२०८३ भदौ १२
पोखरा । पोखराका पर्यटन व्यवसायीलाई धम्की दिएर रकम माग गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले शुक्रबार पोखरा महानगरपालिका-६ डिहीकोपाटनबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा धनकुटाको मारेक कटहरे गाउँपालिका-६ स्थायी घर भई हाल पोखरा लेकसाइड बस्ने ३६ वर्षीय प्रेम थापा रहेका छन् । त्यस्तै सुनसरीको इटहरी उपमहानगरपालिका-२५ स्थायी घर भई लेकसाइड बस्ने २९ वर्षीय पंकज खड्कालाई पनि प्रहरीले पक्राउ गरेको छ । उनीहरूले विगत १ महिनादेखि पोखराको पृथ्वीचोक र लेकसाइड लगायतका क्षेत्रमा व्यवसायीलाई त्रसित बनाउँदै आएका थिए ।
‘द फायर ग्याङ’ नामको ह्वाट्सएप नम्बर प्रयोग गरी उनीहरूले व्यवसायीलाई जनधनको क्षति पुर्याउने धम्की दिने गरेका थिए । उनीहरूले व्यवसायीलाई अपहरण गर्ने र दुर्घटना गराउने त्रास देखाई रकम माग गरेको सूचना प्रहरीले प्राप्त गरेको थियो । सोही सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कास्की, नेपाल प्रहरी प्रदेश कार्यालय र वडा प्रहरी कार्यालय बैदामको संयुक्त टोली परिचालन गरिएको थियो ।










