
अफगानिस्तानको केन्द्रिय बैंक ‘द अफगानिस्तान बैंक’ ले गत चैत ७ (मार्च २०) मा समाप्त भएको फारसी पात्रोको वर्ष १४०४ मा स्थानीय मुद्रा ‘अफगानी’ अमेरिकी डलरको तुलनामा ९.९३ प्रतिशतले मजबुत भएको घोषणा गरेको छ । बैंकद्वारा कार्यान्वयन गरिएका विवेकपूर्ण, सन्तुलित र प्रभावकारी मौद्रिक नीतिहरूको परिणाम स्वरूप मुद्राको मूल्यमा यो वृद्धि भएको बैंकका प्रवक्ता हसिबुल्लाह नूरीले स्थानीय सञ्चार माध्यम एरियाना न्युजलाई बताउनुभएको हो । ती अधिकारीकाअनुसार यी कदमहरू र वैदेशिक मुद्रा बजारमा गरिएको रणनीतिक हस्तक्षेपले राष्ट्रिय मुद्रालाई स्थिर र सुदृढ बनाउन मद्दत पु¥याएको छ । यसैबीच, मुद्राको अवमूल्यन रोक्न केन्द्रिय बैंकले वर्षभर मुद्रा विनिमय बजारमा लाखौँ अमेरिकी डलर प्रवाह (इन्जेक्ट) गरेको थियो ।
म्यानमारले मार्च २५ देखि अर्को सूचना नभएसम्म इन्धन खपत घटाउन मद्दत गर्न सरकारी विभागहरूका लागि बुधवार घरबाटै काम गर्ने व्यवस्था शुरु गरेको छ । सोमवार राज्यको स्वामित्वमा रहेको दैनिक ‘द मिरर’ मा प्रकाशित एक विज्ञप्तिअनुसार यो जानकारी दिइएको हो । राष्ट्रिय रक्षा र सुरक्षा परिषद्को सूचना टोलीले अखबारमा भनेको छ कि यस उपायको प्राथमिक उद्देश्य इन्धन संरक्षण हो । तसर्थ अधिकारी र कर्मचारीहरूले यी तोकिएका घरबाटै काम गर्ने दिनहरूमा कुनैपनि गैर–अत्यावश्यक यात्रा वा सवारी साधनको प्रयोगबाट टाढा रहनुपर्छ । यसले निजी संस्थाहरू र व्यवसायहरूलाई पनि सम्भव भएसम्म समान व्यवस्था अपनाउन प्रोत्साहित गरेको छ । मध्यपूर्वमा चलिरहेको द्वन्द्वसँग सम्बन्धित सम्भावित इन्धन अभावको प्रतिक्रियामा, सरकारले यसअघि सवारी साधनको जोर–बिजोर प्रणाली र इन्धन रासन लागू गरेको थियो । यसका साथै सरकारले निरन्तर आपूर्ति सुनिश्चित गर्न विभिन्न च्यानलहरूमार्फत इन्धन आयात सुरक्षित गर्न काम गरिरहेको छ ।
नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले आफूले हतारमा र हतास मनस्थितिमा आएर राजीनामा नदिएको बताउनुभएको छ ।
पार्टी केन्द्रिय कार्यालयमा जारी कार्यसमिति बैठकमा बोल्दै सभापति थापाले यस्तो बताउनुभएको हो । उहाँले विषेश महाधिवेशनपछि पार्टी आफ्नो नेतृत्वमा निर्वाचनमा गएको उल्लेख गर्दै त्यसको परिणामलाई लिएर भइरहेका टिप्पणीहरु आफ्नो सरोकारको विषय नभएको पनि स्पष्ट पार्नुभयो । उहाँले आफूले प्रतिनिधि सभा सदस्य निर्वाचन सम्पन्न भइसकेपछि तत्कालै राजीनामा दिने मनस्थितिमा भएपनि निर्वाचन प्रक्रियाको कारण लम्बिएको बताउनुभयो । उहाँले आफू कुनैपनि दबाबमा आएर नभई जिम्मेवारी र जवाफदेहीताको आधारमा राजीनामा दिएको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘मैले हतारोमा र हतास भएर राजीनामा दिएको होइन । हामीले विशेष महाधिवेशनमार्फत नेतृत्व लिएर निर्वाचनमा जाँदा हाम्रो पक्षमा मत माग्न नजाने र मत नहाल्नेहरुले गरेको टिप्पणी हाम्रो सरोकारको विषय होइन । मेरो राजीनामा सोच बनाइसकेपछि उपसभापतिलाई मेरो भावना सेयर गरेको थिएँ । म तत्कालै राजीनामा दिन चाहन्थँे । निर्वाचनका सबै प्रक्रिया पूरा गर्नुपर्ने थियो त्यसकारण लम्बियो । यो दबाबमा मेरो राजीनामा दिएको थिएन । यो जवाफदेहिताको विषय हो । मेरो नेतृत्वमा हामी निर्वाचनमा गयौँ । त्यसको परिणामको जिम्मेवारी मैले लिनुपर्छ भनेर राजीनामा बुझाएको हो ।’
उहाँले काँग्रेसले निर्वाचनमार्फत प्रमुख प्रतिपक्षको भुमिकामा पुर्याएको भन्दै यो जिम्मेवारीलाई महत्वपूर्ण ढंगले पूरा गर्नुपर्ने बताउनु भयो ।
संयुक्त अरब इमिरेट्स (युएई) मा सोमवार भारी वर्षा र मेघगर्जन सहितको चट्याङ परेको छ । जसका कारण धेरै क्षेत्रका सडकहरूमा पानी जमेको र देशका केही भागहरूमा यातायात अवरुद्ध भएको रिपोर्ट गरिएको छ । मेघगर्जन विकसित हुँदा देशका विभिन्न भागहरूमा ठूला आवाजहरू सुनिएका थिए । राष्ट्रिय आपतकालीन संकट र विपद् व्यवस्थापन प्राधिकरणले वर्तमान मौसमी अवस्थामा यस्ता आवाजहरू सामान्य र अपेक्षित भएको बताएको छ ।
अरनिको राजमार्ग अन्तर्गत बाह्रबिसे–कोदारी सडक स्तरोन्नति शुरु गरिएको छ ।
सडक विभागले वर्षातले क्षतिग्रस्त यो राजमार्ग स्तरोन्नति गर्न अर्थ मन्त्रालयसँग २ अर्ब ३७ करोडको स्रोत सहमती लिएर काम अघि बढाएको हो । अर्थ मन्त्रालयको स्रोत सहमतीसँगै सडक डिभिजन चरिकोटले ठेक्का प्रक्रिया सम्पन्न गरी गत मंसिरमा निर्माण कम्पनी एमएस एनएस गाल्वा जे.भीसँग सम्झौता गरी निर्माण कार्य अघि बढाएको छ । १ अर्ब ३४ करोडमा ठेक्का लगाएर काम थालिएको सडक डिभिजन चरिकोटका प्रमुख (सिडिई) नारायणदत्त भण्डारीले बताउनु भयो । सडक स्तरोन्नति अन्तर्गत बाह्रबिसेदेखि कोदारीसम्मको २६ किलोमिटर सडक डबल लेनको बनाइने भण्डारीले बताउनु भयो । डबल लेनमा स्तरोन्नति गर्न आवश्यक स्ट्रक्चर निर्माणको काम धमाधम भइरहेको छ । अहिले पहिरो जोखि क्षेत्रमा आवश्यक ज्ञाविन वाल र प्वाम्टको काम भइरहेको सिडिई भण्डारी बताउनु हुन्छ । भने हालसम्मको भौतिक प्रगति ७ प्रतिशत रहेको छ ।
यता निर्माणको जिम्मा भएको एमएस एनएस गाल्वा जेभीका सञ्चालक गौरी उप्रेतीले भने निर्माणमा कुनै अवरोध नआए समयमै निर्माण सम्पन्न हुने बताउनु भयो । निर्माण कम्पनीले २०८२ मंसिर १ गते ठेक्का सम्झौता गरेर मंसिर २० गतेदेखि साइटमा काम थालिएको उप्रेती बताउनु हुन्छ । आहिले स्ट्रक्चर निर्माणको काम धमाधम भइरहेको छ ।
निर्माण सामाग्री र आयोजनामा कुनै अवरोध नभए समयभित्रै निर्माण सक्ने तयारी रहेको उप्रतीले बताउनु भयो ।–
मध्यपूर्वमा जारी तनावका कारण अन्तरराष्ट्रिय हवाई उडान प्रभावित हुँदा पर्यटकीय राजधानी पोखरामा पर्यटक आगमन घट्दै गएको छ ।
मध्यपूर्वमा अमेरिका–इजरायल र इरानबिच तनाव बढ्दै जाँदा दोस्रो मुख्य पर्यटकीय सिजनमै पोखरामा पर्यटक आगमन घट्दै गएको सरोकारवालाहरुले बताएका छन् । खासगरी युरोप र अमेरिकाबाट आउने पर्यटकको मुख्य ट्रान्जिट दुबई, कतार र साउदी अरेबिया युद्ध प्रभावित हुँदा पर्यटक आगमन प्रभावित भएको उनीहरुको भनाइ छ । पोखरा आउने पर्यटकहरुले धमाधम होटल, ट्राभल र ट्रेकिङ बुकिङ रद्ध गरिरहेको पोखरा भ्रमण वर्षका संयोजक गोपी भट्टराईले बताउनु भयो । उहाँले मध्यपूर्वको तनावका कारण युरोप र अमेरिकाबाट आउने पर्यटकहरु आउन नसकेको बताउनु भयो । उहाँले युद्ध लम्बिँदा व्यवसायी समेत समस्या पर्दै गएको गुनासो गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘मध्यपूर्वमा बढेको तनावले नेपालको पर्यटन क्षेत्र समेत प्रभावित भएको छ । नेपाल आउने प्रायजसो पर्यटकले कतार, दुवई लगायतका क्षेत्र नै ट्रान्जिट बनाएर आउने भएको कारण अहिले समस्या भएको छ । नेपालमा ट्रेकिङ र मनोरम दृश्य हेर्न आउने युरोपका पर्यटकहरु र यो समयमा नेपाल फर्किनुपर्छ भन्ने पर्यटकहरु पनि आउन सक्नुभएको छैन । धेरेजसो पर्यटकहरु मिडिल इस्टको युद्धका कारण जताबाट आउनुभएको छ उतै डाइभर्ट हुने समस्या भएको छ । युद्धको कारण ग्याँस र इन्धन अभावले हामीले पनि समस्यामा पर्दै गएका छौँ ।’
होटल एशोसिएशन पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले अन्नपूर्ण पदयात्राको दोस्रो ठूलो सिजनमा समेत अपेक्षाकृत पर्यटकहरु नआएको बताउनु भयो । उहाँले मध्यपूर्वमा जारी युद्धका कारण विदेशी पर्यटक नेपाल भित्रिन नसकेको बताउनु भयो । अमेरिकाले अतिआवश्यक काम बाहेक बाहिर ननिस्कन जारी गरेको एड्भाइजरीका कारण पर्यटक आगमन खस्केको उहाँको भनाइ छ । उहाँले युरोप र अमेरिका बाहेक भारतीय तथा आन्तरिक पर्यटकको आगमन विगतको जस्तै भएको पनि उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘अहिले पोखरामा आउने पर्यटकको कुरा गर्दा अन्नपूर्ण पदयात्रामा जाने दोस्रो ठुलो सिजन मार्च, अप्रिल, मे महिनामा हो भनेर हामी लिन्छौँ । तर अहिले मध्यपूर्वको जुन अवस्था छ त्यसले गर्दा नेपालमा आउने धेरै युरोपियन पर्यटकहरु जो नेपालमा पदयात्राका लागि आउनुहुन्छ उहाँहरु आउन सक्नुभएको छैन । अमेरिकाले पनि आफ्ना नागरिकलाई अहिले नेपालमा असुरक्षा छ भन्ने खालको एड्भाइजरी जारी गरेको कारणले अमेरिकन पर्यटकहरु एकदमै न्युन र युरोपियन पर्यटकहर पनि सोचेजस्ता संख्यामा आउन सकिरहनुभएको छैन । त्यसबाहेक भारतीय र आन्तरिक पर्यटकहरुको उपस्थिति राम्रो छ ।’
पर्यटक व्यवसायी नेत्र पौडेलले इजरायल, अमेरिका र इरानबीचको युद्धका कारण पोखरामा पर्यटकीय गतिविधिका लागि हुने अग्रिम बुकिङहरु रद्ध भइरहेको बताउनु भयो । दोस्रो मुख्य पर्यटकीय सिजनमै अपेक्षाकृत पर्यटक आगमन नहुनुको मुख्य कारण मध्यपूर्वमा जारी द्वन्द्व रहेको उहाँको बुझाइ छ ।
उहाँले भन्नुभयो, ‘पछिल्लो समय इजरायल, अमेरिका र इरानबीच भइरहेको लडाईंका कारण पोखरामा ट्रेकिङ लगायतका लागि भएका बुकिङहरु धमाधम रद्ध हुने कार्य जारी छ । त्यसकारण हाम्रा होटल, ट्राभल र ट्रेकिङका बुकिङहरु पनि रद्द हुने क्रम बढेको देखिन्छ । समग्रमा जुन किसिमले यो समयमा पर्यटकहरु हुनुपर्ने हो त्यो किसिमले आएका छैनन् ।’
कोरोना भाइरसको महामारीपछि विस्तारै लयमा फर्किंदै गएको नेपालको पर्यटन व्यवसाय मध्यपूर्वमा बढ्दो तनावले फेरि प्रभावित हुने देखिएको छ । नेपाललाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन राज्यले विशेष रणनीतिका साथ काम गर्नु अपरिहार्य छ ।
वन तथा वातावरण मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्माले आगामी चालु आ.व.मा वन बढेलोको घटना हुने सम्भावना कम रहेको बताउनुभएको छ ।
सोमवार काठमाडौंमा आयोजित वन डढेलो सम्बन्धि कार्यक्रममा बोल्दै उहाँले सो दाबी गर्नुभएको हो । सचिव शर्माले यस वर्ष हिउँदे वर्षात भएकाले वन डढेलोको सम्भावना घटन जाने देखिएको पनि स्पष्ट पार्नुभयो । हिउँदे वर्षातले वनमा रहेका पातपतिंगरहरु कुहिने भएकाले पनि प्राकृतिक रुपमा पनि वनमा डढेलो लाग्ने सम्भावना कम देखिएको उहाँको तर्क थियो । सचिव शर्माले आगलागीको आकस्मिक घटनाबाट हुने क्षतिलाई न्युनिकरण गर्न चनाखो भएर लाग्नुपर्ने अवस्था रहेको समेत बताउनु भयो ।
उहाँले भन्नुभयो,‘वनमा हुने डढेलो इन्सिडेन्ट कसरी घटना सकिन्छ ? भन्ने कुराका भेरिएवलहरु के के हुन त ? हाम्रो टेन्डेन्सी के छ भने यो जनवरीको इन्डमा पुसको तेस्रो हप्तादेखि माघको पहिलो हप्तासम्म थ्रि डेस वीन्टर रेन्फल भयोभने त्यो वर्ष पोष्ट फायर हुने चान्सेस कम हुन्छ । पातपतिंगरहरु प्रशस्तै एकजर्ब गर्छ स्वायलले । पातपतिंगरहरु कुहिएर झर्ने धेरै सम्भावना हुन्छ । त्यसले घटाउन सक्छ । र हामीले यो निरन्तर रुपमा पानी प्राप्त गर्न सकेनौ, वीन्टर ¥यानफल भएन पनि हिजो र अस्तीको वर्षाले योधेरै नै घटयो । अव हुने आगलागिलाई यसले घटाउँछ । अब यो पानीले त कुहाउने पनि भयो । यी क्लाईमेटमा भेरिएवलहरु हुन । कसरी टेम्प्रेचर बढी राखेका छ । यस वर्षको फरेष्ट फायरको सम्भावना घटना घटन सक्छ भन्ने छ । कतै फायरिङको रिक्सजोन हुन्छ । कतै फायर जोनको रिस्क कम भयो पनि त्यसले बढी क्षति पु¥याउन पनि सक्छ ।’
सचिव शर्माले वन डढेलोका सम्बन्धिमा विस्तृत रुपमा जनचेतना फैल्याउन पनि यस क्षेत्रमा धेरै अनुसन्धानको काम आवश्यक रहेको पनि बताउनु भयो ।
परनिर्भरता चुलिँदै जाँदा नेपालको व्यापार घाटा झन् पछि झन् बढ्दै गएको छ । भन्सार विभागले सार्वजनिक गरेको फागुन मसान्तसम्मको तथ्यांकअनुसार छिमेकी मुलुक भारत, चीनसहित ५ वटा देशसँग मात्रै नेपालको व्यापार घाटा झन्डै १० खर्ब रुपैयाँ व्यहोरेको छ । गत फागुन मसान्तसम्ममा नेपालले भारतसँग पाँच खर्ब ६७ अर्ब ३९ करोड व्यापार घाटा व्यहोरेको छ ।
यस अवधिसम्ममा भारतबाट सात खर्ब २४ अर्ब ६ करोड रुपैयाँको वस्तु आयात भएको छ भने एक खर्ब ५६ अर्ब ६६ करोड रुपैयाँ बराबरको निर्यात भएको छ । त्यस्तै, छिमेकी मुलुक चीनसँग दुई खर्ब ७५ अर्ब ६६ करोड रुपैयाँको आयात र ९८ करोड ३३ लाख रुपैयाँको निर्यात गर्दा दुई खर्ब ६४ अर्ब ६८ करोड ३६ लाख रुपैयाँको व्यापार घाटा व्यहोर्नुपरेको छ । नेपालले बढी व्यापार घाटा बेहोरेका मुलुकमा अर्जेन्टिना, संयुक्त अरब इमिरेट्स र इण्डोनेसिया, लगायतका देशहरु रहेका छन् । अर्जेन्टिनासँग नेपालको व्यापारघाटा ७५ अर्ब रुपैँया बढि ब्यापार घाटा बेहोरेको छ भने संयुक्त अरब इमिरेट्ससँग नेपालले ४४ अर्ब ४१ करोड रहेको छ त्यस्तो इण्डोनेसियासँग १४ अर्ब भन्दा बढी व्यापारघाटा व्यहोरेको छ । अन्य विभिन्न मुलुकहरुसँग पनि नेपालले व्यापारघाटा व्यहोरेको छ । समग्रमा हेर्दा चालु आर्थिक वर्ष २०८२/८३ को फागुन मसान्तसम्ममा मुलुकले करिव ११ खर्ब रुपैयाँ व्यापार घाटा व्यहोरेको छ ।
भन्सार विभागले सार्वजनिक गरेको फागुन मसान्तसम्मको तथ्यांकअनुसार यो अवधिमा कुल १४ खर्ब ४० अर्ब ३६ करोड २२ लाखको कुल वैदेशिक व्यापार हुँदा १० खर्ब ९८ अर्ब १३ करोड ८२ लाख घाटा व्यहोरेको छ । विभागकाअनुसार पछिल्लो आठ महिनामा १२ खर्ब ८९ अर्ब २५ करोडको आयात र एक खर्ब ९१ अर्ब ११ करोड २० लाख बराबरको निर्यात भएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आर्थिक वर्षमा आयात १२ दशमलव ५४ र निर्यात २९ दशमलव ८३ प्रतिशतले बढेको देखिन्छ । नेपालको वैदेशिक व्यापारमा नाफा भएका मुलुकमा भने रोमानिया, नर्वे, आइसल्याण्ड, नाइजर, इराक, केन्या लगायत छन् । पछिल्लो आठ महिनामा रोमानियासँग ५० करोड ६५ लाख, नर्वेसँग तीन करोड ३३ लाख र आइसल्याण्डसँग दुई करोड ५७ लाख बराबर व्यापार नाफा देखिएको छ ।
इन्धन आयात सबैभन्दा बढी
समीक्षा अवधिमा पेट्रोलियम पदार्थको आयात सबैभन्दा बढी छ । विभागकाअनुसार पछिल्लो आठ महिनामा ८२ अर्ब १० करोड ५१ लाखको डिजेल, ४३ अर्ब ८९ करोड ७३ लाखको पेट्रोल र ३७ अर्ब ३१ करोड ३७ लाख बराबरको एलपी ग्यास आयात भएको छ ।
त्यस्तै, ८१ अर्ब १८ करोड ६४ लाख बराबरको कच्चा भटमास तेल आयात भएको छ भने २९ अर्ब ९३ करोड ५९ लाख बराबरको स्मार्टफोन, ३६ अर्ब ८२ करोड ३० लाखको फलामजन्य वस्तु, २३ अर्ब ४९ करोड ६७ लाखको सुन, १८ अर्ब ४४ करोड ७८ लाखको चाँदी आयात भएको छ ।
नेपालले बढी निर्यात गरेका वस्तुमा भटमास तेल पहिलो स्थानमा छ । पछिल्लो आठ महिनामा ७५ अर्ब ७७ करोड ४१ लाख बराबरको भटमास तेल निर्यात भएको छ । नौ अर्ब ४९ करोड, ६१ लाखको अलैँची, ६ अर्ब ५३ करोड ९६ लाखको कार्पेट, ६ अर्ब २० करोड २३ लाखको सूर्यमुखी तेल, चार अर्ब ३२ करोडको पाम तेल निर्यात भएको छ ।
भन्सारको तथ्यांकअनुसार नेपालमा खाद्यन्नमा परनिर्भता झन् चुलिँदै गएको देखिएको छ । समीक्षा अवधिमा नेपालले गरेको वस्तु आयातको सूचीमा चामल सबैभन्दा ठूलो अंश ओगट्ने खाद्यान्न वस्तु बनेको छ । धान, चामल र बासमती चामलको कुल आयात यस अवधिमा २७ अर्ब ९१ करोड रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा यो २४ अर्ब ३६ करोड रुपैयाँ थियो ।
पोखरा महानगरपालिकामा शिक्षाको गुणस्तर सुधारका लागि चालिएका कदमहरूले सकारात्मक नतिजा दिन थालेका छन् ।
मेयर धनराज आचार्यकाअनुसार पछिल्लो समय सामुदायिक (सरकारी) विद्यालयहरूमा ८ हजारभन्दा बढी विद्यार्थी थपिएका छन् । कतिपय सरकारी विद्यालयहरूमा त अहिले भर्ना पाउनै मुस्किल हुने अवस्था सिर्जना भएको छ । जहाँ २ हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन् । महानगरले शिक्षा क्षेत्रमा ५५ वटा विभिन्न बुँदाहरूमा सुधारका कामहरू अघि बढाएको छ । यसले गर्दा सरकारी विद्यालयहरू र शिक्षकहरूमा नयाँ आत्मविश्वास पलाएको मेयर आचार्यले बताउनु भयो । यसैगरी विकासको बजेटलाई तल्लो तहसम्म पु¥याउन मेयर आचार्यले बजेटको व्यापक विकेन्द्रीकरण गरेको दाबी गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘ शिक्षाको कुरा गर्ने हो भने हामी आईसकेपछि सरकारी विद्यालयमा ८ हजार विद्यार्थी प्लस भएका छन् । हाम्रा थुप्रै सरकारी विद्यालयहरुमा भर्ना गर्न पाइँदैन । २ हजारभन्दा बढी विद्यार्थी भएका थुप्रै विद्यालयहरु छन् । एजुकेशनमा पनि हामीले ५५ वटा विभिन्न बुँदाहरुमा सुधार गरेका छौँ । जसका कारणले गर्दा हाम्रा विद्यालयहरु पनि कन्फिडेन्ट हुँदैछन् । भइरहेका छन् । यी त हाम्रा बजेटले गर्ने कुराहरु भए । हिजो अघिल्लो कार्यकालसम्म माथिले दिएन भन्ने थियो । हामी आएपछि मैले पहिलो बैठकबाटै अघिल्लो कार्यकालमा अध्यक्षहरुले पाँच वर्षमा पाएको बजेट मेरो कार्यकालका वडा अध्यक्षहरुलेपहिलो वर्षमा नै पाएका छन् । एउटा अध्यक्षले २५ वर्षमा पाउने बजेट एकै वर्षमा हामीलेवडामा पठाएका छौँ । वडा स्तरका तलतलसम्मका सबै काम बनेका छन् । वडा बनेपछि महानगर आफैँ भन्ने हो नि । अनि वडा र वडाध्यक्ष सफलहुने, महानगर असफल हुने हो र । होइन नि ।’
उहाँकाअनुसार अघिल्लो कार्यकालमा वडा अध्यक्षहरूले ५ वर्षमा पाएको जति बजेट अहिलेका वडा अध्यक्षहरूले पहिलो वर्षमै पाएका छन् । एउटा वडा अध्यक्षले २५ वर्षमा पाउने जति बजेट एकै वर्षमा वडामा पठाएर वडा तहका साना–ठूला सबै कामहरूलाई तिब्रता दिइएको छ । वडा बलियो र सफल भए मात्र महानगर सफल हुने मेयर आचार्यको भनाइ छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय विमानस्थल निर्माणमा अनियमितता भएको आरोपसहित तत्कालीन पर्यटन सचिव केदारबहादुर अधिकारीसहित २१ जना व्यक्ति र २ वटा कम्पनी सहितलाई प्रतिवादी बनाएर विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका तत्कालिन सचिव अधिकारी, नेपाल नगारिक उड्ययन प्राधिकरणका तत्कालिन महानिर्देशकहरु सञ्जीव गौतम, राजन पोखरेल र प्रदीप अधिकारीसहित ठेकेदार कम्पनी चाईना सिएएमसी ईन्जिनियरिङ कम्पनी लिमिटेड र परामर्शदार्ता ईआरएमसी/ए–नट/स्लेट जेभी उपर सार्वजनिक सम्पतीको हानिनोक्शानी पुयाएको भन्दै अख्तियारले आईतवार आरोपपत्र विशेष अदालतमा दायर गरेको हो । पोखरा विमानस्थल भ्रष्टाचारको यो दोस्रो मुद्दा हो । यसअघि पनि उनीहरुसहितलाई प्रतिवादी बनाउँदै मुद्दा दायर भएको थियो । आईतवार आयोगले दायर गरेको आरोपपत्रमा निर्माण प्रक्रियामा नियमविपरीत काम भएको, लागत वृद्धि गराइएको तथा आर्थिक पारदर्शितामा प्रश्न उठाइएको छ ।
मुद्दामा संलग्न व्यक्तिहरूमाथि सार्वजनिक सम्पतीको दुरुपयोग, अनियमित निर्णय र भ्रष्टाचारजन्य गतिविधिमा संलग्न भएको अभियोग लगाइएको छ । दुई कम्पनीलाई पनि निर्माण प्रक्रियामा अनियमितता गरेको आरोपमा प्रतिवादी बनाइएको छ । अख्तियारले करिव ४६ करोड १५ लाख ८४ हजार ४३४ रूपैयाँ बिगो दाबी गरिएको विशेष अदालतका प्रवक्ता कृष्णशरण लामिछानेले जानकारी दिनुभयो ।
विशेष अदालतका प्रवक्ता लामिछानले भन्नुभयो–‘पोखरा अन्तर्राष्ट्रिय क्षेत्रीय विमानस्थल निर्माणको क्रममा नागरिक उड्डयन प्राधिकरण र चाइना सीआइएमसी कम्पनीबीच भएको सम्झौतामा प्राधिकरणले छुट्टै बजेटबाट भुक्तानी गर्ने गरेर खर्च गरी परामर्शदाता नियुक्ति गर्दा अनियमितता र भ्रष्टाचार गरेको भन्ने विषयमा नै आज १९९ पेजको मुद्दा आरोपपत्र दायर भएको छ । सार्वजनिक सम्पत्तिको हानी नोक्शानी तथा दुरुपयोग गरी भ्रष्टाचार गरेको भन्ने छ र प्रतिवादी केदारबहादुर अधिकारी तत्कालीन संस्कृति तथा पर्यटन मन्त्रालयका सचिव हुनुहुन्थ्यो, उहाँलगायत चाइनिज कम्पनी पनि छ र अन्य महानिर्देशक, उप–महानिर्देशक लगायत २३ जना विरुद्ध मुद्दा दायर भएको छ । बढी बिगो चाहीँ ४६ करोड १५ लाख ८४ हजार ४३४ रुपैयाँ बिगो छ र त्यसमा त्यही बिगो बमोजिमको जरिवानाको पनि दाबी गरिएको छ । भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ (१) को कसुरमा ऐजन दफा १७ बमोजिम मुद्दा दायर गरिएको छ ।’
लामिछानेकाअनुसार नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक सञ्जीव गौतमको हकमा ८ करोड ९५ लाख २ हजार ७८० रुपैयाँ बिगो माग दाबी गरिएको छ । भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ (१) को कसुरमा ऐजन दफा १७ बमोजिम मुद्दा दायर गरिएको छ ।
उनीहरुले ठेक्का सम्झौता बमोजिम त्यही भित्रकै रकमबाट परामर्श दातालाई भुक्तानी गर्नुपर्नेमा उनीहरुले नेपाल सरकारको बजेटबाट छुट्टै खर्च गरेर अनियमितता गरेको आरोपपत्रमा उल्लेख रहेको लामछिानेले जानकारी दिनुभयो ।
अघिल्लो पोखरा विमानस्थलकै मुद्दामा प्रदीप अधिकारी, बाबुराम पौडेल र विनेश मनोकर्मी प्रतिवादी थिए । उनीको गैरकानूनी सम्पती आर्जनमा विशेष अदालतमा मुद्दा चलिरहेको छ ।





