
२२ साउन २०८३
नेकपा एमालेकी सांसद यशुदा बरालले सरकारको कार्यशैलीप्रति आक्रोश व्यक्त गर्दै प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुधन गुरुङको राजीनामा मागेकी छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा आकस्मिक समयमा बोल्दै बरालले शान्ति सुरक्षा कायम गर्न र जनताका समस्या सम्बोधन गर्न सरकार पूर्णतः असफल भएको दाबी गरिन् ।
सुनसरीमा भएको साम्प्रदायिक तनावको विषय उठाउँदै उनले हिमाल, पहाड, तराई, कोही छैन पराई भन्ने नाराका साथ सबै नेपाली एक भएर बस्नुपर्नेमा जोड दिइन् । यसै सन्दर्भमा उनले सरकारको नैतिकतामाथि प्रश्न उठाएकी हुन् ।
२२ साउन २०८३
नेपाली कांग्रेसको संस्थापन इतर समूहले बोलाएको भेलालाई कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सम्बोधन गर्ने भएका छन् । कांग्रेस इतर समूहले शुक्रबार काठमाडौँमा गरेको पत्रकार सम्मेलनमा भेला आयोजक समितिका संयोजक डा.शशाङ्क कोइरालाले साउन २९ गतेबाट काठमाडौँमा सुरु हुने राष्ट्रिय भेलालाई तत्कालीन सभापति देउवाले सम्बोधन गर्ने जानकारी दिएका हुन् ।
पत्रकार सम्मेलनमा नेता कोइरालाले राष्ट्रसामु रहेका चुनौतीको सामना गर्न कांग्रेसका सबै नेता कार्यकर्ताहरूलाई एकताबद्ध गराउनु भेलको मुख्य उद्देश्य रहेको समेत दाबी गरे । ‘राष्ट्रियता, लोकतन्त्र र समाजवादका मूलभूत सिद्धान्तमा आधारित भई पार्टीलाई नयाँ दिशासहित नयाँ जीवन दिने दृढ सङ्कल्प गर्दछु’, कोइरालाको भनाइ छ ।





