नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) ईश्वर कार्कीले यातायात क्षेत्रको प्रभावकारी व्यवस्थापनका लागि प्रविधिको प्रयोग र सबै सरोकारवाला निकायबीचको सहकार्य अपरिहार्य रहेको बताउनुभएको छ ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सातौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रिय कार्यकारिणी समितिको पदस्थापन तथा शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै एआईजी कार्कीले यस्तो बताउनुभएको हो । उहाँले यातायात व्यवस्थापन कुनै एक निकायको एकल प्रयासबाट मात्र सम्भव नहुने स्पष्ट पार्नुभयो । यातायात क्षेत्रको विकास र व्यवस्थापनका लागि सबै सरोकारवाला पक्षहरूको सहकार्य जरुरी रहेको बताउँदै सबैले आ–आफ्नो स्थानबाट जिम्मेवारी पूरा गरेमा मात्र यसले पूर्णता पाउनेछ जिकिर गर्नुभयो । एआईजी कार्कीले पछिल्लो समय यातायात क्षेत्रलाई पुरातन शैलीबाट मुक्त गरी प्रविधिमैत्री बनाउन महासंघको निःवर्तमान तथा वर्तमान नेतृत्वसँग समन्वय भइरहेको जानकारी दिनुभयो यस सहकार्यले सकारात्मक परिणाम दिन थालेको उल्लेख गर्नुभयो ।
सवारी साधनको सुरक्षा र निगरानीका लागि प्रविधिको प्रयोगमा उल्लेख्य उपलब्धि हासिल भएको उहाँको भनाइ छ । हालसम्म दुई हजारभन्दा बढी सवारी साधनमा जीपीएस र ड्यास बोर्ड सीसी क्यामेरा जडान भइसकेको जानकारी दिँदै उहाँले अब सवारी धनीले आफ्नो सवारी साधन कहाँ र कुन अवस्थामा छ भन्ने विवरण मोबाइलबाटै प्रत्यक्ष हेर्नसक्ने वातावरण सिर्जना भएको बताउनु भयो । यो प्रविधिलाई देशभरका सबै सवारी साधनमा विस्तार गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
उहाँले भन्नुभयो, ‘पछिल्लो समय हामीले यातायात व्यवस्थापन सुधारका लागि केही महत्वपूर्ण कामहरू गरेका छौँ । यातायात क्षेत्रको विकास र व्यवस्थापन कुनै एक व्यक्ति वा संस्थाको प्रयासबाट मात्र सम्भव हुँदैन भन्ने कुरामा हामी स्पष्ट छौँ । यसका लागि सबै सरोकारवालाको सहकार्य अपरिहार्य छ । यही सोचका साथ हामीले यातायात व्यवसायीहरूसँग मिलेर प्रविधिमैत्री व्यवस्थापनको सुरुवात गरेका छौँ । निःवर्तमान र वर्तमान नेतृत्वसँग सहकार्य गर्दै केही महत्वपूर्ण सुधारका काम अघि बढाइएका छन्, जसले सकारात्मक परिणाम दिन थालेका छन् । यात्रीहरूको सामान सुरक्षाका लागि ब्यागेज ट्याग प्रणाली लागू गर्ने काम शुरु गरिएको छ । साथै, सवारी साधनको निगरानी र सुरक्षाका लागि जीपीएस, ड्यासबोर्ड क्यामेरा तथा सीसी क्यामेरा जडान अभियान सञ्चालन गरिएको छ । हालसम्म करिव दुई हजारभन्दा बढी सवारी साधनमा यी उपकरण जडान भइसकेका छन् । यसबाट सवारी साधनको अवस्था, स्थान र गतिविधि मोबाइलमार्फत नै निगरानी गर्न सकिने अवस्था बन्दै गएको छ । त्यसैगरी, यातायात क्षेत्रलाई थप व्यवस्थित र पारदर्शी बनाउन अनलाइन टिकट प्रणाली लागू गर्ने विषयमा पनि हामीले आवश्यक पहल र बहस शुरु गरेका छौँ । हामी अब परम्परागत व्यवस्थापन प्रणालीबाट माथि उठेर प्रविधिमा आधारित यातायात व्यवस्थापनतर्फ जानुपर्छ भन्ने मान्यतामा छौँ । त्यसका लागि एकीकृत ट्राफिक व्यवस्थापन प्रणाली लागू गर्न सरकारलाई निरन्तर सुझाव, छलफल र पहल गर्दै आएका छौँ ।’
एआईजी कार्कीले यातायात क्षेत्रलाई थप व्यवस्थित बनाउन म्यानुअल टिकटिङको सट्टा अनलाइन टिकट प्रणालीमा जानुपर्ने र ट्राफिक व्यवस्थापनलाई प्रविधिमा आधारित बनाउनुपर्ने आवश्यकता औँल्याउनु भयो । हालको परम्परागत ट्राफिक व्यवस्थापन प्रणालीलाई आधुनिक बनाउन ‘इन्टिग्रेटेड ट्राफिक म्यानेजमेन्ट सिस्टम’ लागू गर्न सरकारलाई सुझाव दिइएको र यसका लागि विभिन्न सेमिनार तथा गोष्ठीहरूमार्फत ध्यानाकर्षण गराइएको उहाँले उल्लेख गर्नुभयो ।












