
गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो २४ घण्टाको विवरणअनुसार मुलुकका विभिन्न ३० जिल्लामा ३६ वटा विपद्का घटनाहरू भएका छन् । चैत ६ गते बिहान १० बजेदेखि ७ गते बिहान १० बजेसम्मको अवधिमा भएका यी घटनाहरूमा परी एक जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । पछिल्लो २४ घण्टामा सबैभन्दा बढी चट्याङका घटनाहरू भएका छन् । ९ जिल्लामा भएका १० वटा चट्याङका घटनामा परी १० जना घाइते भएका छन् । त्यस्तै ७ जिल्लामा भएका ७ वटा आगलागीका घटनामा २ जना घाइते भएका छन् । लेक लागेर २ जिल्लामा २ वटा घटना भएका छन् । जसमा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । यसका साथै अविरल वर्षा, पहिरो, हावाहुरी र जनावर आक्रमणका घटनाहरू पनि दर्ता भएका छन् ।
३० लाखभन्दा बढीको आर्थिक क्षति
विपद्का यी घटनाहरूबाट ठूलो मात्रामा भौतिक तथा आर्थिक क्षति भएको छ । प्राधिकरणकाअनुसार पछिल्लो २४ घण्टामा करिब ३० लाख ८६ हजार रुपैयाँ बराबरको अनुमानित आर्थिक क्षति भएको छ । यसै अवधिमा ३० वटा चौपायाको समेत क्षति भएको विवरण प्राप्त भएको छ । उद्धार र राहतका लागि देशभर १ सय ७७ जना प्रहरी जनशक्ति परिचालन गरिएको थियो ।
७ हजारभन्दा बढी घटना, ४ सय ७९ को मृत्यु
२०८२ वैशाख १ गतेदेखि चैत ७ गतेसम्मको समग्र तथ्यांक हेर्दा नेपालमा विपद्का घटनाहरू भयावह देखिएका छन् । यस अवधिमा कुल ७ हजार १ सय ४० वटा विपद्का घटनाहरू भएका छन् । जसमा परी ४ सय ७९ जनाले ज्यान गुमाएका छन् । तथ्यांकअनुसार ३८ जना अझै बेपत्ता छन् भने १ हजार ८ सय ७० जना घाइते भएका छन् ।
विगत एक वर्षमा भएका प्रमुख घटना र मानवीय क्षति
विगत एक वर्षमा आगलागीका ३ हजार ४ सय ४३ घटना भएका छन् । जसबाट १०२ जनाको मृत्यु भएको छ । त्यसतै सर्पदंशका ५ सय ९६ घटनाबाट ९८ जनाको मृत्यु भएको छ । त्यस्तै पहिरोका ६०१ घटनाबाट ७४ जनाको मृत्यु भएको छ । जनावर आक्रमणका ४ सय ९५ घटनाबाट ५५ जनाको मृत्यु भएको छ भने चट्याङका ३ सय ९३ घटनाबाट ४७ जनाको मृत्यु भएको छ । विगत एक वर्षमा बाढीका ३ सय २० घटनाबाट ३८ जनाको मृत्यु भएको छ । यस अवधिमा कुल १२ हजार ९ सय ९४ परिवार विपद्का घटनाबाट प्रभावित भएका छन् ।
वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारमा जाने श्रमिक अभिमुखीकरण तालिम संशोधन कार्यविधि २०८१/६/७ को जबरजस्त लागु गरेको भन्दै सरोकारवाहरुले गुनासो व्यक्त गरेका छन् । ओरियन्टेसन लाई कलस्टल सिस्टममा लैजाने तथा एक संस्था एक कलस्टल गर्दै संशोधित कार्यविधि अनुसार फिन्गर प्रिन्ट मा सेटिङ भयो भन्दै आइरिस मिसिन लगायतका मापदण्ड हुनेगरि शुल्क २१०० तोकियो । शुल्क बढ्दा वैदेशिक रोजगारीमा जाने श्रमिक लाई भार पर्ने साथै कलस्टल लागु हुदा श्रमिक अनिवार्य काठमाडौँ नै धाउनुपर्ने बाध्यात्मक परिस्थिति सिर्जना हुने भयकोले केही संस्थाले विरोध गरे । त्यसको विरोध स्वरूप सरकार लाई प्रतिवादी बनाउँदै अदालतमा मुद्दा दायर भयो उक्त मुद्दा हाल सम्म पनि विचाराधीन अवस्थामा छ । तर ओरियन्टेसन महासङ्घका केही व्यवसायीहरू र विभागका कर्मचारीको मिलेमतोमा युरोपियन कलस्टल सिन्डिकेट गरि नेपाली श्रमिकलाई काठमाडौँ धाउन बाध्य पारिरहेको सेवाग्राहीको गुनासो गरेका छन् ।
विभागले पछिल्लो समय मलेसिया जाने नेपाली श्रमिकको माग बढेसँगै अन्य कलस्टल्बाट मलेसिया कलस्टलमा परिवर्तन गर्न ओरिएन्टेसन व्यावसायिक लाई निर्देशन गरेको थियो । पछिल्लो समय धेरै सङ्ख्यामा युरोपियन मुलुकमा काम गर्न जाने नेपाली श्रमिक छन् तर युरोपियन कलस्टलमा व्यावसायिक आफै जान इच्छुक भई निवेदन पेस गर्दा पनि वैदेशिक रोजगार विभाग विभिन्न बहानामा आनाकानी गर्दै आइरहेको स्रोत बताउँछ । यस्तो प्रवृत्तिले गर्दा बिभागलेनै नचाहेको होकि कसैको दबाबमा परेर आनाकानी गरिरहेको हो भन्दै सेवाग्राहीले गुनासो गरेका छन् ।
भारतको बिहार क्षेत्रमा रहेको एक प्रणाली बागमती प्रदेशमा प्रवेश गरेर वर्षा गराउने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसमविद् उज्जवल उपाध्यायका अनुसार भारतको गोरखपुर-बगाहा हुँदै प्रवेश गरिरहेको उक्त प्रणाली हाल उत्तर-पूर्व सर्ने क्रममा छ । यो प्रणाली नेपालमा पहिलेदेखि सक्रिय रहेको वर्षा प्रणालीसँग ठोक्किने भएकाले केहीबेर भीषण वर्षा गराउने उच्च सम्भावना छ। मौसमविद् उपाध्यायका अनुसार यो प्रणाली पश्चिम चितवनबाट सुरु भएर पूर्वतर्फ बढ्नेछ । यसको प्रभावका कारण चितवनको भण्डारा, टाँडी, भरतपुर, मुग्लिङ र शक्तिखोर क्षेत्रमा ठूलो वर्षा हुने अनुमान गरिएको छ ।
साथै, धादिङ र उत्तरी मकवानपुर हुँदै यो प्रणाली बिहान १० देखि ११ बजेको आसपासमा काठमाडौं उपत्यका आइपुग्ने अनुमान छ। उनका अनुसार यो वर्षाको अवधि बढीमा ३ घण्टाको हुनेछ । काठमाडौं उपत्यका आइपुग्दा यो प्रणाली केही कमजोर भइसक्ने भएकाले उपत्यकामा ठूलो वर्षाको सम्भावना भने कम देखिएको छ । यो वर्षापछि भने पश्चिम तथा काठमाडौं उपत्यका र मध्य क्षेत्रको मौसम क्रमशः खुल्दै जाने बताइएको छ । मौसमविद हरिप्रसाद दाहालका अनुसार आजै रातिबाट यो प्रणालीको प्रभाव कम हुँदै जाने सम्भावना छ । हिजो मात्रै देशका विभिन्न स्थानमा मेघ गर्जनसहित ठूलो हुरीबतास र असिना पानी परेको थियो । हिजोको सो मौसमी घटनाले जनजीवन केही प्रभावित बनेको थियो भने स्थानीय स्तरमा बालीनाली र संरचनामा पनि सामान्य क्षति पुगेको थियो।
सबैभन्दा धेरै वर्षा मोरङको लेटाङमा
जल तथा मौसम विज्ञान विभागका अनुसार गत २४ घण्टामा सबैभन्दा धेरै वर्षा मोरङको लेटाङमा भएको छ । आज बिहान सवा ८ बजेसम्मको विवरण अनुसार लेटाङमा ६१.६ मिलिमिटर वर्षा रेकर्ड भएको छ । वर्षासँगैको भलबाढी र हावाहुरीले विभिन्न जिल्लामा सडक, विद्युत र सन्चार सेवा प्रभावित भएको समाचार छ । शुक्रबारकै प्रणालीकै निरन्तरता र थप विकसित वायुका कारण आज चितवन र आसपासका क्षेत्रमा पुनः वर्षाको सम्भावना बढेको मौसमविदको भनाइ छ । मौसममा भइरहेको परिवर्तन र वर्षाको सम्भावनालाई मध्यनजर गर्दै सम्बन्धित क्षेत्रका बासिन्दाहरूलाई आवश्यक सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन् । विशेष गरी हुरीबतास र चट्याङको जोखिमप्रति सचेत रहन मौसमविद्हरूको सुझाव छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रवार आफू इरान विरुद्धको अमेरिकी सैन्य आक्रमणलाई ‘कम गर्ने’ विचार गरिरहेको बताउनुभएको छ । संयुक्त राज्य अमेरिका आफ्ना उद्देश्यहरू पूरा गर्न ‘धेरै नजिक’ पुगेको बताउनु भयो । ट्रम्पले उल्लेख गरेका उद्देश्यहरूमा इरानको मिसाइल क्षमतालाई कम गर्ने, यसको रक्षा औद्योगिक आधार नष्ट गर्ने, यसको नौसेना र वायुसेनालाई हटाउने, यसलाई आणविक क्षमताको नजिक पुग्नबाट रोक्ने र यस क्षेत्रका अमेरिकी सहयोगीहरूको रक्षा गर्ने समावेश छ । ट्रम्पले आफू इरानसँग युद्धविराम नचाहने पनि बताउनु भयो । ट्रम्पले नाटो सहयोगीहरूलाई सुरक्षामा मद्दत गर्न हिचकिचाहट देखाएकोमा ‘कायर’ भनेर कडा आलोचना समेत गर्नुभयो ।
पोखरा महानगरपालिकाले सुशासन र योजना तर्जुमाका लागि एउटा ठूलो फड्को मारेको छ ।
मेयर धनराज आचार्यकाअनुसार पोखराभित्र कति घर छन् र नागरिकको आर्थिक अवस्था के छ भन्ने कुरा विगतमा केवल अनुमानका भरमा चल्ने गरेको थियो । तर अहिले महानगरले ‘प्राइमरी डेटा’ नै संकलन गरेर हरेक घरको विस्तृत विवरण तयार पारेको छ । यस तथ्याङ्कअनुसार पोखरा महानगरपालिकाभित्र १ लाख ४८ हजार ७२५ घरहरू रहेका छन् । यो तथ्यांक संकलनका क्रममा कुन घर गरिबीको रेखामुनि छन्, को बेरोजगार छ, को रोजगार छ र कुन परिवारको आर्थिक अवस्था कस्तो छ भन्ने सबै विवरण निकालिएको छ । यसै तथ्याङ्कका आधारमा पोखरालाई नेपालको सबैभन्दा धनी शहरको रूपमा स्थापित गर्न र लक्षित वर्गका लागि प्रभावकारी योजना बनाउन सजिलो भएको मेयर आचार्यले बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘पोखराभित्र कति घर छन् । यसको स्टाटस के हो भन्ने कुरा चाहीँ विभिन्न खालका अनुमानका कुरा थिए । हामीले प्राईमरी डेटा नै लिएर हरेक हरेक घरको डेटा लिएका छौँ । यो भनेको एक लाख ४८ हजार ७ सय २५ घर छ । कति घर गरिवीको रेखामुनि छन् । को बेरोजगार छ, को रोजगार छ ? यी सबै अवस्था निकालेका छौँ । यसको कारणले गर्दा पोखरा नेपालको सबैभन्दा धनी शहरको रुपमा पनि स्थापित छ ।’ यो डेटाबेसले महानगरको राजश्व संकलन, शहरी योजना र सामाजिक सुरक्षाका कार्यक्रमहरू सञ्चालन गर्न एउटा बलियो जग खडा गरेको छ । अनुमानका भरमा बजेट बाँड्ने परिपाटीलाई अन्त्य गर्दै तथ्यमा आधारित विकासको मोडल पोखराले शुरु गरेको उहाँको भनाइ छ ।
‘होर्मुज स्ट्रेट’ मा अप्रिलको अन्त्यसम्म अवरोध कायमै रहेमा तेलको मूल्य प्रति ब्यारेल १८० डलरसम्म पुग्न सक्ने साउदी अरबका अधिकारीहरूले आकलन गरेका छन् ।द वाल स्ट्रिट जर्नलले नाम नखुलाइएका धेरै स्रोतहरूलाई उद्धृत गर्दै प्रकाशित सामग्रीमा साउदी अरबका अधिकारीहरूले यस्तो विश्वास व्यक्त गरेको हो । फेब्रुअरी २८ मा इरान युद्ध सुरु भएयता तेलको मूल्यमा तीव्र उतारचढाव आइरहेको छ। बिहीबार ब्रेन्ट क्रुडको मूल्य केही समयका लागि प्रति ब्यारेल ११९ डलरको नजिक पुगेर फेरि घटेको थियो। रियादस्थित किङ फैसल सेन्टर फर रिसर्च एन्ड इस्लामिक स्टडिजका साउदी अरबको विदेश नीतिका विशेषज्ञ उमेर करिमले अलजजिरालाई बताएअनुसार, युद्ध यसरी नै अगाडि बढिरहे तेलको मूल्य प्रति ब्यारेल कम्तीमा १५० डलर पुग्ने सम्भावना उनले औंल्याए । ‘यदि यी लाल सागरका टर्मिनलहरूमा आक्रमण भयो भने, यदि लाल सागरभित्र कुनै पनि प्रकारको अवरोध भयो भने मलाई लाग्छ १५० डलरभन्दा माथि पुग्ने सम्भावना धेरै छ,’ करिमले भने। उनले थपे, ‘अहिले, युरोप र एसियाबीचको यो एक मात्र सम्भाव्य सम्पर्क मार्ग हो ।’ साउदी अरबले खाडीबाट १,००० किलोमिटरभन्दा बढी दूरीमा रहेको लाल सागरको यान्बु बन्दरगाहबाट तेल निर्यातलाई निरन्तरता दिइरहेको छ । खाडीभरिका ऊर्जा केन्द्रहरू इरान र इजरायल दुवैको आक्रमणको सिकार भइरहेकाले यो बन्दरगाह पनि निशाना बन्न सक्ने साउदी अधिकारीहरूको आशंका छ ।
रास लाफानको क्षतिको असर कति ?
पेरिसस्थित सेन्टर अन ग्लोबल एनर्जी पोलिसीकी एनी-सोफी कोर्बोका अनुसार, कतारमा रहेको विश्वको सबैभन्दा ठूलो तरल प्राकृतिक ग्यास (एलएनजी) निर्यात प्लान्ट रास लाफान यसै साता इरानको आक्रमणमा परेपछि लामो मर्मतसम्भार गर्न कति लाग्छ भन्ने हिसाबकिताब गरिरहेको छ । ‘क्षतिको प्रभाव हामीलाई अझै थाहा छैन,’ कोर्बोले भनिन्। उनले थपिन्, ‘अन्य एलएनजी केन्द्रहरूमा भएका अघिल्ला घटनाहरूको आधारमा, यसलाई मर्मत गर्न महिनौं लाग्न सक्छ।’ उनले थपिन्, ‘यसअघि एलएनजी केन्द्रमा भएको ठूलो घटना सन् २०२२ मा टेक्सासमा रहेको फ्रिपोर्ट एलएनजीमा भएको थियो । उक्त केन्द्र आठ महिनासम्म बन्द भएको थियो।’
त्यसअघि, सेप्टेम्बर २०२० मा आगलागी भएपछि नर्वेको स्नोभिट डेढ वर्षसम्म बन्द भएको उनले बताइन् । ‘सबैभन्दा खराब अवस्थाको परिकल्पना गर्दा, रास लाफान सन् २०२६ सम्म पुनः सञ्चालनमा नआउन सक्छ, जसको अर्थ २०२६ मा एलएनजीको आपूर्ति हामी २०२१ मा जति थियौं, लगभग त्यही स्तरमा पुग्नेछ,’ उनले भनिन्। यो पाँच वर्षको धक्का हुन सक्ने उनको विश्लेषण छ । ‘विश्वका लागि र ग्यासको मूल्यमा यसको प्रभाव धेरै व्यापक हुनेछ,’ उनले भनिन्।
पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पोखरामा हालै देखिएको फोहोरमैलाको समस्या समाधानको बाटोमा गएको बताउनुभएको छ ।
अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन र हालैका आन्दोलनका कारण सिर्जित फोहोरले व्यवस्थापनमा केही असहजता ल्याएपनि महानगरले अल्पकालीन र दीर्घकालीन दुवै समाधानका काम सँगसँगै अघि बढाएको उहाँले स्पष्ट पार्नुभएको हो । लामो समयसम्म फोहोर नउठेर आलोचना खेप्नुपरेको भन्दै मेयर आचार्यले चुनावको मुखैमा फोहोर उठ्न नसक्नुको मुख्य कारण साउन–भदौसम्म पुग्ने अनुमान गरिएको अस्थायी विसर्जन केन्द्र ‘जेनजी मुभमेण्ट’ (आन्दोलन) का कारण छिट्टै भरिएको थियो । मेयर आचार्यले चुनावको समयमा नयाँ ठाउँ खोज्न र व्यवस्थापन गर्न कठिन भएपनि गत ३० गतेबाट नयाँ अस्थायी विसर्जन केन्द्र तयार गरी फोहोर उठाउन थालिएको र अब पोखरा पुरानै अवस्थामा सफा हुने उनले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘आन्दोलनमा ११८ वटा सरकारी भवनहरू डढे, भाटभटेनीलगायत निजी क्षेत्रका सयौँ ट्रक डढेका र अधकल्चा सामानहरू फोहोरको रूपमा आए, जसले गर्दा फोहोर फाल्ने ठाउँ अनुमानभन्दा धेरै छिटो भरियो ।’
दीर्घकालीन समाधानका लागि महानगरले ‘फोहोरबाट मोहोर’ को अवधारणाअन्तर्गत काम शुरु गरिसकेको छ । पोखरामा दैनिक करिव २२५ टन फोहोर उत्पादन हुने गरेको तथ्यांक प्रश्तुत गर्दै मेयर आचार्यले यसबाट साढे ७ मेगावाट बिजुली बराबरको ऊर्जा उत्पादन गर्न सकिने बताउनु भयो । यसका लागि युरोपियन प्रविधि प्रयोग गरी एलपिजी ग्यास (शुरुमा सिएनजी), कम्पोस्ट मल र निर्माणका ब्लकहरू उत्पादन गर्न अस्ट्रेलियामा रहेका गैरआवासीय नेपाली (एनआरएन) हरूको टोलीलाई गत मङ्सिर ९ गते ठेक्का दिइसकिएको छ ।
‘अबको ६ देखि ८ महिनाभित्रै मेसिनरी जडान गरी १ वर्षभित्रमा नेपालकै नमूना फोहोर प्रशोधन केन्द्र सञ्चालनमा आउनेछ । यो टिकट काटेर हेर्नलायक बन्नेछ ।’ उहाँको दाबी छ ।
विमानस्थलका कारण पुरानो ल्याण्डफिल साइट सार्नुपरेको बाध्यता
यसअघि एशियाली विकास बैंक (एडिबी) को सहयोगमा १९ वर्षअघि निर्माण गरिएको अत्याधुनिक सेनेटरी ल्याण्डफिल साइट अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि चराहरूको जोखिम कम गर्न बन्द गर्नुपरेको थियो । सन् २०२३ जनवरी १ बाट विमानस्थल शुरु भएपछि वडा नम्बर ३२ को लामेआहालमा अस्थायी व्यवस्थापन गरिँदै आइएको थियो ।
फोहोरमा राजनीति नगर्न आग्रह
मेयर आचार्यले फोहोरमैलामा राजनीति नगर्न र अनावश्यक टीकाटिप्पणी नगर्न सबैलाई आग्रह गर्नुभएको छ ।
उहाँले भन्नुभयो, ‘आफ्नो घर अगाडिको फोहोर उठ्नुपर्छ भन्ने तर आफ्नो वडामा फाल्न नदिने प्रवृत्ति जतासुकै छ । शहर सफा राख्ने दायित्व हामी सबैको हो ।’
हाल फोहोर विसर्जन भइरहेको नयाँ स्थानमा मानव स्वास्थ्य र पर्यावरणमा कुनै असर नपर्ने गरी प्राविधिक व्यवस्थापन गरिएको प्रतिवद्धतासमेत उनले जनाएका छन् । पोखरा देशकै सबैभन्दा सफा शहर भएको र यसलाई कायम राख्न महानगरका सयौँ कर्मचारी दैनिक खटिरहेको स्मरण गराउँदै उनले पोखरेलीहरूको आफैँ सडक सफा गर्ने पुरानो संस्कृतिको समेत प्रशंसा गर्नुभयो ।
नेपाल तयारी पोशाक उद्योग संघका अध्यक्ष पशुपतिदेव पाण्डेले नेपालमा निर्यात प्रवद्र्धनका लागि इ–कमर्स र पेमेन्ट गेटवे प्रणाली सहज बनाउन आवश्यक रहेको बताउनुभएको छ । उहाँले अहिले नेपाललाई विदेशबाट सामान किन्ने एप वा पोर्टलभन्दा पनि नेपालका उत्पादन अन्य देशमा बेच्न सक्ने अनलाइन प्लेटफर्म आवश्यक रहेको बताउनु भयो । नेपालबाट बैंकिङ च्यानल प्रयोग गरेर विदेशबाट सामान किन्न सकिने व्यवस्था भएपनि अहिलेको अवस्थामा त्यस्तो प्रणालीभन्दा नेपालका वस्तु विश्व बजारमा बेच्न मिल्ने एप वा पोर्टल विकास गर्नु आवश्यक रहेको उहाँको भनाइ छ । अध्यक्ष पाण्डेकाअनुसार नेपालमै इकमर्स पेमेन्ट गेटवे प्रणाली विकास गरेर पेपल, अमेजनजस्ता अन्तर्राष्ट्रिय कम्पनीहरूलाई नेपालमा आकर्षित गर्नुपर्छ । ती कम्पनीहरू नेपालमा स्थापना भएमा नेपालका निर्यातजन्य वस्तुहरूको विश्व बजार विस्तार गर्न सहयोग पुग्ने उहाँले बताउनु भयो ।
अध्यक्ष पाण्डेले भन्नुभयो– ‘पेमेन्ट गेट वेलाई सहज बनाउन जरुरी छ । अहिले हामीलाई विदेशको समान नेपाल किन्ने एप, पोर्टलहरुलाई चाहिएको छैन । यहाँको बैंकिङ च्यानलबाट विदेशको समान किन्दा बित्तिकै हामी आकर्षित त भइन्छ होला, तर त्यसलाई अहिले रोकेर नेपालको समान अन्यत्र मुलुकमा बेच्न मिल्ने एप, अनलाइन पोर्टल बनाउनुपर्छ । यस्तो पोर्टल हामी बनाउन सक्छौँ । त्यसलाई इकमर्श पेमेन्ट गेट वे, पेपल, अमेजनजस्ता कम्पनीलाई नेपालमा आकर्षित गर्न जरुरी छ । ती कम्पनीहरु नेपालमा पनि स्थापना गर्नुपर्छ । नेपालमा निर्यातजन्य वस्तुको संसारभरी बजार विस्तार गर्न पोर्टलको व्यवस्था गर्न जरुरी छ । अध्यक्ष पाण्डेले आयकरसहित निर्यात अनुदानमा देखिएका समस्या समाधान गर्नुपर्ने पनि बताउनु भयो । निर्यात अनुदान पाउन हरेक वर्ष कार्यविधि परिवर्तन हुने प्रवृत्ति अन्त्य गर्नुपर्ने उहाँको भनाइ छ । त्यस्तै, निर्यातसम्बन्धी सम्पूर्ण सरकारी कामहरू फेसलेस प्रणालीमार्फत सञ्चालन गर्नुपर्ने उल्लेख गर्दै उहाँले त्यसले निर्यात प्रक्रिया सहज हुने र निर्यात बढ्न सहयोग पुग्ने बताउनु भयो । उहाँले अहिले करिव ८० लाख नेपाली विदेशमा बसिरहेको उल्लेख गर्दै उनीहरूले पठाएको रेमिट्यान्सलाई उत्पादन र लगानीमा कसरी उपयोग गर्ने भन्ने विषयमा सरकारले स्पष्ट नीति बनाउनु आवश्यक रहेको बताउनु भयो ।
पोखरा । गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले आगामी तीन दिन देशका विभिन्न भागमा भारी वर्षा, हिमपात र भीषण हावाहुरीको सम्भावना रहेको भन्दै सर्वसाधारणलाई उच्च शतर्कता अपनाउन अनुरोध गरेको छ । जल तथा मौसम विज्ञान विभागले जारी गरेको मौसम पूर्वानुमानलाई उद्धृत गर्दै प्राधिकरणले चैत ६ गते शुक्रवारदेखि मौसममा उल्लेख्य बदलाव आउने जानकारी दिएको हो । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले आगामी तीन दिनको मौसम पूर्वानुमानलाई मध्यनजर गर्दै देशभरका नागरिकलाई विशेष शतर्कता अपनाउन अपील गरेको छ । जल तथा मौसम विज्ञान विभागको विवरणअनुसार देशका विभिन्न भागमा भारी वर्षा, हिमपात र विनाशकारी हावाहुरी चल्ने सम्भावना देखिएको छ ।
कर्णाली र सुदूरपश्चिममा वर्षा र हिमपातको सम्भावना
प्राधिकरणकाअनुसार चैत्र ६ गते शुक्रवार दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा र हिमपात हुने सम्भावना छ । हिमाली क्षेत्रमा हुने हिमपातका कारण चिसो बढ्ने र जनजीवन प्रभावित हुन सक्ने भएकाले ती क्षेत्रका बासिन्दालाई सचेत रहन आग्रह गरेको छ ।
लुम्बिनी र पूर्वी नेपालमा तिब्र हावाहुरीको चेतावनी
शुक्रवारदेखि नै लुम्बिनी प्रदेशका दाङ र नेपालगञ्जसहित तराईका जिल्लाहरूमा हावाहुरीको जोखिम बढेको छ । शनिवार पूर्वी क्षेत्रका विराटनगर, धनकुटा र धरान आसपासका जिल्लाहरूमा झन्डै १ सय १९ किलोमिटर प्रतिघण्टाको गतिमा तिब्र हावाहुरी चल्ने सम्भावना रहेको प्राधिकरणले जनाएको छ ।
शनिवार पूर्वी नेपालमा भीषण हावाहुरीको जोखिम
आगामी शनिवार पूर्वी नेपालका विराटनगर, धनकुटा र धरान लगायतका आसपासका जिल्लाहरूमा झन्डै ११९ किलोमिटर प्रतिघण्टाको वेगमा तिबक्र हावाहुरी चल्ने प्रक्षेपण गरिएको छ। प्रि–मनसुनको अवधि भएकाले यस्तो हावाहुरीले रुख ढाल्ने, कमजोर संरचना र छाना उडाउने तथा विद्युत र सञ्चार सेवा प्रभावित पार्नसक्ने जोखिम रहेको प्राधिकरणले जनाएको छ । पछिल्ला दिनहरूमा हावाहुरीका कारण मानवीय क्षति समेत भएकाले थप सचेतना आवश्यक रहेको सूचनामा उल्लेख छ ।
सम्भावित जोखिम र हालको अवस्था
प्रि–मनसुनको अवधि भएकाले तिब्र हावाहुरीका कारण रुखहरू ढल्ने, कमजोर संरचना र घरका छानाहरू उड्ने, तथा विद्युत र सञ्चार सेवा अवरुद्ध हुने जस्ता जोखिमहरू रहन्छन् । पछिल्ला केही दिनमा हावाहुरीका कारण विभिन्न स्थानमा मानवीय क्षति समेत भइसकेको सन्दर्भमा प्राधिकरणले थप गम्भीर हुन नागरिकहरूलाई आग्रह गरेको हो ।
नागरिकका लागि प्राधिकरणको विशेष सुझाव
प्राधिकरणले जोखिमबाट बच्न प्राधिकरणले शतर्कता अपनाउन अनुरोध गरेको छ । विशेष काम नपरी यात्रामा ननिस्कन र सुरक्षित स्थानमा आश्रय लिन, हावाहुरी चलेको बेला घरका झ्याल र ढोका राम्रोसँग बन्द गर्न, आगोका स्रोतहरू (चुल्हो, ग्यास आदि) बन्द राख्न,सवारी साधन चलाइरहेको भए सुरक्षित स्थानमा रोकेर बस्न, भीडभाडमा भए नआत्तिन र भागदौड नगरी बिस्तारै सुरक्षित ठाउँमा जान, कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीका खम्बा तथा तारमुनि नबस्न र विद्युतीय उपकरणहरू नचलाउन र लत्रिएका तारहरू नछुन आग्रह गरेको छ ।
प्राधिकरणले जल तथा मौसम विज्ञान विभागबाट जारी हुने मौसम पूर्वानुमान र प्राधिकरणका आधिकारिक सूचनाहरू नियमित रूपमा पछ्याउन समेत सबैमा अनुरोध गरेको छ ।
निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले स्थानीय तह र प्रदेशसभा सदस्यको निर्वाचन एकैपटक गर्न आवश्यक रहेको बताउनुभएको छ । बिहीवार प्रतिनिधि सभाको समानुपातिकतर्फका सांसदहरुलाई प्रमाणपत्र वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले २०८४ सालमा हुने स्थानीय तह र प्रदेशसभा सदस्यको निर्वाचन एक पटक गर्नुपर्ने बताउनुभएको हो । उहाँले यसले निर्वाचन खर्च घट्ने बताउनु भयो । भण्डारीकाअनुसार आगामी १३–१४ महिनाभित्र स्थानीय तहको निर्वाचन गर्नुपर्नेछ भने प्रदेश सभा निर्वाचन २०८४ मंसिरमा गर्नुपर्ने छ । यी दुई निर्वाचनलाई एउटै मितिमा सम्पन्न गर्नसके मितव्ययी र प्रभावकारी हुने उहाँको तर्क छ । तर वर्तमान कानूनी संरचनाले संयुक्त निर्वाचनको व्यवस्था गर्न नसक्ने उहाँले बताउनु भयो । त्यसको लागि हाल लागू रहेका करिव १० वटा निर्वाचनसम्बन्धी कानूनलाई एकीकृत गरी एउटै निर्वाचन व्यवस्थापन ऐन ल्याउनुपर्ने आवश्यकता रहेको उहाँले बताउनु भयो । सो ऐनको लागि आयोगले मस्यौदा तयार गरी दुई वर्षभन्दा बढी अघि नै सरकारलाई पठाइसकेको जानकारी दिनुभयो । उक्त विधेयक गृह मन्त्रालयमा विचाराधीन अवस्थामा रहेको भन्दै उहाँले संसद्ले यथाशिघ्र छलफल गरी पारित गर्नुपर्नेमा जोड दिनुभयो । उहाँकाअनुसार निर्वाचन हुनुभन्दा कम्तीमा एक वर्षअघि ऐन–कानून तयार नभए आचारसंहिता, निर्देशिका लगायतका आवश्यक संरचना बनाउन सकिँदैन । भण्डारीले आगामी अधिवेशनमै निर्वाचन व्यवस्थापन विधेयक पारित गरी आयोगलाई निष्पक्ष र सक्षम ढंगले निर्वाचन गराउन सक्षम नबनाएमा २०८४ सालमा हुने निर्वाचन पनि हालकै ढर्रामा सीमित हुने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘निर्वाचन प्रणाली संसोधन गर्नुपर्छ, सुधार गर्नुपर्छ, परिवर्तन गर्नुपर्छ भनेर मात्रै हुँदैन । संविधानले के निर्देश भएको छ, संविधान बमोजिम बनेका ऐन, नियम कानूनले के निर्देश गरेको छ, त्यो यहाँहरुले हेरिदिनुपर्छ । निर्वाचनसम्बन्धी अहिले हामीसंग भएको टड्कारो १० वटा कानूनहरुलाई हामीले ७ वटा ऐन खारेज गरेर एउटै निर्वाचन व्यवस्थापन ऐन ल्याउन सकियो भने अहिलेको विदेशमा रहेको मतदाताशक्ति, स्वदेशमा रहेको शक्ति र सबैले आँकलन गरेको र सम्बोधन गर्नुपर्ने भनेर माग गरेको विषयवस्तुलाई समेट्न सकिन्छ । हामीले त्यसको लागि मस्यौदा तयार गरेर निर्वाचन आयोगले पठाएको अढाई वर्ष भयो । यहाँहरु विधायक हुनुहुन्छ, हाम्रो सम्पर्क मन्त्रालय भनेको गृहमन्त्रालय हुन्छ, गृह मन्त्रालयमा थन्किएर बसेको निर्वाचन व्यवस्थापन विधेयकलाई यहाँहरुले बेलैमा छलफल गरेर ऐनको रुपमा पारित गरिदिनुपर्छ । अब हामीसँग स्थानीय र प्रदेशको निर्वाचन गर्न धेरै समय छैन, १३÷१४ महिना मात्रै हो, स्थानीय तहको निर्वाचन गर्न । अब त्यसमा प्रदेश सभा पनि जोड्नुपर्छ, प्रदेश सभा के गर्नुहुन्छ, विधायकहरुको आफ्नो छलफलको विषय होला । तर प्रदेश सभाको मंसिरमा हुन्छ, निर्वाचन । स्थानीय तहको वैशाखमा हुन्छ, निर्वाचन । यो दुई वटालाई तानेर एकै ठाउँमा निर्वाचन गरियो भने मितव्ययी निर्वाचन हुन्छ । त्यो निर्वाचनलाई अहिले भईरहेको कानूनले सम्बोधन गर्न सक्दैन । यहाँहरुले यसैपटक आगामी अधिवेशनमा त्यो निर्वाचन व्यवस्थापन विधेयकलाई ऐनको रुप दिन सक्नुभएन भने फेरि २०८४ मा हुने निर्वाचन पनि यही अहिलेकै ढर्राको निर्वाचन हो, यहाँभन्दा धेरै प्रगति हुन सक्दैन । त्यो हामीले पठाएको विधेयक हेरिदिनुहोला । निर्वाचन हुने एक डेढ वर्ष अगाडीसम्म ऐन कानून भएन भने त्यो बमोजिम बनाउनुपर्ने निर्देशिका, आचारसंहिता लगायतका विषयवस्तु बन्न सक्दैनन् । निर्वाचन हुन सक्दैन, छोटो समयमा त्यसले मूर्त रुप लिन सक्दैन । २०८४ मा हुने स्थानीय तहको निर्वाचन र प्रदेश सभा सदस्यको निर्वाचन सन्दर्भमा नयाँ कानून ल्याएर सम्बोधन गर्नुपर्छ । यहाँहरुले आगामी अधिवेशनमा त्यो ऐन ल्याएर निर्वाचन आयोगलाई सक्षम र निष्पक्ष निर्वाचन गर्नको लागि सक्षम संगठन बनाइदिनुपर्छ ।
उहाँले नवनिर्वाचित सांसदहरुलाई भदौ २३ र २४ को जेन–जी आन्दोलनले विथोलेको समाजलाई लयमा ल्याउने काम गर्न आग्रह गर्नुभयो । विधायकहरुले आवश्यक ऐन कानूनहरु धमाधम बनाउने उहाँको विश्वास छ ।





