमतिको ठूलो विषयका रूपमा लिन नहुने बताउनु भयो । सर्वदलीय बैठकमा पछिल्लो विपद्को व्यवस्थापनसँगै सरकारका कामको समन्वय, राहत तथा पुनस्र्थापना र जलवायु परिवर्तनका विषयमा छलफल भएको थियो । बैठकले सर्वदलीय राजनीतिक संयन्त्रलाई निरन्तरता दिने तथा संसदभित्र विशेष समिति गठनका लागि पहल गर्ने विषयमा समेत छलफल गरेको लामिछानेले जानकारी दिनुभयो

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।