नेकपा एमाले गण्डकी प्रदेश सरकारबाट बाहिरिएको छ । सरकारमा सहभागी रहेका एमालेका ४ मन्त्रीले बुधबार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई राजीनामा बुझाएका हुन् । यसअघि बुधबार बिहान एमाले संसदीय दलको बैठक बसेको थियो । केन्द्रमा बनेको नयाँ समीकरण अनुसार एमाले सरकारबाट बाहिरिएको बताईएको छ । एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बिच सत्ता सहकार्य गर्ने सहमति भए अनुसार नै एमाले सरकार बाट बाहिरीएको हो । एमालेबाट गण्डकी सरकारमा भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री गोविन्दबहादुर नेपाली, उद्योग तथा पर्यटनमन्त्री यशोदा रिमाल, कृषिमन्त्री भीमबहादुर कार्की र स्वास्थ्यमन्त्री लक्ष्मणबहादुर पाण्डे रहेका थिए ।

नेपाली काँग्रेससँग केन्द्रमा भएको सहमति अनुसार २०८१ भदौ १७ गते गण्डकी सरकारमा एमाले सहभागी भएको थियो । एमाले सरकारबाट बाहिरिए पनि कांग्रेस नेतृत्वको सरकारलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) को समर्थन कायमै रहेकाले सरकार अल्पमतमा नपने कांग्रेस नेताहरूको दाबी छ । ६० सदस्यीय गण्डकी प्रदेशसभामा मनाङबाट स्वतन्त्र निर्वाचित सांसद राजीव गुरुङ ‘दीपक मनाङे’ पदमुक्त भएपछि ५९ सांसद छन् भने सरकार गठनका लागि ३० सांसदको समर्थन आवश्यक पर्दछ । गण्डकीमा नेपाली काँग्रेससँग २७, एमाले २२, नेपाली कम्युनिस्ट पार्टीका ७, राप्रपाका २ र नेसपाका १ सांसद छन् । एमालेको नेतृत्वमा सरकार बनाउन नेपाली कम्युनिष्ट पार्टीका सभामुखबाहेक ६ सांसद र राप्रपाका दुई सांसदको समर्थन आवश्यक पर्छ । एमाले र नेकपाबिच सत्ता सहकार्य गर्ने सहमति भएपनि राप्रपाले नयाँ गठबन्धनलाई समर्थन गर्ने निर्णय गरेको छैन । एमाले–नेकपा गठबन्धनसँग मात्र सरकार गठनका लागि आवश्यक बहुमत पुग्दैन र राप्रपाले तत्काल समर्थन नगर्ने अडान लिएको छ ।










