
२७ साउन, काठमाडौं । थाइल्यान्डदेखि १८ किलो गाँजा बोकेर आएका दुई भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा ३६ वर्षीय सञ्जीव कुमार र २६ वर्षीय रवि कुमार छन् । उनीहरूलाई नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोको टोलीले पक्राउ गरेको हो ।क्याथे प्यासिफिकको उडानमार्फत बैंककबाट हङकङ हुँदै उनीहरू काठमाडौं आएका थिए । पक्राउबाट बच्न उनीहरू त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको भन्सार एरियामा लगेज छाड्ने र केही दिनपछि नेपाली एजेन्टमार्फत रिसिभ गर्ने योजना बनाएको पाइएको ब्युरोका एसपी तथा प्रवक्ता दुर्गाराज रेग्मीले बताए ।
राष्ट्रिय सभामा नेकपा (एमाले) की सांसद सम्झना देवकोटाले नागरिकको स्वास्थ्योपचार र सामाजिक सुरक्षाको दायित्व पूरा गर्न सरकार असफल भएको आरोप लगाउनुभएको छ । राष्ट्रिय सभाको बुधवारको बैठकमा विशेष समय लिएर बोल्दै सांसद देवकोटाले काभ्रेको मण्डनदेउपुरका एक वृद्ध दम्पतीले गरेको आत्महत्याको घटनालाई लिएर सरकारको आलोचना गर्नुभयो । मण्डनदेउपुर नगरपालिका–७ का ६८ वर्षीय केदारनाथ पराजुलीले बोनम्यारो क्यान्सरबाट पीडित आफ्नी ६७ वर्षीया पत्नी तिलकुमारी पराजुलीलाई बुईमा बोकेर सुनकोशी नदीमा हाम फालेको घटनाले मुलुकलाई स्तब्ध बनाएको उहाँले बताउनु भयो । उहाँले नेपालको संविधानको धारा ३५ ले प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क पाउने हक सुनिश्चित गरे पनि व्यवहारमा सरकारले स्वास्थ्य सेवा र उपकरणमा कर लगाएर उपचारलाई महँगो बनाएको बताउनु भयो । जटिल र नसर्ने रोगको उपचार सर्वसाधारणको पहुँच बाहिर पुग्नु र जेष्ठ नागरिकहरूले सहाराविहीन महसुस गर्नु राज्यका लागि लज्जास्पद विषय भएको उहाँको तर्क छ । उहाँले भन्नुभयो, ‘यो सामान्य आत्महत्या मात्र होइन, आर्थिक अभावका कारण उपचार गर्न नसकेर लिइएको जल समाधि हो । विपन्न नागरिकले उपचार नपाएर ज्यान फाल्नुपर्ने अवस्थाले राज्यको सामाजिक सुरक्षा र स्वास्थ्य नीतिमाथि गम्भीर प्रश्न खडा गरेको छ । पीडित परिवार राहत र सहमतिको कार्यान्वयनका लागि सिंहदरबारको गेटमा भौँतारिरहेका छन् तर सरकारले एक रुपैयाँ पनि सहयोग गरेको छैन ।’ सांसद देवकोटाले सरकारले पीडित पक्षसँग गरेका सम्झौताहरू कार्यान्वयन नगरेको भन्दै गृहमन्त्रीको ध्यानाकर्षण समेत गराउनु भयो । गत असार २५ गते आत्मदाह गरेका मुगुका गणेश नेपालीको परिवारसँग सरकारले गरेको ९ बुँदे सहमति अझै कार्यान्वयन नभएको उहाँले उल्लेख गर्नुभयो । बजारमा देखिएको खाना पकाउने ग्यासको अभावप्रति पनि सांसद देवकोटाले सरकारको ध्यानाकर्षण गराउनु भयो ।
राष्ट्रिय सभामा नेपाली काँग्रेसका मुख्य सचेतक पदमबहादुर परियारले वर्तमान सरकारले दलित समुदायको अधिकार प्रवर्धनका सवालमा ६० लाख दलित जनसङ्ख्यालाई झुक्याउने र ‘इमोसनल ब्ल्याकमेल’ गर्ने रणनीति लिएको आरोप लगाउनुभएको छ । बुधवार बसेको राष्ट्रिय सभाको बैठकमा विशेष समय लिँदै मुख्य सचेतक परियारले सरकारले दलित समुदायका व्यक्तिलाई मन्त्रिमण्डलमा सहभागी गराएर समावेशिताको प्रशंसा बटुले पनि व्यवहारमा भने दलित अधिकार सम्बन्धी कानून निर्माणलाई उपेक्षा गरेको बताउनु भयो । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले अगाडि बढाउन प्रस्ताव गरेका सातवटा कानूनमध्ये दलित समुदायको अधिकार सम्बन्धी विधेयकलाई सबैभन्दा अन्तिम अर्थात सातौँ प्राथमिकतामा राखिएको प्रति उहाँले कडा आपत्ति जनाउनु भयो । गत फागुन २१ गतेको राजनीतिक घटनाक्रम र त्यसपछिको निर्वाचनका क्रममा राजनीतिक दलहरूले दलित समुदायसँग क्षमायाचना गर्दै मत मागेको स्मरण गराउँदै उहाँले सरकारमा पुगेपछि ती प्रतिवद्धताहरू बिर्सिएको बताउनु भयो । परियारकाअनुसार न सरकारले संसद्मार्फत दलित समुदायसँग आधिकारिक रूपमा क्षमायाचना ग¥यो, न त दलित अधिकार सम्बन्धी ऐनलाई ‘फास्ट ट्रयाक’बाट अगाडि बढाउने तत्परता नै देखायो ।
सांसद परियारले भन्नुभयो,‘नेपाल सरकार गठन हुँदा दलित समुदायलाई पनि उचित स्पेस दिइयो, दलित समुदायबाट मन्त्री बनाइयो र बादी समुदायका व्यक्तिलाई समेत सरकारमा सहभागी गराइयो । त्यसबेला हामीले यसको प्रशंसा ग¥यौं । तर आज दलित समुदायकै मन्त्री मन्त्रिपरिषद्मा हुँदाहुँदै पनि दलित अधिकारसम्बन्धी विधेयकलाई सबैभन्दा पछिल्लो प्राथमिकतामा राखिएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले प्रश्ताव गरेका सातवटा कानुनमध्ये दलित अधिकारसम्बन्धी विधेयकलाई सातौँ नम्बरमा राखिएको छ । यही गतिमा अघि बढे यो कानुन बन्न अझै दुई वर्ष लाग्न सक्छ । गत फागुन २१ गतेको निर्वाचनमा दलित समुदायसँग क्षमायाचना गर्ने प्रतिबद्धताका आधारमा दलितहरूले मतदान गरे। तर अहिलेसम्म न संसद्बाट क्षमायाचना भयो, न सुधारका कार्यक्रम आए, न दलित अधिकारसम्बन्धी ऐनलाई फास्ट ट्रयाकमा अघि बढाइयो, न विशेष बजेटको व्यवस्था गरियो । त्यसैले म स्पष्ट रूपमा भन्न चाहन्छु, यो सरकार पनि देशका ६० लाखभन्दा बढी दलित समुदायलाई झुक्याउने र भावनात्मक रूपमा प्रयोग गर्ने बाटोमा अघि बढिरहेको छ । यसका लागि सम्पूर्ण दलित तथा उत्पीडित समुदायले निरन्तर खबरदारी गर्न आवश्यक छ । खबरदारी नगर्ने हो भने दलित अधिकारसम्बन्धी कानुन निर्माणमा अझै ढिलाइ हुने निश्चित छ ।’
वार्षिक बजेट तथा कार्यक्रमहरूमा पनि दलित समुदायका लागि कुनै विशेष प्याकेज वा सुधारका कार्यक्रम नल्याइएको उहाँको गुनासो छ । मुख्य सचेतक परियारले सदनमार्फत दलित तथा उत्पीडित समुदायलाई सरकारको कामकारबाहीप्रति निरन्तर खबरदारी गर्न आह्वान गर्नुभयो ।
राष्ट्रिय सभामा नेपाली कम्युनिष्ट पार्टीका सांसद सुरेशकुमार आलेमगरले प्रधानमन्त्री बालेन्द्र साह लक्षित गर्दै तिब्र गतिमा गुड्ने ‘एक्सप्रेस’ सवारी साधन र त्यसको चालकको कार्यशैलीलाई लिएर सांकेतिक टिप्पणी गर्नुभएको छ ।
बुधबार बसेको राष्ट्रिय सभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद आलेमगरले सवारीको गति र चालकको सन्तुलन नमिल्दा गम्भीर दुर्घटना निम्तिन सक्ने चेतावनी दिनुभयो । सांसद आलेमगरले ट्राफिक नियमको बिस्तारै गए अवश्य पुगिन्छ, छिटो गए भन्न सकिन्न भन्ने नारालाई उद्धृत गर्दै द्रुत गतिमा चल्ने सवारीका जोखिमबारे चर्चा गर्नुभयो । उहाँले चालक दक्ष र सचेत भए मात्र गन्तव्य सुरक्षित हुने बताउँदै यदि चालकले मादक पदार्थ वा लागुपदार्थ (गाँजा, भाङ, धतुरो) सेवन गरेर सवारी चलाएमा दुर्घटना निश्चित रहेको उल्लेख गर्नुभयो । प्रधानमन्त्री साहले चितवनमा पार्टीको पहिलो महाधिवेशनका क्रममा वर्तमान सरकार ‘एक्सप्रेस’ वेमा रहेको बताउनुभएको थियो ।
उहाँले भन्नुभयो,‘लोकल गाडीको तुलनामा एक्सप्रेस गाडीले छिटो गन्तव्यमा पु¥याउँछ, त्यो सकारात्मक पक्ष हो। तर एक्सप्रेस गतिको गाडी चलाउने चालक कस्तो छ भन्ने कुराले ठूलो अर्थ राख्छ । त्यस्तो अवस्थामा दुर्घटना अवश्यम्भावी छ र त्यसले पु¥याउने क्षतिको कुनै पूर्वानुमान गर्न सकिँदैन ।’
सांसद आलेमगरले एक्सप्रेस र लोकल गाडीको छनोट गर्दा चालकको अवस्था र नियमको पालनालाई मुख्य आधार बनाउनुपर्नेमा जोड दिनुभयो ।
२७ साउन। सिरहाको गोलबजार क्षेत्रमा गत साउन १४ गते भएको प्रदर्शनका क्रममा भएको तोडफोड तथा आगजनीबाट ७४ करोड १३ लाख ९० हजार रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख, एसपी वासुदेव पाठकका अनुसार पीडितबाट प्राप्त निवेदनका आधारमा गरिएको स्थलगत मुचुल्काको विश्लेषण गर्दा उक्त क्षतिको विवरण सार्वजनिक गरिएको हो । प्रदर्शनका क्रममा गोलबजार क्षेत्रमा १५ वटा निजी घर, १८ वटा पसल तथा व्यवसाय, २८ वटा सवारीसाधन तथा धार्मिक र शैक्षिक स्थल गरी ६४ वटा संरचनामा तोडफोड तथा आगजनी भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार निजी घर तथा व्यापारिक संरचनातर्फ सबैभन्दा बढी ३४ करोड ५ लाख ५९ हजार रुपैयाँ, पसल तथा व्यवसायमा ३३ करोड १७ लाख १२ हजार रुपैयाँ, सवारीसाधनमा एक करोड दुई लाख रुपैयाँ तथा धार्मिक तथा शैक्षिक स्थलमा भएको तोडफोड र आगजनीबाट ५ करोड ८१ लाख ९० हजार रुपैयाँ बराबरको क्षति भएको छ ।आन्दोलनका कारण करिब एक सातादेखि बन्द रहेका गोलबजारका पसलहरू भने मंगलबार बिहान १० बजेदेखि सञ्चालनमा आएका छन् ।
यसअघि सोमबार सांसद पुरुषोत्तम यादवले गोलबजार नगरपालिका–११ बल्कावामा मुस्लिम समुदायका व्यवसायीसँग छलफल गर्दै सामाजिक सद्भाव कायम राख्दै व्यवसाय सञ्चालन गर्न आग्रह गरेका थिए । छलफलका क्रममा उनले आन्दोलनका क्रममा पसल, मल तथा निजी घरमा भएको क्षतिका विषयमा संसद् र सरकारसमक्ष आवाज उठाउने तथा पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउन सरकारलाई गम्भीर बन्न दबाब दिने प्रतिबद्धता जनाएका छन्। गत साउन १४ गते भएको प्रदर्शनका क्रममा सुरक्षाकर्मीको गोली लागेर सिरहाको औरही गाउँपालिका–२ तुलसियाहीका १५ वर्षीय गणेश यादवको मृत्यु भएको थियो। गणेशको मृत्यु भएपछि प्रदर्शन चर्किंदा गोलबजार क्षेत्रमा विभिन्न पसल, व्यवसायिक तथा निजी संरचनामा तोडफोड र आगजनी भएको थियो। घटनापछि प्रभावित क्षेत्रमा सामाजिक सद्भाव कायम गर्न तथा जनजीवन सामान्य बनाउन स्थानीय तह, प्रशासन, राजनीतिक दल र विभिन्न समुदायका प्रतिनिधिबीच पहल भइरहेको छ ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले कोलम्बियामा सोमवार गएको ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी भएको ठूलो मानवीय क्षतिप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ । मंगलबार महासचिवका उपप्रवक्ता फरहान हकद्वारा जारी विज्ञप्तिअनुसार महासचिव गुटेरेसले भूकम्पमा परी १६० भन्दा बढी व्यक्तिको मृत्यु भएको र ठूलो संख्यामा मानिसहरू घाइते भएको खबरले आफू मर्माहत भएको बताउनुभएको हो । महासचिवले कोलम्बिया सरकार र त्यहाँका जनताप्रति ऐक्यवद्धता प्रकट गर्दै मृतकका परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्नुभएको छ । साथै, उहाँले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना समेत गर्नुभएको छ । भूकम्पका कारण ठूलो संख्यामा घरहरू भत्किएको र भौतिक संरचनामा क्षति पुगेको विवरणहरू सार्वजनिक भइरहेका छन् । हाल स्थानीय अधिकारीहरूले भूकम्पबाट भएको क्षतिको पूर्ण मूल्याङ्कन गरिरहेका छन् । यसैबीच, संयुक्त राष्ट्रसंघले कोलम्बियाली अधिकारीहरूसँग निरन्तर समन्वय गरिरहेको र राहत तथा उद्धार कार्यमा सरकारको आवश्यकता अनुसार सहयोग गर्न राष्ट्रसंघ तयार रहेको समेत विज्ञप्तिमा उल्लेख गरिएको छ ।
कोलम्बियाको पश्चिमी क्षेत्रमा सोमबार गएको ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या १८८ पुगेको छ । कोलम्बियन एसोसिएसन अफ क्यापिटल सिटीजले मङ्गलवार सार्वजनिक गरेको पछिल्लो प्रतिवेदन अनुसार यस विपदमा परी अन्य १ हजार ६ सय ७७ जना घाइते भएका छन् । प्राप्त विवरणअनुसार क्याली शहरमा ९५ जनाको मृत्यु भएको छ भने ९ सय ९७ जना घाइते भएका छन् । त्यसैगरी परेरा शहरमा ७९ जनाको ज्यान गएको र २ सय ७८ जना घाइते भएको तथ्याङ्क छ । एसोक्यापिटल्सकाअनुसार प्रभावित क्षेत्रहरूमा उद्धार तथा क्षतिको मूल्याङ्कन गर्ने कार्य निरन्तर भइरहेको छ । संस्थाले बेपत्ता भएका व्यक्तिहरूको खोजी र उनीहरूको सूचना सङ्कलनका लागि एक विशेष रिपोर्टिङ प्रणाली समेत शुरु गरेको छ ।





