२०८३ साउन २५
एमाले र नेकपाबीचको केन्द्रमा भएको ३ बुँदे सहमति कार्यान्वयनमा कोशी प्रदेशमा अलमल देखिएको छ । मुख्यमन्त्री फेर्ने विषय तत्काललाई टरे पनि एमालेको आन्तरिक असमझदारीको आडमा कांग्रेसले तत्काल सरकारबाट हट्ने लक्षण देखाएको छैन ।

शुक्रबार गठबन्धनका दुई दलबीच आजसम्ममा नेकपाबाट मन्त्री नियुक्त गर्ने सहमति भएको थियो । दुई पार्टीबीच मन्त्रालय र मन्त्री बाँडफाँटको टुङ्गो लगाउने भनिए पनि कांग्रेसका मन्त्रीले राजीनामा नदिँदा सहमति कार्यान्वयनमा बाधा पुगेको एक नेताले बताए ।
ती नेता भन्छन्, ‘एमालेको आन्तरिक समस्याका कारण कांग्रेसका मन्त्रीहरूले राजीनामा दिएका छैनन् । मुख्यमन्त्रीले हट भन्न सक्नुभएन । राजीनामा गराउने विषयमा पनि पहल नगरेकाले ३ बुँदे सहमति कार्यान्वयनमा समस्या भएको छ ।’
एमाले-नेकपाका नेताको बैठक बस्दै
सरकार पुनर्गठनबारे छलफल गर्न आज एमाले र नेकपाको प्रदेश संसदीय दलका नेता र पार्टी नेतृत्वको बैठक बस्दैछ । मन्त्रालय बाँडफाँटलगायतको विषयमा बैठकमा छलफल हुने नेकपा संसदीय दलका नेता इन्द्र आङ्बोले बताए ।
एमाले सचिव तथा प्रदेश इन्चार्ज शेरधन राईले दुई दलबीच आज औपचचारिक सहमतिसहित सरकार पुनर्गठनको काम अघि बढ्ने बताए ।
उनले भने, ‘पहिला हाम्रा बीचमा सहमति जुटाउँ, त्यसपछि कांग्रेसका विषयमा कुरा गरौँला ।’
गठबन्धनका दलबीचको सहमतिपछि कांग्रेसका मन्त्रीहरूले राजीनामा दिने राईले विश्वास जनाए ।











