
सुनसरीमा विकसित पछिल्लो घटनाक्रमका सम्बन्धमा आयोजित सर्वदलीय बैठकमा नेपाली काँग्रेसले सरकारको भुमिकाप्रति असन्तुष्टि व्यक्त गरेको छ ।
बुधवार सम्पन्न बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेपाली काँग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले संवेदनशील विषयमा सरकार गैरजिम्मेवार देखिएको आरोप लगाउनुभएको हो । नेता आङदेम्बेले सुनसरीको घटनालाई लिएर सरकारले देखाएको उदासीनता र बैठकमा प्रधानमन्त्री तथा गृहमन्त्रीको अनुपस्थितिलाई लिएर प्रश्न उठाउनु भयो । नेता आङदेम्बेले राष्ट्रपति र प्रधानमन्त्रीबीच हुनुपर्ने आवश्यक संवाद र समन्वयको अभावले पनि राज्य सञ्चालनमा गम्भीर त्रुटी देखिएको टिप्पणी गर्नुभयो । उहाँले राष्ट्रिय महत्वका यस्ता विषयमा सम्बन्धित निकायहरूसँग समन्वय गरी समाधान खोज्नुको सट्टा सरकार हिचकिचाइरहेको दाबी गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘यस्तो गम्भीर र संवेदनशील विषयमा डाकिएको सर्वदलीय बैठकमा प्रधानमन्त्री र गृहमन्त्रीको अनुपस्थितिले सरकार कति गैरजिम्मेवार छ भन्ने प्रस्ट हुन्छ । सरकार केवल सामाजिक सञ्जालको ‘स्टाटस’ मा मात्र सिमित देखियो, तर कार्यथलोमा उसको उपस्थिति शुन्य छ । हामीले अब ढिलो नगरी तराई–मधेसमा क्रियाशील सामाजिक समूह, धार्मिक गुरु तथा सरोकारवाला पक्षहरूसँग प्रत्यक्ष छलफल अगाडि बढाउनेछौँ । सामाजिक सद्भाव बिग्रन नदिन र उत्पन्न समस्याको दीर्घकालीन समाधानका लागि राजनीतिक वृत्तभन्दा बाहिरका सरोकारवालासँग पनि सहकार्य गरिनेछ ।’
बैठकमा सहभागी राजनीतिक दलहरूले सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न तत्कालै संयुक्त पहल गर्ने निर्णय गरेका छन् । राज्यको प्रतीक्षा नगरी दलहरू आफैँ फिल्डमा गएर शान्ति स्थापनाका लागि आह्वान गर्ने सहमति भएको आङदेम्बेले जानकारी दिनुभयो ।
नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले मुलुकमा शान्ति सुरक्षाको अवस्था सुदृढ तुल्याउन र सुरक्षा निकायको क्षमता अभिवृद्धि गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
बुधवार सिंहदरबारमा बसेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले सरकारको ध्यानाकर्षण गराउनुभएको हो । सुनसरीमा दुई धार्मिक समूहबिच विवाद भएसँगै प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको थियो । महासचिव पोखरेलले पछिल्लो परिस्थितिलाई दृष्टिगत गरी आयोजना गरिएको सर्वदलीय बैठकलाई सकारात्मक रूपमा लिँदै यसको नेतृत्व स्वयं प्रधानमन्त्रीले लिनुपर्नेमा जोड दिनुभयो । सरकार र प्रधानमन्त्रीका तर्फबाट हुनुपर्ने पहलकदमीमा कमी देखिएको टिप्पणी गर्दै उहाँले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको अग्रसरतामा भएको छलफलमार्फत शान्ति, सद्भाव र सहिष्णुताका लागि संयुक्त विज्ञप्ति जारी गरिएको जानकारी दिनुभयो । सुरक्षा निकायको कार्यसम्पादनमाथि चर्चा गर्दै महासचिव पोखरेलले दङ्गा र भीड नियन्त्रणका सन्दर्भमा सुरक्षा संयन्त्रहरू किन प्रभावकारी हुन सकिरहेका छैनन् भन्ने विषयमा गहिरो समीक्षा आवश्यक रहेको बताउनु भयो ।
उहाँले कुनैपनि प्रकारको भ्रममा नपरी सामाजिक र साम्प्रदायिक सद्भाव कायम गर्न सबै राजनीतिक दल, सामाजिक संघसंस्था तथा धार्मिक व्यक्तित्वहरूलाई अपिल समेत गर्नुभयो । विशेषगरी सुनसरीलगायतका प्रभावित क्षेत्रका जनसमुदायलाई सरकारले अभिभावकत्वको प्रत्यक्ष अनुभूति दिलाउनुपर्ने उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘सुरक्षा निकायको मनोबल गिरेका कारण वा साधन–स्रोतको अभावमा यस्ता घटना भएका हुन्, त्यसको सूक्ष्म अध्ययन हुनुपर्छ । भविष्यमा मानवीय क्षति नहुने गरी भीड व्यवस्थापन गर्न सुरक्षा निकायको सामथ्र्य र क्षमता विकास गर्नु आजको अनिवार्य आवश्यकता हो ।’
नागरिकको सुरक्षालाई साझा जिम्मेवारीको रूपमा अथ्र्याउँदै महासचिव पोखरेलले मुलुकमा शान्ति र सद्भाव कायम गर्न सबै पक्षबाट सकारात्मक योगदानको अपेक्षा गर्नुभयो । न्यायको पर्खाइमा रहेका नागरिकका पक्षमा राजनीतिक दलहरू दृढतापूर्वक उभिएको उल्लेख गर्दै उहाँले कसैले पनि असुरक्षित महशुस गर्न नहुने वातावरण निर्माणमा जोड दिनुभयो ।
नेपाली काँग्रेसका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रिय कार्यालय सानेपामा राखिएको छ ।
श्रेष्ठको पार्थिव शरीरमा काँग्रेस सभापति गगनकुमार थापाले पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गर्नुभएको छ भने विभिन्न राजनितिक दलका नेता तथा काँग्रेस कार्यकर्ताहरुले पनि श्रद्धाञ्जली दिएका छन् । श्रेष्ठलाई राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल, एमालेका नेता प्रदीप ज्ञवाली लगायतका नेताले समेत श्रेष्ठलाई काँग्रेस पार्टी कार्यालय पुगेर अन्तिम श्रद्धाञ्जली अर्पण गर्नुभयो । ८३ वर्षको उमेरमा मंगलवार उपचारका क्रममा जावलाखेलस्थित हेलिअस अस्पतालमा निधन भएपछि श्रेष्ठको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि बुधवार पार्टी केन्द्रिय कार्यालय सानेपामा राखिएको हो । बुधवार नै उहाँको पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने नेपाली काँग्रेसले जनाएको छ । नेपाली काँग्रेसका महामन्त्री गुरुराज घिमिरेले दिवंगत श्रेष्ठले नेपालको प्रजातान्त्रिक आन्दोलनका विशेष स्तम्भ भएको बताउनु भयो । श्रेष्ठले लोकतान्त्रिक आन्दोलनमा पु¥याएको योगदान इतिहासमा सदैव स्मरणीय रहने उहाँको भनाई छ । श्रेष्ठले सानै उमेरदेखि नेपाली काँग्रेसको नेतृत्वमा भएका सबै लोकतान्त्रिक आन्दोलनमा सक्रिय भुमिका निर्वाह गरेको महामन्त्री घिमिरेले उल्लेख गर्नुभयो । उहाँकाअनुसार २०१७ सालपछि उत्पन्न प्रतिकूल राजनीतिक परिस्थितिमा पार्टीले सञ्चालन गरेका हरेक संघर्षमा श्रेष्ठ निरन्तर सहभागी भई जेल, यातना र दमन सहेर पनि लोकतन्त्रको पक्षमा अडिग रहुनभएको थियो । १२ बुँदे समझदारीमा तत्कालीन सात दल र माओवादीबीच भएको ऐतिहासिक सहमतिका हस्ताक्षरकर्तामध्ये श्रेष्ठ पनि एक भएको महामन्त्री घिमिरेले बताउनु भयो । उहाँकाअनुसार श्रेष्ठले सरकारमा उपप्रधानमन्त्री, पार्टीमा उपसभापति तथा तत्कालीन नेपाली काँग्रेस (प्रजातान्त्रिक) का कार्यवाहक सभापतिको जिम्मेवारी सम्हाल्नुभएको थियो । श्रेष्ठ नयाँ पुस्ताका लागि प्रेरणाको स्रोत रहेको उल्लेख गर्दै महामन्त्री घिमिरेले पछिल्लो विशेष महाधिवेशनमा उहाँको उपस्थितिले पार्टीलाई ऊर्जा र मार्गदर्शन दिएको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘हाम्रो पार्टीको वरिष्ठ नेता गोपाल दाइ नेपालको प्रजातान्त्रिक आन्दोलनको एउटा यस्तो स्तम्भ हुनुहुन्थ्यो, जसले प्रजातन्त्र पुनस्थापनाको आन्दोलनमा लामो समय योगदान गर्नुभयो । सानो उमेरदेखि नै उहाँले नेपाली काँग्रेसको नेतृत्वमा भएका सबै आन्दोलनहरुमा सहभागिता जनाउनु भयो । १७ साल पछिको प्रतिकुल राजनीतिक परिस्थितिमा पार्टीद्वारा संचालित सबै संघर्षहरुमा उहाँले यथोचित सहयोग पु¥याउनुभयो । प्रतिकुल समयमा सहयोग गर्न सामान्य व्यक्तिको लागि निकै गाह्रो हुन्थ्यो, त्यसैले उहाँ असामान्य व्यक्ति भन्नु पर्छ । प्रतिकुल समयमा पनि पार्टीलाई योगदान पु¥याएर संघर्षमा सामेल भएर जेल नेल यातना सबै झेलेर नेपाली काँग्रेसको वृक्षलाई जोगाउन, फलाउन, फूलाउन र अन्ततः ३० वर्षको लामो संघर्ष पछि प्रजातन्त्रको पुनस्थापना गराउन उहाँको ठुलो भूमिका छ । उहाँले सरकारमा गएर पनि काम गर्नुभयो, उपप्रधानमन्त्रीसम्म हुनुभयो, पार्टीमा उहाँ उपसभापतिसम्म हुनुभयो । तत्कालिन नेपाली कांग्रेस प्रजातान्त्रिकको कार्यबाहक सभापति बन्नुभयो । १२ बुँदे समझदारीको हस्ताक्षर कर्तामध्ये तत्कालिन ७ दल र माओवादीका बीचको भएको समझदारीको हस्ताक्षर कर्ता मध्येको एक हो, उहाँ । उहाँले नेपालको प्रजातान्त्रिक आन्दोलनलाई पु¥याउनु भएको योगदान हाम्रा लागि चिरस्मरणिय रहनेछ । नयाँ पुस्ताका निम्ति उहाँ प्रेरणा श्रोत हुनुहुन्थ्यो । पछिल्लो पटक विशेष महाधिवेशनमा उपस्थित भएर उहाँले हामीलाई संरक्षकत्व र ऊर्जा प्रदान गर्नु भएको थियो । त्यसले हामीलाई अगाडी बढ्न प्रेरणा दियो, र आज हामी यहाँ छौ । त्यसैले उहाँ हाम्रो धेरै नेताहरु मध्येको एक महत्वपूर्ण नेता हुनुहुन्थ्यो ।’
वि.सं. २००१ मा जन्मिनुभएका श्रेष्ठले विद्यार्थी जीवनदेखि नै प्रजातन्त्र र लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो । श्रेष्ठले २०३६ सालको जनमतसंग्रह, २०४२ सालको सत्याग्रह, २०४६ सालको जनआन्दोलन तथा २०६२–०६३ को जनआन्दोलनमा अग्रपंक्तिमा रहेर सहभागिता जनाएको कांग्रेसले जनाएको छ । श्रेष्ठ २०४८, २०५६, २०६४ सालमा स्याङ्जाबाट प्रतिनिधि सभामा निर्वाचित हुनुभएको थियो भने २०७० सालमा समानुपातिक सांसद बन्नुभएको थियो । २०५१ सालको निर्वाचनमा भने उहाँ पराजित हुनुभयो । पटक पटक मन्त्री बन्नुभएका उहाँ लोकतान्त्रिक आन्दोलनका क्रममा पटकपटक जेल समेत पर्नुभएको थियो । लामो समय नेपाली काँग्रेसका पूर्वसभापति शेरबहादुर देउवा निकट रहुनभएका श्रेष्ठ काँग्रेसको विशेष महाविधेशनमा सहभागी भएर गगन थापा निकट हुनुभएको थियो । उहाँले काँग्रेस विभाजनपछि लामो समय नेपाली काँग्रेस (प्रजातान्त्रिक) को कार्यवाहक सभापतिको जिम्मेवारी समेत समाल्नुभएको थियो ।
तीन दिन पार्टीको झण्डा आधा झुकाईने
नेपाली काँग्रेसको श्रेष्ठको निधनको शोकमा तीन दिन पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ ।
बुधवार बसेको आकस्मिक केन्द्रिय समितिको बैठकले साउन १३, १४ र १५ गते पार्टीको केन्द्रिय, प्रदेश र जिल्ला समितिका कार्यलयहरुमा झण्डा आधा झुकाउने निर्णय गरेको हो । यस्तै साउन १४ गते विहीवार केन्द्र, प्रदेश र जिल्लाका पार्टी कार्यलयहरु बन्द गर्ने र १३ औँ दिनको पुण्य तिथिमा श्रेष्ठको गृहजिल्ला स्याङ्जामा शोक सभा आयोजना गर्ने निर्णय गरेको छ ।
नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सुनसरीमा पछिल्लो समय विकसित परिस्थितिलाई लिएर चिन्ता व्यक्त गर्नुभएको छ ।
बुधवार सिंहदरबारमा जारी सर्वदलीय बैठकमा आफ्नो धारणा राख्दै उहाँले यस्तो संवेदनशील घडीमा सबै पक्षलाई संयमता अपनाउन र सामाजिक सद्भाव एवं आपसी विश्वास कायम राख्न आह्वान गर्नुभएको हो । अध्यक्ष दाहालले विगतमा भूकम्प, बाढी–पहिरोजस्ता विपद् र संविधान निर्माणका जटिल चरणहरूमा राजनीतिक दलहरूले देखाएको साझा सहमति र राष्ट्रिय एकताको स्मरण गर्नुभयो । वर्तमान समयमा पनि सोही स्तरको राजनीतिक परिपक्वता, संवाद र जिम्मेवारीवोध आवश्यक रहेको उहाँको भनाइ छ । उहाँले राष्ट्रिय महत्वका संवेदनशील विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकारले साझा समाधान पहिल्याउन नसकेको भन्दै प्रश्नसमेत उठाउनु भयो । यद्यपि, समसामयिक विषयमा छलफलका लागि बैठक आह्वान गरेकोमा रास्वपा सभापति रवि लामिछानेलाई धन्यवाद दिनुभयो । परिस्थितिलाई सहज बनाउन सरकार थप जिम्मेवार, सक्रिय र संवेदनशील बन्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले कुनैपनि समस्याको दीर्घकालीन समाधान बल प्रयोगबाट सम्भव नहुने उल्लेख गर्दै संवाद र राजनीतिक समझदारी नै उत्तम विकल्प भएको बताउनु भयो । नेकपाले यस विषयमा आफ्नो आधिकारिक धारणा सार्वजनिक गरिसकेको र स्थानीय तहमा सामाजिक सद्भाव कायम राख्न पार्टी पंक्तिलाई आवश्यक निर्देशन दिइसकेको जानकारी गराउँदै उहाँले घटनास्थलमा वाह्य तत्वहरूले वातावरण भड्काउन सक्ने भएकाले उच्च शतर्कता अपनाउन आग्रह गर्नुभयो ।
अध्यक्ष दाहालले भन्नुभयो, ‘सुनसरीमा देखिएको तनावप्रति हामी गम्भीर चिन्ता व्यक्त गर्दछौँ। यस्तो संवेदनशील समयमा सबै पक्षले संयमता अपनाउँदै सामाजिक सद्भाव र आपसी विश्वास कायम राख्न अग्रसर हुनुपर्छ । भूकम्प, बाढी–पहिरो तथा संविधान निर्माणजस्ता कठिन समयमा राजनीतिक दलहरूले राष्ट्रिय एकता र सहकार्यको उदाहरण प्रश्तुत गरेका थिए । आज पनि त्यही राजनीतिक परिपक्वता, संवाद र जिम्मेवारी आवश्यक छ । यस सन्दर्भमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेज्यूले बैठक बोलाउनुभएकोमा धन्यवाद व्यक्त गर्दछु । यस्तो अवस्थामा सरकारले अझ जिम्मेवार, सक्रिय र संवेदनशील भूमिका निर्वाह गर्नुपर्छ । प्रधानमन्त्रीले तत्काल सर्वदलीय संवाद र सहमतिका लागि पहल गरी सबै राजनीतिक दललाई विश्वासमा लिनुपर्छ । संसद्भित्र पनि सरकारको भूमिका अपेक्षाअनुसार प्रभावकारी देखिएको छैन । बल प्रयोग कुनै पनि समस्याको दीर्घकालीन समाधान हुन सक्दैन । संवाद, सहमति र राजनीतिक समझदारीबाटै परिस्थितिलाई सहज बनाउन सकिन्छ । हाम्रो पार्टीले आफ्नो आधिकारिक धारणा सार्वजनिक गरिसकेको छ र सामाजिक सद्भाव कायम राख्न पार्टी पंक्तिलाई आवश्यक निर्देशनसमेत दिएको छ । साथै, घटनास्थलमा बाहिरी रूपमा वातावरण भड्काउने तत्व सक्रिय हुनसक्ने भएकाले सबै पक्ष उच्च शतर्क रहन आवश्यक छ । यो राजनीतिक तिक्तता बढाउने होइन, राष्ट्रिय जिम्मेवारी निर्वाह गर्ने समय हो । घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानूनबमोजिम कारबाही हुनुपर्छ। सबै राजनीतिक दल, सरकार र सरोकारवाला पक्षले सामाजिक सद्भाव, शान्ति र आपसी विश्वासलाई केन्द्रमा राखेर एकतावद्ध रूपमा अघि बढ्नुपर्छ ।’
संयोजक दाहालले अहिलेको समय राजनीतिक तिक्तता बढाउने नभई राष्ट्रिय जिम्मेवारी प्रदर्शन गर्ने बेला भएको उल्लेख गर्नुभयो । उहाँले सुनसरी घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानूनी कारबाही गर्न माग गर्दै सम्पूर्ण राजनीतिक दल, सरकार र सरोकारवालाहरूलाई सामाजिक सद्भाव र शान्तिका लागि एकजुट हुन अपिल गर्नुभयो ।
(नोटः यो प्रचण्डको सचिवालयले दिएको जानकारीका आधारमा बनाएका हौँ । छलफलमा सञ्चारकर्मीहरुलाई बस्न दिइएको छैन ।)
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले संवेदनशील विषयमा प्रधानमन्त्रीले नै सर्वदलीय बैठक बोलाउनुपर्ने र गृहमन्त्री स्वयं उपस्थित भई घटनाको सत्यतथ्यबारे दलहरूलाई जानकारी गराउनुपर्नेमा त्यस्तो हुन नसकेको भन्दै आपत्ति जनाउनुभएको छ ।
सुनसरीलगायत विभिन्न जिल्लाहरूमा विकसित पछिल्लो घटनाक्रम र सुरक्षा स्थितिका सम्बन्धमा बुधवार सिंहदरबारमा सम्पन्न सर्वदलीय बैठकपछि बोल्दै लिङदेनले यस्तो बताउनुभएको हो । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेद्वारा आह्वान गरिएको उक्त बैठकले मुलुकमा सामाजिक सद्भाव कायम राख्न सामुहिक अपील गर्ने निर्णय गरेको बताउनु भयो । बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष लिङदेनले बैठकको प्रकृति र सरकारको भुमिकाप्रति असन्तुष्टि व्यक्त गर्नुभयो । उहाँले यस्तो संवेदनशील विषयमा प्रधानमन्त्रीले नै सर्वदलीय बैठक बोलाउनुपर्ने र गृहमन्त्री स्वयं उपस्थित भई घटनाको सत्यतथ्यबारे दलहरूलाई जानकारी गराउनुपर्ने धारणा राख्नुभयो । अध्यक्ष लिङदेनले तराई–मधेसका क्षेत्रमा विशेषगरी हिन्दु धर्मावलम्बीहरूको चाडपर्वका समयमा यस्ता घटनाहरू पटक–पटक दोहोरिनु गम्भीर विषय भएको उल्लेख गर्नुभयो । सुरक्षा व्यवस्थामा देखिएका कमजोरीप्रति प्रश्न उठाउँदै लिङदेनले प्रहरीद्वारा गोली प्रहार हुनु र लगत्तै सेना परिचालन गर्नुपर्ने परिस्थिति निर्माण हुनुले सुरक्षा संयन्त्र चुकेको दाबी गर्नुभयो । विगतका आन्दोलनहरूमा भएका यस्तै घटनामा प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा मागिने गरेको स्मरण गराउँदै उहाँले यस पटकको घटनामा सरकार किन गैरजिम्मेवार बनेको भनी प्रश्न गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘यसलाई केवल एउटा स्थान विशेषको घटनाका रूपमा मात्र हेरिनु हुँदैन । सरकारले यस समस्याको जडसम्म पुगेर दीर्घकालीन समाधान खोज्नुपर्छ । बहुमतको सम्मान र अल्पसङ्ख्यकको संरक्षण हुनेगरी राज्यले आफ्नो उपस्थिति देखाउनु आवश्यक छ ।’
प्रधानमन्त्रीको ढिलो प्रतिक्रियाप्रति पनि उहाँले आलोचना गर्नुभयो । घटना भएको दुई दिनपछि मात्र सामाजिक सञ्जालमार्फत राज्य जिम्मेवार रहेको भनी आएको सन्देशले सरकारको सक्रियतामाथि प्रश्न उब्जाएको लिङदेनको तर्क छ । बैठकमा राप्रपाले सुरक्षा संयन्त्रको असफलता र सरकारको उदासीनताबारे स्पष्ट धारणा राख्दै आगामी दिनमा यस्ता गल्ती नदोहो¥याउन सरकारलाई सचेत गराएको छ ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कच्चा पदार्थ र तयारी वस्तुमा लाग्ने करका दरमा सुधार गर्न तथा आयात महशुल घटाउन सरकार सकारात्मक रहेको बताउनुभएको छ ।
मंगलवार अर्थ मन्त्रालयमा उद्योगीहरुसँगको छलफलमा उहाँले निजी क्षेत्रलाई चलायमान बनाउन कच्चा पदार्थ र तयारी वस्तुमा लाग्ने करमा आवश्यक सुधार गर्न सरकार तयार रहेको बताउनुभएको हो । छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष चन्द्र ढकालले अर्थमन्त्री वाग्लेले उद्योगी व्यवसायीले पूर्वाधार तथा बैंकिङ क्षेत्रसँग सम्बन्धित समस्याहरू समाधान गर्न आफू सकारात्मक रहेको बताएको जानकारी दिनुभयो । उहाँकाअनुसार उद्योगीहरूले आयात महशुल, कच्चा पदार्थ र तयारी वस्तुमा लाग्ने करको कारण निजी क्षेत्र समस्यामा रहेको गुनासो राख्नुभएको थियो । उहाँले करसँगै निजी क्षेत्रमा अवरोधका रुपमा रहेका ऐन तथा कानून संशोधन गर्ने प्रतिवद्धता अर्थमन्त्री वाग्लेले व्यक्त गरेको पनि बताउनु भयो । बैठकमा उद्योगीहरुले स्वदेशी उत्पादनले आयातित वस्तुसँग प्रतिष्पर्धा गर्नुपर्ने अवस्था रहेको भन्दै स्वदेशी उत्पादनलाई प्राथमिकता दिने सरकारी नीति प्रभावकारी रूपमा कार्यान्वयन हुनुपर्नेमा जोड दिएका छन् । छलफलमा अर्थमन्त्री वाग्लेले सरकारले लगानी प्रवद्र्धन, आयात प्रतिस्थापन गर्ने उद्योगलाई प्रोत्साहन तथा स्वदेशी र वैदेशिक लगानीमैत्री वातावरण निर्माणलाई प्राथमिकतामा राखेको बताएको समेत ढकालले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘खास गरेर करको कतिपय उद्योगीहरुले इम्पोर्ट डिउटीहरु तथा र–मेटेरियल लगायत कतिपय उत्पादित वस्तुहरु, रेडिमेड वस्तुहरुमा लाग्ने करको कारण समस्या रहेको विषय राख्नुभयो । अर्थमन्त्रीज्यूले आउने दिनमा मन्त्रिपरिषद् बैठकबाट तथा मन्त्रालयगत रुपमा निर्णय गरेर समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । छलफलमा राष्ट्र बैंकको डेपुटी गभर्नर पनि हुनुहुन्थ्यो । उहाँहरुले बैंक तथा वित्तीय संस्थाहरुबाट प्रभावित हुने लोनहरुको इस्युहरु जस्तो वोर्किङ्ग क्यापिटल गाइडलाइनको कुराहरु राख्नुभयो । अर्थमन्त्रीज्युहरु र अर्थसचिवज्युले उद्योग मन्त्रालय, राष्ट्र बैंक र अर्थ मन्त्रालयबीच आपसि सहकार्यमार्फत निजी क्षेत्रमा देखिएका समस्या हल गर्छौँ भन्ने कुरा राख्नुभयो । पूर्वाधार उद्योगमा नीतिगत सुधारका कुराहरु उठेका छन् । त्यसैगरी डोमेस्टिक उत्पादनहरुले आयातित वस्तुहरुसँग कम्पिटिसन गर्नुपर्ने हुन्छ । सरकारले आन्तरिक उत्पादन प्रवद्र्धन गर्ने नीति लिएको छ । तर त्यसको कार्यान्वयन हुन सकेको अवस्था छैन । यस विषयमा पनि छलफल भयो । अर्थमन्त्रीज्युले निजी क्षेत्रमैत्री नीति निर्माण र कार्यान्वयन सरकारको प्राथमिकतामा रहेको कुरा राख्नुभयो ।’
छलफलमा अर्थमन्त्री वाग्लेले अर्थतन्त्रसँग सम्बन्धित ४२ वटा ऐन यसै वर्ष संशोधन वा खारेज गर्ने प्रक्रिया अघि बढेको जानकारी दिँदै प्रशासनिक झन्झट घटाउने प्रतिवद्धता जनाएको समेत पूर्वअध्यक्ष ढकालले जानकारी दिनुभयो ।
आज गुरु पूर्णिमा । आफूलाई शिक्षा र मार्गनिर्देश गर्ने गुरुप्रति श्रद्धा र सम्मान प्रकट गरी देशभर मनाइँदैछ ।
अज्ञानताको अन्धकारबाट ज्ञानको प्रकाशतर्फ डो¥याउने व्यक्तित्वलाई ‘गुरु’ मानिने धार्मिक तथा सांस्कृतिक मान्यताअनुसार आजको दिनको विशेष महत्व रहेको छ । संस्कृत भाषामा ‘गु’ को अर्थ अन्धकार र ‘रु’ को अर्थ प्रकाश हुन्छ । यसैले गुरुलाई अज्ञानता रूपी अन्धकार हटाएर ज्ञानको ज्योति छर्ने पथप्रदर्शकका रूपमा पुजिन्छ । आजका दिन विद्यार्थी तथा अनुयायीहरूले आफ्ना गुरुलाई भेटेर सम्मान प्रकट गर्ने, मिठाइ तथा उपहार अर्पण गर्ने र गुरुको आशीर्वाद लिने प्रचलन छ । यसै दिनलाई महर्षि वेदव्यासको जन्मजयन्तीका रूपमा ‘व्यास जयन्ती’ का रूपमा पनि मनाउने गरिन्छ । वैदिक सनातन हिन्दु धर्मावलम्बीहरूले व्यासलाई आदिगुरुका रूपमा सम्मान गर्दै आजको दिन विशेष अर्चना गर्ने गर्दछन् । यस अवसरमा देशभरका विद्यालय, क्याम्पस तथा विभिन्न शैक्षिक र आध्यात्मिक संस्थाहरूमा विशेष कार्यक्रमहरूको आयोजना गरिएको छ । गुरु–शिष्यको अटुट सम्बन्ध र गुरुको महिमालाई आत्मसात गर्दै सामाजिक सञ्जालहरूमा समेत बिहानैदेखि शुभकामना आदानप्रदान भइरहेको छ । माता–पिता सरह आदरणीय मानिने गुरुको सम्मानमा मनाइने यो पर्वले समाजमा विद्या र नैतिकताको महत्वलाई पुनः स्थापित गर्न सहयोग पु¥याउँदै आएको छ ।
नेपाल वेद विद्याश्रम संस्कृत माध्यमिक विद्यालयका शिक्षक उत्सव लुइँटेलले गुरुलाई स्वयं प्रकाशित सूर्यको संज्ञा दिँदै उहाँले दिग्भ्रमित भएका जीवलाई सही मार्ग देखाउने तत्व नै गुरु भएको बताउनु भयो । उहाँले गुरुलाई अज्ञानतारूपी अन्धकार हटाउने ज्ञानको स्रोतका रूपमा व्याख्या गर्नुभयो । आमाले सन्तानको आँखामा गाजल लगाइदिँदा जसरी आँखा खुल्छन्, त्यसरी नै गुरुले ज्ञानरूपी सलाईमार्फत मानिसको विवेक खुला गरिदिने उहाँको तर्क छ । गुरुको मार्गदर्शनले मानिसलाई यस लोकको भोग (भुक्ति) र परलोकको यात्रा (मुक्ति) दुवैका लागि सक्षम बनाउने उहाँले बताउनु भयो ।
गुरुपूर्णिमाको महत्वबारे चर्चा गर्दै शिक्षक लुइँटेलले भन्नुभयो, ‘शास्त्रअनुसार भगवान् विष्णु वा हरि रुष्ट हुँदा गुरुले रक्षा गर्न सक्नुहुन्छ, तर यदि गुरु नै रुष्ट हुनुभयो भने उहाँको क्रोधबाट कसैले पनि बचाउन सक्दैन । त्यसैले हाम्रा शास्त्र र विज्ञानले गुरुको स्थानलाई सर्वमान्य ईश्वरभन्दा पनि माथि राखेका छन् ।’
लुईटेलले देशमा देखिएका कतिपय द्वन्द्व र समस्याहरू ज्ञानको अभावका कारण सिर्जना भएको उल्लेख गर्नुभयो । उहाँले ज्ञानरूपी प्रकाशले समाजमा व्याप्त अज्ञानताको अन्धकारलाई नाश गरोस् भन्ने कामना गर्नुभयो
नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले सुनसरीमा विकसित पछिल्लो घटनाक्रमको सन्दर्भमा सरकारको भुमिकामाथि प्रश्न उठाउँदै प्रधानमन्त्रीलाई सक्रिय र समन्वयकारी भुमिका निर्वाह गर्न आग्रह गर्नुभएको छ ।
बुधवार सिंहदरबारमा आयोजित सर्वदलीय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सभापति थापाले सरकार केवल बल प्रयोग र सामाजिक सञ्जालको ‘स्ट्याटस’मा मात्र सिमित हुन नहुने बताउनुभएको हो । उहाँले प्रधानमन्त्री बालेन्द्र साहलाई भाउ खाने र ठालु भएर बस्न नहुने सुझाव दिनुभयो । सभापति थापाले प्रधानमन्त्रीले अहङ्कार त्यागेर सबै पक्षलाई समेट्नुपर्नेमा जोड दिनुभयो । सरकारलाई अभिभावक र नेतृत्वकर्ताको संज्ञा दिँदै थापाले नेतृत्वको मुख्य शक्ति नै सहकार्य र विश्वासको वातावरण निर्माण गर्नु रहेको उल्लेख गर्नुभयो । उहाँले प्रधानमन्त्रीले तत्काल सर्वदलीय बैठक बोलाउनुपर्ने, राष्ट्रपतिसँग परामर्श गर्ने तथा प्रदेश र स्थानीय सरकारहरूसँग निरन्तर संवाद गरी सरकारका प्रयासहरूबारे जानकारी गराउनुपर्ने सुझाव दिनुभयो । मधेसमा हुने कुनैपनि घटनामा राज्यले ‘अतिरिक्त बल’ प्रयोग गर्ने मानसिकता राख्नु दुःखद् रहेको टिप्पणी गर्दै उहाँले यसलाई राज्य सञ्चालनको असफलताको निरन्तरताका रूपमा चित्रण गर्नुभयो । घटनाको छानबिनका लागि संसद्मा आवाज उठाउने बताउँदै थापाले यो समय सरकारलाई अप्ठ्यारो पार्ने नभई जिम्मेवारीपूर्वक सहयोग गर्ने समय भएको स्पष्ट पार्नुभयो ।
सभापति थापाले भन्नुभयो, ‘माननीय सभापतिमार्फत सरकारसँग हाम्रो प्रश्न छ । यतिखेर सरकार कहाँ छ र के गर्दैछ ? सरकार केवल सुरक्षा बल वा सामाजिक सञ्जालमा सिमित नभई सबैलाई जोड्ने नेतृत्वकर्ता बन्नुपर्छ । प्रधानमन्त्रीले तत्काल सर्वदलीय बैठक बोलाई राष्ट्रपतिसँग, प्रदेश तथा स्थानीय सरकारसँग संवाद गरी साझा पहलको वातावरण बनाउनुपर्छ । भूकम्प र कोभिडजस्ता राष्ट्रिय संकटमा सबै दल एकजुट भएका उदाहरण छन् । अहिले पनि सरकारलाई अप्ठ्यारो पार्ने होइन, सहकार्य गरेर समस्या समाधान गर्न चाहन्छौँ । घटनाको छानबिन आवश्यक छ, तर त्यसबारे उचित समयमा छलफल गरौँला । हाम्रो पार्टी सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम गर्न सबै राजनीतिक दलसँग मिलेर काम गर्न प्रतिवद्ध छ । मैले अहिले माथि भनेँ यस्तो बेलामा पनि प्रधानमन्त्रीले भाउ खाएर बस्ने होरु यस्तो बेलामा पनि प्रधानमन्त्री ठालु हुने, ठालु भएर बस्ने हो ? यो बेलामा रिचआउट गर्नु पर्दैन ? यो बेलामा सबै सबैलाई जोड्ने प्रयास गर्नु पर्दैन ? र सबैको भएर सबैलाई समेटेर लिएर जाने प्रयास गर्नु पर्दैन ? गर्नुपर्छ भन्ने हामी ठान्छौँ र प्रधानमन्त्रीले गर्नुहोस् भन्ने हाम्रो चाहना हाम्रो हाम्रो माग पनि छ ।’
सभापति थापाले नेपाली काँग्रेस सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न प्रतिवद्ध रहेको र यसका लागि अन्य राजनीतिक दलहरूसँग मिलेर भुमिका निर्वाह गर्ने बताउनु भयो ।
सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मुलुकको वर्तमान परिस्थिति संवेदनशील रहेकाले शान्ति सुव्यवस्था र सामाजिक सद्भाव कायम राख्नु नै अहिलेको मुख्य दायित्व भएको बताउनुभएको छ ।
बुधवार सिंहदरबारमा आयोजित सर्वदलीय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो । सभापति लामिछानेले विगतका आन्दोलन र वर्तमान परिस्थितिको पृष्ठभूमि फरक रहेको उल्लेख गर्नुभयो । आन्दोलनका क्रममा नागरिकको ज्यान गएको घटनालाई अत्यन्त गम्भीर रूपमा लिँदै उहाँले यसमा सुरक्षा निकाय जिम्मेवार र जवाफदेही हुनुपर्नेमा जोड दिनुभयो । घटनाको सत्यतथ्य बाहिर ल्याउन समय लाग्ने बताउँदै उहाँले कुनैपनि अफवाह वा ‘कन्स्पिरेसी’ को पछि नलाग्न आग्रह गर्नुभयो । विगतमा कुन परिस्थिति र विषयलाई लिएर आन्दोलन भएको थियो र अहिलेको अवस्था के हो भन्नेकुरा बुझ्न जरुरी रहेको बताउनु भयो । बैठकमा राजनीतिक दलका शिर्ष नेताहरूले वर्तमान घटनाक्रमको समीक्षा गर्दै सरकारको ध्यानाकर्षण गराएको उहाँले जानकारी दिनुभयो । प्रधानमन्त्री र गृहमन्त्रीले आ–आफ्नो तर्फबाट कार्यसम्पादन गरिरहेको बताउँदै उहाँले राजनीतिक दलहरूले एकअर्कालाई आरोप–प्रत्यारोप गर्नुभन्दा पनि संयमता अपनाउनुपर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘विगतमा नागरिकको अभिव्यक्ति स्वतन्त्रता र सामाजिक सञ्जालमाथि लगाइएका प्रतिवन्ध लगायतका विषयमा आन्दोलन भएका थिए, तर आजको परिस्थिति हिजोको जस्तो होइन । अहिले विभिन्न भ्रम र अफवाहहरू फैलिएका छन् । हामीले जिम्मेवार प्रशासनलाई निष्पक्ष छानबिनका लागि सहयोग गर्नुपर्छ । अनुसन्धानको निष्कर्ष नआएसम्म कुनैपनि विषयमा टिप्पणी गर्नु हतारो हुनेछ । अहिलेको प्राथमिकता भनेको शान्ति सुव्यवस्था र सद्भाव कायम गर्ने हो । कसले गल्ती ग¥यो वा कसले कति बेला के बोल्यो भन्ने जस्ता ससाना विषयमा अल्झिने समय यो होइन ।’
उहाँले सामाजिक सद्भाव नभड्कियोस् भन्नेतर्फ सञ्चारकर्मीहरूलाई समेत संवेदनशील हुन र जिम्मेवारीपूर्वक सूचना संप्रेषण गर्न आग्रह गर्नुभयो ।





