२०८३ भदौ १२
पोखरा। पोखरा उद्योग वाणिज्य संघले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ७५ हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । संघका अध्यक्ष गोकर्ण कार्कीको अध्यक्षतामा शुक्रबार बसेको आकस्मिक बैठकले राहतका लागि तत्काल सो रकम छुट्टयाउने निर्णय गरेको हो ।
संघले आफ्ना पदाधिकारी तथा कार्यसमिति सदस्यहरूलाई थप रकम सहयोग गर्न आह्वान समेत गरेको छ । महासचिव शोभा गौतमका अनुसार वर्तमान कार्यसमितिबाट संकलन हुने थप रकम र संघको ७५ हजार रुपैयाँ एकमुष्ठ गरी हस्तान्तरण गरिने छ । उक्त रकम कास्कीका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पठाइने संघले जनाएको छ ।

यसअघि बुधबार भोटेकोशीमा आएको बाढीले पुर्याएको जनधनको क्षतिप्रति संघले दुःख व्यक्त गरेको थियो । विपद्को यो घडीमा स्थानीय प्रशासन र सुरक्षा निकायसँग आवश्यक समन्वय गर्ने प्रतिबद्धता संघको छ । उद्धार, राहत संकलन र पुनःस्थापनाका अभियानमा संघ प्रत्यक्ष सहभागी हुने अध्यक्ष गोकर्ण कार्कीले बताए ।
अध्यक्ष कार्कीले एक अपिल जारी गर्दै तत्काल उद्धार र राहत कार्यमा जुट्न उद्योगी, व्यवसायी तथा आम नागरिकसँग आग्रह गरेका छन् । ‘प्राकृतिक विपद्को सामना गर्न र प्रभावित परिवारलाई सहयोग गर्न हामी सबै एकजुट हुनुपर्छ,’ उनले भने । संघले विपद् प्रभावित क्षेत्रमा राहत र पुनःस्थापनाका लागि आफ्नो तर्फबाट सक्रिय भूमिका निर्वाह गर्ने जनाएको छ ।










