
पोखरा, ३ साउन
पोखरा टेलिभिजनको सम्पादकमा पत्रकार माधव बराल नियुक्त हुनु भएको छ । टेलिभिजनको संचालक समितिले बराललाई सम्पादक पदमा नियुक्त गरेको हो । टेलिभिजनको विरौटास्थित कार्यालयमा आइतबार पोखरा टेलिभिजनका अध्यक्ष प्रवेश उप्रेतीले बराललाई स्वागत गर्नुभयो । पत्रकारहरुको छाता संस्था नेपाल पत्रकार महासंघ कास्कीको अध्यक्षसमेत रहनुभएका बरालसँग साढे २ दशकको पत्रकारितामा अनुभव छ ।
२०५९ सालदेखि पत्रकारिता सुरु गर्नूृभएका बरालसँग यसअघि अन्नपूर्ण पोस्ट दैनिक, नेपाल समाचारपत्र दैनिक, हिमाल खबर पत्रिका, गोरखापत्र दैनिक, समाधान दैनिक, रेडियो अन्नपूर्ण, पोखरा हटलाइन दैनिक, माछापुच्छ्रे एफएम र पब्लिक टिभीमा विभिन्न पदमा रहेर काम गरेको अनुभव छ । बरालले २०७५ देखि २०७९ सम्म पोखरा महानगरपालिकामा प्रेस संयोजकको भूमिका पनि निर्वाह गर्नुभएको थियो । पोखरा महानगरपालिका वडा नम्बर २८ कालिकामा जन्मिनुभएका बरालले मिडिया टेक्नोलोजिमा स्नातकोत्तर गर्नुभएको छ ।
टेलिभिजनमा स्वागत गर्दै सस्थाका अध्यक्ष प्रवेश चन्द्र उप्रेतीले बरालको कुशल नेतृत्वमा संस्थाको गरिमा, पत्रकारिताको गुणस्तर र विश्वसनीयताले नयाँ उचाइ लिने विश्वास व्यक्त गर्नुभयो । उहाँले बरालको लामो व्यावसायिक अनुभव र दक्षताले सम्पादकीय टोलीलाई अझ ऊर्जावान्, रचनात्मक र संगठित बनाउँदै बजारको बदलिँदो माग र दर्शकको चाहनाअनुसार टेलिभिजनमा प्रसारण हुने सामग्रीलाई रूपान्तरण गर्न नेतृत्वदायी भूमिका रहने अपेक्षा व्यवस्थापनले गरेको बताउनुभयो ।
स्वागत कार्यक्रममा सम्पादक बरालले आफूलाई विश्वास गरेर यो जिम्मेवारी प्रदाान गरेकोमा व्यवस्थापन पक्षप्रति आभार व्यक्त गर्दै, टेलिभिजन र समाचारको विश्वसनीयतालाई सधैं कायम राख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । तीव्र प्रतिस्पर्धा र डिजिटल युगको मागलाई आत्मसात गर्दै, दर्शकको चाहना अनुरूपका नवीन सामग्रीमार्फत् टेलिभिजनको पहुँचलाई नयाँ उचाइमा पुर्याउन समर्पित रहने उहाँको भनाइ छ ।











