निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बिहीवार हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा निर्धक्क भएर मतदान गर्न सम्पूर्ण मतदातालाई आह्वान गर्नुभएको छ । निर्वाचनको सञ्चालन तथा व्यवस्थापनसम्बन्धी सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिँदै उहाँले आफ्नो मताधिकार प्रयोग गर्न आग्रह गर्नुभएको हो । गत भदौ २३ र २४ गते भएको नवयुवाहरूको विद्रोहपछि विकसित विषम परिस्थितिमा यो आकस्मिक निर्वाचन हुन गइरहेको उहाँले बताउनु भयो । कार्यवाहक प्रमुख आयुक्त भण्डारीले निर्वाचनले नेपालको संविधान र संघीय लोकतान्त्रिक व्यवस्थालाई अझै सुदृढ एवं परिपक्व बनाउने विश्वास व्यक्त गर्नुभयो । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउन आयोग पूर्ण रूपमा तयार रहेको उहाँले बताउनु भयो । निर्वाचनलाई कुनैपनि अवाञ्छित गतिविधिबाट प्रभावित हुन नदिई आस्था, विचार, सिद्धान्त र निष्ठाबाट निर्देशित एवं परिचालित हुने वातावरण बनाउन आयोग दृढ संकल्पित रहेको भण्डारीले स्पष्ट पार्नुभयो । मतदानलाई मतदाताको नैसर्गिक अधिकार र कर्तव्य दुवै भएको उल्लेख गर्दै उहाँले लोकतान्त्रिक व्यवस्थामा निर्वाचन सबैभन्दा ठूलो अनुष्ठान भएको बताउनु भयो । उहाँले मतदाताको सहभागितालाई राजनीतिक सचेतना, सामाजिक जिम्मेवारी र नागरिक संलग्नताको उच्चतम अभिव्यक्तिको रूपमा लिइने भन्दै सुसूचित मतदानले शासनप्रतिको नागरिक अपनत्व बढाउने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘गत भदौ २३ र २४ गते भएको नवयुवाहरूको विद्रोहपछि विकसित विषम परिस्थितिमा सम्पन्न हुन गइरहेको यो आकस्मिक प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ ले नेपालको संविधान र संघीय लोकतान्त्रिक व्यवस्थालाई अझै सुदृढ एवं परिपक्व बनाउने विश्वास मैले लिएको छु । प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ लाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउन आवश्यक पर्ने निर्वाचन सञ्चालन तथा व्यवस्थापनसम्बन्धी सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी गराउँदछु । निर्वाचनमा मतदाता र मतदान सर्वाधिक महत्वपूर्ण हुन्छ । निर्वाचनमा कुनै उम्मेदवार, व्यवस्था वा पक्षलाई चुन्न मतदाताले दिने सहमति वा स्वीकृति नै मतदान हो । संविधान र कानूनबमोजिम निश्चित उमेर पूरा भएको नागरिक मतदाता हुन्छन् र सबै मतदाताको मतको मूल्य बराबर हुन्छ । त्यसैले मतदानलाई मतदाताको नैसर्गिक अधिकार मानिन्छ । राजनीतिक व्यवस्थाको स्वरूप निर्धारण, शासन, सरकार, नीति र नेतृत्वको कस्तो हुने भन्ने निर्धारण हरेक मतदाताले निर्वाचनमा खसाल्ने एक एक मतले तय गर्ने भएकाले लोकतान्त्रिक व्यवस्थामा निर्वाचन सबैभन्दा ठूलो अनुष्ठान हो । यो अनुष्ठानमा सहभागी भएर सम्पूर्ण मतदाताले आ–आफ्नो अधिकार सुरक्षित गर्नुहुनेछ भन्ने विश्वास मैले लिएको छु । यो अनुष्ठानमा सहभागी हुनु हरेक सार्वभौम अधिकार सम्पन्न मतदाताको कर्तव्य पनि हो । कुनै पनि निर्वाचनमा मतदाताको सहभागितालाई राजनीतिक सचेतना, सामाजिक जिम्मेवारी र नागरिक संलग्नताको उच्चतम अभिव्यक्तिको रूपमा लिने गरिन्छ । जब नागरिकहरू आफ्ना अधिकारप्रति सचेत र जागरुक भएर मतदाताको रूपमा दर्ता हुनुहुन्छ र निर्वाचनमा सुसूचित मतदाता भएर आफ्नो सहभागिता जनाउनुहुन्छ तब मात्र शासनप्रतिको नागरिक अपनत्व बढ्दै जान्छ । निर्वाचन आयोग निर्वाचनलाई कुनैपनि अवाञ्छित गतिविधिबाट प्रभावित हुन नदिइ आस्था, विचार, सिद्धान्त र निष्ठाबाट निर्देशित एवं परिचालित हुने वातावरण बनाउन दृढ संकल्पित रहेकोले यस कार्यमा सबैको सकारात्मक सहयोग र इमान्दार प्रयत्न हुनेछ भन्ने विश्वास व्यक्त गर्दछु ।
निर्वाचन व्यवस्थापनको सन्दर्भमा राजनीतिक दल, उम्मेदवार, मतदाता, नागरिक समाज, सञ्चारकर्मी, आमसञ्चारमाध्यम लगायत सबै सरोकारवालाहरुको सहयोग र सहभागिताले आयोगलाई आफ्नो भूमिका निर्वाह गर्न थप ऊर्जा, हौसला र प्रेरणा प्राप्त भएकोमा धन्यवाद दिँदै आयोग निरन्तर सहयोगको अपेक्षा गर्दछ । निर्वाचन, प्रतिनिधिमूलक शासन व्यवस्थाको आधारशीला भएको र आफूले रोजेको प्रतिनिधिमार्फत शासन सञ्चालन गर्न पाउने जनताको अधिकारलाई निर्वाचनले नै वैधता र सुनिश्चितता प्रदान गर्ने हुँदा भोलि २०८२ फागुन २१ गते बिहीबार आ–आफ्ना मतदान केन्द्रमा उपस्थित भइ निर्धक्क भएर मतदान गर्नुहुन म सम्पूर्ण मतदातालाई हार्दिक अनुरोध गर्दछु । निर्वाचन व्यवस्थापनका सन्दर्भमा राजनीतिक दल, उम्मेदवार, नागरिक समाज, सञ्चारकर्मी र आमसञ्चारमाध्यम लगायत सबै सरोकारवालाबाट प्राप्त सहयोगले आयोगलाई आफ्नो भुमिका निर्वाह गर्न थप ऊर्जा र हौसला मिलेको बताउनु भयो । प्रतिनिधिमूलक शासन व्यवस्थाको आधारशीला नै निर्वाचन भएको र आफूले रोजेको प्रतिनिधिमार्फत शासन सञ्चालन गर्न पाउने जनताको अधिकारलाई निर्वाचनले नै वैधता प्रदान गर्ने हुँदा बिहीवार आ–आफ्नो मतदान केन्द्रमा उपस्थित भई निर्धक्कका साथ मतदान गर्न आग्रह गर्नुभयो ।
यात्रा प्रतिवन्धका कारण अबुधाबीमा अलपत्र परेका पर्यटक तथा आगन्तुकहरूको लागि अबुधाबीको संस्कृति तथा पर्यटन विभागले रोकिएर बस्ने सबैको खर्च व्यहोर्ने भएको छ । विभागले ५ दिनअघि नै निर्णय गरिएको एक परिपत्र जारी गर्दै, आबुधावी क्षेत्रमा काबु बाहिरको परिस्थिति परिस्थितिले गर्दा आफ्नो देश फर्कन नसकेका र भिसा वा होटलको चेक–आउट मिति सकिएका पाहुनाहरूको बसाइ अवधि लम्ब्याउन त्यहाँका सबै होटलहरूलाई निर्देशन दिएको छ । विभागले होटलका महाप्रवन्धकहरूलाई पठाएको पत्रमा स्पष्ट पारेको छ कि चेक–आउट मिति पुगे पनि काबु बाहिरको परिस्थितिका कारण यात्रा गर्न नसक्ने पाहुनाहरूलाई, उनीहरू प्रस्थान गर्न सक्षम नभएसम्म होटलमै बस्ने व्यवस्था मिलाउनुपर्नेछ । यसरी थपिएको बसाइ अवधिको सम्पूर्ण खर्च अबु धाबी संस्कृति तथा पर्यटन विभाग स्वयंले व्यहोर्ने भएको छ । होटलहरूलाई यस अवधिको बिल तथा इनभ्वाइसहरू विभागको तोकिएको इमेल ठेगानामा पठाउन सूचित गरिएको छ । यस प्रक्रियामा थप जानकारी आवश्यक परेमा वा कुनै समस्या आएमा विभागले आफ्नो ‘बिजनेस कन्टिन्युटी टिम’ को सम्पर्क नम्बर ०२६५७६२८३ समेत सार्वजनिक गरेको छ । अबुधाबी सरकारको यो निर्णयले अनपेक्षित यात्रा प्रतिबन्धका कारण आर्थिक तथा मानसिक तनावमा परेका पर्यटकहरूलाई ठूलो राहत मिल्ने अपेक्षा गरिएको छ ।
क्षेत्रीय तनाव बढेसँगै प्रदर्शनकारीहरूले यमनको राजधानी सानाका सडकहरूलाई प्रतिरोधको मञ्चमा परिणत गरेका छन् । हुथी समूहका नेताको आह्वानमा गरिएको यो प्रदर्शन इरानमाथि भएका हालैका आक्रमणहरूको प्रत्यक्ष प्रतिक्रिया हो । जसले आगामी कुनैपनि घटनाक्रमका लागि पूर्ण तयारी देखाउँछ । आज यमनी राजधानीबाट आएको सन्देश अटल ऐक्वबद्धताको हो । आईतवार यमनको राजधानी सानामा लाखौं मानिसहरूले इरानप्रति ऐक्यवद्धता जनाउन र देशमाथि भएको संयुक्त अमेरिका–इजरायल आक्रमणको निन्दा गर्न ¥याली निकालेका छन् । हुथी नेता अब्दुल मलिक अल–हुथीद्वारा शुरु गरिएको यो प्रदर्शनको उद्देश्य गतिशील क्षेत्रीय अवस्थाका लागि समूहको तयारी देखाउनु थियो । प्रदर्शनकारीहरूले इरानी झण्डा फहराएका थिए र आयतोल्लाह अली खामेनीका तस्बिरहरू बोकेका थिए । उनीहरूले हवाई आक्रमणको निन्दा गर्दै नारा लगाएका थिए, जसलाई हुथी नेताले ‘अमेरिका र इजरायलको स्पष्ट आक्रामकता’ भनेका छन् ।
- रामेछाप नगरपालिका–२ सिरुबारीमा निर्वाचनमा खटिएका कर्मचारी सवार गाडी भीरबाट करिब १०० मिटर तल खसेको छ।
- ना ७ ख ६७६८ नम्बरको गाडीमा कर्मचारी र सुरक्षाकर्मी थिए र उद्दारका काम भइरहेको छ।
- जिल्ला प्रहरी कार्यालय रामेछापका इन्स्पेक्टर राजन तिमल्सिनाले गाडीमा कति मान्छे थिए भन्ने यकिन नभएको बताए।
१८ फागुन, पोखरा । रामेछापमा निर्वाचनमा खटिएका कर्मचारी सवार गाडी भीरबाट खसेको छ ।
जिल्ला प्रहरी कार्यालय रामेछापका इन्स्पेक्टर राजन तिमल्सिनाका अनुसार रामेछाप नगरपालिका–२ सिरुबारी भन्ने ठाउँबाट करिब १०० मिटर तल गाडी खसेको हो ।
उनका अनुसार ना ७ ख ६७६८ नम्बरको गाडी खसेका हो । उक्त गाडीमा निर्वाचनमा खटिएका कर्मचारीदेखि सुरक्षाकर्मी समेत थिए । अहिले उद्दारका काम भइरहेको छ । गाडीमा कति मान्छे थिए भन्ने समेत यकिन भएको छैन ।

पोखरा । बिहीवार हुने प्रतिनिधि सभा निर्वाचनका लागि सोमबार अर्थात् आज राती १२ बजेपछि निर्वाचन प्रचारप्रसार निषेध अर्थात मौन अवधि शुरु हुँदैछ ।
मतदान अघिको ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जलेसम्म आयोगले प्रचारप्रसार निषेध अवधि तोकेको छ । निर्वाचन व्यवस्थापनका क्रममा यो अवधिको विशेष अर्थ र महत्व रहन्छ । यो अवधिमा राजनीतिक दल, उम्मेदवार, सञ्चारकर्मी, सञ्चारमाध्यम, मतदाता लगायत सरोकारवाला सबै पक्षले पालना गर्नुपर्ने विशेष आचरण तोकिएको छ । कुनैपनि निर्वाचनमा उम्मेदवारी मनोनयन पछि औपचारिक रूपमा प्रचारप्रसार अवधि तोक्ने गरिन्छ । आयोगले ४ गतेदेखि १८ गते सम्मका लागि निर्वाचन प्रचारप्रसारको समय निर्धारण गरेको थियो । न्युज एजेन्सी नेपालका संवाददातासँग कुरा गर्दै निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले दल तथा उम्मेदवारको दबाबबाट मुक्त भई मतदाताले आफ्नो विवेकको निर्णय आफ्नै अन्तरआत्माले स्वतन्त्रतापूर्वक गर्ने अवसरको निम्ति प्रचारप्रसार निषेध वा मौन अवधि तोकिने र यसले स्वच्छ प्रतिष्पर्धालाई प्रवद्र्धन गर्ने बताउनु भयो । निर्वाचन प्रचार अभियानलाई केवल विजयी हुने साधनका रूपमा मात्र नलिई आम मतदाताको मन जित्ने संस्कारयुक्त प्रक्रियामा परिणत गर्नुपर्ने मान्यताअनुसार मतदाताहरूले शान्त वातावरणमा बसेर उपयुक्त उम्मेदवार चयन गरुन् भन्ने मनशायमा विश्वव्यापी रुपमा नै मतदान अघिको केही समयलाई प्रचारप्रसार निषेध गर्ने प्रचलन रहेको उहाँले बताउनु भयो । मौन अवधिका लागि तोकिएका आचरण अक्षरशः पालना गर्दा त्यसबाट राजनीतिक दल, उम्मेदवार एवं सरोकारवाला सबैबाट निर्वाचनको स्वच्छता र निष्ठा प्रवद्र्धन गर्न मद्दत पुग्ने विश्वास आयोगले लिएको उहाँले स्पष्ट पार्नुभयो । प्रचारप्रसार निषेध अवधिमा निर्वाचन प्रचारप्रसार लगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी आदि गर्न पाइँदैन । मतदान हुने दिनको ४८ घण्टाअघि मतदान स्थलको तीन सय मिटर वरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचारप्रसार सामग्री हटाउन पनि सम्बन्धीत दललाई निर्देश गरेको छ । यो अवधिमा राजनीतिक दल तथा उम्मेदवार, दलका भ्रातृ संगठनहरूले सामाजिक सञ्जालमार्फत गरेका विज्ञापन तथा निर्वाचन प्रचारप्रसारका सामग्री हटाउनुपर्छ । कार्यवहाक प्रमुख आयुक्त भण्डारीले प्रचार प्रशार निषेध अवधिमा सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनैपनि माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसार सामग्री पोष्ट गरेको पाइए कारवाही हुने चेतावनी दिनुभयो ।
कार्यवाहक प्रमुख आयुक्त भण्डारीले मतदान केन्द्र रहेको स्थान वरिपरि शान्ति भंग गर्ने वा निर्वाचन वातावरण बिथोल्ने गतिविधि गरे प्रचलित कानूनअनुसार कारबाही गरिने जानकारी दिनुभयो । यस अवधिमा कुनै सार्वजनिक प्रचारप्रसार, राजनीतिक विज्ञापन, सामाजिक सञ्जालमा प्रचार, कुनै किसिमको सन्देश संप्रेषण लगायत निर्वाचन प्रचारसँग सम्बन्धित कार्य गर्न निषेध गरिएको छ । सार्वजनिक भोज भतेर गर्न, नाचगान, जुलुस प्रदर्शन, सभा, समारोह गर्न तथा होहल्ला गर्न पाइनेछैन । भय, त्रास सिर्जना गर्न वा निर्वाचनको वातावरण बिथोल्ने गरि शान्ति भंग गर्ने कुनैपनि गतिविधि भए संलग्नमाथि कारवाही हुने आयोगले जनाएको छ । यो अवधिमा मतदान केन्द्र निर्माण लगायत अन्य बाँकी व्यवस्थापकीय कार्य गर्ने समय प्राप्त हुने भएकाले आयोगका लागि पनि यो अवधिको महत्व रहन्छ । आयोगले मौन अवधिको आचारसंहिता अक्षरशः पालना गर्न सबै सरोकारवालालाई आग्रह गरेको छ । साथै यो अवधिलाई मतदाताले शान्त भएर आफ्नो निर्णय गर्ने अवसरका रुप लिई सहज वातावरण निर्माणमा सहयोग गर्न सबैलाई अपिल गरेको छ ।
पोखरा । निर्वाचनको मौन अवधि शुरु हुनै लाग्दा काठमाडौंको सडक सुनसान देखिएको छ ।
मतदाताहरु आ–आफ्नै जिल्ला मतदान गर्ने प्रयोजनका लागि मतदान केन्द्रतर्फ जाने थालेपछि आज होली पर्वका दिन पनि काठमाडौंको मुख्यमुख्य सडकमा केही ठाउँमा होलि खेल्दै गरेका केही समूहबाहेक सुनसान देखिएका हुन । अब फागुन २१ गते अर्थात मतदानका लागि ३ दिन मात्रै बाँकि छ । राजनीतिक दल र त्यसका उम्मेदवारहरु आज बेलुका राति १२ बजेबाट मौन अवधि शुरु हुने भएपछि उनीहरुले यतिखेर आ–आफ्नो निर्वाचन क्षेत्रमा केन्द्रित चुनावी प्रचार अभियानको विट मार्ने तयारीमा छन् ।
त्यसैगरी मतदाताहरु पनि मतदानका लागि आ आफ्नो निर्वाचन क्षेत्रमा जाने कामलाई तिब्रता दिएका छन । काठमाडौंको सडकमा यहाँका उम्मेदवार र उनीहरुको प्रचारका लागि हिँडेका केही गाडीहरुले उम्मेदवारको प्रचारका लागि माइकिङ गर्दै हिँडेको देखिन्छ ।
यस पटकको निर्वाचनमा राजनीतिक दलहरुले घरदैलो अभियानलाई बढी जोड दिएका छन् । मतदातासँग प्रत्यक्ष भेटेर मत माग्ने कुरालाई उनीहरुले प्राथमिकता दिएकाले आमसभा लगायतका कार्यक्रमहरु पनि कम देखिएका छन् । निर्वाचन आयोगले पनि निर्वाचन आचारसंहिता उल्लंघन हुनेगरी हुलहुज्जत नगर्न पनि राजनीतिक दल र तिनको उम्मेदवारहरु सचेत गराउँदै आएको छ । निर्वाचन केन्द्रित अभियानका कारण यस वर्षको होलि पर्वमा पनि धेरै जमघट हुन नसकेको विश्लेषण गरिएको छ ।
अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते हुन गइरहेको निर्वाचनमा सक्रिय रूपमा सहभागी भई मतदान गर्न अपिल गर्नुभएको छ । सोमवार देशवासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले निर्वाचनमा सक्रिय रूपमा सहभागी भई मतदान गर्न अपिल गर्नुभएको हो । देशलाई राजनीतिक स्थायित्व र समृद्धिको मार्गमा अघि बढाउन यो निर्वाचन ऐतिहासिक महत्वको रहेको बताउँदै उहाँले मतदानलाई केवल चुनाव चिन्हमा छाप लगाउने प्रक्रिया मात्र नभई आफ्नो र सन्ततिको भविष्य निर्माण गर्ने महत्वपूर्ण निर्णय भएको बताउनु भयो । प्रधानमन्त्री कार्कीले ‘जेन–जी’ आन्दोलनपछिको जटिल, संवेदनशील र चुनौतीपूर्ण परिस्थितिलाई स्मरण गर्नुभयो । सडकमा देखिएको युवाहरूको आक्रोश र देशको भविष्यप्रतिको अन्योललाई चिर्दै हिंसात्मक मोडबाट शान्तिपूर्ण निकासतर्फ देशलाई डो¥याउन वर्तमान सरकार सफल भएको उहाँले दाबी गर्नुभयो । निर्वाचनको तयारीका सन्दर्भमा प्रधानमन्त्रीले निर्वाचन आयोग, सुरक्षा निकाय र सम्पूर्ण राष्ट्रसेवक कर्मचारीको भुमिकाको प्रशंसा गर्नुभयो । छोटो समयमै निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको र चारवटै सुरक्षा संयन्त्रलाई पूर्ण रूपमा परिचालन गरिएको जानकारी दिँदै उहाँले भयरहित वातावरणमा चुनाव सम्पन्न हुने विश्वास दिलाउनुभयो। साथै, मौन अवधिमा पूर्ण अनुशासन पालना गर्न र संयमित ढंगले प्रचारप्रसार गर्न सम्पूर्ण राजनीतिक दल र उम्मेदवारहरूलाई उहाँले आग्रह गर्नुभएको छ ।
उहाँले भन्नुभयो, ‘ जेन–जी आन्दोलनपछिको त्यो परिस्थिति जटिल, संवेदनशील र चुनौतीपूर्ण थियो । सडकमा युवाहरूको आक्रोश थियो, सबैको मनमा डर थियो र देशकै भविष्य अन्योलमा थियो । त्यो कठिन संक्रमणलाई व्यवस्थापन गर्दै, हिंसात्मक मोडबाट शान्तिपूर्ण निकासतर्फ देशलाई डो¥याउनु र संविधानको बाटोमा फर्काउनु हाम्रो पहिलो कर्तव्य थियो । आज मलाई सन्तोष लागेको छ कि हामी त्यो कठिन संक्रमण पार गरेर यहाँसम्म आइपुगेका छौँ । विधिको शासन स्थापित गर्दै, संविधानको मार्गमा स्थिरताका साथ अघि बढ्न सफल भएका छौँ । यो उपलब्धि तपाईँ–हामी सबै नेपाली जनताको संयम र सहकार्यको परिणाम हो । अब मेरो पहिलो आग्रह तपाईँ मतदाताहरूसँग छः देशलाई राजनीतिक स्थायित्व र समृद्धिको मार्गमा अघि बढाउनका लागि सबै मतदाता आगामी निर्वाचनमा सरिक भइदिनुहोस् । भोट हाल्नु भनेको केवल चुनाव चिन्हमा छाप लगाई कसैलाई जिताएर पठाउनु मात्र होइन । यो त तपाईँले आफ्नो र आफ्नो सन्तानको भविष्य कस्तो बनाउने भनेर लिने निर्णय हो । तसर्थ, फागुन २१ गते बिहीबारका दिन अरू काम छाडेरै भए पनि आफ्नो मतदान केन्द्रमा पुगेर मतदान गर्नुहुन म हार्दिक अपिल गर्दछु । दोस्रो कुरा– निर्वाचनको यस सँघारमा म सबैलाई शान्ति र अमनचयन कायम राख्न अनुरोध गर्दछु। शान्ति नै नेपालको असली पहिचान हो । चुनावमा स्वस्थ प्रतिष्पर्धा हुन्छ, फरक विचार हुन्छ, तर हामीबीच मनमुटाव र वैमनस्य हुनुहुँदैन । म चुनावी मैदानमा रहनुभएका सबै राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरूलाई उम्मेदवारीका लागि धन्यवाद दिन चाहन्छु । तपाईंहरूको सक्रियताले नै हाम्रो लोकतन्त्र जीवित रहने हो । प्रधानमन्त्री कार्कीले सामाजिक सञ्जाल र आमसञ्चारका माध्यमबाट तथ्यहीन, कृत्रिम र भ्रामक सामग्री फैलाएर निर्वाचनको वातावरण धमिल्याउन खोज्ने तत्वहरूलाई सरकारले कडा निगरानीमा राखेको चेतावनी दिनुभएको छ । मुलुकमा कुनैपनि प्रकारको दण्डहीनतालाई प्रश्रय नदिइने र कानूनबमोजिम कडा कारबाही गर्न सरकार पछि नहट्ने उहाँको दृढ भनाइ छ ।–
इराकको राजधानी बग्दादमा ठूलो संख्यामा मानिसहरूले अमेरिका र इजरायलको इरानमाथिको आक्रमणको विरोधमा प्रदर्शन गरेका छन् । प्रदर्शनकारीहरूले अमेरिकी दुतावासतर्फ जाने सडकको प्रवेशद्वार नजिकैको सस्पेन्सन ब्रिज (झोलुङ्गे पुल) नजिकै भेला भएका थिए । उनीहरूले नारा लगाउँदै तत्काल युद्धविरामको माग गरेका छन् । यो प्रदर्शन इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनेईको हत्या र इरानमाथि संयुक्त अमेरिकी–इजरायली आक्रमणपछि भएको क्षेत्रीय तनावको प्रतिक्रियास्वरूप भएको हो । प्रदर्शनकारीहरूले अमेरिकी सेनाको इराकबाट फिर्ता र इजरायलविरुद्ध प्रतिशोधको नारा लगाएका थिए । प्रदर्शनका क्रममा सुरक्षा बलले टियर ग्यास प्रयोग गरी प्रदर्शनकारीहरूलाई तितरबितर पारेका छन् । जसले गर्दा केही स्थानमा झडप भएको थियो। यो घटनाले मध्यपूर्वमा बढ्दो द्वन्द्वलाई थप जटिल बनाएको छ ।
निर्वाचन आयोगले मतदान केन्द्रलाई महिला, ज्येष्ठ नागरिक तथा अपाङ्गता मैत्री बनाउने गरी आवश्यक प्रवन्ध मिलाएको बताएको छ । आयोगले यही फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा अशक्त, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, गर्भवती, सुत्केरी लगायतले सहज मतदान गर्ने गरि व्यवस्थापन गरिएको जनाएको हो । न्युज एजेन्सी नेपालसँग संक्षिप्त कुराकानी गर्दे आयुक्त डाक्टर जानकीकुमारी तुलाधरले मतदान गर्नबाट कसैलाई पनि बन्चित हुन नपर्ने गरि आयोगले सम्पूर्ण व्यवस्थापन गरेको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘हामीले केन्द्रदेखि जिल्लासम्म अनुगमनकर्ता अनुगमन अधिकृतको व्यवस्थापन गरेका छौँ । हामीले सुक्ष्म अनुगमनको पनि व्यवस्था गरेका छौ । हामीले कुनैपनि मतदान केन्द्रमा सबैको सहज पहुँच पुग्नुपर्छ भन्ने कुरामा आयोग दृढ छ । सोअनुसार नै मतदान केन्द्र तथा मतदान स्थलको व्यवस्थापन गरेका छौ । ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, गर्भवती महिला, सुत्केरी, यौनिक अल्पसंख्यकहरु लाइनमा बस्नु पर्दैन । उहाँहरुलाई तुरुन्तै मतदान गर्न पाउने गरी व्यवस्थापन गरिएको छ । आयोगले आम मतदातालाई सहज ढंगले मतदान गर्न पाउने गरि व्यवस्थापन गरिसकेको अवस्था छ । आयुक्त तुलाधरले आममतदातालाई सहज ढंगले मतदान गर्ने व्यवस्था मिलाउने सवालमा आयोगले कुनै कसुर बाँकी नराख्ने स्पष्ट पार्नुभयो । –न्युज एजेन्सी नेपाल
चन्द्रोदयसँगै सुरु हुने उक्त ग्रहण राति ७:०२ बजेसम्म रहनेछ । मौसम अनुकूल भए देशका सबै भागबाट स्पष्ट रूपमा देख्न सकिने सोसाइटीले जनाएको छ । चन्द्रग्रहण अवलोकन गर्न कुनै विशेष उपकरण आवश्यक नपर्ने नेपाल एष्ट्रोनोमिकल सोसाइटीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
‘खण्डग्रास चन्द्रग्रहण घरको छत, खुला चौर वा नजिकैको डाँडाजस्ता खुला स्थानबाट हेर्न सकिनेछ,’ नेपाल एष्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले भने, ‘चन्द्रोदयसँगै सुरु हुने भएकाले वरपरको उचाइयुक्त स्थानबाट अवलोकन गर्दा अझ राम्रो देख्न सकिन्छ ।’
पृथ्वीले सूर्यलाई परिक्रमा गरिरहँदा चन्द्रमाले पृथ्वीलाई परिक्रमा गर्ने क्रममा पृथ्वी सूर्य र चन्द्रमाबीच पर्दा पृथ्वीको छायाँ चन्द्रमामा पर्छ । चन्द्रमाको आफ्नै प्रकाश नभएकाले पृथ्वीको छायाँले चन्द्रमा ढाकिँदा चन्द्रग्रहण हुन्छ ।
पूर्णिमामा सूर्य, पृथ्वी र चन्द्रमा एउटै सीधामा परे पनि चन्द्रमाको कक्ष पृथ्वीको कक्षीय धरातलसँग करिब पाँच डिग्री झुकेको हुने भएकाले हरेक पूर्णिमामा चन्द्रग्रहण हुँदैन ।
चन्द्रकक्षले पृथ्वीको कक्षीय धरातल काट्ने दुई बिन्दुलाई प्राचीन ज्योतिषशास्त्रमा राहु र केतु भनिन्छ ।