२०८३ भाद्र २५ बिहीबार
२०८३ भाद्र २५ बिहीबार
लेकसाईडबाट पर्यटकलाई अनावश्यक दुःख हैरानी दिने १६ जना महिलाहरु नियन्त्रणमा
पोखराको मुख्य पर्यटकीय केन्द्र लेकसाइड क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकलाई अनावश्यक दुःख हैरानी दिने र अनैतिक क्रियाकलापमा संलग्न रहेको आरोपमा १६ जना महिलाहरू पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामबाट खटिएको संयुक्त टोलीले मिति २०८३ वैशाख ५ गते बिहान राति १२:३० बजेदेखि २:०० बजेसम्मको विशेष अपरेसनका क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो। लेकसाइडको सडकमा रातिको समयमा
पर्यटकहरूलाई विभिन्न प्रलोभन देखाउने, हैरानी दिने तथा लुटपाट र अनैतिक कार्यमा संलग्न भई शान्ति सुरक्षामा खलल पुऱ्याएको भन्ने जनगुनासो व्यापक आएपछि प्रहरीले यो कदम चालेको हो। पक्राउ परेका महिलाहरूलाई जिल्ला प्रहरी कार्यालयमा राखेर आवश्यक कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइएको छ। पोखराको पर्यटनलाई सुरक्षित र मर्यादित बनाउन प्रहरीले यस्ता गतिविधिमा संलग्नमाथि निगरानी र कडाइलाई निरन्तरता दिने बताएको छ।

प्रसिद्ध कथावाचक एवं भारतको तुलसी पीठका पीठाधीश्वर जगद्गुरु रामभद्राचार्यले नेपाल समृद्ध र पूर्णरूपमा आत्मनिर्भर हुनुपर्नेमा जोड दिनुभएको छ । 
जनकपुरधाममा जानकी नवमीको अवसरमा भ्रमणका लागि आउनुभएका उहाँले यस्तो बताउनुभएको हो । नेपाल आउँदा आफूलाई आफ्नै घर आएको जस्तो हुने भन्दै नेपाल कुनै पनि देशको भर पर्नु नहुने बताउनु भयो । प्रधानमन्त्री बालेन्द्र साहको आलोचना गर्दै साहको रवैया राम्रो नभएको जिकिर गर्नुभयो । प्रधानमन्त्री साहसँग राजनीति र गाम्भीर्यको अनुभव कम रहेको उहाँले बताउनु भयो । उहाँको भारतप्रतिको दृष्टिकोण शुद्ध हुनुपर्ने र भारतविरोधी हुनु नहुने बताउनु भयो । साहमा हिन्दुत्वप्रति आकर्षण र प्रेम हुनु आवश्यक रहेको बताउनु भयो । 
उहाँले नेपालमा राजसंस्थाको आवश्यकता रहेको बताउनु भयो । नेपालमा अत्याधिक धर्मान्तरण भइरहेकोमा पनि उहाँले चिन्ता व्यक्त गर्नुभयो । 

अब शेयर मूल्य एकैदिन १५ प्रतिशतसम्म घटबढ हुनसक्ने भएको छ । नेपाल धितोपत्र बोर्ड (सेवोन) बाट ‘धितोपत्र कारोबार सञ्चालन (चौथो संशोधन) विनियमावली, २०८२’ स्वीकृत भएसँगै नेप्सेले यो नयाँ व्यवस्था कार्यान्वयनमा ल्याउन लागेको हो ।
सोमबवारबाट लागू हुन लागेको नयाँ व्यवस्थाअनुसार अब सूचीकृत कम्पनीहरूको शेयर मूल्य एकैदिन १५ प्रतिशतसम्म घटबढ हुन सक्नेछ । यसअघि यस्तो सीमा १० प्रतिशत मात्र रहेको थियो । बजारलाई थप चलायमान बनाउन र मूल्य निर्धारण प्रक्रियालाई यथार्थपरक बनाउन यो सीमा बढाइएको नेप्सेले जनाएको छ । 
नयाँ नीतिअनुसार बजार खुल्नुअघिको प्रि–ओपन सेसनको मूल्य सीमामा पनि परिवर्तन गरिएको छ । यसअघि २ प्रतिशत रहेको यस्तो सीमालाई बढाएर ५ प्रतिशत कायम गरिएको छ । यसले बजार खुल्ने बित्तिकै हुने अस्वाभाविक उतारचढावलाई नियन्त्रण गर्ने अपेक्षा गरिएको छ ।
यसैगरी, नेप्से परिसूचक (इन्डेक्स) मा आधारित सर्किट ब्रेकर प्रणालीलाई पनि सरलीकृत गरिएको छ । अब तीन तहको सट्टा दुई तहको मात्र सर्किट ब्रेकर रहनेछ । कारोबार सुरु भएको दुई घण्टाभित्र बजार सूचक ५ प्रतिशतले घटबढ भएमा १५ मिनेटका लागि कारोबार रोकिनेछ । यदि सूचक ८ प्रतिशतले घटबढ भएमा उक्त दिनको सम्पूर्ण कारोबार बन्द गरिनेछ । यसअघि ४/५ र ६ प्रतिशतको तीन तहको जटिल सर्किट प्रणाली रहेको थियो । नयाँ व्यवस्थाले बजारको अवरोध कम गरी कारोबारलाई सहज बनाउने लक्ष्य लिएको छ ।
यस्तै नेपाल धितोपत्र बोर्डले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) प्रक्रियालाई थप पारदर्शी र विश्वसनीय बनाउन नयाँ व्यवस्था लागू गरेको छ । 
आईपीओका लागि पेस भएका कम्पनीहरुको विवरणको पुनरावलोकन गर्ने सम्बन्धी मापदण्ड बोर्डले परिमार्जन गर्दै वैशाख १ देखि लागू गरेको हो । नयाँ व्यवस्थाअनुसार अब आईपीओका लागि आवेदन दिने कम्पनीहरूको वित्तीय अवस्था र मापदण्डको जाँच लेखा विशेषज्ञबाट अनिवार्य पुनरावलोकन गराइनेछ । 
मापदण्डअनुसार धितोपत्र बोर्डले कम्पनीहरूको पछिल्लो तीन वर्षको लेखापरीक्षण भएको विवरण जाँचबुझ गर्नेछ । कम्पनीको कुल बिक्रीको ७५ प्रतिशतभन्दा बढी रकम उठ्न बाँकी देखिएमा पुनरावलोकन गरिनेछ । उत्पादनमूलक क्षेत्रमा पनि ७५ प्रतिशत र होटल तथा पर्यटन क्षेत्रमा ५० प्रतिशतभन्दा बढी प्राप्य रकम भएमा यो नियम लागू हुनेछ । बोर्डले विभिन्न क्षेत्रका लागि छुट्टाछुट्टै वित्तीय सूचकहरू पनि तय गरेको छ ।

पेट्रोलियम पदार्थमा भएको भारी मूल्य वृद्धिको बाछिटा कालिमाटी फलफूल तथा तरकारी बजारमा प्रस्ट देखिन्छ । ढुवानी भाडा बढ्दा उपभोक्ताको थाली महँगो भएको छ । आजको बजारमा तरकारीको मूल्यमा विविधता देखिएको छ । गोलभेडा ठूलो (भारतीय) को मूल्य ७५ रुपैयाँ (औसत) रहँदा लोकल गोलभेडा ३० रुपैयाँमै उपलब्ध छ । यसले भारतीय आयातित गोलभेडा भन्दा स्थानीय उत्पादन २.५ गुणा सस्तो रहेको देखाउँछ । च्याउ र कुरीलो जस्ता विलासी तरकारीहरूको मूल्य भने आकासिएको छ । सिताके च्याउको मूल्य प्रतिकेजी ९ सय रुपैयाँ पुगेको छ भने डल्ले च्याउ ४ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ । न्युन आय भएकाहरूका लागि स्थानीय घिउ सिमी (२२.५०), लौका (२२.५०) र घिरौला (३०) केही राहत दिने वस्तु बनेका छन् । फलफूलको मूल्य आज झनै आक्रामक देखिएको छ । विशेष गरी एभोकाडो (७ सय) र किबि (३ सय ७५) मध्यम र उच्च वर्गको मात्र पहुँचमा देखिन्छन् । दैनिक उपभोग्य फलफूलमा स्याउ (फूजी) २ सय ८५ रुपैयाँ र अनार ३ सय ६५ रुपैयाँ पुग्नुले बिरामी र बुढाबुढीलाई फलफूल खुवाउन समेत समस्या पर्ने स्थिति आएको छ । 
केरा प्रतिदर्जन २५० रुपैयाँ र कागती ३ सय ५५ रुपैयाँ प्रतिकेजी हुनुले नेपाली बजारमा आयातित फलफूलको दबदबा र ढुवानी खर्चको प्रत्यक्ष असरलाई पुष्टि गर्दछ ।
तरकारीको तुलनामा ताजा माछाको मूल्य केही स्थिर देखिएको छ । ताजा माछा (बचुवा र छडी) २ सय ९० देखि ३ सय ५ रुपैयाँमा पाइन्छ । यद्यपि, सुकेको माछाको मूल्य ९ सय रुपैयाँ पुग्नुले संरक्षण र भण्डारण खर्च बढेको सङ्केत गर्दछ । 

पछिल्लो २४ घण्टामा मुलुकका विभिन्न भागमा आगलागी, वन डढेलो र सर्पदंशका २० वटा विपद्का घटनाहरू भएका छन् ।
राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणकाअनुसार यी घटनाहरूमा कुनै मानवीय क्षति नभए पनि पाँच जना घाइते भएका छन् भने लाखौँको धनमाल नष्ट भएको छ । रामेछापको खाँडादेवी गाउँपालिका–४ मा विद्युत सर्ट भई एकै घरमा १५ लाख बराबरको सुनचाँदी र नगद नष्ट भएको छ । यस्तै, सुनसरीको बराहक्षेत्र–७ मा भएको आगलागीमा ५ लाख ६० हजारको धनमाल जलेर नष्ट भएको छ । नवलपरासी (पश्चिम), पर्वत र झापामा पनि आगलागीले ठूलो क्षति पु¥याएको छ । रौतहटमा गुडिरहेको स्कार्पियो गाडीको इन्जिनमा आगलागी हुँदा गाडीमा क्षति पुगेको छ । गर्मी बढ्दै जाँदा वन डढेलोको जोखिम पनि बढिरहेको छ । मकवानपुर, नवलपरासी (पूर्व) र पाल्पाका विभिन्न सामुदायिक वनहरूमा डढेलो लागेको छ । प्राधिकरणको रिपोर्टअनुसार वन डढेलो नियन्त्रणका लागि स्थानीय समुदाय र सुरक्षा निकायको सक्रियता रहँदै आएको छ ।
सर्पदंशका कारण झापा, पाल्पा र बर्दियामा तीन जना घाइते भएका छन् । कैलालीको टीकापुरमा खाना पकाउने क्रममा ७७ वर्षीया वृद्धा घाइते भएकी छिन् भने सर्लाहीमा घोडाको आक्रमणबाट एक व्यक्ति घाइते भएका छन् । घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । सुर्खेतमा वनमा चराउन लगिएका २१ मध्ये ५ बाख्रा मृत र ७ घाइते अवस्थामा फेला परेका छन् । सबै घटनाहरूमा स्थानीय समुदाय, प्रहरी र दमकलको सक्रियतामा आगो नियन्त्रणमा लिने प्रयास गरिएको थियो । प्राधिकरणले आगलागी र डढेलोबाट बच्न सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ ।

तस्बिरः एआई 

विश्वकै उत्कृष्ट पदयात्रा गन्तव्यमध्येको एक अन्नपूर्ण आधार शिविर यतिबेला पदयात्रीहरूको रोजाइमा परेको छ । समुन्द्री सतहदेखि ४ हजार १ सय ३० मिटरको उचाईमा अवस्थित यो क्षेत्र प्राकृतिक सौन्दर्य र हिमाली दृश्यका लागि प्रख्यात छ । यात्राको शुरुवात र सौन्दर्य यात्राको प्रवेशद्वार पोखराको फेवातालको मनमोहक रात्रिकालीन दृश्यबाट शुरु हुने यो यात्रा, पदयात्रीहरूका लागि एउटा सपनाको यात्रा जस्तै बन्दछ । उकाली–ओराली, ढुङ्गे खुड्किलाहरू, र कतै गहिरा खोँचहरू पार गर्दै जाँदा देखिने कलकल बग्ने झरना र नीलो कञ्चन पानीका खोलाहरूले यात्राको थकान मेटाइदिन्छन् । 
हिमालको काखमा रमाउँदा अन्नपूर्ण र माछापुच्छ्रे जस्ता विश्व प्रसिद्ध हिमालहरूलाई आँखा अगाडि देख्दा पदयात्रीहरू मन्त्रमुग्ध हुन्छन् । ४,०६० मिटर उचाईमा रहेको ‘कागभुसुन्डी डाँडा’ जस्ता बिन्दुहरूबाट देखिने दृश्यहरू अतुलनीय छन् । हिउँले ढाकिएका चुचुराहरू, बादलले छोपिएका पहाडहरू र चिसो सिरेटोका बीच हिउँका मानव बनाएर रमाउने पदयात्रीहरूको संख्या पनि उल्लेख्य छ । 
वनस्पति र वन्यजन्तुको सान्निध्य यस क्षेत्रमा पाइने अल्पाइन फूलहरू, लेकाली रुखहरू र ढुङ्गाका कापमा उम्रिएका लेउहरूले यस क्षेत्रको जैविक विविधतालाई झल्काउँछन् । हिउँमा रमाउने स्थानीय भोटे कुकुरहरू र रंगीचंगी लुङ्ता (प्रार्थना झण्डाहरू) ले यस पदयात्रालाई सांस्कृतिक र प्राकृतिक रूपमा थप समृद्ध बनाएका छन् । 
पदयात्रीहरूको उत्साह पदयात्राका क्रममा भेटिने क्याम्पिङ साइटहरूमा रङ्गीबिरङ्गी टेन्टहरूमा बसेर रात बिताउनुको छुट्टै आनन्द छ । अग्ला चट्टानी पहाडहरू र छाँगाहरूबाट झरेका झरनाहरूले यो क्षेत्रलाई पृथ्वीको एउटा सानो स्वर्गको रूपमा चिनाएका छन् । 
अन्नपूर्ण पदयात्रा केवल एक हिँडाइ मात्र नभएर प्रकृतिको नजिक पुग्ने र आफैँलाई चिन्न पाउने एक महत्वपूर्ण अवसर हो भन्नेकुरा यहाँ पुग्ने जो कोहीले महशुस गर्दछन् ।

मध्यपूर्वको द्वन्द्वका कारण विश्वव्यापी आपूर्ति श्रृङ्खलामा परेको अवरोधले केन्यामा इन्धनको मूल्य अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ । जसले गर्दा यातायात र दैनिक उपभोग्य वस्तुहरूको लागतमा वृद्धि भएको छ । केन्याका लाखौं मानिसहरू इन्धनको मूल्यमा भएको कीर्तिमानी वृद्धिसँग जुधिरहेका छन्, जसलाई मध्यपूर्वको द्वन्द्वको प्रत्यक्ष परिणामको रूपमा हेरिएको छ । देशको ऊर्जा नियामकले सुपर पेट्रोल र डिजेलको मूल्यमा क्रमशः २८.६९ र ४०.३ शिलिङ प्रतिलिटरको ऐतिहासिक वृद्धि गरेको छ । सार्वजनिक यातायात क्षेत्रमा सञ्चालकहरूले भाडा करिब २५ प्रतिशतले बढाएका छन् । लामो दूरीका बसहरूको भाडा पनि १.५४ देखि ३.८६ अमेरिकी डलरसम्म बढेको छ । आयातित पेट्रोलियममा निर्भर रहेको केन्याली अर्थतन्त्रमा यो मूल्य वृद्धिले सामान र सेवाहरूको लागत बढाउने निश्चित छ । मार्च महिनामा केन्याको मुद्रास्फीति दर बढेर ४.४ प्रतिशत पुगेको छ । यद्यपि यस वर्ष ५ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखिएको छ, तर बढ्दो इन्धन लागतले उक्त दृष्टिकोणमा जोखिम निम्त्याएको छ ।

नवनिर्वाचित सभामुख डोलप्रसाद अर्यालले आफू व्यक्तिकेन्द्रित नभई संस्थाको गरिमा उच्च बनाउन केन्द्रित हुने बताउनुभएको छ । संसदीय मामिला पत्रकार समाजका पदाधिकारीहरूसँगको भेटमा उहाँले आफू संसदजस्तो गरिमामय संस्थाको नेतृत्व गरिरहेकाले यसको सम्मान र मूल्य–मान्यता जोगाउनु आफ्नो मुख्य जिम्मेवारी रहेको उल्लेख गर्नुभयो । उहाँले आफ्नो तर्फबाट कुनै गल्ती भएमा तुरुन्तै स्वीकार गर्न र माफी माग्न तयार रहेको बताउँदै आफ्ना कमजोरीहरू बेलैमा औंल्याइदिन पत्रकारहरूलाई अनुरोध गर्नुभयो ।
सभामुख अर्यालले भन्नुभयो, ‘विगतका सभामुखहरूबाट भएका राम्रा कामहरू म कपी गर्नेछु र ती नजिरहरूलाई अझ सुदृढ बनाउनेछु । तर, यदि कतै त्रुटि वा कमीकमजोरी भएको छ भने त्यसलाई नदोहो¥याउन म सचेत छु । मलाई कसैले प्रहार गर्दा क्षणिक फाइदा होला तर संस्थालाई प्रहार गर्दा समाजलाई ठूलो घाटा हुन्छ । त्यसैले संस्थालाई सुदृढ बनाउने गरी यहाँहरूको आलोचनात्मक साथको अपेक्षा गरेको छु ।’
नेपाली जनताले संसदबाट गरेको अपेक्षाभन्दा अझ बढी परिणाम दिन आफू क्रियाशील रहने उहाँको भनाइ छ । सभामुख अर्यालले संसद र संसदीय समितिका गतिविधिलाई व्यवस्थित बनाउन सञ्चारकर्मीहरूको भुमिका महत्वपूर्ण हुने बताउनु भयो । संसदको सूचना प्रवाह र प्रश्नोत्तरको शैलीलाई अझ सुसंस्कृत बनाउनुपर्नेमा जोड दिनुभयो । 
पछिल्लो समय पत्रकारितामा देखिएको भीड र प्रश्न सोध्ने प्रक्रियाप्रति संकेत गर्दै उहाँले भन्नुभयो, ‘कहिलेकाहीँ एउटा प्रश्नको उत्तर आउन नपाउँदै अर्को प्रश्न गरिँदा वातावरण इरिटेटिङ बन्न सक्छ । कम्तिमा एकजनाले सोधेको प्रश्नको उत्तर आउन्जेल धैर्य गर्ने संस्कार बसाल्न सके अझ राम्रो हुने थियो ।’
सभामुख अर्यालले नयाँ र पुराना पत्रकारहरूबीचको व्यवस्थापन पत्रकार समाज आफैँले गरिदिए आफूहरूलाई सहजीकरण हुने बताउनु भयो । संसद भवनको साँगुरो संरचना र प्रवेशमा रहेका कठिनाइहरूबारे अवगत रहेको बताउँदै उहाँले नयाँ संसद भवनमा सरेपछि यी समस्याहरू हल हुने विश्वास दिलाउनु भयो । उहाँले पत्रकारको पहुँचलाई लिएर आफू सधैँ उदार रहने र सूचना लुकाउने पक्षमा नरहेको स्पष्ट पार्नुभयो ।
सभामुख अर्यालले कानून निर्माण प्रक्रियालाई तिब्र गतिमा अघि बढाउने आफ्नो योजना रहेको बताउनु भयो । विकास, समृद्धि र नागरिकको खुसीका लागि कानुन निर्माणमा हुने ढिलाइले समाजलाई अपूरणीय क्षति पुग्ने उहाँको ठहर छ । 
‘हामीसँग पाँच वर्ष छ नि भनेर बिस्तारै काम गर्नु भनेको नागरिकले पाउने सेवा ढिलो बनाउनु हो । जति छिटो कानुन बनाउँछौँ, नागरिकले त्यति नै छिटो त्यसको लाभ प्राप्त गर्छन् । त्यसैले म विधि, प्रक्रिया र संविधानलाई अक्षरशः पालना गर्दै जतिसक्दो फास्ट काम गर्ने तयारीमा छु ।’ उहाँले भन्नुभयो । 
उहाँले बजेट अधिवेशनलाई अझ प्रभावकारी बनाउन स्टेकहोल्डरहरूसँग छलफल गरिरहेको जानकारी पनि दिनुभयो ।
सभामुखले भन्नुभयो, ‘मेरो हुटहुटी भनेको यो पुस्ताले नै परिणाम देख्न पाओस् भन्ने हो । अब परम्परागत शैलीको राजनीति होइन, परिणाममुखी काम गरेर जनताको अनुहारमा खुशी ल्याउनुपर्छ ।’
सभामुख अर्यालले नेपाली समाजमा नेताको पुरानो छवि बदल्न आवश्यक रहेको धारणा राख्नुभयो । राजनीतिज्ञ भनेपछि एउटा विशेष लुगा लगाउने र विशेष शारीरिक बनावट हुनुपर्ने परम्परागत चिनारीलाई परिवर्तन गर्नुपर्ने उहाँको तर्क छ । 
‘हामीले चप्पल लगाउने हरेक नागरिकलाई जुत्ता लगाउने बनाउनु छ, साइकल चढ्नेलाई मोटरसाइकल र गाडी चढ्ने बनाउनु छ । देश र जनता दुवै धनी हुनुपर्छ । गिटी कुट्नेले पनि गर्वका साथ मेरो सरकार छ भन्न सकोस् र अर्बपतिले पनि राज्यको सेवा सहजै पाउन सकोस् ।’
सभामुख अर्यालले आफू आम नागरिकजस्तै‘फ्यामिलियर’ हुन चाहेको बताउँदै आवश्यकभन्दा बढी ‘सभामुख’ भनेर आफूलाई समाजभन्दा टाढाको पात्र नबनाउन आग्रह गर्नुभयो । अस्पतालमा पहुँचको आधारमा नभइ नागरिकको अधिकारको आधारमा बेड पाइने र विद्यालयमा पहुँचको आधारमा भर्ना हुने प्रथा अन्त्य हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।
सभामुख अर्यालले संसदको नयाँ नियमावली मस्यौदामा पत्रकारहरूको सल्लाह र सुझावलाई महत्व दिइने बताउनु भयो । संसदीय समितिहरूमा पत्रकारहरूको पहुँच र रिपोर्टिङ सहज बनाउने विषयमा उहाँले गम्भीर रहेको उल्लेख गर्नुभयो ।
हामी लोकतन्त्रमा छौँ, जहाँ वाक स्वतन्त्रता र सूचनाको हक प्रमुख हुन्छ । म त सबै कार्यक्रम लाइभ गराउनुपर्छ भन्ने मान्यताको मान्छे हुँ, त्यसैले सूचना लुकाउने वा लुकाउनुपर्छ भन्ने मेरो उद्देश्य छैन ।’
नियमावली मस्यौदा समितिमा पत्रकारहरूको जिज्ञासा र पहुँचबारे उहाँले उचित व्यवस्थापन गर्ने प्रतिवद्धता जनाउनु भयो । विगतका कयौँ नजिरहरू प्रविधि र नयाँ पुस्ताको अपेक्षाअनुसार सुधार्दै लैजानुपर्ने आवश्यकता रहेको उहाँको भनाइ छ । उहाँले संसद सचिवालयका सानातिना समस्यादेखि ठूला नीतिगत विषयसम्म पत्रकारहरूसँग सहकार्य गर्दै अघि बढ्ने स्पष्ट पार्नुभयो ।

प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरि ढकाल निर्विरोध निर्वाचित हुनुभएको छ । 
शुक्रवार सिंहदरबारमा बसेको समितिको बैठकमा ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले ढकालको एकल उम्मेदवारी परेकोले निर्विरोध निर्वाचित भएको घोषणा गर्नुभएको हो । सभापतिमा निर्वाचित भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै ढकालले संसदीय समितिहरू दलगत सीमाभन्दा माथि उठेर काम गर्ने थलो भएको भएको भन्दै सोहीअनुसार जिम्मेवारी निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले समिति सदस्यहरूको सिर्जनात्मक सुझाव र खबरदारीलाई आत्मसात गर्दै आफ्नो विगतको अनुभवका आधारमा जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । विगतमा सरकारको बारम्बार परिवर्तन र राजनीतिक अस्थिरताका कारण समितिहरू प्रभावकारी हुन नसकेको बताउनु भयो । अहिले स्थिर सरकार बनेकाले सरकारलाई सहयोग गर्ने गरी समितिको भूमिका अझ सशक्त हुने उहाँको दाबी छ । 
उहाँले भन्नुभयो, ‘संसदीय समितिमा दलहरुभन्दा बाहिर निस्किएर बहसहरु हुने गर्दछ । त्यसकारण माननीयज्यूहरुको सिर्जनात्मक सुझाव र खबरदारीलाई ग्रहण गर्दै मेरो विगतको अनुभवको आधारमा यो समितिको सभापतिको जिम्मेवारी कुशलतापूर्वक निभाउने छु । विगतमा संसदीय समितिहरुले प्रभावकारी रुपमा काम गर्न नसक्नुको मुख्य कारण ९–९ महिनामा सरकार परिवर्तन हुनु र राजनीतिक अस्थिरताको कारण थियो होला नि त । अहिले स्थिर सरकार बनेको छ । त्यसकारण सरकारलाई सघाउनको लागि समितिको भूमिका महत्वपूर्ण हुन्छ । यसअघि जस्तो समिति छायाँमा बस्दैन ।’
मुलुकमा सुशासन कायम गर्नको लागि राज्यका सम्पूर्ण निकायहरुको प्रभावकारी अनुगमन गरिने पनि उहाँको भनाइ छ ।

 

४ वैशाख, पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले पाठेघरको मुखको क्यान्सरका कारण भैरहेको आमा तथा महिलाहरुको अकालमृत्यु रोक्न आफूले अघि बढाएको कार्यक्रम परिस्कृत रुपमा निरन्तरता दिन सरकारसँग अनुरोध गरेका छन् ।

सामाजिक सञ्जालमा लेख्दै समयमै परीक्षण नहुँदा कैयौं आमा तथा महिलाहरुले मृत्युवरण गर्नुपर्ने अवस्था अन्त्य गर्न निःशुल्क क्यान्सर परीक्षण स्क्रिनिङ थालेको स्मरण गरे ।

 

मातातीर्थ औंसीको अवसरमा आमाहरुलाई शुभकामना दिंदै उनले यस्तो अनुरोध गरेका हुन् ।

‘समाजमा महिलाको स्वास्थ्य दोश्रो प्राथमिकतामा परिरहेको सन्दर्भमा हामीले समयमै परीक्षण नहुँदा कैयौं आमा, महिलाहरुले मृत्युवरण गर्नु पर्ने त्रासद अवस्था अन्त्य गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालय रहँदा अघि बढाएको निःशुल्क क्यान्सर परीक्षण स्कृनिङ सेवा शुरु गरेको आजको महत्त्वपूर्ण दिनमा स्मरण गर्दै वर्तमान सरकारले यसलाई अझ परिस्कृत रूपमा निरन्तरता दिनेछ भन्ने विश्वास व्यक्त गर्दछौं,’ उनको सन्देशमा छ ।

 

पौडेल मन्त्री रहँदा सबैभन्दा धेरै महिलाको ज्यान जाने कारण पाठेघरको मुखको क्यान्सरबाट किशोरीहरुको रक्षाका लागि एचपीभी खोप अभियान तथा महिलाहरुको पाठेघर परीक्षणका लागि स्क्रिनिङ राष्ट्रिय कार्यक्रममा समावेश गरेर अभियान थालिएको थियो ।

दुवै अभियानको उद्देश्य क्यान्सरका कारण बढिरहेको महिला मृत्यु रोक्नु थियो ।

मातातीर्थ औंसीको अवसरमा त्यो निर्णय स्मरण गरेका पौडेलले यसलाई वर्तमान सरकारको प्राथमिकतामा राख्न सुझाव दिएका हुन् ।

‘स्वस्थ महिलाबाट स्वस्थ परिवार अनि समुन्नत राष्ट्र निर्माणको जिम्मेवारी पूरा गर्न हामी सदैव प्रतिबद्ध छौं,’ पूर्वमन्त्री पौडेलले सन्देशमा भनेका छन् ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।