२७ जेठ, २०८२| पछिल्ला तीन दशकदेखि पञ्जाबको अमृतसरका व्यवसायी विपन कुमारले पाकिस्तानबाट सिधे नुन आयात गरी भारतमा बिक्री गर्दै आएका थिए। तर, गत अप्रिलमा भारत प्रशासित कश्मीरको पहलगाममा भएको आतंकवादी आक्रमणमा २६ जनाको मृत्यु भएपछि नयाँ दिल्लीले पाकिस्तानबाट आयात हुने सबै किसिमका वस्तुमा पूर्ण प्रतिबन्ध घोषणा गर्यो। यो प्रतिबन्धले सिखहरूको आध्यात्मिक थलो अमृतसरका ५० वर्षीय व्यवसायी विपन कुमारको व्यापार एकाएक ठप्प भएको छ। त्रैमासिक रूपमा उनले २,००० देखि २,५०० टन सिधे नुन पाकिस्तानबाट ढुवानी गरेर बिक्री गर्दै आएका थिए।

“मलाई एकदमै थोरै फाइदा हुन्थ्यो, तर एकमुष्ट बिक्री हुने भएकाले व्यवसाय टिकिरहेको थियो। प्रतिबन्धले सिधे नुनको कारोबार नै ठप्प भएको छ। अब फेरि परिस्थिति कहिले सामान्य हुन्छ, थाहा छैन,” कतारबाट सञ्चालित अन्तर्राष्ट्रिय समाचार संस्था अलजजिरासँग कुरा गर्दै विपनले बताए।
पर्वतीय क्षेत्रमा पाइने सिधे नुन (जसलाई गुलाबी नुन पनि भनिन्छ) मा फलामलगायतका ट्रेस खनिजहरू पाइन्छन्। यसलाई खानामा, सजावटका लागि र स्पा उपचारमा प्रयोग गरिन्छ। हिन्दूहरूले व्रत बस्दा वा काजकिरिया गर्दा दैनिक जीवनमा प्रयोग हुने समुद्री सेतो नुनभन्दा सिधे नुन नै रोज्ने गर्छन्।










