२०८३ भाद्र २६ शुक्रबार
२०८३ भाद्र २६ शुक्रबार

१६ फागुन,  । इजरायलले इरानविरूद्ध आक्रमण सुरू गरेको छ । इरानको राजधानी तेहरानमा विष्फोटनका आवाजहरू सुनिएका छन् । इरानी समाचार एजेन्सीले अहिलेसम्म तेहरानमा तीनवटा विष्फोटको आजाव सुनिएको जनाएको छ ।

फार्स न्युज एजेन्सीले तेहरानको डाउनटाउनमा कयौं विष्फोटका आजावहरू सुनिएको जनाएको छ । एजेन्सीले तेहरानको डाउनटाउनमा भएका तीनवटै विस्फोटको तस्वीरहरू पनि प्रकाशित गरेको छ ।

समाचार एजेन्सीले प्रारम्भिक रिपोटअनुसार कयौं मिसाइलहरू दानेशगाह स्ट्रिट र जम्हुरी क्षेत्रमा खसेका संकेत प्राप्त भएको पनि जनाएको छ । इजरायलले इरानविरूको आक्रमणलाई ‘सतर्कतामा गरिएको हमला’ भनेको छ ।

इजरायलका रक्षामन्त्री इजराइल कात्सले बयान जारी गरेर पूरै इजरायलमा ‘विशेष र स्थायी आपतकालीन स्थिति’ को घोषणा गरेका छन् । उता अमेरिकी र इजरायली सञ्चारमाध्यमहरूमा इरानमाथिको आक्रमणमा अमेरिकाले इजरायललाई साथ दिएको उल्लेख गरेका छन् ।

सीएनएनको रिपोर्टमा इजराइली आक्रमण अमेरिकाको साथ र सहयोगमा गरिएको उल्लेख छ । उडानहरूका लागि बन्द गरेको बीबीसीले जनाएको छ । इस्लामिक रेभोल्युसनरी गार्ड कोर (आईआरजीसी) सँग सम्बन्धित तस्निम न्युज एजेन्सीले इरानको हवाई क्षेत्र पनि बन्द गरिएको उल्लेख गरेको छ ।

इजरायली अधिकारीहरूले इरानमा गरिएको आक्रमणपछि शनिवार हवाई क्षेत्रहरू नागरिक उडानका लागि बन्द गरिएको बताएका छन् । इरानको नागरिक उड्डयन संगठनका प्रवक्ता माजिद अखवानले पनि पूरै देशमा हवाई सेवा अर्को सूचना जारी नहुँदासम्मका लागि बन्द गरिएको घोषणा गरेका छन् ।

निर्वाचनसँगै लामो बिदा परेकाले ८ लाखले उपत्यका छाड्ने अनुमान गरिएको छ ।  निर्वाचन आसपासमा करिव एक साताजस्तो सार्वजनिक बिदा पर्ने भएपछि ठूलो संख्यामा मानिसहरुले काठमाडौं छोड्ने तयारी गरेका छन् । सरकारले आमनिर्वाचनका लागि फागुन २०, २१ र २२ गते तीन दिन बिदा दिएको छ भने फागुन १८ गते पहाडी क्षेत्रमा फागू पूर्णिमाको बिदा परेको छ । यस्तै फागुन १९ गते तराईमा फागू पूर्णिमाको बिदा परेको छ ।  फागुन २३ गते शनिवार र २४ गते अर्थात ८ मार्चका दिन अन्तर्राष्ट्रिय महिला दिवसको विदा परेको छ । यसरी फागुन १८ देखि २४ सम्म सात दिन बिदा हुनेभएपछि दशैँ तिहारमा जस्तै यसपटक आगामी हप्तामा धेरैले उपत्यका बाहिर जाने तयारी गरेका छन् ।  यातायात व्यवसायीहरुकाअनुसार अहिलेबाटै उपत्यका छाड्नेहरु बढेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका कार्यवाहक अध्यक्ष पुण्यप्रसाद सिटौलाले ६–७ दिनको सार्वजनिक बिदाको कारणले सार्वजनिक यातायातमा चाप पर्न थालेको बताउनु भयो । १९ गतेसम्मका लागि लामोदूरीका गाडीहरुमा भीडभाड रहेको उहाँको भनाइ छ । सिटौलाकाअनुसार १७, १८,१९ गते थेगिनसक्नु भीड छ । धेरैले गाडी रिजर्व समेत गर्न थालिसकेका छन् । 

सिटौलाले भन्नुभयो–‘६/७ दिनको बिदाका कारण काठमाडौं उपत्यकाबाट निकै धेरै यात्रुहरु उपत्यकाबाट घरतर्फ जाने हामीले देखिरहेका छौँं । जानेक्रम शुरु भइसकेको छ । आम निर्वाचनको क्रमलाई लिएर सुरक्षा निकायहरु समेत आफ्नो कार्यक्षेत्रमा गइसकेको अवस्था पनि छ । करिव ८–९ लाखको हाराहारीमा आआफ्नो गृहजिल्लामा जाने क्रम शुरु भइसकेको छ । १९ गतेसम्म लामोदूरीका गाडीहरुमा अत्यान्तै भीडभाड छ । १७, १८,१९ गते थेगिनसक्नु बीड छ । धेरै सवारीसाधन रिजर्व गर्न थालिसक्नुभएको छ ।’

यातायात व्यवसायी सिटौलाकाअनुसार लामो दूरी कञ्चनपुर, डडेलधुरादेखि अर्घाखाँची, गुल्मी, पाल्पा जस्ता जिल्लामा १९ गतेपछि गाडी जानसक्ने अवस्था रहने छैन । मध्यम दूरी काभ्रे, धादिङ सिन्धुपाल्चोकसम्मका दूरीमा गाडीहरु चल्नेछन् । 
यातायात व्यवस्था विभागले पनि आम निर्वाचनको असापासमा धेरै बिदा परेकाले यात्रु बाहिर जाने भएकाले सार्वजनिक यातायातलाई चुस्त राखिने बताएको छ । विभागका महानिर्देशक राजीव पोखरेलले सार्वजनिक यातायात प्रणालीलाई चुनावका बेला चुस्तदुरुस्त राख्न योजनावद्ध तवरले विभाग लागिरहेको बताउनु भयो ।

विभागका महानिर्देशक पोखरेलले भन्नुभयो–‘आम निर्वाचन नजिकिएको छ । यो बेला यातायात प्रणालीलाई चुस्तदुरुस्त बनाउन विभिन्न कामहरु गरिरहेका छौँ । आसन्न चुनावमा .देशबाट एक ठाउँबाट अर्को ठाउँमा जाने क्रम शुरु भइरहेको छ र विदेशबाट पनि नेपाली नागरिकहरु नेपाल आउने क्रम बढिरहेको छ । अहिले यातायात प्रणालीलाई व्यवस्थित बनाउन विभिन्न स्टेक होल्डरहरुसँग बसेर छलफल गरेका छौँ । अहिले सार्वजनिक यातायातबाटै सबै नागरिकलाई आफ्नो गन्तव्य .पु¥याउनसक्ने अवस्थामा छौँ । यदी पुगेन भने हामी अरु पूर्वतयारी पनि गरेर बसेका छौँ । सार्वजनिक यातायातले पुगेन भने अरु क्षेत्रका गाडीहरु समेत प्रयोग सक्ने छौँ ।’

उहाँले निर्वाध रुपमा सार्वजनिक यातायातबाट नागरिकलाई सुरक्षित गन्तव्यमा पु¥याइने बताउँदै अपुग भए नेपाली सेनादेखि स्कुल, कलेजका सबारी साधनसमेत सरकारले प्रयोग गरेर चलाउने बताउनु भयो । –न्युज एजेन्सी नेपाल

फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न देशभर मदिरा विक्री वितरणमा प्रतिवन्ध लगाइएको छ ।  निर्वाचन आयोगको सिफारिसमा सरकारले शुक्रवारदेखि मदिरा विक्री वितरण तथा सेवनमा रोक लगाएको हो । आयोगले प्रतिवन्धको कार्यान्वयन भए÷नभएको बारेमा सुक्ष्म अनुगमन गर्ने पनि जनाएको छ । निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेले फागुन १५ गतेदेखि मतदान कार्य सम्पन्न नहुन्जेलसम्मको लागि मदिरा विक्री वितरण तथा सेवनमा प्रतिवन्ध लगाइएको जानकारी दिनुभयो ।  निर्वाचनको अवधिमा सम्भावित अवाञ्छित गतिविधि नियन्त्रण गर्न र शान्ति सुव्यवस्था कायम राख्न उक्त निर्णय गरिएको हो । तोकिएको अवधिमा मदिरा विक्री–वितरण वा सेवन गरेको पाइए प्रचलित कानूनअनुसार कारबाही गरिने उहाँले जानकारी दिनुभयो । 

उहाले भन्नुभयो, ‘फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा शान्ति सुव्यवस्था कायम गर्नको लागि निर्वाचन आयोगले नेपाल सरकारलाई केही व्यवस्थाहरुको सिफारिस गरेको छ । जस अन्तर्गत निर्वाचनको मितिभन्दा ७ दिन अगाडी अर्थात २०८२ साल फागुन १५ गतेदेखि मतदानको कार्य सम्पन्न नहुन्जेलसम्मको लागी कुनै पनि प्रकारका मदिराहरु विक्री वितरण गर्न र सेवन गर्न नपाउने गरि निषेधको व्यवस्था गरेको छ । यो व्यवस्था बमोजिम आम रुपमा यस्ता क्रियाकलाप भएका छन् कि छैनन् भनेर निर्वाचन आयोगले पनि सुक्ष्म रुपमा अनुगमन गर्ने गरेको हुँदा सम्पूर्ण सरोकारवालाहरुले यस्ता किसिमका गतिविधिहरु नगर्न र नगराउनको लागि पनि निर्वाचन आयोगले सम्पूर्ण मतदाता लगायत सरोकारवालाहरु सबैमा हार्दिक अनुरोध गरेको छ । यस किसिमको शान्ति सुव्यवस्था कायम गर्नको लागी निर्वाचण आयोग सम्पूर्ण निर्वाचनसंग सम्बद्ध राजनीतिक दल, उम्मेद्वार र सुरक्षा निकायहरुलाई पनि अनुरोध गर्दछ ।

आयोगले सम्पूर्ण मतदाता, व्यवसायी, राजनीतिक दल, उम्मेदवार तथा सुरक्षा निकायलाई निर्वाचन अवधिभर आचारसंहिताको पालन गरि सहयोग गर्न आग्रह गरेको छ । निर्वाचनसँग संवद्ध सबै पक्षले आ–आफ्नो जिम्मेवारी निर्वाह गरी मर्यादित र अनुशासित वातावरणमा मतदान सम्पन्न गर्नुपर्नेमा आयोगले जोड दिएको छ । 

प्रदेशबाट जारी भएका प्रेस पासलाई पनि निर्वाचनको समयमा मान्यता दिने विषयमा आयोगले छलफल शुरु गरेको छ ।
निर्वाचन आयोगको नियमित पत्रकार भेटघाटका क्रममा शुक्रवार सञ्चारकर्मीहरुसँग कुरा गर्दै आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले यस्तो बताउनुभएको हो । उहाँले पत्रकारहरूको मुभमेन्टलाई सहज बनाउन आयोग प्रतिवद्ध रहेको बताउनु भयो । प्रवक्ता भट्टराईले कानूनमा शुरुदेखि नै सूचना तथा प्रशारण विभागको पासलाई मात्र चिनिएको भएपनि व्यावहारिक कठिनाइलाई मध्यनजर गर्दै प्रदेशको पासलाई पनि सम्बोधन गर्न सकिने बताउनु भयो । पत्रकारहरू निर्वाचनको समयमा जति धेरै ठाउँमा पुग्न सक्छन्, त्यति नै सत्य–तथ्य समाचार सङ्कलन हुने र त्यसले निर्वाचनको निष्पक्षतामा सकारात्मक प्रभाव पार्ने आयोगको ठम्याइ छ । यद्यपि, सवारी साधन प्रयोगको हकमा भने छुट्टै अनुमति आवश्यक पर्ने प्रवक्ताले स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो, ‘प्रेस पासमा प्रदेशलाई मान्यता पाएको छ छैन भन्नुभएको छ । त्यो विषय यहाँले अघि इन्फर्मली पनि मलाई शेयर गर्नुभएको थियो । हाम्रो त्यस्तो कतै छुटेको छ भने त्यसलाई थप एड्रेस गर्न सकिन्छ । हामीले यहाँ हेर्दाखेरि विगतमा कानून बनाउँदाखेरि पनि शुरुदेखि नै चिनिएको यो सूचना तथा सञ्चार विभाग भएको हिसावले यो त्यही विषय मात्रै परेको छ । र यसमा प्रदेशबाट जारी हुने पासको सन्दर्भमा पनि पत्रकारहरूको मुभमेन्टलाई लिएर आयोग नकारात्मक छैन । यहाँहरू सबै तिर पुगिदिनुभयो भने नै सत्य तथ्य समाचार सङ्कलन हुन्छ र त्यसले निर्वाचनको स्वच्छता निष्पक्षतामा सकारात्मक प्रभाव पार्छ भन्नेकुरामा आयोग विश्वास गर्छ । यो विषय आयोगले थप छलफल गर्नेछ । अब हामीले आयोगमा राख्ने छौँ र आयोगले केही निर्णय गरेपछि हामी त्यसलाई सार्वजनिक गर्ने नै छौँ ।’
आयोगले सञ्चारकर्मीहरूलाई निर्वाचन कभरेजमा कुनै अवरोध नहोस् भन्ने उद्देश्यले यो लचकता अपनाउन लागेको प्रवक्ता भट्टराईले बताउनु भयो । —न्युज एजेन्सी नेपाल

 

जल तथा मौसम विज्ञान विभागले बताएअनुसार मतदानको दिन देशभर मौसम सफा रहने निर्वाचन आयोगले बताएको छ । 
निर्वाचनको दिन मौसमले कस्तो प्रभाव पार्छ भन्ने आम चासोका बीच निर्वाचन आयोगले जल तथा मौसम विज्ञान विभागसँग निरन्तर समन्वय गरिरहेको शुक्रवार आयोगमा आयोजित पत्रकार सम्मेलनका क्रममा आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताउनुभएको हो । विभागका महानिर्देशकसँगको छलफलपछि आयोगले मतदानको दिन (फागुन २१ गते) देशभर मौसम सफा रहने बताएको छ । विगत ३० वर्षको तथ्याङ्कमा आधारित पूर्वानुमानलाई परिमार्जन गर्दै विभागले अहिले एक हप्तासम्मको यथार्थपरक पूर्वानुमान गर्न थालेको छ । हाल देशका विभिन्न भागमा, विशेषगरी सङ्खुवासभा लगायतका हिमाली जिल्लाहरूमा छिटपुट हिमपात भइरहे पनि यसले मतदान प्रक्रियालाई अवरुद्ध नगर्ने आयोगको निष्कर्ष छ । संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेईओसी) मार्फत आयोगले दिनभरको मौसम अपडेट लिइरहेको प्रवक्ता भट्टराईले बताउनु भयो । जमेको हिउँमाथि थपिएको नयाँ हिउँले मतदान केन्द्रसम्म पुग्न मतदातालाई खासै समस्या नपार्ने प्रवक्ता भट्टराईले बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘हिमपातले के असर गर्छ भन्नुभएको छ । हामीले यसको रेगुलर अपडेट लिइराखेका छौँ । मैले हिजो मात्रै पनि जल तथा मौसम विज्ञान विभागको महानिर्देशकसँग उहाँहरूलाई यही आयोगमै आमन्त्रण गरेर छलफल गरेको छु । त्यसमा उहाँले अब निर्वाचनको मतदानको मिति नजिकिँदै गर्दाखेरि हिजोको पहिला उहाँहरूले गर्नुभएको फोरकास्ट विगत ३० वर्षको डाटालाई आधार मानेर गर्नुभएको छ भनेर मैले यही कार्यक्रममा यहाँहरूलाई जानकारी गराएको थिएँ । तर अहिले निर्वाचनको मतदानको मिति नजिकिँदै गएको हुनाले अब उहाँहरूले रियलिस्टिक फोरकास्ट गर्न शुरु गर्नुभएको छ । हाम्रो प्रणालीले एक हप्तासम्मको त धेरै सत्यताको नजिकको फोरकास्ट गर्नसक्छ । मलाई उहाँले दिनुभएको हिजो दिनुभएको इन्फर्मेसन अनुसार यसलाई गुड न्युज नै भन्नुपर्छ । २१ गतेको दिन देशभर मौसम सफा रहन्छ भन्नुभएको छ । त्यसकारणले त्यो २१ गतेको सफा छँदैछ । त्यो भन्दा अगाडि आजभोलि विभिन्न ठाउँमा हिमपात भएको, हल्का वर्षा भएको कुरालाई हामीले क्लोजली वाच गरिराखेका छौँ । सम्बन्धित जिल्लाको जिल्ला सुरक्षा समिति र निर्वाचनसँग सम्बन्धित अधिकारीहरूसँग आयोगको जेईओसीले संयुक्त निर्वाचन सञ्चालन केन्द्र जहाँ प्रहरीको सञ्चार सेट पनि उपलब्ध छ । उहाँले दिनभरि जसो अपडेट लिनुभएको छ र मलाई उहाँहरूले बताउनुभएअनुसार अहिले देशभरिमा छिटपुट हिमपात भइरहेको छ । त्यसमा अलिकति बढी हिमपात भएको सङ्खुवासभामा देखिन्छ । अन्यत्र भन्दा बढी मात्रामा हिमपात भएको । तर सङ्खुवासभामा पनि त्यस्तो धेरै मतदान केन्द्रसम्म हिमपातकै कारणले पुग्न गाह्रो हुने पहिला देखि जमेकै हिउँ त छँदैछ । तर यो पटक थपिएको नयाँ हिउँका कारणले समस्या हुनेकुरा मेरो रिपोर्टिङमा चुकेको छैन । त्यसकारणले गर्दाखेरि यो हिमपात त्यति हेभी अवरुद्ध गर्ने खालको हिमपात छैन र २१ गतेसम्म मौसम सफा हुने भएको हुनाले त्यसले थप सकारात्मक बनाउँछ मौसमलाई भन्ने हाम्रो अहिलेसम्मको एजम्सन रहेको छ । अल अफ सडन त्यस्तो कुनै मौसममा चेन्ज भएछ भने हामी थप अपडेट लिइ नै राख्ने हुनेछौँ । अहिलेसम्मलाई यो हिमपातले धेरै असर पर्दैन ताकि मतदाताहरूलाई मतदान गर्ने अवरोध हुने गरी सम्मको अप्ठ्यारो पर्दैन भन्ने विश्लेषण हामीले गरेका छौँ । 

आयोगले मौसमको अवस्थालाई नजिकबाट नियालिरहेको र अचानक मौसममा कुनै ठूलो परिवर्तन आए थप अपडेट लिने र आवश्यक प्रवन्ध मिलाउने तयारी गरेको बताउनु भयो ।  

निर्वाचनको स्वच्छता र निष्पक्षता कायम राख्न निर्वाचन आयोगले सञ्चार माध्यमहरूको भुमिकामाथि पनि निगरानी बढाएको छ । निर्वाचन आचारसंहिताविपरीत मत सर्वेक्षण गर्ने र निर्वाचनलाई प्रत्यक्ष असर पार्ने अडियो तथा भिडियो सामग्री प्रशारण गर्ने मिडियाहरूलाई कारबाहीको दायरामा ल्याउन आयोगले प्रेस काउन्सिल नेपाललाई पत्राचार गरेको हो । शुक्रवार आयोजित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले आयोग प्रेस स्वतन्त्रताप्रति पूर्ण प्रतिवद्ध रहेको र यसमा कुनै सम्झौता नहुने स्पष्ट पार्नुभयो । तर निर्वाचन आयोग ऐनले दिएको अधिकार प्रयोग गरी जारी गरिएको आचारसंहिताको पालना गराउनु आयोगको दायित्व भएको उहाँले बताउनु भयो । सञ्चार जगतलाई नजिकबाट बुझ्ने र विज्ञता राख्ने निकाय भएकाले प्रेस काउन्सिलले आफ्नो अधिकार क्षेत्रभित्र रहेर आवश्यक कदम चाल्नेमा आयोग विश्वस्त रहेको बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘मत सर्वेक्षण गरेको अथवा निर्वाचनलाई असर पर्ने भिडियो अथवा अडियो सामग्रीहरू प्रसारण गरेको सन्दर्भमा सञ्चार माध्यमलाई कारबाहीका लागि प्रेस काउन्सिललाई पत्राचार गरेको विषय यहाँले उठाउनुभएको छ । त्यो विषय निर्वाचन आयोग प्रेसको स्वतन्त्रताप्रति विश्वस्त छ र हामी प्रेसको स्वतन्त्रता कम्प्रोमाइज नहोस् भन्ने चाहन्छौँ । यहाँहरू पनि त्यसैका लागि लागि राख्नुभएको छ । त्यस अर्थमा तपाईं र हाम्रो कुरा त्यति फरक छैन । तर निर्वाचन आचारसंहिता बनाएर मात्र गर्नुहोला । निर्वाचन आचारसंहिता जारी गर्ने अथोरिटी निर्वाचन आयोग ऐनले निर्वाचन आयोगलाई दिएको छ । र त्यहीअनुसार निर्वाचन आयोगले जारी गरेको आचारसंहिता आकर्षित हुनेगरी गरिएका कार्यहरू निर्वाचनको स्वच्छता, निष्पक्षता कायम गर्ने सन्दर्भमा यिनीहरू प्रतिकुल हुन् भन्ने आयोगले महशुस गरेर त्यो विषयमा विज्ञता राख्ने निकाय सञ्चार जगत्लाई नजिकबाट बुझ्ने, त्यसको स्वतन्त्रतालाई पनि ध्यान दिने र गर्न नहुने काम के–के हो त्यो पनि थाहा पाउने निकाय प्रेस काउन्सिल भएको हिसावले हामीले प्रेस काउन्सिललाई यो विषय लेखेर पठाएका छौँ । र त्यो त्यो एक्सपर्ट एजेन्सी हो त्यो । विज्ञ निकाय हो । त्यसले आफ्नो विज्ञताको प्रयोग गरेर त्यो विषयमा आवश्यक एक्सन लिनेछ भन्ने कुरामा आयोग विश्वस्त छ । त्यसैले अहिले यो विषय प्रेस काउन्सिलले के गरिरहेको छ भन्ने विषय कतिपय आजकै इन्फर्मेसन मसित नहुन पनि सक्छ । त्यसकारणले गर्दाखेकि यो विषयमा यहाँहरूले थप अपडेट त्यतैबाट लिनुहुनेछ भन्ने मैले आग्रह गर्छु । र विगतमा हामीले प्रेस काउन्सिलमा लेखेका विषयहरूमा प्रेस काउन्सिलले यो निर्वाचन एउटा राष्ट्रिय अभियान भएको हुनाले उहाँहरूले निर्वाचन आयोगको स्पिरिटअनुसार होस्टेमा हैँसे गरेरै काम गरेको हामीले पाएका छौँ । त्यस अर्थमा हामी प्रेस काउन्सिलको कार्यप्रति विश्वस्त छौँ र उहाँहरूले आफ्नो अधिकार क्षेत्रभित्र रहेर गर्नुपर्ने कामहरू गर्नुहुनेछ । र त्यसो हुँदा प्रेसको स्वतन्त्रता पनि हनन हुने छैन र निर्वाचन आचारसंहिता पालना गर्ने काममा पनि पालना गराउने काममा पनि सहयोग पुग्नेछ भन्ने विश्वास निर्वाचन आयोगले गरेको छ ।’ विगतमा पनि काउन्सिलले आयोगको स्पिरिट अनुसार ‘होस्टेमा हैँसे’ गर्दै काम गरेको स्मरण गर्दै प्रवक्ता भट्टराईले यसपटक पनि सकारात्मक सहयोगको अपेक्षा गरेको बताउनु भयो । यस कदमले प्रेस स्वतन्त्रता हनन नहुने बरु निर्वाचन आचारसंहिता पालना गराउन मद्दत पुग्ने आयोगको विश्वास छ । —न्युज एजेन्सी नेपाल

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि ३ लाख बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । स्वच्छ, स्वतन्त्र र निश्पक्ष तथा भयरहित वातावरणमा मतदान कार्य सम्पन्न गर्ने उद्देश्यका साथ निर्वाचन सुरक्षा तथा जोखिम व्यवस्थापन समितिको निर्णयमा सरकारले म्यादी प्रहरीसहित ३ लाख ४१ हजार १ सय ११ जना सुरक्षाकर्मी परिचालन गरेको हो । नेपाली सेनाबाट ७९ हजार ७ सय २७, शसस्त्र प्रहरी बलबाट ३४ हजार ५ सय ७६, नेपाल प्रहरीबाट ७५ हजार ७ सय ९७, राष्टिय अनुसन्धानबाट १ हजार ९ सय २१ र निर्वाचन प्रहरी(म्यादी) बाट १ लाख ४९ हजार ९० जना परिचाल गरिएको छ । निर्वाचन सुरक्षा तथा जोखिम व्यवस्थापन समितिका संयोजक समेत रहेका आयुक्त सगुन शमशेर जबराले अहिले सम्म मुलुकभरको शान्ति सुरक्षाको अवस्थामा कुनै शंका गर्नुपर्ने अवस्था नगरेको बताउनु भयो । उहाँले आयोगले समय समयमा सुरक्षा निकायका प्रमुखसँग देशभरको सुरक्षा अवस्थाको बारेमा जानकारी लिइरहेको उल्लेख गर्दै कुनैपनि सुरक्षा चुनौतीको रिपोटिङ्ग नभएको पनि जानकारी दिनुभयो ।   तर निर्वाचनको वातावरण बनाउन तथा सबैलाई सुरक्षित भएको अनुभुति दिन आयोगले विगतमा भन्दा केही अघि नै सेना परिचालनको निर्णय गरेको पनि उहाँले स्पष्ट पार्नुभयो । विगतका निर्वाचनमा सेना परिचालन भएपनि तेस्रो घेरामा राख्दा सुरक्षा प्रभावकारी हुन नसकेको भन्ने राजनीतिक दलहरुको पनि सुझाव आएकाले शान्ति सुरक्षाको लागि आवश्यक परे पहिलो घेरामा बस्नसक्ने गरी परिचालनको मोडालिटी तय गरिएको उहाँले स्पष्ट पार्नुभयो । 

जबराले भन्नुभयो, ‘निर्वाचन आयोगले निर्वाचन गर्ने हो । सरकार र आयोगको समन्वयमा निर्वाचन फौज खटाउने हो । हामीले सुरुदेखि नै सबै सुरक्षा निकायका प्रमुखहरुसँग छलफल र समन्वयमै छौँ । निर्वाचन सुरक्षा समितिको बैठकमा त्यस्तो कुनै समस्या देखिएको नपाएको उहाँहरुको ब्रिफिङ छ । केहीले निर्वाचन बहिस्कार गर्ने भनेको छ तर त्यसले असर गर्दैन । तर मौसमले केही वाधा पुर्याउन सक्छ । निर्वाचनमा विगतमा पनि सेना खटिएकै हो । तर अलिकति ढिलो मात्र खटिने गरेको थियो । यो सामान्य निर्वाचन नभएको तथा नागरिकलाई निर्वाचनमा सहभागी गराउनको लागि सेना परिचालन गर्न हामीले सिफारिस गरेका हौँ । यही निर्वाचनमा खटिने अन्य सुरक्षा निकायहरुको मनोबल समेत बढोस् भनेर हामी सिफारिस गरेका हौँ । मतपत्र ढुवानी समेत नेपाली सेनाले गरेको हो । हिमाली जिल्लामा मतपत्र ढुवानीका लागि पनि हामीले सेनाकै परिचालन गरेका छौँ, सेनाकै उपकरण समेत प्रयोग गर्दै आएका छौँ । यदि निर्वाचनको समयमा कतै विष्फोटक पदार्थ भेटिएमा सहज होस् भनेर पनि सेना परिचालन गरिएको हो ।’निर्वाचन सुरक्षा समितिको पहिलो बैठकले नै निर्वाचनमा नेपाली सेना प्रयोग गर्ने सम्बन्धमा सरकारलाई सिफारिस गर्ने निर्णय गरेको थियो । प्रतिनिधिसभा निर्वाचन यही फागुन २१ गते हुँदैछ । –न्युज एजेन्सी नेपाल

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खाद्य आयात–निर्यात तथा गुणस्तर नियमनमा कडाई गरेको छ ।  विभागले बिहीवार सार्वजानिक गरेको आर्थिक वर्ष २०८२/८३ को अर्धवार्षिक विवरणमा आयात अनुमतिपत्र जारीदेखि विषादी परीक्षणसम्मका गतिविधिमा कडाइ गरिएको उल्लेख छ । विभागले चालु आर्थिक वर्षको ६ महिनामा ७ हजार ८ सय ७३ वटा खाद्य पदार्थको आयात अनुमतिपत्र जारी गरेको थियो । तर आवश्यक कागजात अधूरा, पूर्ण लेबल विवरण नभएका वा सेवाग्राहीको माग अनुसारका मसला, कच्चा तेल, भिटामिन प्रिमिक्स, चामल, चाउचाउ, तिलको तेल, लिक्विड ग्लुकोज लगायत २२९ वटा कन्साइन्मेन्टको अनुमति खारेज गरिएको विभागका प्रवक्ता डा. बालकुमारी शर्माले जानकारी दिनुभयो । विभागले आयात अनुमति पत्र नेपाल राष्ट्रिय एकद्वार प्रणालीमार्फत अनलाइन सेवा प्रदान गर्ने गरेको उहाँले जानकारी दिनुभयो । विभागले निर्यात प्रयोजनका लागि प्रयोगशाला परीक्षण र हेल्थ सर्टिफिकेट जारी गरी निर्यातलाई सहज बनाएको छ । विभिन्न खाद्य पदार्थहरू जस्तै छुर्पी, चिउरा, अचार, मसलाजन्य पदार्थ, फ्रेस अदुवा, मह, प्रशोधित वनस्पति तेल, चिया, कफी—विभिन्न देशमा निर्यातका लागि प्रमाणपत्र जारी गरिएको प्रवक्ता डा. शर्माले जानकारी दिनुभयो ।  विभागले आयातित तरकारी र फलफूलमा विषादीको द्रुत परीक्षण (आरविपिआर) लाई पनि कडाईका साथ लागू गरेको छ । चालु आर्थिक वर्षको ६ महिनामा ३४ हजार ८५५ नमूना परीक्षण गर्दा १९ नमुना प्रतिकुल रहेको प्रवक्ता शर्माले जानकारी दिनुभयो । उहाँकाअनुसार आन्तरिक बजारमा काठमाडौं उपत्यकाका मुख्य तरकारी–फलफूल बजारबाट १ हजार २५३ नमूना संकलन गरिएकोमा सीतापाइलामा एउटा रायोको सागको नमूना प्रतिकुल पाइएको थियो ।– न्युज एजेन्सी नेपाल 

उच्च शिक्षालय तथा माध्यमिक शिक्षालय संघ (हिसान) गण्डकीको आयोजनामा हुने चौथो प्रदेशस्तरीय हिसान प्लस टु फुटसल प्रतियोगिताको खेलको खेलतालिका सार्वजनीक भएको छ । उद्घाटन खेलमा गुरुकुल विद्यासदन र स्टेप बाई स्टेप सेकेन्डरी स्कुल बिच हुनेछ । शुक्रबार देखी हुने प्रतियोगितामा प्लस टु तर्फ १६ टिमको सहभागीता रहेको छ भने कलेज फुटसल तर्फ ८ टिमको सहभागीता रहेको छ । फागुन १५ देखी १७ गते सम्म पोखरा रंगशालाको कर्भडहलमा प्रयियोगिता सञ्चालन हुने छ ।

प्रतियोगितामा हिसानमा आवद्ध विद्यालयहरुलाई सहभागीता रहेको र खेल जित्नुमात्रै नभएर फुटबल विकासका लागि प्रतियोगिता गरेको आयोजना गरेको हिसान गण्डकीका अध्यक्ष डा. राम्जी शर्माले जानकारी दिए । हिसान गण्डकीको सदस्य विद्यालय बिच हुने प्रतियोगितामा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरुले सहभागीता जनाउने छन् । प्रतियोगिताको व्यवस्थापन सबिन मेमोरीयल फुटबल क्बलले गर्दै आएको छ । प्रतियोगिताको विजेताले नगद १ लाख, मेडल, ट्रफि र उपविजेताले नगद ५० हजार, मेडल र ट्रफि प्राप्त गर्ने क्लबका सल्लाकार सन्तोष पराजुलीले जानकारी दिए । त्यसै गरी कलेज तर्फका विजेताले नगद २० हजार, मेडल, ट्रफि र प्रमाणपत्र उपविजेताले नगद १० हजार, मेडल, ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने छ । हिसान फुटसल प्रतियोगिताले नयाँ खेलाडी उत्पादन गर्न प्रतियोगिता गर्दै आएको सबिन मेमोरियल क्लबका अध्यक्ष सञ्जय लिगले बताए । प्रतियोगिताको पावरबाइमा टभिएस मोटरसाइकल र सपोटेबाइमा सुजल डेरीको सफल दुध रहेका छन् ।

निर्वाचन आयोगका सचिव कृष्णबहादुर राउतले आगामी प्रतिनिधि सभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र विश्वसनीय वातावरणमा सम्पन्न गर्न आयोग पूर्ण रूपमा तयार रहेको बताउनुभएको छ ।  कुटनीतिक समुदायका लागि आयोजित विशेष ब्रिफिङ कार्यक्रममा उहाँले निर्वाचनका सम्पूर्ण व्यवस्थापकीय कार्यहरू अन्तिम चरणमा पुगेको जानकारी दिनुभएको हो । सचिव राउतकाअनुसार यस निर्वाचनमा कुल १ करोड ७९ लाख मतदाता सहभागी हुँदैछन् । जसमा ४९ प्रतिशत महिला र ५१ प्रतिशत पुरुष रहेका छन् । मतदानका लागि देशभर १० हजार ९ सय ६७ मतदान स्थल र २३ हजार १ सय १२ मतदान केन्द्रहरू तोकिएका छन् । साथै अस्थायी मतदाताहरूका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ मतदान गर्न १ सय ४३ वटा अस्थायी मतदान केन्द्रहरूको समेत व्यवस्था गरिएको छ ।  निर्वाचनलाई सुरक्षित र व्यवस्थित बनाउन २ लाख १५ हजार कर्मचारी परिचालन गरिएको सचिव राउतले जानकारी दिनुभयो ।

निर्वाचन आचारसंहिता पालना गराउन जिल्ला स्तरमा अनुगमन समिति र मुख्य निर्वाचन अधिकृतहरूको नेतृत्वमा टोलीहरू सक्रिय रहेका छन् । मतदाता शिक्षालाई प्रभावकारी बनाउन र बदर मत संख्या घटाउन ६ हजार ७ सय ४३ वडास्तरीय स्वयंसेवकहरू १५ दिनका लागि परिचालन गरिएका छन् ।  निर्वाचन खर्चमा पारदर्शिता र वित्तीय अनुशासन कायम गर्न राजनीतिक दल र उम्मेदवारहरूका लागि छुट्टै निर्वाचन प्रचार खाता खोल्न अनिवार्य गरिएको छ । कुटनीतिक नियोगका प्रतिनिधिहरूको जिज्ञासा सम्बोधन गर्दै सचिव राउतले मतदान सकिएलगत्तै गणना शुरु हुने र दुर्गम क्षेत्र बाहेक अन्य स्थानमा १ देखि ३ दिनभित्र नतिजा आउने अपेक्षा गरिएको बताउनु भयो । विदेशी पत्रकारहरूका लागि सूचना तथा प्रशारण विभागमार्फत पास उपलब्ध गराइने र पर्यवेक्षकहरूका लागि विशेष सुरक्षा र समन्वयको व्यवस्था मिलाइएको उहाँले स्पष्ट पार्नुभयो ।  निर्वाचन लोकतन्त्रको आधारस्तम्भ भएको उल्लेख गर्दै सचिव राउतले छिमेकी र मित्र राष्ट्रहरूबाट प्राप्त सहयोग र सद्भावप्रति आभार व्यक्त गर्नुभयो । 

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।