२०८३ साउन २३
नुवाकोट क्षेत्र नम्बर १ को अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पार्टीमा एकलौटी निर्णय हुने आशंका अन्त्य गर्न निष्पक्ष संरचना आवश्यक रहेको बताए।

सभापतिले निर्वाचन समिति, अनुशासन समिति, क्रियाशील सदस्यता टुङ्ग्याउने समिति तथा विधान समितिलगायत संरचनामा सबै पक्षको सन्तुलन कायम गर्ने विगतको अभ्यासले आशंका घटाउने उनको भनाइ छ।
कांग्रेसलाई लोकतान्त्रिक पार्टीका रूपमा अघि बढाउँदै आएको भन्दै पार्टी विभाजन गर्न खोजेको भन्ने प्रचारमा सत्यता नरहेको दाबी गरे। सामाजिक सञ्जाल र सञ्चारमाध्यममा आफूहरूलाई पार्टी विभाजन गर्न खोजेको आरोप लगाउँदै नियोजित प्रचार भइरहेको बताए। उनले अदालतको निर्णयलाई आफूहरूलाई चित्त नबुझे पनि स्वीकार गर्नुपर्ने बताए।
उनले भने, ‘पुनरावलोकनको बाटोमा हामी पनि गयौँ। प्रधानन्यायाधीशकै अध्यक्षताको ३ सदस्यीय बेन्चले पुनरावलोकन निर्णय गरेको छ। असाधारण अवस्थामा मात्रै गर्छ। कानूनी सिद्धान्त र अरू त्रुटिपूर्ण निर्णयलाई त्रुटिपूर्ण निर्णय गरेको अवस्थामा पुनरावलोकन हुन्छ, नत्र हुँदैन।’
निर्वाचन आयोगले सम्बन्धित पक्षलाई लिखित बोलाउनुपर्ने भएपनि उसै एकपक्षको कुरा सुनेर निर्णय गरेको जिकिर गरे।
उनले थपे, ‘प्रधानन्यायाधीशकै अध्यक्षताको इजलासले समस्या देखायो। अदालती प्रक्रियासँगै हामीले २९ गते भेला राखेका छौँ। कांग्रेसकै विचार हामी बोक्ने हो। यसअघि पार्टीभित्रको विवाद समाधानका लागि निर्वाचन कमिटी वा संयन्त्र बनाउने तथा दुईवटा कमिटीको समायोजन गर्नेलगायत विषयमा सहमतिको प्रयास भए पनि त्यसले मूर्त रूप लिन सकेन।’
व्यक्तिगत रूपमा संवाद भए पनि समग्र समस्याको समाधान नभएपछि आफूहरू सामूहिक रूपमा अघि बढ्न बाध्य भएको उनले बताए।
उनले २९, ३० र ३१ गते हुने भेलालाई पार्टीको वैचारिक तथा साङ्गठनिक विषयमा छलफल गर्ने अवसरका रूपमा लिनुपर्ने बताए। पार्टीको विचार, सिद्धान्त, राष्ट्रियता, प्रजातन्त्र र समाजवादमा आएको विचलन, आर्थिक अवस्था, सरकारका काम, सङ्गठन सञ्चालन, विधान तथा विधान संशोधनलगायत विषयमा भेलामा छलफल हुने उनले जानकारी दिए।
पछिल्लो अदालतको प्रक्रियाले तत्काल पार्टी विभाजन हुने सम्भावना टरेको दाबी गरे। अदालतले कांग्रेसको नेतृत्वसम्बन्धी विषयमा अन्तिम निर्णय गर्ने भएकाले अर्को बाटोमा जाने सम्भावना तत्काल रोकिएको उनको भनाइ थियो।

उनले थपे, ‘अब अदालतले कांग्रेसको नेतृत्व को हुने भन्नेबारे अन्तिम निर्णय गर्ने भएको हुनाले अर्को बाटो जाने कुरा अहिले रोकिएको छ। यसले न्याय पाउने बाटो पनि खुला गरेको छ। अदालतको निर्णयबाट १४औँ महाधिवेशनबाट निर्वाचित नेतृत्व पुनर्बहाली भए पनि र विशेष महाधिवेशनबाट आएको नेतृत्व रहे पनि सबैलाई समेटेर आगामी महाधिवेशन गर्ने सम्भावना खुला हुनेछ।’
अदालतको अन्तिम निर्णयअघि नै पार्टीभित्र सहमति कायम गर्ने अवसरसमेत प्राप्त भएको उनले बताए। देशभरका कांग्रेस कार्यकर्तालाई २९ गतेको भेलामा सहभागी हुन आग्रह गरे।
उनले १४औँ महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवा नेपाल फर्किन लागेको भन्दै कार्यकर्तालाई स्वागतका लागि उपस्थित हुन आग्रह गरे। देउवा २६ गते बेलुका ९ः४५ बजे नेपाल आउने तय भए पनि सबैलाई सहज हुने गरी दिउँसो आउने समय मिलाउने प्रयास भइरहेको बताए।









