२०८३ बैशाख ४ शुक्रबार
२०८३ बैशाख ४ शुक्रबार

“बालबालिकामा दबाब थप्दै अभिभावक : एसईई नतिजाको उत्सव र मनोवैज्ञानिक असर”

नतिजा केवल अंकको उचाइ होइन, यो उमेर समूहका बालबालिकाको स्वाभाविक वृत्तिविकासको सूचक पनि हो। यदि वृत्तिविकास भएको छैन भने अंकको सफलतालाई सर्वोच्च ठानेर मनाइएको उत्सव अर्थहीन बन्छ। एसईई २०८१ को नतिजा सार्वजनिक भएसँगै सामाजिक सञ्जालका प्लेटफर्महरू– फेसबुक, एक्स, इन्स्टाग्राम, टिकटक– बधाई सन्देशले भरिए। यो क्रम अहिले पनि जारी छ, यद्यपि केही कम भएको छ। छरछिमेक, चिया अड्डा, तरकारी बजार वा मानिसको जमघट हुने ठाउँमा अभिभावकहरू आफ्ना सन्तानको सफलताको कथा सुनाउँदै थाकेका छैनन्। यो दृश्यले खुशी त दिन्छ, तर प्रश्न उठ्छ– के यो क्षणलाई यति धेरै महत्त्व दिएर उत्सव मनाउनु उचित छ? कतै यस्तो उत्सवले बालबालिकाको कोमल मनमा अनावश्यक दबाब त थप्दैन?

छोटो सफलता, लामो जीवन

समाजले एसईई नतिजालाई जीवनको सबैभन्दा ठूलो उपलब्धि जसरी प्रस्तुत गरिरहेको छ। सानो उमेरमा बालबालिकालाई यति धेरै अपेक्षा, गर्व र तालीको घेराले घेर्दा उनीहरूमा “अब म हार्नु हुँदैन” भन्ने भ्रम पैदा हुन्छ। जीवनले एसईईभन्दा कठिन परीक्षा लिन्छ– सामाजिक परिवेश, सम्बन्ध र व्यक्तिगत निर्णयका चुनौतीहरू। यस्ता परीक्षामा अंकको आधारले मात्र काम गर्दैन। एसईईलाई विद्यालय शिक्षाको एक हिस्साको रूपमा लिनुपर्छ, अन्तिम उपलब्धिको रूपमा होइन। आगामी वर्षका परीक्षा र चुनौतीहरू कम महत्त्वपूर्ण हुँदैनन्। यदि बालबालिकाले हरेक नतिजालाई सहज रूपमा स्वीकार गर्न सिकेनन् भने यो उत्सवले उनीहरूको आत्मबल कमजोर बनाउन सक्छ। सानो सफलतालाई अतिरञ्जित गर्दा सामान्य असफलताले समेत “जीवन सकियो” जस्तो अनुभूति गराउन सक्छ, जसले मनोबल कमजोर बनाउँछ।

अंकमा बलियो, व्यवहारमा कमजोर

हामी एसईईको “कागजी सफलता” मा उत्सव मनाइरहँदा व्यावहारिक जीवनमा बालबालिकाहरू कमजोर देखिन्छन्। उत्कृष्ट अंक ल्याउने धेरै विद्यार्थी सामान्य संवाद, किनमेल, वा सामाजिक घुलमिलमा हिचकिचाउँछन्। घरमा कोही बिरामी हुँदा तातोपानी तताउनेजस्ता आधारभूत काममा पनि ध्यान पुग्दैन। व्यक्तिगत हेरचाह वा घरायसी काममा उनीहरूको संलग्नता न्यून हुन्छ। अधिकांश समय बन्द कोठामा बिताउने, परिवार र समाजबाट एक्लिंदै जाने प्रवृत्तिले उनीहरूको भविष्य चुनौतीपूर्ण बन्न सक्छ।

त्यसैले अभिभावकहरूले बुझ्नुपर्छ– नतिजा केवल अंकको उचाइ होइन। यो उमेर समूहका बालबालिकामा सामाजिक, भावनात्मक र व्यावहारिक वृत्तिविकास भएको छ कि छैन? यदि छैन भने, अंकको सफलतालाई सर्वोच्च ठानेर मनाइएको उत्सवले दीर्घकालीन अर्थ राख्दैन।

अंकले दिएको ऐंठन

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले शुक्रबार साँझ सार्वजनिक गरेको नतिजाअनुसार यस वर्ष ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्, जुन अघिल्लो वर्षको तुलनामा १३.९५ प्रतिशतले बढी हो। बोर्डका अनुसार:

  • जीपीए १.६०–२.००: ८ जना

  • जीपीए २.००–२.४०: ४,१२६ जना

  • जीपीए २.४०–२.८०: ४८,४७९ जना

  • जीपीए २.८०–३.२०: ८९,१२४ जना

  • जीपीए ३.२०–३.६०: ८१,३८५ जना

  • जीपीए ३.६०–४.००: ४८,१७७ जना

कुल ४,३८,८९६ परीक्षार्थीमध्ये २,७१,२९९ जना कक्षा ११ मा भर्नाका लागि योग्य भए, भने १,६७,५९७ जना ननग्रेडेड भए। यति ठूलो संख्याका विद्यार्थी र तिनका परिवारमा असफलताको पीडा छ। “फलानाले यति अंक ल्यायो, तँले हाम्रो इज्जत डुबायस्” भन्दै अभिभावकले गर्ने व्यवहारले विद्यार्थीको मनोविज्ञानमा गहिरो चोट पुर्‍याउँछ। यस्तो दबाबले ननग्रेडेड विद्यार्थीलाई हार र निराशातिर धकेल्छ, जसले आत्महत्याजस्ता गम्भीर दुर्घटना निम्त्याउन सक्छ।

नेपाल प्रहरीको तथ्यांकअनुसार, नेपालमा वार्षिक करिब ६,००० मानिसले आत्महत्या गर्छन्, अर्थात् दैनिक १६ जना। यसमा ठूलो हिस्सा युवा र विद्यार्थीको छ। असफलताको डर, प्रतिस्पर्धी शिक्षा प्रणाली, र सामाजिक तुलनाले साना उमेरका बालबालिकामा जीवनप्रतिको मोह कमजोर बनाउँछ। “रोए कमजोर भइन्छ,” “हार्नु लज्जास्पद हो,” “सधैं पहिलो हुनुपर्छ” जस्ता दबाबले उनीहरू मानसिक रूपमा कमजोर बन्छन्, कतिपय आत्महत्याको बाटो रोज्छन्।

स्वीकारोक्तिको शिक्षा

यो समस्याबाट मुक्ति असम्भव छैन। हाम्रो शिक्षालाई अंककेन्द्रितबाट व्यवहारकेन्द्रित बनाउनुपर्छ। सफलताको उत्सव मनाउँदा असफलताको सम्भावनाबारे पनि बालबालिकालाई सचेत गराउनुपर्छ। असफलतालाई स्वीकार्ने क्षमता विकास गर्न अभिभावक र समाजले भूमिका खेल्नुपर्छ।

हामीले बालबालिकालाई सिकाउनुपर्ने मुख्य पाठ हो– “जीवनमा सफलता मात्र होइन, असफलता पनि स्वाभाविक हो।” यो सोचले उनीहरूलाई आत्मघाती निर्णयबाट जोगाउँछ। उनीहरू नतिजाको डरले होइन, सिक्ने चाहनाले अघि बढ्छन्। एसईईको प्रमाणपत्रले शैक्षिक योग्यता देखाउला, तर जीवनका मूल्य, आत्मबल र व्यावहारिकता परिवार, समाज र सोचले सिकाउँछ।

निष्कर्ष

एसईई पास गरेको खुशी मनाऔं, तर यो उत्सवलाई अतिरञ्जित नबनाऔं। बालबालिकालाई जीवनका उतारचढावका लागि तयार गराऔं। अंकले किताबको नम्बर देखाउँछ, तर व्यवहारले जीवनमा स्थान बनाउँछ। यो केवल सुरुवात हो, आगामी यात्राका लागि उनीहरूलाई आत्मविश्वास र लचकता सिकाऔं।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।