निगमका अनुसार, पेट्रोलको मूल्य भने यथावत राखिएको छ ।
त्यस्तै, आन्तरिकतर्फको हवाई मूल्य पनि प्रतिलिटर ५ रुपैयाँले वृद्धि गरिएको छ ।

प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले आगामी बजेट अधिवेशनलाई फरक र प्रभावकारी ढंगले अघि बढाउने तयारी भइरहेको बताउनुभएको छ ।
शुक्रवार सिंहदरबारमा संसदीय मामिला पत्रकार समाजमा आवद्ध सञ्चारकर्मीहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । सभामुख अर्यालले आफूले संसदका सबै गतिविधिलाई प्रत्यक्ष रुपमा प्रशारण गरेर त्यसको सबै गतिविधिलाई पारदर्शी बनाउन चाहेको पनि उल्लेख गर्नुभयो । उहाँले सञ्चारकर्मीहरुलाई आफूले संसदमा सहज पहुँच विस्तारमा कुनै समस्या आउन नदिने समेत स्पष्ट पार्नुभयो । संसदमा कुनैपनि विधेयकको ड्राफट गर्दा समेत सबै सरोकारवालाहरुसँग पटक पटक छलफल गरेर अघि बढाउने कुरालाई आफूले अघि बढाउने सभामुख अर्यालको प्रतिवद्धता थियो । उहाँले देशको आवश्यक्तालाई ध्यानमा राखेर संसदमा नयाँ नजिरहरु स्थापित गर्दै लैजाने कार्ययोजना पनि सुनाउनु भयो ।
सभामुख अर्यालले भन्नुभयो,‘नयाँ नजिरहरु स्थापित गर्दै जानुपर्ने हुन पनि सक्छ हामीले । किनकी अवको समाजलाई त्यो आवश्यक छ । अबको देशको लागि त्यो आवश्यकता छ भने त्यो गरौँ । तर तपाईंहरुले भनेको कुरामा म गम्भिर छु । मलाई यसबारेमा जानकारी छ । त्यसकारण हामी कुनैपनि कुरालाई लाईभ गरेर सबै कार्यक्रम गर्नुपर्छ भन्ने उद्देश्य बोकेर आएको मान्छेहरु हो । त्यसकारण हामी कुनैपनि कुरा लुकाउनुपर्छ, छिपाउनु पर्छ भन्ने पक्षमा छैन । म त विधेयक ड्राफ्ट गर्दा हन्ड्रेट पर्सेन्ट विधेयक ड्राफट गर्नु भन्दा अघि स्टेकहोल्डरसँग बसौ, पटक पटक बसौ । म यसै पटकको बजेटको अधिवेशनलाई नै हामीले अलिकति फरक के गर्न सकिन्छ ? भनेर त्यसमा काम गरिराखेको छु । यस्ता कुरामा हामी सचेत छौँ ।’
सभामुख अर्यालले कानून निर्माणको कामलाई आफूले छिटो छरितो ढंगले सम्पादन हुनेगरी संसदीय नियमावलीमा संशोधन गर्न चाहेको पनि बताउनु भयो ।
पछिल्लो समय मुलुकभित्र वैदेशिक लगानी आउने क्रम बढिरहेको छ । उद्योग विभागकाअनुसार चालु आर्थिक वर्षको ९ महिनामा मात्रै ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता प्राप्त भएको छ ।
गत साउनदेखि चैत मसान्तसम्म ६१५ परियोजनाका लागि कुल ४१ अर्ब ७९ करोड ८५ लाख रुपैयाँ बराबरको लगानी प्रतिवद्धता प्राप्त भएको हो, जसमार्फत २२ हजार ३१६ जनालाई रोजगारी दिने पनि प्रतिवद्धतामा आएको छ ।
विभागकाअनुसार पछिल्लो चैत महिनामा मात्र विभिन्न ६१ वटा परियोजनाका लागि १ अर्ब १२ करोड ९२ लाख रूपैयाँ बराबरको वैदेशिक लगानी प्रतिवद्धता प्राप्त भएको छ ।
उद्योग विभागकाअनुसार परियोजनाका आधारमा सबैभन्दा बढी कृषिमुलक परियोजनाका लागि वैदेशिक लगानी भित्रिएको छ । विभागकाअनुसार चैत मसान्तसम्म यस क्षेत्रमा १६ परियोजनाका लागि २२ अर्ब ८ करोड ८० लाख रुपैयाँ बराबरको लगानी भित्रिएको छ ।
पर्यटन उद्योगको क्षेत्रमा १६४ परियोजनाका लागि ११ अर्ब ४६ करोड २० लाख रुपैयाँ बराबरको वैदेशिक लगानी भित्रिएको छ । सेवामुलक क्षेत्रमा ४७ वटा परियोजनाका लागि ३ अर्ब ८९ करोड ६४ लाख रुपैयाँ, उत्पादनमुलक क्षेत्र (औद्योगिक) तर्फ ३८ वटा परियोजनाका लागि २ अर्ब ५४ करोड ५६ लाख रुपैयाँ, सूचना तथा प्रविधिको क्षेत्रमा ३४६ परियोजनाका लागि १ अर्ब ४५ करोड ७२ लाख रुपैयाँ बराबरको लगानी प्राप्त भएको छ ।
यसैगरी, समीक्षा अवधिमा ऊर्जा क्षेत्रमा हालसम्म दुई वटा परियोजनाका लागि २३ करोड ४२ लाख ५० हजार रुपैयाँ मात्र वैदेशिक लगानी प्रतिवद्धता प्राप्त भएको छ । भने खनिजमुलक क्षेत्रमा पनि दुइवटा परियोजनाका लागि जम्मा ११ करोड ५० लाख रुपैयाँ बराबरको मात्र वैदेशिक लगानी प्रतिवद्धता प्राप्त भएको छ ।
काठमाडौं महानगरपालिकाले आफ्नो भौगोलिक तथा प्रशासनिक क्षेत्रभित्रका मूर्त, अमूर्त, प्राकृतिक तथा अभिलेख सम्पदाको संरक्षण र प्रवद्र्धनका लागि वैशाख ५ गतेदेखि असन क्षेत्रमा ‘जीवन्त र समृद्ध असन’ कार्यक्रम शुरु गर्ने भएको छ ।
‘जीवन्त र समृद्ध असन’ नाम दिइएको यो कार्यक्रमले स्थानीय सांस्कृतिक पहिचान र परम्परागत जीवनशैलीलाई जीवन्त राख्ने लक्ष्य लिएको हो । मानवीय तथा सवारी आवागमन चापका कारण भित्री शहरी क्षेत्रमा बढेको चुनौतीलाई सम्बोधन गर्न महानगरले यो कदम चालेको महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले बताउनु भयो । यस कार्यक्रम अन्तर्गत असन क्षेत्रमा परम्परागत ज्ञान, सीपको प्रदर्शनी, गायन, वादन र नृत्य जस्ता क्रियाकलापहरू सञ्चालन गरिनेछन् । वैशाख ५ गते शनिवारदेखि शुरु हुने यस कार्यक्रम अवधिमा असन क्षेत्रमा सवारी साधन प्रवेशमा रोक लगाइनेछ । महानरकाअनुसार शनिवारको निश्चित समयमा कमलक्षी, भोटाहिटी र महाबौद्धबाट असनतर्फ आउने सवारी साधनहरू निषेध गरिनेछ ।सवारी धनीहरूले वैकल्पिक मार्गको प्रयोग गर्नुपर्नेछ भने पर्यटक तथा आगन्तुकहरूले धरहरा भूमिगत पार्किङ वा जमल बोहरा भवनमा पार्किङ गर्न सक्ने प्रवक्ता मानन्धरले बताउनु भयो ।
यस पहलले असन बजारको मौलिकता बढाउन, वायु प्रदुषण नियन्त्रण गर्न र स्थानीयवासीको उद्यमशीलता विकासमा टेवा पुग्ने महानगरको विश्वास छ । वडा नं २७ बाट शुरु गरिएको यो कार्यक्रम वडा नं २५ (केलटोल) क्षेत्रमा पनि विस्तार गर्ने तयारी भइरहेको पनि उहाँले बताउनु भयो ।
त्यस्तै वैशाख ५ गतेबाटै निःशुल्क वाटर एटिएम मेसिन शुभारम्भ गरिने पनि उहाँले जानकारी दिनुभयो । कामनपाभित्र करिव २ करोड ६० लाख रुपैयाँको लागतमा ८ वटा वाटर एटिएम बुथ निर्माण भएका छन् । यि बुथहरु निःशुल्क गुणस्तरीय पिउने पानी उपलब्ध हुने महानगरले जनाएको छ । मौलिक शैलीमा निर्माण गरिएका बुथहरुमा ३ हजार लिटर पानी भण्डारण क्षमता रहेको उहाँले बताउनु भयो । बुथहरु खुला मञ्च, राष्ट्रिय सभा गृह, दरबार हाइ स्कुल बाहिर, वडा नम्बर १७ को लिङ्क रोड ढल्को चोक, वडा नम्बर ५ नरःदे (हाँडीगाउँ), वडा नम्बर २६ परिसर र वडा नम्बर ३१ को परिसरमा जडान गरिएको बताउनु भयो ।
प्रधानसेनापति अशोकराज सिग्देलले अवकाश प्राप्त सैनिकहरू समाजका उर्जा र आदर्श भएको बताउनुभएको छ । महोत्तरीको बर्दिवासस्थित मध्य पृतना हेडक्वार्टरमा आयोजित ‘भूतपूर्व सैनिक भेटघाट तथा पुनर्मिलन कार्यक्रम’ लाई सम्बोधन गर्दै प्रधानसेनापति सिग्देलले सेनाको संस्थागत हित र राष्ट्रको सार्वभौमिकता रक्षार्थ अवकाश प्राप्त सैनिकहरूले पु¥याएको योगदान अविष्मरणीय रहेको बताउनुभएको हो । नेपाली सेनाका अवकाश प्राप्त सकल दर्जालाई समाजमा एक जिम्मेवार, अनुशासित र मर्यादित नागरिकको रूपमा प्रश्तुत हुँदै स्थानीय स्तरमा उत्पादनशील र उद्यमी बन्न आग्रह गर्नुभयो । नेपाली सेनाको कल्याणकारी कोषका सुविधाहरूलाई विकेन्द्रिकृत, पारदर्शी र परिणाममुखी बनाउँदै लैजाने प्रतिवद्धता व्यक्त गर्दै उहाँले शिक्षा, स्वास्थ्य, स्वरोजगार र सीप विकासका क्षेत्रमा हिताधिकारीहरूको पहुँच विस्तार भइरहेको जानकारी दिनुभयो । प्रधानसेनापति सिग्देलले देशको आन्तरिक सुरक्षा, विकास निर्माण, विपद् व्यवस्थापन र अन्तर्राष्ट्रिय शान्ति स्थापनामा नेपाली सेनाले खेलेको भुमिकाले संस्थालाई विश्वमै विश्वसनीय र सम्मानित बनाएको बताउनु भयो । हालै सम्पन्न आम निर्वाचनलाई सुरक्षित र निष्पक्ष रूपमा सम्पन्न गराउन सेनाले देखाएको कार्यकुशलताको समेत उहाँले प्रशंसा गर्नुभयो । स्थानीयस्तरमै सृजनशील र उद्यमी बन्न आग्रह गर्दै उहाँले कल्याणकारी कार्यमा दिगो नतिजा प्राप्त गर्न अवकाश प्राप्त सैनिकहरूको सुझाव र सहकार्य अपरिहार्य रहेको बताउनु भयो ।
प्रधानसेनापति सिग्देलले भन्नुभयो, ‘यहाँहरूले भर्खरै प्रदर्शन गर्नुभएको उत्साहपूर्ण र खुशीको मार्च पासले आज पनि यहाँहरूको अनुशासन, सैनिक जोश र राष्ट्र प्रतिको प्रतिवद्धता जीवितै रहेको अनुभूति यहाँहरूका आँखामा झल्किरहेको छ । यहाँहरूको उत्साहपूर्ण उपस्थितिबाट हामी सम्पूर्ण सेवारत सैनिकहरू उर्जावान भएका छौँ । यहाँहरू बीच हुने भेटघाट तथा पुनर्मिलनले भावनात्मक सम्बन्ध र सामूहिकताको विस्तार हुनुको साथै सेवामा रहदाका विभिन्न स्मरणीय क्षणहरूको बारेमा एक आपसमा कुराकानी हुँदा पक्कै पनि सेवाकालीन विगतको रमाइलो याद र अनुभवको पुनः स्मरण भएकै हुनुपर्दछ । नेपाली सेनाले नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधिनता र राष्ट्रिय एकतालाई अक्षुण्ण राख्न राष्ट्रकीकरणको इतिहास देखि नै अतुलनीय योगदान पु¥याउँदै आएको व्यहोरा हामी सबैलाई विदितै छ । तसर्थ हाम्रा वीर पुर्खाहरूले गर्नुभएको बलिदानलाई स्मरण गर्दै यस संस्थालाई वर्तमान र भविष्यका चुनौतीहरूलाई सामना गर्न सक्ने सक्षम संस्थाको रूपमा थप विकास गर्दै भावी पुस्तामा हस्तान्तरण गर्ने दायित्व हामी सबैको साझा भएको तथ्य पनि यहाँहरूलाई स्मरण गराउन चाहन्छु । देशको सार्वभौमिकताको रक्षार्थ नेपाली सेनाले वहन गरेको भूमिका लगायत आन्तरिक सुरक्षा, विकास निर्माण, विपद् व्यवस्थापन तथा अन्तर्राष्ट्रिय शान्ति स्थापना कार्यमा गरेको योगदानले आज नेपाली सेनालाई स्वदेश र विदेशमा एक विश्वसनीय र सम्मानित संस्थाको रूपमा स्थापित गरेको छ भने विश्व सामु नेपाल र नेपालीको शीर उच्च राख्न समेत उल्लेखनीय योगदान दिएको छ । हालै सम्पन्न आम निर्वाचनलाई सुरक्षित र भयरहित वातावरणमा सम्पन्न गराउन नेपाली सेनाले नेपालका अन्य सुरक्षा निकाय तथा निर्वाचन आयोगसँगको सहकार्यमा देखाएको उच्च पेशागत दक्षता, निष्पक्षता, व्यवसायिक चरित्र एवं कार्यकुशलता प्रशंसा योग्य रहेको छ । नेपाली सेनाको कल्याणकारी कोषले विस्तार गरिरहेको भूतपूर्व सैनिक संजालमा यहाँहरूलाई अनुशासित र व्यवस्थित तवरले आवद्ध रहन आग्रह गर्दछु। बहुजन हिताय, बहुजन सुखाय भन्ने आदर्श वाक्यलाई मनन गर्दै नेपाली सेनामा विद्यमान कल्याणकारी सुविधाहरू विकेन्द्रिकृत, पारदर्शी एवं परिणाममुखी र आत्मनिर्भर बनाउँदै हिताधिकारीहरूको जीवन स्तरमा सुधार ल्याउन शिक्षा, स्वास्थ्य, स्वरोजगार तथा सीप विकास लगायतका क्षेत्रहरूमा यहाँहरूको अधिकतम पहुँच विस्तार गर्दै लैजाने प्रयास जारी छ । कल्याणकारी कार्य विवरणमुखी भन्दा पनि परिणाममुखी, आत्मनिर्भर र आयमूलक कार्यक्रम संचालन गर्न आवश्यक देखिएको छ । सेवा सुविधा बढ्दै जाओस् भन्ने सबैको चाहना हुन्छ र नेपाली सेनाले पनि यसमा आफैले हुन्छ वा सरकारसँग सहयोग लिएर हुन्छ हर सम्भव प्रयास गरिरहेकै छ । सैनिक व्यक्ति सेवामा रहँदा मात्र नभई अवकाश पश्चात समेत सदैव एक जिम्मेवार, अनुशासित र मर्यादित नागरिकको रूपमा समाजमा प्रतुत हुन आवश्यक छ । तसर्थ यसै अवसरमा म यहाँहरू सबैलाई स्थानीय स्तरमै उत्पादनशील, सृजनशील र उद्यमी बन्न आग्रह गर्दछु । नेपाली सेनाको संस्थागत प्रयास र यहाँहरूको सुझाव, समन्वय, सहकार्यबाट मात्र कल्याणकारी कार्यमा दिगो नतिजा प्राप्त गर्न सम्भव हुन्छ ।
सम्मेलनमा मध्य पृतना अन्तर्गतका विभिन्न जिल्लाबाट आएका अवकाश प्राप्त सैनिक तथा उनीहरूका परिवारजनको उल्लेख्य उपस्थिति रहेको थियो । यस वर्षको सम्मेलन ‘भूतपूर्व सैनिक सम्मेलनको प्रण, पुनर्मिलन, हिताधिकारीको कल्याण र कोषको दिगोपन’ भन्ने मूल नाराका साथ आयोजना गरिएको हो ।
अमेरिकी नौसेनाको गाइडेड–मिसाइल डिस्ट्रोयरले हर्मुज जलडमरूमध्यमा इरानी झण्डा भएको एउटा कार्गो जहाजलाई रोकेर फिर्ता पठाएको अमेरिकी सेन्ट्रल कमाण्डले बुधवार जनाएको छ । सोमवारदेखि अमेरिकी नाकाबन्दी सुरु भएयता अहिलेसम्म १० वटा जहाजहरूलाई फिर्ता पठाइएको र कुनैपनि जहाजले जलडमरूमध्य पार गर्न नसकेको कमाण्डले जनाएको छ । अमेरिकी सेन्ट्रल कमाण्डका प्रमुख ब्राड कूपरले मंगलवार राति एक्समा अमेरिकी सेनाले समुद्रमार्फत इरानमा हुने र इरानबाट हुने आर्थिक व्यापार पूर्ण रूपमा बन्द गरेको बताएका छन् ।
टर्कीका आन्तरिक मामिला मन्त्री मुस्तफा सिफ्टसीकाअनुसार बुधवार टर्कीको दक्षिणी शहर कहरामनमारसमा भएको विद्यालय गोलीकाण्डमा कम्तीमा नौ जनाको मृत्यु भएको छ । सिफ्टसीले मृत्यु हुनेमध्ये आठ जना विद्यार्थी र एक जना शिक्षक रहेको जानकारी दिँदै १३ जना घाइते भएको र तीमध्ये छ जनाको अवस्था गम्भीर रहेको बताएका छन् । यसैबीच, टर्कीका शिक्षा मन्त्री युसुफ टेकनले कहरामनमारसमा दुई दिनका लागि पठनपाठन बन्द गरिएको जानकारी दिएका छन् । स्थानीय प्रसारक एनटीभीले कहरामनमारसका गभर्नर मुकर्रेम उनलुएरलाई उद्धृत गर्दै जनाए अनुसार, यो घटना स्थानीय समयअनुसार दिउँसो १ः३० बजे (१०ः३० जीएमटी) ओनिकिसुबात जिल्लाको आयसर कालिक मध्य विद्यालयमा भएको हो, जहाँ आक्रमणकारीले दुईवटा कक्षाकोठामा प्रवेश गरी आक्रमण गरेका थिए ।
निगमका अनुसार, पेट्रोलको मूल्य भने यथावत राखिएको छ ।
त्यस्तै, आन्तरिकतर्फको हवाई मूल्य पनि प्रतिलिटर ५ रुपैयाँले वृद्धि गरिएको छ ।

नेपाली काँग्रेसले पार्टीका नेता पूर्णबहादुर खड्कालाई पार्टीको विधान विपरित गतिविधि गरेको भन्दै स्पष्टिकरण सोध्ने निर्णय गरेको छ । बुधवार पार्टी मुख्यालय सानेपामा बसेको पार्टीको केन्द्रिय अनुशासन समितिको बैठकले पार्टीको विधान विपरित प्रेस विज्ञप्ती जारी गरेको भन्दै स्पष्टिकरण सोध्ने निर्णय गरेको हो । चैत्र १४ गते जारी गरिएको अनधिकृत प्रेस विज्ञप्तीबारे सचेत गराउँदा गराउँदै फेरि चैत्र ३० गते पनि अर्को अनधिकृत प्रेस विज्ञप्ती जारी गरेकाले नेता खड्कालाई ७ दिने स्पष्टिकरण सोध्ने निर्णय गरिएको समितिका संयोजक तारामान गुरुङले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘नेपाली काँग्रेस केन्द्रिय अनुशासन समितिको मिति २०८१/१२/१८ गतेको निर्णय अनुसार विभिन्न समाचार माध्याम तथा सामाजिक सञ्जालहरुमा नेपाली काँग्रेसको नक्कली लेटरप्याड बनाएर प्रयोग गरी आफूसँग नभएको जिम्मेवारी उल्लेख गर्दै आफू पार्टीको जिम्मेवारीमा छु भनि मिति २०८२ चैत्र १४ गते अनधिकृत वक्तव्य जारी गर्ने कार्य गलत भएकाले एक पटकका लागि सचेत गराउने निर्णय भएको थियो । यसरी अनुशासन समितिबाट सचेत गराउँदा गराउँदै पनि पुनः मिति २०८२/१२/३० गतेका दिन नेपाली काँग्रेसको नक्कली लेटरप्याड बनाएर प्रयोग गरी आफूसँग नभएको जिम्मेवारी उल्लेख गर्दै आफू पार्टीको जिम्मेवारीमा छु भनि नेपाली काँग्रेसका पूर्वसभापति पूर्णबहादुर खड्काद्वारा अनधिकृत रुपमा मिति २०८२१२/३० गते प्रेस विज्ञप्ती जारी गर्ने काम पार्टीको विधान विपरित देखिएकाले नेपाली काँग्रेसको विधान २०१७ संशोधनसहितको धारा ३४ को उपधारा ८ घ बमोजिम सात दिने स्पष्टिकरण सोध्ने निर्णय गर्दछ । प्रतिनिधिसभा निर्वाचन २०८२ का सन्दर्भमा पार्टीका सदस्य पार्टीका सदस्यहरुले अनुशासन उलंघन गरेका भए सो को उजुरी २०८२ चैत्र मसान्तसम्म नेपाली काँग्रेसको केन्द्रिय अनुशासन समितिमा पठाउन निर्देशन गरिएकोमा सो को समयावधि २०८३२ बैशाख मसान्तसम्म थप गर्ने निर्णय गर्दछ ।’
त्यसैगरी बैठकले निर्वाचनमा पार्टी अनुशासन उल्लंघन गर्ने पार्टीका सदस्यहरुमाथि उजुरी दिने समय पनि एक महिना थप गरेको छ । २०८२ साल चैत्र मसान्त भित्र उजुरी दिईसक्नुपर्ने यसको निर्णय भएको र सो उजुरीका लागि वैशाख मसान्तसम्म एक महिना समय पनि थप गर्ने निर्णय गरिएको पनि समितिले जनाएको छ
गण्डकी प्रदेशमा नवनियुक्त मन्त्रीहरुहरुले पद तथा गोपनियताको शपथ लिनुभएको छ । बुधवार प्रदेश प्रमुख डिल्लीराज भट्टले नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनियताको शपथ गराउनुभएको हो । यसअघि मुख्यमन्त्री सुरेन्द्र पाण्डेको सिफारिसमा प्रदेश प्रमुखले नयाँ मन्त्रीहरु नियुक्त गर्नुभएको थियो । मुख्यमन्त्री पाण्डेले पुराना सबै मन्त्रीहरुलाई हटाएर नयाँ मन्त्री नियुक्त गर्नुभएको छ । ९ सदस्यीय मन्त्रीमण्डलमा नेपाली काँग्रेस र नेकपा एमालेका चार/चार जना मन्त्री छन् । काँग्रेसबाट जित शेरचन अर्थमन्त्री, नन्दप्रसाद न्यौपाने ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री, रेखा गुरुङ सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री रेखा गुरुङ र नम्डु गुरुङ वन तथा वातावरण मन्त्री बन्नुभएको छ । यस्तै एमालेबाट गोविन्दबहादुर नेपाली भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था, यशोदा रिमाल उद्योग तथा पर्यटन, लक्ष्मण पाण्डे कृषि, भूमि व्यवस्था तथा सहकारी र भीम कार्की स्वास्थ्यमन्त्री बन्नुभएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निजी क्षेत्रका व्यवसायीको कारोबारमाथि छानविन गर्ने तयारी गरेको छ ।
निजी क्षेत्रका हरेक क्रियाकलापहरुमा सुशासन प्रत्याभुती गराउने उद्देश्यले अख्तियारले व्यवसायीक कारोबारमाथि समेत छानविन गर्ने तयारी गरेको हो ।
अख्तियारले सार्वजनिक गरेको भ्रष्टाचार विरुद्धको दोस्रो राष्ट्रिय रणनीतिक योजना (२०८२/८३ – २०८७/८८) अनुसार सबै क्षेत्रमा हुने भ्रष्टाचारजन्य कार्यलाई अपराधीकरण गर्ने र राज्यलाई हानि नोक्शानी भएको वा अनुचित लाभ लिए दिएकोमा बाहेक दुष्कृतिजन्य कार्य सच्चाउन अवसर प्रदान गर्ने गरी नीतिगत तथा कानूनी व्यवस्थामा सुधार गरिनेछ । त्यसका लागि सहकारी क्षेत्र र पब्लिक वा प्राइभेट कम्पनी वा अन्य कुनै निजी सङ्घ, संस्थामा हुने भ्रष्टाचार निवारण गर्न आवश्यक व्यवस्था गर्ने योजना अख्तियारले बनाएको छ । रणनीतिअनुसार २ वर्ष भित्र सहकारी क्षेत्र र सार्वजनिक वा निजी कम्पनी वा अन्य कुनै निजी सङ्घ, संस्थामा हुने भ्रष्टाचारको परिभाषा, भ्रष्टाचारजन्य कसूर र सजाय, निजीक्षेत्रको सम्पत्ति हिनामिना वा नोक्सानीको विगो भराउने, अनुसन्धान, तहकिकात एवं अभियोजन गर्ने निकाय तथा मुद्दा हेर्ने निकाय समेत तोक्ने गरी नयाँ भ्रष्टाचार निवारण ऐनको निर्माण गर्ने योजना बनाइएको छ ।
त्यस्तै, कम्पनी, साझेदारी फर्म, अन्य निजी सङ्घ संस्था तथा सहकारी क्षेत्रमा हुने सबै प्रकारका अनियमितता वा भ्रष्टाचार सम्बन्धी काम कारबाहीलाई निरुत्साहित गर्न मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को घर जग्गा लिखत पारित सम्बन्धी कानूनी व्यवस्था लगायत निजी क्षेत्रसँग सम्बन्धित अन्य ऐन नियमहरूमा समयानुकूल संशोधन ÷परिमार्जन गर्ने योजना समेत अख्तियार रणनीतिमार्फत अघि सारेको छ ।
निजी क्षेत्रको आर्थिक, वित्तीय वा व्यापारिक क्रियाकलापमा घुस लिने दिने कार्यलाई दण्डनीय बनाउने योजना अघि सारेको छ । त्यसका लागि अब बन्ने नयाँ ऐनमा घुस लिने दिने कार्यलाई दण्डनीय तुल्याउने गरी व्यवस्था गर्ने र निजी क्षेत्रसँग सम्बन्धित हाल प्रचलित कानूनहरूमा समेत सोही अनुकूल संशोधन गर्ने अख्तियारको तयारी छ ।
सरकारी वा सार्वजनिक सम्पत्ति हिनामिना वा सार्वजनिक सम्पत्तिमा हानि नोक्शानी पु¥याउने गरी निजी क्षेत्रबाट हुने भ्रष्टाचारजन्य कार्य नियन्त्रणका लागि कानुनी व्यवस्था गर्ने योजना अख्तियारले बनाएको छ । २ वर्षभित्रै सरकारी वा सार्वजनिक हानि नोक्सानी पु्र्याएका व्यक्ति वा संस्थालाई थप सजाय हुने गरी नयाँ कानूनी व्यवस्था गर्ने तयारी अख्तियारको छ ।
अख्तियारले आफ्नो रणनीतिक योजनामा सहकारी क्षेत्र र सार्वजनिक वा कम्पनी वा अन्य कुनै निजी संघ, संस्थाले आम्दानी र खर्चको विवरण अभिलेखमा हेरफेर गर्ने÷ नजनाउने वा नभएको खर्च देखाउने वा गलत लिखत प्रयोग गर्ने वा स्रेस्तालाई मनशायपूर्वक नष्ट गर्ने जस्ता कार्यलाई दण्डनीय बनाउन कानूनी २ वर्षमै कानून बनाउन लाग्ने आफ्नो योजना सार्वजनिक गरेको छ ।
निजी क्षेत्रबाट हुने शेयर खरिद विक्री लाई नियमित, पारदर्शी र व्यवस्थित तुल्याउन दश लाख रुपैयाँ भन्दा बढी रकमको संस्थागत वा व्यक्तिगत शेयर खरिद विक्रीको लगत अभिलेख प्रमाणीकरण गर्दा खरिदकर्ताले बिक्री कर्ताको बैंक खातामा रकम जम्मा गरेको सक्कल बैंक स्टेटमेण्ट र सो को भौचर वा चेक समेत पेश गराई शेयर लगत अभिलेख राखिदिने गरी कम्पनी निर्देशिका, २०७२ संशोधन गर्ने, निजी संघ संस्थाको कामकारबाहीमा स्वार्थको द्वन्द्व हुन नदिन र व्यवसाय सम्बन्धी कामकारबाहीको उचित सम्पादन गर्न तथा संवद्ध निजी संस्थाको कामकारबाहीमा शुद्धता कायम गर्न आचारसंहिता, निर्देशिका वा मापदण्ड वा कार्यविधिको विकास गर्ने, निजी संघ संस्थामा आन्तरिक लेखापरीक्षण तथा नियन्त्रणको व्यवस्थालाई सुदृढ तुल्याई पारदर्शिता अभिवृद्धि गर्ने, सार्वजनिक खरिद कार्यमा संलग्न निजी क्षेत्रका व्यवसायीको कारोवारको सम्बन्धमा प्रचलित कानून बमोजिम कारोवार गरे नगरेको स सम्बन्धमा छानबिन, जाँचवुझ गर्ने, निजी क्षेत्रको लेखाको खेस्ता र लेखापरीक्षणका स्थापित मापदण्डहरू परिपालना भए नभएको अनुगमन गरी नभएमा सजाय गर्ने कानूनी व्यवस्था गर्ने जस्ता योजना अख्तियारले आफ्नो रणनीतिमा राखेको छ ।