२०८३ भाद्र २६ शुक्रबार
२०८३ भाद्र २६ शुक्रबार

नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले भदौ अन्तिम साताको जेन–जी आन्दोलनको सन्दर्भमा मुलुकमा दुई अतिवादी सोच देखापरेको टिप्पणी गर्नुभएको छ ।  बिहीवार सुर्खेतमा आयोजित पार्टीको चुनावी सभालाई सम्बोधन गर्दै थापाले यस्तो टिप्पणी गर्नुभएको हो । उहाँले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साहलाई लक्षित गर्दै जेन–जी आन्दोलनलाई स्वीकार नगर्ने र आन्दोलनको जगमा राजनीतिक स्वार्थको रोटी सेक्ने प्रवृत्ति मुलुकमा देखापरेको भन्दै दुवै अतिवादी सोच भएको टिप्पणी गर्नुभयो । यस्ता सोचले पुनः दुर्घटना निम्त्याउन सक्ने चेतावनी दिँदै सभापति थापाले दुवै अतिवादी धारसँग नेपाली काँग्रेस असहमत रहेको स्पष्ट पार्नुभयो । उहाँले अब सरकारको गोलीबाट कुनैपनि निहत्था नागरिकले ज्यान गुमाउन नपर्ने वातावरण सिर्जना गर्नुुपर्ने बताउनु भयो ।  उहाँले भन्नुभयो, ‘यो देशमा अब सरकारको गोलीबाट कुनै निहत्थाको ज्यान जानु हुदैन । यो देशमा अब कुनै मुकुण्डोधारीले नकाब लगाएर सिंहदरबार जलाउन पनि पाउनुहुन्न । यो अवस्था निर्माण गर्नुपर्नेछ । त्यसको लागि हामीले भाद्र २३ र २४ को घटनालाई हेर्नुपर्छ । एउटा प्रवृत्ति छ त्यसले के भन्छ भने–भाद्र २३ र २४ को घटनालाई उसले इन्कार गर्छ र भन्छ २३ गते अगाडि र २३ गते देश ठिकठाक थियो । सबले दुधभात खाएका थिए । केही पनि बिग्रेको थिएन । अर्को प्रवृत्ति छ–जसले बोल्दैन र भन्दैन । तर २३ र २४ गते बलेको आगोमा पेट्रोल थपेर आफ्नो राजनीतिको स्वार्थको रोटीमात्र सेक्छ । केवल उसले आफ्नो फाइदा मात्र हेर्छ । यो दुईटै सोच अतिवादी सोच हो । यस्तै सोचले भोलि फेरि अर्को दुर्घटना गराउँछ । नेपाली काँग्रेस यो दुवै सोचसँग सहमत छैन । भिन्न सोचका साथ उभिएको छ ।’ उहाँले अब कुनैपनि मुकुण्डोधारीले सिंहदरबार जलाउन नसक्ने दाबी पनि गर्नुभयो । – न्युज एजेन्सी नेपाल

 

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले आगामी निर्वाचनपछि मुलुकमा ‘त्रिशंकु संसद’ (हङ पार्लियामेण्ट) बन्ने प्रक्षेपण गर्नुभएको छ ।  बिहीवार पार्टी केन्द्रिय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उहाँले निार्वचनपछि कुनै एक दलको स्पष्ट बहुमत नआउने र पुनः त्रिशंकु संसद बन्ने दाबी गर्नुभएको हो । सातै प्रदेशको चुनावी अभियानबाट फर्किएपछि पत्रकारहरूसँग कुरा गर्दै संयोजक दाहालले वर्तमान निर्वाचन प्रणाली र शासकीय स्वरूपका कारण एकल बहुमतको सम्भावना नरहेको बताउनु भयो । दाहालले आफ्नो पार्टीको आन्तरिक अध्ययन र अनुसन्धानका आधारमा यस पटकको निर्वाचनमा चारवटा मुख्य राजनीतिक धाराहरूबीच प्रतिष्पर्धा हुने उल्लेख गर्नुभयो । उहाँकाअनुसार नेपाली कम्युनिष्ट पार्टी, नेपाली काँग्रेस, नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बीच नै मुख्य प्रतिष्पर्धा हुने देखिएको छ । पार्टीलाई अवमूल्यन गर्ने प्रवृत्ति समाजमा रहेको गुनासो गर्दै उहाँले राम्रो गर्न सक्दा नेकपा अगाडि आउने सम्भावना रहेको बताउनु भयो । संयोजक दाहालले यस पटक आफ्नो पार्टीभित्र असाध्यै राम्रो एकता पैदा भएको दाबी गर्नुभयो । सातै प्रदेशमा नेता, कार्यकर्ता र शुभेच्छुकहरू सक्रियतापूर्वक निर्वाचनमा होमिएको बताउँदै उहाँले नेपाली कम्युनिष्ट पार्टी नै कुनैपनि समस्या नभएको पार्टी रहेको जिकिर गर्नुभयो । 
उहाँले भन्नुभयो, ‘अहिलेसम्मको परिस्थिति हेर्दा हाम्रो मोटा–मोटी आँकलन के छ भने हाम्रो निर्वाचन प्रणाली र शासकीय स्वरूपका कारण कुनै एक पार्टीको बहुमत आउने सम्भावना अहिलेपनि हामीले देखेका छैनौं । हुने भनेको फेरि पनि त्रिशंकु संसद नै हो, हङ पार्लियामेन्ट नै हुने स्थिति हो र सबै–सबैले पनि यही नै आकलन गरेको स्थिति छ । त्यस्तो परिस्थितिमा पनि हामीले जनमतलाई कदर गर्दै फेरि समझदारीको साथ हाम्रो लोकतान्त्रिक विधि विधान र मूल्य मान्यताअनुसार अगाडि बढ्ने कमिटमेन्ट हामी सबै राजनीतिक दल र निर्वाचनमा सहभागी सबै–सबैको तर्फबाट हुनुपर्दछ भन्ने हाम्रो धारणा पनि म राख्न चाहन्छु । अहिले हाम्रो पार्टी नेपाली कम्युनिष्ट पार्टीको पक्षमा म जति ठाउँमा गएँ सातै प्रदेशमा र हाम्रा नेताहरु जहाँ–जहाँ जानुभएको छ त्यो–त्यो ठाउँमा यो पटक हाम्रो पार्टीभित्र असाध्यै राम्रो एकता पैदा भएको छ । हाम्रा नेता कार्यकर्ता समर्थक शुभेच्छुक सबै सक्रियतापूर्वक निर्वाचन प्रक्रियामा लाग्नुभएको छ । आफ्नो पार्टीको प्राथमिकताका बारेमा प्रष्ट पार्दै दाहालले कृषि, उद्योग, पर्यटन र ऊर्जा क्षेत्रमा गुणात्मक विकास गरी रोजगारी सिर्जना गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । साथै, भ्रष्टाचार नियन्त्रण र सामाजिक विभेदको अन्त्य आफ्नो मुख्य एजेण्डा भएको उहाँको भनाइ छ । निर्वाचनको परिणाम जे जस्तो आए पनि त्यसलाई स्वीकार्ने मानसिकताका साथ आफूहरू अगाडि बढेको उहाँले बताउनु भयो । जनमतको कदर गर्दै लोकतान्त्रिक विधि र मूल्य मान्यताअनुसार समझदारीका साथ अगाडि बढ्न सबै राजनीतिक दलहरू प्रतिवद्ध हुनुपर्नेमा उहाँले जोड दिनुभयो । –न्युज एजेन्सी नेपाल

निर्धारित मितिमा नै प्रतिनिधि सभाको निर्वाचन हुनेमा सरोकारवाला निकायहरु विश्वस्त रहेको एक अध्ययनले देखाएको छ । 
तोकिएको मितिमा नै निर्वाचन हुनेमा विभिन्न किसिमका अड्कलबाजीहरु भईरहेका बेला सार्वजनिक ‘निर्वाचनको वातावरण सम्बन्धमा गरिएको अध्ययनले’ यही फागुन २१ गतेका लागि घोषित प्रतिनिधि सभा सदस्यको निर्वाचन तोकिएकै समयमा सम्पन्न हुनेमा आम मतदाता, राजनीतिक दल, सुरक्षा निकाय र स्थानीय तहका राजनीतिक नेता तथा कार्यकर्ताहरू विश्वस्त रहेको देखाएको हो । नेपाल कानून समाजले ३५ जिल्लाका ३३ स्थानीय तहमा गरेको विस्तृत अध्ययनमा अधिकांश  मतदाताले फागुन २१ मै निर्वाचन हुनेमा दृढ विश्वास व्यक्त गरेका हुन् । अध्ययन प्रतिवेदनकाअनुसार ७१ प्रतिशत आम मतदाता समयमै निर्वाचन हुनेमा ढुक्क देखिएका छन् । विशेष गरी १६ देखि २९ वर्ष उमेर समूहका ७२ प्रतिशत युवा मतदाता बढी विश्वस्त भएको पाइएको छ । यो विश्वास मधेस प्रदेशमा अझ उच्च अर्थात ७९ प्रतिशत देखिएको छ । मुलुकको शान्ति सुरक्षाको जिम्मेवारी सम्हालेका ९१.७ प्रतिशत सुरक्षाकर्मीहरू तोकिएको मितिमा निर्वाचन हुनेमा विश्वस्त रहेको पाइएको छ । सरकार र निर्वाचन आयोगको तिब्र तयारी, अनुकूल राजनीतिक वातावरण र राजनीतिक दलहरूको सक्रियतालाई निर्वाचन हुने बलियो आधारका रूपमा औँल्याइएको छ । समाजका कार्यकारी निर्देशक कृष्णमान प्रधानकाअनुसार अध्ययनका क्रममा प्रादेशिक रूपमा मधेस प्रदेशका मतदाताहरूमा निर्वाचनप्रति सबैभन्दा बढी विश्वास र उत्साह देखिएको छ भने कर्णाली प्रदेशका मतदाताहरुमा केही शंसय रहेको पाईएको छ । समग्रमा अझै पनि १६ प्रतिशत मतदाताले समयमै निर्वाचन हुनेमा संशय राखेका छन् ।

 
शान्ति सुरक्षाको प्रवन्ध
अध्ययनमा सहभागी सबैले जेन–जी आन्दोलनका क्रममा लुटिएका हतियार र फरार कैदीबन्दीहरु, परम्परागत आपराधिक समूह र राजनीतिक दल र उम्मेदवारबीचको अस्वस्थ प्रतिष्पर्धा सुरक्षाको प्रमुख चुनौति मानिएको भएपनि सुरक्षा निकायको तिब्र र चुस्त तयारीले मतदातामा भरोसा जगाएको छ । प्राय सबै जिल्लामा एकीकृत सुरक्षा योजना लागू भइसकेकाले सुरक्षाकर्मीहरुमा शान्ति सुव्यवस्था कायम गर्न सक्षम रहेको मनस्थिति देखिएको छ । सरकारको सुरक्षा योजनाले राजनीतिक दलका नेता, उम्मेदवार, कार्यकर्ता र आम मतदाताको सुरक्षालाई पहिलो प्राथमिकतामा राखेको छ । निर्वाचन सुरक्षालाई प्रभावकारी बनाउन जोखिममा आधारित सुरक्षा रणनीति अवलम्वन गरिएको छ । लुम्बिनी प्रदेशमा ६५ प्रतिशत र सुदूरपश्चिममा ५१ प्रतिशत क्षेत्रमा विशेष सुरक्षा प्रणाली अबलम्बन गरिएको छ । संवेदनशील मतदान केन्द्रको वस्तुस्थिति विश्लेषण गरी ती जिल्लाको समग्र योजनाका साथै पहिचान गरिएका संवेदनशील मतदान केन्द्रहरूका लागि छुट्टै सुरक्षा योजना बनाइएको छ । निर्वाचन सुरक्षाका लागि एकीकृत सुरक्षा पोस्टहरूको स्थापना र सञ्चालन गर्ने रणनीतिअनुसार अहिले कतिपय स्थानहरुमा सोही नीति अनुसार काम भइहेको छ । 
जेन–जी आन्दोलनको क्रममा सुरक्षाकर्मीहरु उपर भएको आक्रमणको कारण सुरक्षाकर्मीको मनोबल प्रभावित भएको विषय पनि सुरक्षाका प्रमुख जोखिम रहेको सर्वेक्षणले देखाएको छ । सूचना प्रविधि र सामाजिक सञ्जालको दुरुपयोग पनि प्रमुख सुरक्षा चुनौतिको रुपमा देखिएको छ । खासगरी सुरक्षाकर्मीहरूले साइबर बुलिङ, सूचना प्रविधि र सामाजिक सञ्जालको दुरुपयोग ठूलो जोखिम मानेका छन् ।
युवा उमेर समूहमा सामाजिक सञ्जालको प्रभाव 
सामाजिक सञ्जालले मतदातालाई अझ खासगरी युवा मतदातालाई आफ्नो मतबारे निर्णय गर्ने कुरामा प्रभावित गर्ने देखिएको छ । युवाहरूले निर्वाचन सम्बन्धी सूचना प्राप्त गर्न आम सञ्चारका माध्यमहरूका साथै सामाजिक सञ्जाललाई नै मुख्य स्रोत मान्ने गरेको पाइएको छ । जेन–जी समूहका ३२ प्रतिशत मतदाताले आफ्नो मतदानको निर्णयमा सामाजिक सञ्जालमा आएका सामग्रीको उच्च प्रभाव पर्ने बताएका छन् । यो अन्य उमेर समुहको तुलनामा बढी हो । यसले भौतिक माध्यमभन्दा सामाजिक सञ्जालमार्फत गरिने निर्वाचन प्रचार–प्रसारको पहुँच बढी प्रभावकारी र विस्तारित भएको देखिन्छ । सामाजिक सञ्जालले युवा मतलाई निर्णायक प्रभाव पार्ने देखिए पनि पैसा र पहुँचको दुरुपयोग हुनसक्नेतर्फ भने मतदाताले चिन्ता व्यक्त गरेका छन् । ३४ प्रतिशत मतदाताले निर्वाचनको स्वच्छतामा पैसा र पहुँचको दुरुपयोग हुनसक्ने आशंका व्यक्त गरेका हुन् । सूचना प्रविधि र सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रभावकारी अनुगमन हुन सक्नेमा धेरैले आशंका व्यक्त गरेका छन् । 
विशिष्ट निर्वाचन ÷संवैधानिक र संरचनागत सुधारको अपेक्षा 
मतदातले यो निर्वाचनलाई विगतका भन्दा भिन्न र विशिष्ट मानेका छन् । धेरैले अहिलेको निर्वाचन प्रणालीको कारण कुनै एक दलले बहुमत ल्याउन सक्ने कुरामा आशंका व्यक्त गरेको देखिए पनि अध्ययनमा संलग्न व्यक्तिहरु प्रायः सबैले निर्वाचनबाट स्थीर सरकार बन्ने आशा व्यक्त गरेका छन् । निर्वाचन पछिको संसदबाट केवल नयाँ प्रतिनिधि मात्र नभई संवैधानिक र संरचनागत सुधारको अपेक्षा उनीहरुले गरेका छन् । २४ प्रतिशत मतदाता संविधान संशोधन मार्फत राजनीतिक प्रणालीमा संरचनात्मक परिवर्तन हुने कुरामा दृण रुपमा विश्वस्त देखिएका छन् भने ३४ प्रतिशत मतदाताले राजनीतिक दलहरु बीचमा सहमति भएमा संभव हुने बताएका छन् । मात्र १३ प्रतिशत मतदाताले आशंका व्यक्त गरेका छन् । १८ प्रतिशत उत्तरदाताले संविधानमा ठूलो परिवर्तन भई प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था कार्यान्वयनमा आउने अपेक्षा राखेका छन् । त्यसैगरी विशेष गरि जेन–जी समुहका मतदाताले निर्वाचन पछिको संसदले २०८२ भदौको विद्रोहका क्रममा उठेका शासकीय सुधार र परिवर्तनका एजेन्डाहरूलाई संवैधानिक रूपमै सम्बोधन गर्ने विश्वास व्यक्त गरेका छन् । 
नयाँ राजनीतिक शक्तिप्रतिको आकर्षण र स्वच्छताको खोजी
जेन–जी विद्रोहपछिको राजनीतिक परिवेशमा हुन लागेकाले निर्वाचनमा मतदाताको अपेक्षा र दलहरू प्रतिको दृष्टिकोणमा व्यापक फेरबदल आएको देखिएको छ । यो निर्वाचनबाट नयाँ राजनीतिक शक्तिहरुको उदय हुने कुरामा ज्यादै ठूलो संख्याका (८४ प्रतिशत) मतदाता देखिएका छन् र ३४ प्रतिशत मतदाता यो निर्वाचनमा नयाँ शक्तिहरुको ठूलो प्रभाव हुने कुरामा विश्वस्त देखिएका छन् । निर्वाचनको निश्चिततासँगै मतदाताहरूमा नयाँ राजनीतिक शक्तिप्रति आकर्षण देखिएको छ । वैकल्पिक शक्ति तर्फ मतदाताको आकर्षण बढ्नुले परम्परागत दलहरूलाई चुनौती थपेको छ । सर्वेक्षणअनुसार ३४ प्रतिशत मतदाता नयाँ शक्तिबाट “उच्च प्रभावित“ छन् भने ३९ प्रतिशतले नयाँ दललाई मतदान गर्ने मनशाय राखेका छन् । परम्परागत दलहरूको शासन शैलीप्रति असन्तुष्टि र नयाँ एजेण्डाप्रतिको आकर्षणका कारण मतदाताहरू नयाँ नेतृत्वको खोजीमा देखिएका हुन् । विशेष गरी १६ देखि २९ वर्ष उमेर समूहका (जेन–जी) मतदाताहरूमध्ये ५५ प्रतिशतले नयाँ शक्तिलाई रोज्ने संकेत गरेका छन् । ३७ प्रतिशतले भने उम्मेदवार चयन गरिनसकेको देखिन्छ । यही ३७ मतदाताले  निर्वाचन परिणामलाई निर्णायक मोड दिन आकलन गर्न सकिन्छ । हरेक निर्वाचन परिणामलाई नयाँ थपिने मतदाता र मत परिवर्तन गर्ने मतदाताको संख्याले प्रभावित गर्ने गरेको पाइन्छ । यो निर्वाचनमा पनि करिब २४ प्रतिशत मतदाताले मत परिवर्तन गर्ने र त्यसमध्ये १७ प्रतिशतले नयाँ दलहरुतर्फ र ७ प्रतिशतले साविककै दलहरुमा मत परिवर्तन गर्ने देखिएको छ ।
समग्रमा, केही सुरक्षा चुनौती र आशंकाका बाबजुद सरकारी तयारी, राजनीतिक दलको सक्रियता र आम मतदाताको उत्साहले फागुन २१ को निर्वाचन सुनिश्चित रहेको सन्देश यो अध्ययनले दिएको छ ।–

पोखरा । अधिकांशजसो भारतसँग सीमा जोडिएका स्थानीय तहका मतदान स्थल अति संवेदनशील सूचिमा रहेका हुन्। जिल्ला सुरक्षा समितिले तयार पारेको विस्तृत सुरक्षा योजनाअनुसार १२ वटा स्थानीय तहमध्ये सुनसरीको बर्जु, हरिनगर, देवानगञ्ज, कोशी र भोक्राहा गाउँपालिकालाई सुरक्षाको हिसावले अति संवेदनशील ठानिएको छ। सीमावर्ती भेगमा पर्ने उक्त पालिकाका सबै मतदान स्थल सुरक्षाका हिसावमा अति संवेदनशील रहेको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ। सुनसरीमा दक्षिणी भेगका अलावा दुहबी नगरपालिकाको ६ वटा मतदान स्थललाई अति संवेदनशील सूचीमा राखिएको छ। त्यसैगरी गढी गाउँपालिकाको ३ वटा मतदान स्थल, इनरुवा ९ को ४ वटा मतदान स्थल र धरान ५ को हिमाली मा.वि. देउराली मतदान स्थल अति संवेदनशीलको सूचीमा परेका छन्।

सुनसरी प्रशासनले निर्वाचन लक्षित सुरक्षाका हिसावले विशेषगरी जिल्लाको दक्षिणी खुला नाकालाई नै मुख्य सुरक्षात्मक चुनौतिका रुपमा हेरेको छ। सोहीअनुसार भारतीय समकक्षीसँगको समन्वयमा सीमा नाकामा कडाई थालिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। नाकाबाट हुने आवतजावत लक्षित गरी दुई तर्फी चेकजाँच बढाइएको प्रशासनले जनाएको छ। नाकाबाट हुनसक्ने शंकास्पद गतिविधि र आपराधिक प्रवृति भएकाहरुबाट हुनसक्ने थ्रेटलाई मध्यनजर गर्दै सर्तकर्ता बढाइएको प्रशासनले जनाएको छ।

धार्मिक सद्भाव कायम राखी रहने, अवाञ्छित कार्य हुन नदिने जस्ता कुरालाई ध्यानमा राखी सुनसरीमा प्रशासनले निरन्तर रुपमा सर्वपक्षीय र सर्वदलीय बैठक समेतको आयोजना गरिरहेको छ। विशेषगरी जेन–जी मुभमेन्ट र पुराना दलबीच देखापर्न सक्ने तिक्ततालाई मध्यनजर गर्दै आचारसंहिता कार्यान्वयन र सुरक्षा बन्दोवस्तीमा जोड दिइएको प्रशासनले जनाएको छ। समग्र जिल्लाको शान्ति सुरक्षाकालागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसँगै निर्वाचन प्रहरी ड्युटीमा परिचालित भैसकेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। ४ वटा निर्वाचन क्षेत्र रहेको सुनसरीमा फागुन २१ को निर्वाचनका लागि १ सय ६६ मतदान स्थल र ५९१ मतदान केन्द्र तोकिएका छन्।

जिल्ला निर्वाचन कार्यालय सुनसरीकाअनुसार मत खसाल्न योग्य जिल्लाको कुल मतदाता संख्या ५ लाख ८० हजार ९ सय ४५ रहेको छ।

पोखरा । पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको ग२ख १४२१ नम्बरको बस धादिङको बेनीघाट रोराङ गाउँपालिका–५ भैँसीगौडामा दुर्घटना हुँदा १९ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमध्ये तनहुँका तीन जना रहेका छन् ।

मृतकमध्ये हालसम्म नौ जनाको सनाखत भएको प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिए ।

उनका अनुसार दुर्घटनामा तनहुँको व्यास नगरपालिका–४ का ४० वर्षीय ओमकुमार मल्ल, शुक्लागण्डकी नगरपालिका–७ का ५५ वर्षीय विष्णुमाया ढकाल र भिमाद नगरपालिका–६ का ४५ वर्षीय हरिप्रसाद सिग्देलको मृत्यु भएको छ ।

यसैगरी, तनहुँको शुक्लागण्डकी नगरपालिका–४ का ४५ वर्षीय सोमप्रसाद मल्ल, म्याग्दे गाउँपालिका–६ का ४४ वर्षीय मानबहादुर थापा, व्यास नगरपालिका–५ की ३८ वर्षीया सुकमाया श्रेष्ठ, शुक्लागण्डकी नगरपालिका–१२ की सदीक्षा हमाल र शुक्लागण्डकी नगरपालिका–४ का १८ वर्षीय सुविन मल्ल घाइते भएका छन् ।उनीहरूको काठमाडौँमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

 

१० फागुन, । निर्वाचन आयोगले फागुन २१ को चुनावलाई लक्षित गर्दै ३ दिन बिदा दिन सरकारलाई सिफारिस गरेको छ । आज आइतबार सरकारलाई पत्र लेखेर आयोगले चुनावमा ३ दिन बिदा दिन सिफारिस गरेको प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

‘निर्वाचनमा मतदाताकाे उत्साहजनक सहभागिता बढाउने उद्देश्यले फाुन २०,२१ र २२ गते सार्वजनिक बिदा गर्न निर्वाचन आयाेगले नेपाल सरकारलाई सिफारिस गरेकाे छ’ उनले भने ।

बिदाको निर्णय भने अब बस्ने मन्त्रिपरिषद् बैठकले गर्नेछ ।

पोखरा । रास्वपाका प्युठानका सदस्य सूर्यबहादुर गैरे नेकपा एमालेमा प्रवेश गरेका छन् । एमाले जिल्ला अध्यक्ष विजयविराज विष्टले प्युठान नगर सदस्य सूर्यबहादुर गैरे एमालेमा प्रवेश गरेको जनाएका छन् ।

गैरेलाई एमाले केन्द्रीय सदस्य तथा प्रतिनिधि सभामा एमालेका उम्मेदार सूर्य थापाले उनलाई स्वागत गरेका थिए । प्युठानमा रास्वपा सभापति रवि लामिछाने गएको अर्को दिन उनले रास्वपा परित्याग गरेका हुन् ।

नेपाल र नेपाली आत्मस्वाभिमान आत्मगौरव,भावना जोडिएका ऐतिहासिक सम्पदाहरूलाई खरानी बनाएको घटना सम्झँदै उनले भने ‘यो देश बनाउने पार्टी होइन यो खरानी बनाउने पार्टी हो। भन्दै परित्याग गरेको हो।’

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रास्वपाले चुनाव नजित्ने निष्कर्ष निकालेको र सोही अनुसार विभिन्न अराजक गतिविधि गर्न थालेको आरोप लगाएका छन् ।

शनिबार झापाको भद्रपर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष ओलीले रास्वपाका पछिल्ला व्यवहारहरू अभद्र, अमर्यादित, अशोभनिय खालका व्यवहार देखाउने, तनाव बढाउन खोज्ने जस्ता देखिएको बताए ।

 

‘मलाई के लाग्छ भने, रास्वपाले चुनाव जितिन्नँ भन्ने निष्कर्ष निकालेको जस्तो लाग्छ । त्यसकारण उसले कतै झण्डा जलाउने, अत्यन्तै अभद्र, अमर्यादित, अशोभनिय खालका व्यवहार देखाउने, तनाव बढाउन खोज्ने, त्यस प्रकारको कुराहरू देखिन थालेको छ,’ ओलीको भनाइ छ ।

रास्वपा चुनाव भाँड्ने स्थितिमा पुगेको अनुमान यतिकै गर्न सकिने ओलीको दाबी छ ।

 

‘त्यसर्थ उनीहरू चुनाव भाँड्ने स्थितिमा पुगेको यसै अनुमान गर्न सकिन्छ । यसको अर्थ हो, उनीहरू आफ्नो पक्षमा नतिजा आउँछ भने चुनाव लड्ने, पक्षमा नतिजा आउँदैन भने चुनाव लड्न नदिने, खालको प्रवृत्तिमा देखिन्छ । मैले केही दिनयताका घटनाक्रम देख्दा रास्वपाले चुनाव भाँड्न खोजेको, जस्तो देखिन्छ,’ ओलीले भने ।

साथै, उनले चुनाव बलजफ्ती हुने विषष नभएको पनि बताए । मतदाताले निर्भय रुपमा चुनावमा भाग लिने वातावरण तयार हुनुपर्ने ओलीको भनाइ छ ।

‘निर्वाचन भनेको बलजफ्ती गर्ने विषय होइन । नियम कानुनभित्र स्वच्छ प्रतिस्पर्धा, शान्तिपूर्ण वातावरण र निष्पक्ष, धाँधलीरहित चुनाव हुनुपर्छ । शान्तिपूर्ण वातावरणमा हुनुपर्छ,’ ओलीले भने, ‘मतदाताले निर्भय वातावरणमा बिना कुनै डिस्टबेन्स आफ्नो स्वेच्छाको मत निर्बाध दिन पाउनुपर्छ । त्यो मात्रै निर्वाचन हुन्छ ।’

गणना र मतपरिणाम घोषणासम्म सम्पूर्ण प्रक्रिया मतदान अघि देखिका प्रक्रिया पारदर्शी हुनुपर्ने पनि उनले भनेका छन् । जुन विषय आफ्नो पार्टीले सधैं उठाउँदै आएको ओलीको भनाइ छ ।

९ फागुन, पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का धनगढी उपमहानगरपालिकाका संस्थापक नगर सभापति ईश्वरी बिष्टले पार्टी परित्यागको घोषणा गरेका छन् ।

२०७९ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा कैलाली–५ बाट प्रत्यक्ष उम्मेदवार समेत बनेका बिष्टले पार्टी परित्याग गर्दै साधारण सदस्यबाट समेत नरहने गरी राजिनामा दिएका छन् ।

पार्टीको केन्द्रीय कार्यालय, काठमाडौंलाई सम्बोधन गर्दै राजिनामा पत्र बुझाएको बिष्टले बताएका छन् । उनी २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा कैलाली–५ बाट उम्मेदवार बनेर सुदूरपश्चिम प्रदेशमै रास्वपाको दोस्रो बढी मत प्राप्त गर्ने उम्मेदवार थिए ।

उनले रास्वपाले ल्याएको युवा राजनीतिमा र जान्नेलाई छान्ने, नातावाद–आशीर्वाद र आर्थिक प्रभावभन्दा माथि उठेर प्राइमरीबाट उम्मेदवार छनोट गर्ने मूल आदर्शबाट प्रेरित भएर पार्टीमा आवद्ध भएको उल्लेख बताएका छन् तर पछिल्लो समय पार्टीले अवलम्बन गरेको पद्धति, निर्णय प्रक्रिया र कार्यशैली स्थापना कालीन मूल्य, विधान र सार्वजनिक प्रतिबद्धताभन्दा विपरीत गएको अनुभूति रहेको उनी बताउँछन् ।

संगठनमा समर्पित नेता कार्यकर्ताको उचित मूल्यांकन नभएको, पार्टीमा विधि–विधान विपरीत गतिविधि बढेको र निर्णय प्रक्रियामा पारदर्शिता कमजोर बन्दै गएको अवस्थाले आफ्नो आत्मसम्मान र राजनीतिक मूल्यमाथि प्रश्न खडा गरेको बिष्टको भनाइ छ ।

यस्तो परिस्थितिमा मौन रहन नसक्ने निष्कर्षसहित पार्टीको साधारण सदस्यबाट समेत अलग हुने निर्णय गरेको उनले बताएका छन् । बिष्ट रास्वपाबाट कैलाली–५ मा प्रतिनिधि सभा सदस्यको उम्मेदवार बन्न आकांक्षी थिए तर रास्वपाले भने आनन्द बहादुर चन्दलाई उम्मेदवार बनाएपछि रुष्ट भएका उनले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

अघिल्लो चुनावमा रास्वपाबाट उम्मेदवार बनेका बिष्टले तीन हजार ४०५ मत प्राप्त गरेका थिए ।

फिल्टरको गडबडीले सुन्दरताको रहस्य खुलेपछि एक इन्फ्लुएन्सरले गुमाइन् १ लाख ४० हजार फलोअर्स

 

एक चिनियाँ लाइभस्ट्रिमरको वास्तविक अनुहार लाइभ भिडिओको क्रममा अचानक देखिँदा उनले ठुलो सङ्ख्यामा फलोअर्स गुमाउनु परेको घटना एउटा भाइरल भएको छ । एउटा ब्युटी फिल्टरमा आएको प्राविधिक गडबडीका कारण ती इन्फ्लुएन्सरको डिजिटल मास्क हटेको थियो, जसले उनको वास्तविक स्वरूप सार्वजनिक गरिदिएको हो ।

थ्रेड्स र टिकटक जस्ता सामाजिक सञ्जालमा भाइरल भइरहेका क्लिपहरूमा देखिए अनुसार ती नाम नखुलेकी सुन्दरी इन्फ्लुएन्सर क्यामेराको अगाडि प्रस्तुत भइरहेकी थिइन् । त्यही समयमा अचानक उनको ब्युटी फिल्टर बन्द भयो, जसले उनको परिपक्व अनुहार र स्वाभाविक वर्णलाई उजागर गर्‍यो । केही सेकेन्डपछि फिल्टर पुनः सक्रिय भएको र उनको अनुहार पुनः सानो, गोरो र पूर्ण रूपमा मिलेको देखिन थालेको थियो ।

 
 
 

तर यो छोटो समयको प्राविधिक त्रुटिले गर्दा उनले करिब १ लाख ४० हजार फलोअर गुमाएको दाबी गरिएको छ । यद्यपि फलोअर्स सङ्ख्यामा आएको गिरावट र घटनाको सत्यता अहिलेसम्म स्वतन्त्र रूपमा पुष्टि भने भइसकेको छैन ।

अवास्तविक सुन्दरताका मापदण्डमाथि बहस

यो घटना सार्वजनिक भएपछि सामाजिक सञ्जालमा ‘अवास्तविक सुन्दरताका मापदण्ड’ लाई लिएर ठुलो बहस सुरु भएको छ । धेरै दर्शकहरूले ती महिलाको बचाउ गर्दै फिल्टर बिनाको उनको अनुहार झन् राम्रो र जीवन्त देखिएको प्रतिक्रिया दिएका छन् ।

एक फ्यानले लेखेका छन्, “मलाई लाग्छ उनी फिल्टरमा भन्दा वास्तविक रूपमा धेरै राम्री छिन्, फिल्टर त निर्जीव देखिन्छ।” अर्का एक प्रयोगकर्ताले भने पूर्वी एसियाली देशहरूमा प्रचलित कठिन सुन्दरताका मापदण्डहरूको विरोध गरेका छन् ।

सामाजिक सञ्जालमा फिल्टरको मद्दतले आफ्नो रूप बदल्ने यो पहिलो घटना भने होइन । सन् २०१९ मा ‘योर हाइनेस कियाओ बिलुओ‘ नामकी अर्की चिनियाँ स्टारको पनि लाइभ भिडिओमा यस्तै समस्या आएको थियो । उनले आफूलाई जवान सुन्दरीका रूपमा प्रस्तुत गर्ने गरे पनि प्राविधिक गडबडीले उनी मध्यम उमेरकी महिला भएको खुलासा भएको थियो ।

अहिलेको एआईको युगमा बोल्ड ग्ल्यामर जस्ता फिल्टरहरू यति प्रभावशाली भएका छन् कि तिनले मानिसको वास्तविक रूपलाई पूर्ण रूपमा बदल्न सक्छन् । धेरै इन्फ्लुएन्सरहरूले यस्ता फिल्टरहरूले मानिसको आत्मविश्वासमा चोट पुर्‍याइरहेको भन्दै यसलाई बन्द गर्नुपर्ने माग समेत गरिरहेका छन् ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।