२०८३ भाद्र २३ मंगलवार
२०८३ भाद्र २३ मंगलवार
 
रुकुम पूर्वको भूमे गाउँपालिका–९ चुनबाङस्थित दोमै खोलाको भत्किएको पुल देखाउँदै १५ वर्षीया सदीक्षा ओलीले पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सम्बोधन गर्दै बनाएको भिडियो सामाजिक सञ्जालमा चर्चित बनेको छ ।
 

‘हेलो ! प्रचण्ड बाजे, कता हुनुहुन्छ ? हाम्रो यहाँ पूर्व रुकुमबाट चुनाव जितेर मात्रै जानुभो, यहाँ पुलको हाल हेर्नुस् यस्तो छ । भाँच्चिएर हामी खोलाबाट तरेर जानुपर्छ । गाईबाछालाई बगाउन सक्छ, हामी मान्छेलाई पनि बगाउन सक्छ । बच्चाहरू यहाँबाट स्कुल आवतजावतसमेत गर्छन् । तिनीहरूलाई पनि बगाउन सक्छ । त्यही भएर यहाँ पुल बनाइदिनुपर्‍यो,’ उनले भिडियोमा भनेकी छन् ।

आइतबार साँझ करिब ८ बजे फेसबुकमा पोस्ट गरिएको भिडियो भाइरल बनेको छ। भिडियोमा प्रतिक्रिया र कमेन्ट गर्नेहरूको संख्या नि निकै धेरै छ ।

सदीक्षाले आफ्नो गाउँनजिकै रहेको दोमै खोलाको पुल दुई महिनाअघि भत्किए पनि अहिलेसम्म मर्मत हुन नसकेको भन्दै समस्या समाधानका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउन भिडियो बनाएकी छन् ।
भूमे गाउँपालिका–९ की १५ वर्षकी उनी गाउँबाट करिब एक घण्टाको दूरीमा रहेको गैरीगाउँस्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत छन् ।

विशेषगरी बर्खाको समयमा खोलामा पानीको बहाव बढ्दा जोखिम थपिने गरेको र यही बाटोबाट विद्यालय जाने बालबालिकासमेत आवतजावत गर्ने भएकाले कुनै अप्रिय घटना हुनुअघि नै पुल निर्माण वा मर्मत गर्नुपर्ने उनको माग छ ।

उनको यो भिडियोले स्थानीय समस्यालाई राष्ट्रिय बहसमा ल्याइदिएको र निर्वाचन जितेपछि आफ्नो क्षेत्रमा कम आउने नेताहरूलाई दबाब दिएको उनका प्रशंसकहरूले बताएका छन् । १५ वर्षीया किशोरीले सामाजिक सञ्जालमार्फत उठाएको पुलको विषयले सम्बन्धित निकायलाई तत्काल ध्यान दिनुपर्ने दबाबसमेत सिर्जना गरेको छ ।

उपभोक्ता अदालत काठमाडौँले कतार एयरवेजको विमानमा यात्राका क्रममा तातो कफी पोखिएर घाइते भएकी एक यात्रुलाई २ करोड ६१ लाख ९२ हजार ४ सय ६ रुपैयाँ क्षतिपूर्ति दिलाउने फैसला गरेको छ ।

ललितपुरकी ५२ वर्षीया प्रिती थापाले दायर गरेको मुद्दामा अदालतका अध्यक्ष डा. दिवाकर भट्ट तथा सदस्यहरू गेहेन्द्र राज रेग्मी र आनन्दराज पोखरेलको इजलासले यो ऐतिहासिक फैसला सुनाएको हो ।

घटना सन् २०२३ जुलाई १० को हो । थापा कतार एयरवेजको उडान नम्बर त्तच् ७४४ मार्फत अमेरिकाको बोस्टनबाट दोहा हुँदै काठमाडौँ आउँदै थिइन् । उडानकै क्रममा विमानका कर्मचारी (क्याबिन क्रु) ले कफी दिने क्रममा असावधानीवश थापाको पेट र तिघ्राको संवेदनशील भागमा अत्यधिक तातो कफी पोखिएको थियो । कफीले पोलेर उनलाई ‘सेकेन्ड डिग्री बर्न’ भएको थियो ।

फिराद पत्रका अनुसार कफीले पोलेपछि उनले प्राथमिक उपचारका लागि औषधि माग्दा विमानमा उपलब्ध नभएको जवाफ दिइयो । उनले करिब ३ देखि ४ घण्टासम्म आकाशमै असह्य पीडामा यात्रा गर्नुपरेको थियो । नेपाल ओर्लिएपछि उनले कीर्तिपुरस्थित जलन अस्पतालमा उपचार गराएकी थिइन् ।
 

अदालतले अन्तर्राष्ट्रिय हवाई परिवहन सम्बन्धी ‘मोन्ट्रियल महासन्धि १९९९’ र नेपालको ‘उपभोक्ता संरक्षण ऐन २०७५’ लाई आधार मानी फैसला गरेको छ ।

मोन्ट्रियल महासन्धिको धारा १७ अनुसार विमानभित्र हुने दुर्घटनामा यात्रुलाई शारीरिक चोट लागेमा विमान कम्पनी (करियर) को ‘निरपेक्ष दायित्व’ रहने व्यवस्था छ ।

कतार एयरवेजले आफ्नो बचाउ गर्दै यात्रु स्वयंको गल्तीले कफी पोखिएको दाबी गरे पनि अदालतले त्यसलाई स्वीकार गरेन । क्याबिन क्रुले तातो कफी दिँदा पर्याप्त सावधानी नअपनाएको र बिर्को सुरक्षित नभएका कारण दुर्घटना भएको अदालतको ठहर छ।

वादी प्रिती थापाले शारीरिक र मानसिक पीडा, उपचार खर्च र आयआर्जनमा भएको क्षतिको दाबी गर्दै २ लाख अमेरिकी डलर क्षतिपूर्ति माग गरेकी थिइन् । अदालतले महासन्धिले तोकेको ‘स्पेसल ड्रइङ राइट्स’ को विनिमय दर र पीडितको अवस्थालाई हेरेर रकम भराउने आदेश दिएको छ ।

कुल क्षतिपूर्ति रकम २ करोड ६१ लाख ९२ हजार ४ सय ६ रुपैयाँ तोकिको छ । फैसला भएको ३० दिनभित्र चित्त नबुझे उच्च अदालतमा पुनरावेदन दिन सकिनेछ ।

उपभोक्ताको स्वास्थ्य र सुरक्षामा खेलबाड गर्ने अन्तर्राष्ट्रिय विमान कम्पनीलाई यति ठुलो रकम क्षतिपूर्ति तिराउने नेपालको यो सम्भवतः पहिलो ठूलो फैसला हो ।

३ भदौ,

हिमाली जिल्ला मनाङमा निर्माण सम्झौता भएको १० वर्ष बित्दा पनि मोटरेबल पुल निर्माण हुन सकेको छैन ।

मनाङ ङिस्याङ गाउँपालिका–३ ङावल र वडा नं ४ हुम्डे जोड्ने मोटरेबल पुल निर्माण सम्झौता भएको १० वर्ष बितिसक्दा पनि पूरा हुन नसक्दा स्थानीयवासीले जोखिम मोलेर यात्रा गर्नुपरेको छ । उक्त पुल मर्स्याङ्दी नदीमा निर्माण हुँदैछ ।

पूर्वाधार कार्यालयका अनुसार पुल निर्माणका लागि ठेकेदार कम्पनीले ७० प्रतिशत रकम भुक्तानी लिइसकेको भए पनि काम निकै सुस्त छ । सो कार्यालय प्रमुख हरि थापाले निर्माण कम्पनीलाई आवश्यक रकम भुक्तानी गरिए पनि अपेक्षाअनुसार निर्माण हुन सकेको छैन ।

उनका अनुसार पटक–पटक म्याद थपिँदै आए पनि पुलको काम सम्पन्न हुन सकेको छैन । ‘भुक्तानी भइसकेको छ, तर पुलको बिम उठाउनेबाहेक अरू काम भएको देखिँदैन,’ उनले भने ।

कार्यालयका अनुसार विसं २०७३ असार मसान्तसम्म काम सम्पन्न गर्ने लक्ष्यसहित करिब रु चार करोडमा निर्माण सम्झौता भएको थियो । मनाङ ङिस्याङ गाउँपालिका–३ र ४ जोड्ने हुम्डेमा रहेको यो पुल मस्र्याङ्दी नदी पार गरी माथिल्लो मनाङ पुग्ने मुख्य सडकमा पर्छ ।

वडा नं ३ का वडाध्यक्ष कृष्णबहादुर लामाले ठेकेदारसँगै कार्यालयले पनि पुल निर्माणमा चासो नदिएको आरोप लगाए । स्थानीयवासीका अनुसार पुल नबन्दा गाउँपालिका कार्यालय पुग्न लामो समय लाग्ने गरेको छ ।

स्थानीय मुखिया लामाले भने, ‘पुल बनेपछि चार–पाँच मिनेटमै गाउँपालिका पुग्न सकिन्छ । अहिले पुल नहुँदा घरबाट गाउँपालिका पुग्न धेरै समय खर्चिनुपरेको छ ।’

काम नगर्ने ठेकेदार कम्पनीसँगको सम्झौता तोडेर नयाँ कम्पनीमार्फत निर्माण अघि बढाउनुपर्ने स्थानीयवासीको माग छ । उनीहरूले पुल निर्माणमा ढिलाइ हुँदा अन्य विकासका कामसमेत प्रभावित भएको बताएका छन् ।

जिल्ला अनुगमनका क्रममा मनाङका सांसद एवं पूर्वमन्त्री टेकबहादुर गुरुङले ठेकेदार कम्पनीलाई तत्काल काम अघि बढाउन निर्देशन दिएका छन् । उनले पुल निर्माण सम्पन्न भएपछि मात्र मूल्याङ्कन गरी भुक्तानी दिन सम्बन्धित पूर्वाधार कार्यालयलाई निर्देशनसमेत दिए ।

मनाङ ङिस्याङ गाउँपालिकाका अध्यक्ष कान्छा घलेले पटक–पटक सम्पर्क गरी काम पूरा गर्न आग्रह गरे पनि ठेकेदार कम्पनीले चासो नदिएको बताए । काम नगरेको कम्पनीलाई पटक–पटक म्याद थपेर काम गर्ने अवसर दिइएको उनको भनाइ छ ।

पूर्वसांसद पाल्देन छोम्पाङ गुरुङले पर्यटकीय क्षेत्र मनाङमा आवश्यक पूर्वाधार समयमै निर्माण नहुँदा स्थानीयवासीसँगै पर्यटकले समेत सास्ती भोग्नुपरेको बताए । उनले समयमै पुललगायत पूर्वाधार निर्माण भए स्थानीयवासी र पर्यटकलाई आवतजावतमा सहज हुने बताए ।

३ भदौ,

तनहुँको ऋषिङ गाउँपालिकामा निर्माणाधीन तनहुँ जलविद्युत् आयोजनाको प्याकेज–१ अन्तर्गत निर्माण भइरहेको १४० मिटर अग्लो मुख्य बाँधको निर्माण कार्यमा ६२ प्रतिशत प्रगति हासिल भएको छ ।

बाँध निर्माणका लागि कुल आठ लाख ५० हजार घनमिटर कङ्क्रिट भर्नुपर्नेमा हालसम्म चार लाख ७३ हजार ७६१ घनमिटर कङ्क्रिट भरिएको आयोजना प्रमुख श्यामजी भण्डारीले जानकारी दिए ।

आयोजनाको प्रमुख संरचनामध्ये रहेको मुख्य बाँध निर्माण निर्धारित लक्ष्यअनुसार अगाडि बढिरहेको उनले बताए । बाँधमा कङ्क्रिट राख्ने कार्य निरन्तर जारी रहेकाले केही समयभित्रै थप प्रगति हुने उनले बताए ।

प्याकेज १ अन्तर्गत बाँधलगायतका संरचनाको काम सोङ्दा कालिका जेभीले गरिरहेको छ । यो प्याकेजमा ५९ प्रतिशत प्रगति भएको छ । मुख्य बाँध निर्माणका लागि डाँडो कटान, पहुँच सडक निर्माण, सेती नदीको धार फर्काउन आवश्यक अस्थायी बाँध, दुईवटा डाइभर्सन सुरुङ लगायतका संरचनाको निर्माण कार्य सम्पन्न भएको छ ।

मुख्य बाँध निर्माणका लागि सेती नदीलाई पथान्तरण गरिएको छ । मुख्य बाँधको माथिल्लो र तल्लो तटीय क्षेत्रमा अस्थायी बाँध निर्माण कार्य सम्पन्न गर्नुका साथै दुवै किनारमा अवस्थित ग्राउटिङ टनेल आठ वटा निर्माण भएका छन् । मुख्य बाँधको कङ्क्रिटिङ कार्य २०८१ साल चैत ७ गतेदेखि सुरु भएको थियो ।

बाँधको फाउन्डेसनको स्थायित्वका लागि विभिन्न ग्राउटिङ ग्यालरीमा कोर ड्रिलिङ, पानीको चाप परीक्षण, ‘कन्सोलिडेसन ग्राउटिङ’ तथा ‘कर्टेन ग्राउटिङ’ कार्य भएका छन् ।

यस्तै, ढलान स्थिरीकरण तथा नदी संरक्षणका लागि सटक्रिट, वायर मेस जडान तथा ग्याबियन निर्माण कार्य पनि निरन्तर अगाडि बढाइएको भण्डारीले बताए ।

 
३ भदौ,

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ ।

समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ८०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो १००, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ४०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो ६५, आलु रातो (लाम्चो) प्रतिकिलो ५१, आलु रातो (गोलो) प्रतिकिलो ५३, आलु रातो (मुढे) प्रतिकिलो ५३, आलु रातो (भारतीय) प्रतिकिलो ४०, आलु सेतो प्रतिकिलो ३७ र प्याज सुकेको (भारतीय) प्रतिकिलो ७५ रहेको छ ।

 

यसैगरी, गाजर (लोकल) प्रतिकिलो १२०, गाजर (तराई) प्रतिकिलो ८०, बन्दा (लोकल) प्रतिकिलो ५०, काउली स्थानीय प्रतिकिलो १००, रातो मूला प्रतिकिलो ३०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो ३५, भन्टा लाम्चो प्रतिकिलो ३० र भन्टा डल्लो प्रतिकिलो ४० कायम भएको छ ।

समितिका अनुसार बोडी तने प्रतिकिलो ९०, मकै बोडी प्रतिकिलो १२०, घिउ सिमी (लोकल) प्रतिकिलो ९०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो ९०, टाटे सिमी प्रतिकिलो ८०, भटमास कोसा प्रतिकिलो १२०, तीते करेला प्रतिकिलो ५०, लौका प्रतिकिलो ६०, परवर (लोकल) प्रतिकिलो ७०, परवर (तराई) प्रतिकिलो ७०, चिचिण्डो प्रतिकिलो ३०, घिरौँला प्रतिकिलो ३०, झिगुनी प्रतिकिलो ६०, फर्सी पाकेको प्रतिकिलो ६०, हरियो फर्सी (डल्लो) प्रतिकिलो ७०, भिन्डी प्रतिकिलो ६०, पिँडालु प्रतिकिलो ९० र स्कुस प्रतिकिलो ६० कायम भएको छ ।

रायोसाग प्रतिकिलो १५०, पालुङ्गो प्रतिकिलो २५०, तोरीको साग प्रतिकिलो १००, प्याज (हरियो) २००, च्याउ (कन्य) प्रतिकिलो २८०, च्याउ (डल्ले) प्रतिकिलो ५५०, राजा च्याउ प्रतिकिलो ३३० र सिताके च्याउ प्रतिकिलो १,००० निर्धारण भएको छ ।

कुरिलो प्रतिकिलो ५००, निउरो प्रतिकिलो १००, ब्रोकाउली प्रतिकिलो १६०, चुकन्दर प्रतिकेजी ७०, सजीवन प्रतिकिलो ३००, रातो बन्दा प्रतिकिलो ४०, जिरीको साग प्रतिकिलो ५००, सेलरी प्रतिकिलो २५०, पार्सले प्रतिकिलो १,५००, सौफको साग प्रतिकिलो १५०, पुदिना प्रतिकिलो ५००, गान्टेमूला प्रतिकिलो १५०, इमली प्रतिकिलो १८०, तामा प्रतिकिलो १६०, तोफु प्रतिकिलो १६०, गुन्द्रुक प्रतिकिलो ३५० रख टमाटर प्रतिकिलो४०० तोकिएको छ ।

स्याउ (फुजी) प्रतिकिलो ३००, केरा (नेपाली) दर्जन ३००, केरा (मालभोग) २००, कागती प्रतिकिलो २५०, अनार प्रतिकिलो ३५०, आँप (मालदह) प्रतिकिलो २८०, आँप (चोसा) प्रतिकिलो २५०, तरबुजा (हरियो) प्रतिकिलो ६०, जुनार प्रतिकिलो ३००, भुइँकटहर प्रतिगोटा २००, काँक्रो (लोकल) प्रतिकिलो ५०, काँक्रो (हाइब्रिड) प्रतिकिलो १५ काँक्रो (लोकलक्रस) प्रतिकिलो ५० रुपैयाँ रहेको छ ।

रुख कटहर प्रतिकिलो ६०, नास्पाती (लोकल) प्रतिकिलो ९०, नास्पाती (चाइनिज) प्रतिकिलो २००, मेवा (नेपाली) प्रतिकिलो ९०, मेवा (भारतीय) प्रतिकिलो १२०, लप्सी प्रतिकिलो ६०, किबी प्रतिकिलो ४००, अमला प्रतिकिलो २००, एभोकाडो प्रतिकिलो ५००, नरिवल (काँचो) प्रतिकिलो ८० र नरिवल (हरियो) प्रतिकिलो १७० तोकिएको छ ।

ड्रागन फ्रुट (नेपाली) प्रतिकिलो ५००, अदुवा प्रतिकिलो २३०, खुर्सानी सुकेको प्रतिकिलो ५५०, खुर्सानी हरियो (लाम्चो) प्रतिकिलो ८०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो ८०, खुर्सानी हरियो (माछे) प्रतिकिलो ७०, खुर्सानी हरियो (अकबरे) प्रतिकिलो ३००, भेडे खुर्सानी प्रतिकिलो ७०, लसुन हरियो प्रतिकिलो २००, हरियो धनियाँ प्रतिकिलो ३५०, लसुन सुकेको (चाइनिज) प्रतिकिलो २४० रुपैयाँ रहेको छ ।

लसुन सुकेको (नेपाली) प्रतिकिलो २००, छ्यापी सुकेको प्रतिकिलो २००, छ्यापी हरियो प्रतिकिलो २००, माछा सुकेको प्रतिकिलो १,०००, ताजा माछा (रहु) प्रतिकिलो ३७०, ताजा माछा (बचुवा) प्रतिकिलो ३३० र ताजा माछा (छडी) प्रतिकिलो ३३० निर्धारण भएको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।