१ भदौ,
राप्रपाका संसदीय दलका नेता ज्ञानबहादुर शाहीले वैदेशिक रोजगारीका नाममा ठगी गर्नेहरूलाई हदैसम्म कारबाहीको माग गरेका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत शाहीले यस्तो माग गरेका हुन्। उनले लेखेका छन्, ‘वैदेशिक रोजगारीका नाममा ठगी गर्नेहरूलाई हदैसम्मको कानुनी कारबाही गर्न सरकारसँग हामी जोडदार माग गर्दछौँ।’
उनका अनुसार करिब वार्षिक डेढ लाखभन्दा बढी नेपाली युवाहरू वैदेशिक रोजगारीका नाममा विभिन्न किसिमका ठगीमा परिरहेको बताउँछन्। उनी थप्छन्, ‘तर विडम्बना के छ भने हिजो सत्ताधारी पार्टीमा बसेर जनतालाई ठग्नेहरू आज सत्ता परिवर्तनसँगै पार्टी परिवर्तन गरेर फेरि सत्ताकै वरिपरि देखिन्छन्।’
अब यस्तो अवस्था अन्त्य हुनुपर्ने उनको आग्रह छ। अगाडि लेख्छन्, ‘ठगी गर्ने व्यक्ति जुनसुकै पार्टीको होस्, उसको राजनीतिक पहुँच र पद हेरेर होइन, अपराध हेरेर कानुनी कारबाही हुनुपर्छ।’











