२०८३ भाद्र २६ शुक्रबार
२०८३ भाद्र २६ शुक्रबार

यही चैत ६ र ७ गते लुम्बिनी तथा कोशी प्रदेशमा तीव्र हावाहुरी चल्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । हावाहुरीबाट रुख ढल्ने, कमजोर संरचना उडाउने वा विद्युत तथा सञ्चार सेवा प्रभावित हुने सम्भावना भएकाले सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।विभागले आज दिउँसो सार्वजनिक गरेको सूचनामा उल्लेख भएअनुसार चैत ६ गते शुक्रबार दाङ र नेपालगञ्जसहितका लुम्बिनी प्रदेशका तराई क्षेत्रका जिल्लाहरुमा हावाहुरी चल्ने सम्भावना छ । यसैगरी चैत ७ गते शनिबार पूर्वी क्षेत्रका विराटनगर, धनकुटा र धरान आसपासका जिल्लाहरूमा हावाहुरी चल्ने प्रक्षेपण छ । हावाहुरीको वेग ३३ मिटर प्रतिसेकेण्ड वा करिब ११९ किलोमिटर प्रतिघण्टाको हुने विभागले जारी गरेको सूचनामा उल्लेख छ ।‘यसकारण रुख ढल्ने, कमजोर संरचना र छाना उड्ने, विद्युत तथा सञ्चार सेवा प्रभावित हुने जोखिम रहन सक्छ । त्यसैले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ,’ विभागले भनेको छ ।

निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फबाट निर्वाचित सांसदहरुलाई प्रमाणपत्र वितरण गरेको छ । 
आयोगले बिहीवार एक कार्यक्रमका बीच समानुपातिकतर्फका १ सय १० जना सांसदहरुलाई प्रमाणपत्र वितरण गरेको हो । सांसदहरुलाई आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारी, निर्वाचन आयुक्तद्वय डा.जानुकाकुमारी तुलाधार र सगुन शमशेर जबराले प्रमाणपत्र वितरण गर्नुभएको हो । फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा समानुपातिकतर्फ ६ वटा राजनितिक दलले सिट प्राप्त गरेका थिए । समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीले ५७, नेपाली काँग्रेसले २०, नेकपा एमालेले १६, नेपाली कम्युनिष्ट पार्टीले ९, श्रमसंस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले ४÷४ सिट जितेका थिए । प्रत्यक्षतर्फ निर्वाचित भएका १ सय ६५ जना संसदलाई भने मतपरिणाम सार्वजनिक भएलगत्तै मुख्य निर्वाचन अधिकृत कार्यालयबाट प्रमाण पत्र दिईएको थियो ।

अरनिको राजमार्ग अन्तर्गत कोदारी क्षेत्रमा विगत एक दशकदेखि जोखिम बढाउँदै आएको ‘इको पहिरो’ नियन्त्रणको काम शुरु भएको छ ।
सडक डिभिजन कार्यालय चरिकोटले करिव ४७ करोड रुपैयाँ लागतमा ठेक्का सम्झौता गरी नेपालकै सबैभन्दा ठूलो ‘स्लोप स्टेबिलाइजेसन’ (भिरालो जमिन स्थिरीकरण) परियोजना अघि बढाएको हो । राजमार्गको १ सय १३ किलोमिटर चेनेजमा पर्ने यो पहिरो विगत ८–१० वर्षदेखि बग्न शुरु गरेको थियो । पहिरो निरन्तर बढ्दै जाँदा सडक पूर्णरूपमा क्षति हुनुका साथै सडकभन्दा माथि रहेका करिव २ सय ५० भन्दा बढी घरहरू उच्च जोखिममा परेका थिए । गत वर्षायाममा पहिरोले उग्र रूप लिएपछि स्थानीय बासिन्दाले दीर्घकालीन समाधानको माग गर्दै राजमार्ग नै अवरुद्ध गरेका थिए । त्यसपछि सडक विभागका महानिर्देशकसहितको टोलीले स्थानीयसँग सम्झौता गरी अर्थ मन्त्रालयबाट बजेट सुनिश्चित गरेर काम अघि बढाएको हो । 
सडक डिभिजन चरिकोटका प्रमुख नारायणदत्त भण्डारीकाअनुसार यो नेपालकै सबैभन्दा ठूलो पहिरो नियन्त्रण प्रोजेक्ट हो । यसका साथै, पहिरोलाई अड्याउन ३० मिटर गहिरोसम्म ‘सोइल र रक एंकर रड’ बिछ्याएर ग्राउटिङ गरिनेछ । सडकलाई एमएसई वालमार्फत सुरक्षित गरिनेछ भने सतहमा पनि ड्रेनहरू बनाएर पानीको व्यवस्थापन गरिनेछ ।
उहाँले भन्नुभयो, ‘तल भोटेकोशी नदीले कटान गरेका कारण यो पहिरो ठूलो भएको हो । यसलाई रोक्न नदीको किनारमा चट्टान (रक) नभेटिएसम्म जग खनेर ३२ एमएमको रडसहित आरसीसी वाल लगाइनेछ । पहिरोभित्र जमेको पानीले माटो बगाइरहेको छ । त्यसैले पानी बाहिर निकाल्न होरिजन्टल ड्रिलिङ गरी पाइप राखिनेछ भने ४ मिटर व्यासका ३ वटा ठूला कुवा (वेल) खनेर भित्री पानीलाई खोलामा पठाइनेछ ।’
यस परियोजनाको डिजाइन नेपालमा उपलब्ध वरिष्ठ जिओटेक्निकल इन्जिनियरहरू र विज्ञहरूको परामर्शमा तयार पारिएको हो । आगामी असार मसान्तसम्ममा मुख्य काम सक्ने र वर्षायामअघि नै थप क्षति नहुने गरी काम सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
निर्माणको जिम्मा पाएको टीएसएन कन्स्ट्रक्सनले आवश्यक उपकरण र स्रोतसाधन कार्यस्थलमा पु¥याइसकेको जनाएको छ । निर्माण कम्पनीका सञ्चालक टंकनाथ ढकालकाअनुसार यो सामान्य सडकको काम जस्तो नभई निकै चुनौतीपूर्ण इन्जिनियरिङ प्रोजेक्ट हो । 
उहाँले भन्नुभयो, ‘हामीले डे–नाइट काम गर्ने गरी आवश्यक पर्ने १८–२० मध्ये १५ वटा भन्दा बढी हेभी इक्विपमेन्ट ल्याइसकेका छौँ । स्थानीय बासिन्दाको पूर्ण सहयोग छ र उहाँहरू काम छिटो होस् भन्ने चाहनुहुन्छ ।’
यद्यपि सम्झौता भएको एक महिना बितिसक्दा पनि मन्त्रालय र विभागको केही प्रक्रियागत ढिलाइले कामले सोचेजस्तो गति लिन नसकेको गुनासो निर्माण पक्षको छ । स्थानीयले काम छिटो सक्न दबाब दिइरहेकाले सरकारी तवरबाट कुनै अवरोध नभएमा बर्खाअघि नै मुख्य कामहरु सम्पन्न गर्न सबै संयन्त्र परिचालन गरिने निर्माण कम्पनीले जनाएको छ । 

पोखरा ।  भारतीय राजधानी दिल्लीको एउटा बहुतले भवनमा बुधवार भएको भीषण आगलागीमा परी कम्तीमा नौ जनाको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् । शहरको पालम क्षेत्र नजिकै रहेको राम चोक बजारमा रहेको चारतले भवनभित्रको कपडा र कस्मेटिक्स पसलबाट आगलागी शुरु भएको थियो । अस्पतालमा १२ जनालाई ल्याइएको थियो । जसमध्ये नौ जनालाई मृत घोषित गरिएको र तीन जना घाइते भएका बताइएको छ । वरिष्ठ प्रहरी अधिकारी अभिमन्यु पोसवालकाअनुसार मृतकको पहिचान दुई पुरुष, चार महिला र तीन बालबालिकाको रूपमा गरिएको छ । पोसवालले फरेन्सिक र अपराध टोलीले घटनाको कारणबारे अनुसन्धान गरिरहेको र कानूनी प्रक्रिया शुरु गरिएको बताउनु भयो । प्रहरीकाअनुसार भवनको दोस्रो र तेस्रो तल्ला आवासीय इकाइहरू थिए । 

नागरिक लगानी कोष कास्की शाखाले आफ्‌नो ३६ औं वार्षिकोत्सव सम्पन्न गरेको छ । बुधाबर शाखा कार्यालय नयाबजारमा सम्पन्न कार्यक्रमलाई सम्बोधन गर्दै शाखा प्रमुख रामशोभा ढुंगानाले पछिल्लो समय बैंक तथा वित्तीय संस्थाबाट निक्षेपको माग घटेको र मुद्दती निक्षेपको ब्याजदर पनि कम भएको कारण कोषको रकम निष्क्रिय रहने स्थिति बढ्दै जाने अवस्था रहेको बताउनु भयो । साथै । लगानीको वातावरण पर्याप्त नबढेको वा लगानीकर्ताको आत्मविश्वास कमजोर भएको कारण पछिल्लो समय कर्जाको मागमा कमी आएको हुन सक्ने तर्फ संकेत गर्नूभयो । नागरिक लगानि कोषले आफ्‌ना सहभागिहरुलाई केन्द्रिय कार्यालय बाट उवलव्ध गराइका सबै सेवासुबिधाहरु स्थानिय स्तरमै पपलब्ध गराउने उद्यश्यले २०७१ साल बाट   कार्यालयको स्थापना भई २०७२ साल पौष २८ देखी निरन्तर सेवा प्रवाह गर्दै आइरहेको छ। यस कार्यालयले गण्डकी प्रदेशका ११ वटा जिल्ला लाई कार्यक्षेत्र बनाई सेवा प्रधान गरिरहेको छ ।

मधेस प्रदेश सरकारले ई–रिक्सा, अटो र ट्याक्टर चलाएर जीविकोपार्जन गर्ने विपन्न तथा निरक्षर नागरिकलाई लिखित परीक्षा नलिई सिधै प्रयोगात्मक (ट्रायल) परीक्षामार्फत लाइसेन्स दिने भएको छ । 
सय दिने उपलब्धी सार्वजनिक गर्दै मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्ण यादवले सवारी चालक अनुमति पत्र (लाइसेन्स) वितरण प्रक्रियामा महत्वपूर्ण सहजीकरण गर्ने बताउनुभएको हो । मुख्यमन्त्री यादवले प्रदेशमा ठूलो सङ्ख्यामा रहेका यस्ता चालकहरूको बाध्यतालाई बुझेर लिखित परीक्षा नलिई सिधै प्रयोगात्मक (ट्रायल) परीक्षामार्फत लाइसेन्स दिने कानूनी आधार तयार पारिएको घोषणा गर्नुभयो । मुख्यमन्त्रीले मोटरसाइकल जस्ता सवारी साधनहरू सौख र व्यक्तिगत प्रयोजनका लागि बढी प्रयोग हुने भएपनि ई–रिक्सा र ट्याक्टर पूर्णरूपमा गरिबको पेट पाल्ने माध्यम भएकाले यसलाई पहिलो प्राथमिकतामा राखिएको प्रस्ट पार्नुभयो । यस निर्णयले मधेस प्रदेशका हजारौँ विपन्न मजदुरहरूलाई कानूनी रूपमै सवारी चलाएर आफ्नो जीविकोपार्जन गर्न बाटो खुला गर्ने उहाँको विश्वास छ । 
उहाँले भन्नुभयो, ‘हाम्रो प्रदेशमा गरिबी छ । धेरै नागरिकसँग ई–रिक्सा र ट्याक्टर चलाएर मजदुरी गर्नुको विकल्प छैन । तर उनीहरू पढेलेखेका छैनन् र ऐन–कानूनले लाइसेन्स बिना सवारी चलाउन दिँदैन । निरक्षर भएकै कारण लिखित परीक्षा पास गर्न नसक्ने तर सवारी चलाउन पोख्त रहेका नागरिकको रोजगारी नगुमोस् भनेर सरकारले यो कदम चालेको हो ।’
मधेस प्रदेश सरकारले स्वास्थ्य उपचार अनुदान वितरणको विद्यमान झन्झटिलो र अव्यावहारिक कार्यविधिलाई पूर्ण रूपमा परिवर्तन गर्ने बताएको छ । मुख्यमन्त्री यादवले बिरामीले उपचारका लागि निवेदन दिने तर अनुदान रकम निकासा हुँदासम्म बिरामीकै मृत्यु भइसक्ने दुःखद् अवस्थाको अन्त्य गर्न नयाँ कार्यविधि ल्याउन लागिएको जानकारी दिनुभयो । यसका साथै, प्रदेश सरकारले स्वास्थ्य सेवालाई प्रविधिमैत्री बनाउन मोबाइलबाटै ई–टिकट काट्न सकिने व्यवस्था लागू गर्न लागेको बताउनु भयो । विगत दुई वर्षदेखि प्रदेशका स्वास्थ्य निकायहरूमा औषधि खरिद नभएको गम्भीर समस्यालाई औँल्याउँदै मुख्यमन्त्रीले यसपालि खरिद प्रक्रिया अगाडि बढाइसकिएको र चाँडै नै अस्पतालहरूमा औषधिको अभाव समाधान हुने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । 
उहाँले भन्नुभयो, ‘मान्छे एकाएक बिरामी हुन्छ । उपचारका क्रममा निवेदन दिन्छ तर पैसा रिलिज हुँदासम्म मान्छे एक्सपायर भइसक्छ । मृत्यु भइसकेपछि उपचार खर्च दिनुको कुनै अर्थ छैन । यसलाई सुधार गर्न प्रदेश सरकारले अब बिरामीलाई सिधै पैसा दिनुको सट्टा अस्पतालसँग समन्वय गर्नेछ । बिरामीले जुन अस्पतालमा उपचार गराउँछ, प्रदेश सरकारले सोही अस्पताललाई सीधै सोधभर्ना (भुक्तानी) गरिदिने व्यवस्था मिलाइनेछ । यसबाट बिरामीले जिउँदै हुँदा उपचार पाउने सुनिश्चितता हुनेछ ।’
मधेस प्रदेशलाई खेलकुद र धार्मिक पर्यटनको हब बनाउने उद्देश्यका साथ प्रदेश सरकारले ठूला पूर्वाधार निर्माणका योजनाहरू अघि सारेको बताउनु भयो ।

अमेरिकी राष्ट्रिय आतंकवाद विरोधी केन्द्रका निर्देशक जो केन्टले मंगलवार सामाजिक सञ्जालमार्फत आफ्नो पदबाट राजीनामा दिने निर्णय गरेको घोषणा गर्नुभएको छ । उहाँले इरानमा चलिरहेको युद्धलाई आफ्नो अन्तस्करणले समर्थन गर्न नसक्ने बताउनु भयो  इरानले अमेरिकालाई कुनै आसन्न खतरा खडा नगरेको र अमेरिकाले इजरायल र यसको शक्तिशाली अमेरिकी लबीको दबाबका कारण यो युद्ध शुरु गरेको बताउनु भयो । राष्ट्रपति डोनाल्ड ट्रम्पलाई लेखेको पत्रमा केन्टले यस प्रशासनको शुरुमै, उच्च पदस्थ इजरायली अधिकारीहरू र अमेरिकी मिडियाका प्रभावशाली सदस्यहरूले एउटा भ्रामक अभियान चलाएको बताउनु भयो । फेब्रुअरी २८ मा संयुक्त राज्य अमेरिका र इजरायलले इरानमा आक्रमण शुरु गरेदेखि कम्तिमा १३ अमेरिकी सैनिक मारिएका छन् । वाल स्ट्रिट जर्नलको शुक्रवारको रिपोर्टअनुसार अन्य १० जना गम्भीर घाइते भएका छन् भने करिव २ सय जना सामान्य घाइते भएका छन् । एक शिर्ष अमेरिकी आतंकवाद विरोधी अधिकारीको राजीनामाले इरान युद्धलाई लिएर ट्रम्प प्रशासनमाथि बढ्दो दबाबलाई संकेत गर्दछ । यो राजीनामा डेमोक्रेटिक सांसदहरू, व्यापारिक नेताहरू र ट्रम्पकै आफ्नै समर्थन आधारका केही वर्गहरूबाट भइरहेको तिब्र आलोचनाको बीचमा आएको हो । क्विनिपियाक युनिभर्सिटीको हालैको सर्वेक्षण अनुसार ५३ प्रतिशत मतदाताहरूले इरानविरुद्धको अमेरिकी सैन्य कारबाहीको विरोध गरेका छन् भने ४० प्रतिशतले यसलाई समर्थन गरेका छन् । यसमा उच्च स्तरको दलीय विभाजन देखिएको छ । ८९ प्रतिशत डेमोक्र्याट र ६० प्रतिशत स्वतन्त्र मतदाताहरूले इरानविरुद्धको अमेरिकी सैन्य कारबाहीको विरोध गर्छन् । जबकि ८५ प्रतिशत रिपब्लिकनहरूले यसलाई समर्थन गर्छन् । समग्रमा रिपब्लिकनहरूको बलियो समर्थन भएपनि ट्रम्पका कार्यहरूले केही रिपब्लिकनहरूबाट बढ्दो शंका र आलोचनाको सामना गरिरहेका छन् । यसले मेक अमेरिका ग्रेट अगेन आन्दोलनका केही समर्थकहरूमाझ पनि असन्तुष्टि पैदा गरेको छ ।

पाकिस्तानको वायुसेनाले अफगानिस्तानको राजधानी काबुलमा रहेको एउटा लागुऔषध दुव्र्यसनी उपचार अस्पताललाई लक्षित गरी हवाई आक्रमण गरेको छ । जसमा कम्तीमा ४ सय जनाको मृत्यु भएको र करिव २ सय ५० जना घाइते भएको एक अफगान अधिकारीले बताउनु भयो । अफगान सरकारका उपप्रवक्ता हमदुल्लाह फितरतले सामाजिक सञ्जाल एक्समा पोस्ट गरेको एक विज्ञप्तिमा सोमवार स्थानीय समयअनुसार राति करिव ९ बजे भएको हवाई आक्रमणले काबुलको ओमिद एडिक्सन ट्रिटमेन्ट अस्पतालमा प्रहार गरेको बताउनु भयो । लागुऔषध दुव्र्यसनी बिरामीहरूको उपचारका लागि समर्पित २ हजार शैय्याको यो अस्पताल आक्रमणमा ठूलो मात्रामा ध्वस्त भएको फितरतले बताउनु भयो । हताहत हुनेको संख्या अझै बढ्नसक्ने चेतावनी दिनुभयो । अधिकारीका अनुसार हवाई आक्रमणले अस्पतालमा ठूलो आगलागी भएको थियो । यसैबीच पाकिस्तानले सोमवार अफगान सरकारको दाबीलाई खण्डन गर्दै देशले अफगानिस्तानमा सैन्य प्रतिष्ठान र आतंकवादी समर्थन पूर्वाधारहरूलाई लक्षित गरेको बताएको छ । पाकिस्तानको सूचना तथा प्रशारण मन्त्रालयकाअनुसार पाकिस्तानी सुरक्षा बलले काबुल र अफगानिस्तानको नान्गाहार प्रान्तमा पाकिस्तानी जनता विरुद्ध प्रयोग हुने प्राविधिक उपकरण भण्डारण र गोलाबारुद भण्डारणलाई सटिक रूपमा लक्षित गरेको थियो । गत महिनाको अन्त्यमा उनीहरूको सीमामा झडप शुरु भएदेखि अफगानिस्तान र पाकिस्तानबीचको तनाव तिब्र रूपमा बढेको छ । अफगान र पाकिस्तानी अधिकारीहरूका अनुसार दुवै पक्षका दर्जनौं मानिस मारिएका र घाइते छन् । 

पोखरा ।  उपभोक्ताहरुले आधार सिलिण्डर एलपी (खाना पकाउने) ग्याँस विक्रीवितरण गर्दा आफूहरुले राहत पाएको बताएका छन् । 
मंगलवार काठमाडौंको टेकुस्थित नेपाल आयल निगमको केन्द्रिय कार्यालयमा ग्यास लिन पुगेका उपभोक्ताहरुले संकटमा राहत पाएको भन्दै आयल निगमप्रति आभार समेत व्यक्त गरेका छन् । गाह्रो भइरहेको बेला आधा सिलिण्डर भएपनि ग्याँस पाउँदा खुशी लागेको उनीहरुको प्रतिक्रिया थियो । 
एक उपभोक्ताले भन्नुभयो, ‘ग्याँसहरु कतै नपाएर यहाँ त्रिपुरेश्वरतिर लिन आएको छु । अब यहाँ पनि आधी नै पाईराखेको छ । ९५५ प्राईज भईहाल्यो । यस्तै हो । गाह्रो भईराखेको छ सबैलाई । त्यही भएर आधी पाए पनि खुशी नै हो । काम चलाउन पुगिराखेको छ । पछि के हुन्छ । सबैले मिलेर समस्या समाधान गरौला । समय अनुसार सबै कुरा ठिकै हुन्छ भनेर भन्छु ।’
नजिकको ग्याँस डिपोमा १० दिन कुर्दा पनि ग्यास नपाएपछि हैरानी व्यहोरेकी अर्की उपभोक्ताले आधि सिलिण्डर भएपनि उपलब्ध गराएको भन्दै नेपाल आयल निगमप्रति आभार व्यक्त गर्नुभयो ।  उपभोक्ताहरुले ग्याँसको अभावमा आफूहरु भोकभोकै बस्नुपर्ने अवस्था आएको गुनासो पनि गरेका छन् । 
उहाँले भन्नुभयो, ‘म कलंकी बस्छु । मैले १० दिन भयो खशी बजारमा नाम लेखाएको । तर मेरो चाहीँ कहिल्यै पनि पालो आएन । आज त मेरो तल बस्ने भाईहरुको ग्याँसै सकियो । खाना पाकेन उनीहरुको । आज चाही अति भयो भनेर धेरै ठाउँमा फोन गर्दा बल्ल थाहा भयो यहाँ दिइराखेको भनेर । आधार सिलिण्डर भएपनि लिइयो । थ्यांकक्यू उहाँहरुलाई ।’
यता, आयल निगमले भने उपभोक्ताहरुको अभाव पूर्ति हुनेगरी वितरणको काम भइरहेको दाबी गरेको छ । निगमका प्रतिनिधि विनोदकुमार वैद्यले उपभोक्ताले रित्तो हात फर्कन नपर्ने गरी वितरणको व्यवस्था मिलाइएको बताउनु भयो ।

पोखरा ।  नेपालभर पछिल्लो २४ घण्टामा विभिन्न प्राकृतिक तथा गैर–प्राकृतिक विपद्का घटनामा परी ४ जनाले ज्यान गुमाएका छन् । साढे २ करोड रुपैयाँभन्दा बढीको आर्थिक क्षति भएको छ । नेपाल गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो बुलेटिनअनुसार देशका ४३ जिल्लामा विपद्का घटनाहरू रेकर्ड भएका हुन् । 
पछिल्लो २४ घण्टाको विपद् अवस्था
चैत २ गते बिहान १० बजेदेखि चैत ३ गते बिहान १० बजेसम्मको अवधिमा देशभर कुल ७३ वटा विपद्का घटना घटेका छन् । यी घटनामा परी ४ जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । मृत्यु हुनेमा हावाहुरीबाट २ जना, सर्पदंशबाट १ जना र चट्याङ लागेर १ जना रहेका छन् । यस अवधिमा सबैभन्दा बढी हावाहुरीका ४६ वटा र आगलागीका १२ वटा घटना दर्ता भएका छन् । विपद्का कारण २ करोड ४१ लाख ६ हजार ९ सय रुपैयाँ बराबरको अनुमानित क्षति भएको प्राधिकरणले जनाएको छ । साथै, २७ वटा चौपायाको समेत क्षति भएको छ । यी घटनाहरूको उद्धार र व्यवस्थापनका लागि ३ सय ४९ जना प्रहरी परिचालन गरिएको थियो ।
यस वर्ष हालसम्मका मुख्य विपद् र क्षति (वैशाख १ देखि चैत ३ सम्म)
प्राधिकरणको तथ्यांकअनुसार २०८२ साल वैशाख १ गतेदेखि चैत ३ गतेसम्म देशभर कुल ६ हजार ९ सय ५१ वटा विपद्का घटना भइसकेका छन् । यी घटनाहरूमा परी हालसम्म ४ सय ७५ जनाले ज्यान गुमाएका छन् भने ३८ जना अझै बेपत्ता छन् । त्यसैगरी, १ हजार ८ सय ४६ जना घाइते भएका छन् भने १२ हजार ६ सय ५० परिवार प्रत्यक्ष रूपमा प्रभावित भएका छन् । 
यस वर्ष सबैभन्दा बढी मानवीय क्षति आगलागीबाट भएको छ । जसमा १०० जनाको मृत्यु भएको छ । त्यसपछि सर्पदंशबाट ९८, पहिरोबाट ७४, जनावरको आक्रमणबाट ५४ र चट्याङबाट ४७ जनाको मृत्यु भएको तथ्यांकमा उल्लेख छ । 
मौसम तथा तापक्रमको अवस्था
पछिल्लो २४ घण्टामा देशका विभिन्न भागमा वर्षा भएको छ । प्राधिकरणकाअनुसार ३ सय ३४ वटा वर्षा मापन केन्द्रमध्ये १२३ वटा केन्द्रमा वर्षा रेकर्ड गरिएको छ । सबैभन्दा बढी वर्षा धनकुटा जिल्लाको मुलघाट केन्द्रमा ३५.० मिलिमिटर मापन गरिएको छ ।
तापक्रमतर्फ, देशकै सबैभन्दा बढी गर्मी रुपन्देहीको भैरहवामा महशुस गरिएको छ, जहाँको अधिकतम तापक्रम ३४.५ डिग्री सेल्सियस पुगेको छ । त्यसैगरी, सबैभन्दा चिसो मनाङको हुम्देमा रेकर्ड गरिएको छ, जहाँको न्युनतम तापक्रम माइनस ८.५ (–८.५) डिग्री सेल्सियस मापन गरिएको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।