२०८३ भाद्र २५ बिहीबार
२०८३ भाद्र २५ बिहीबार

भक्तपुरको मनोहरास्थित सुकुमवासी बस्ती भत्काउन डोजरसहित सुरक्षाकर्मीहरु पुगेका छन् । हिजो भत्काउने प्रयास गर्दा स्थानीय विरोधमा उत्रिएका थिए । स्थानीयले ढुंगामुढा गरेपछि सुरक्षाकर्मी समेत घाइते भएका थिए ।

त्यसपछि फर्किएको डोजरसहितको टोली आज बिहानै पुन: मनोहरा क्षेत्रमा पुगेको छ । सुकुमवासी बस्ती वरपर बाक्लो संख्यामा सुरक्षाकर्मी खटाइएको छ । शनिबार काठमाडौं महानगरपालिकाले थापाथली र गैह्रीगाउँको सुकुमवासी बस्तीमा डोजलर लगाएको थियो । आज मनोहराको सुकुमवासी बस्ती हटाउने योजना छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत इरानी पक्षसँग भेट्न पाकिस्तानको इस्लामावाद जान लागेका अमेरिकी प्रतिनिधिहरूको भ्रमण रद्ध गरेको घोषणा गर्नुभएको छ । ट्रम्पले भन्नुभयो, ‘तपाईंले सायद सुन्नुभयो होला कि हामीले भ्रमण रद्ध गरेका छौं । हामीसँग सबै परिस्थिति अनुकूल छ । पर्याप्त नभएको कागजात दिनका लागि जहाजमा १५ घण्टा बिताउँदै आउने–जाने गरिरहन हामी चाहँदैनौं । त्यसैले हामी टेलिफोनमार्फत कुरा गर्नेछौं, र उनीहरूले चाहेको बेला हामीलाई फोन गर्न सक्छन् । फेरि पनि भन्छु, हामीसँग सबै कुराको नियन्त्रण छ । उनीहरूसँग व्यावहारिक रूपमा कुनै सेना बाँकी छैन, उनीहरूसँग कुनै नेता बाँकी छैनन् । नेताहरू को हुन् भन्ने हामीलाई थाहा छैन । नेता को हो भनेर कसैलाई थाहा छैन, मलाई लाग्दैन कि उनीहरूलाई नै आफ्ना नेता को हुन् भन्ने थाहा छ । यो धेरै महत्वपूर्ण छ । त्यसैले तपाईंले त्यो देख्नुभयो ।’
यसअघि शनिवार ट्रम्पले फक्स न्युजलाई बताउनुभएको थियो कि उहाँले आफ्ना ज्वाइँ जेरेड कुश्नर र विशेष दूत स्टिभ विटकफको पाकिस्तान भ्रमण रद्ध गर्नुभएको छ । अन्तर्वार्तामा ट्रम्पले दाबी गर्नुभयो कि इरानसँगको द्वन्द्वमा अमेरिका बलियो स्थितिमा रहेकाले अमेरिकी प्रतिनिधिमण्डलले पाकिस्तानसम्म १८ घण्टाको उडान भर्नु उचित छैन । विटकफ र कुश्नर यस सप्ताहन्तमा अमेरिका–इरान वार्ताको दोस्रो चरणका लागि पाकिस्तान जाने कार्यक्रम थियो । 

आज काठमाडौंको आकाशमा बिहानैदेखि बादल लागेको छ र अध्यारोले पूरै ढाकेको छ । आज दिउँसो देशको हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्ने र तराई भू–भागमा आंशिक बादल लाग्नेछ । कोशी, वागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भेगका केही स्थानहरूमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली क्षेत्रमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ । मधेश प्रदेश, वागमती र गण्डकी प्रदेशको तराई तथा लुम्बिनी प्रदेशको पहाडी भेगमा पनि मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा हुन सक्नेछ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भेगमा भने आज तातो दिन हुने सम्भावना छ । राति देशको हिमाली भू–भागमा साधारणतया बादल लाग्ने र अन्य क्षेत्रमा आंशिक बादल लाग्नेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशको हिमाली भेगमा हल्का वर्षा र हिमपात हुनसक्ने छ । मौसम विभागले मेघगर्जन र चट्याङ्गको सम्भावना रहेका क्षेत्रमा शतर्कता अपनाउन अनुरोध गरेको छ । लुम्बिनी र सुदूरपश्चिमका तराई भेगमा तातो दिन हुने भएकाले शतर्क रहन सल्लाह दिइएको छ ।

News Summary

  • सरकारले काठमाडौंको थापाथलीस्थित बागमती नदी किनारका सुकुमवासीलाइ बस्ती खाली गर्न निर्देशन दिएको छ।
  • प्रधानमन्त्री बालेन शाहले सुरक्षा निकाय प्रमुखलाई सुकुमवासी बस्ती खाली गराउन निर्देशन दिएका थिए।
  • प्रहरीले बिहीबार साँझ थापाथलीसहित चार सुकुमवासी बस्तीमा माइकिङ गरी बस्ती खाली गराउन सूचना दिएको छ।

११ वैशाख, काठमाडौंको थापाथलीस्थित बागमती नदी किनारमा बस्दै आएका सुकुमवासीहरुले आफू बसेको घर खाली गर्न थालेका छन् । सरकारले बस्तीका संरचना भत्काउने तयारी गरेपछि उनीहरुले आज बिहानबाट सामान सारिरहेका छन् ।

प्रहरीले विहीबार बेलुकी बस्ती छाड्न माइकिङ गरेको थियो । यसअघि बुधबार गृहमन्त्री पदबाट सुदन गुरुङले राजीनामा दिएलगत्तै प्रधानमन्त्री बालेन शाहले सुरक्षा निकायका प्रमुखलाई बोलाएर सुकुमवासी बस्ती खाली गराउन निर्देशन दिएका थिए ।

 

प्रधानमन्त्रीको उक्त निर्देशनअनुसार बिहीबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडैलले जिल्ला सुरक्षा समितिको बैठकमार्फत् सुकुमवासी बस्ती खाली गराउने निर्णय गराएका थिए । उक्त बैठकमा काठमाडौं महानगरकी कार्यवाहक मेयर सुनिता डंगोललगायत सुरक्षा अधिकारीहरू सहभागी थिए ।

जिल्ला सुरक्षा समितिको बैठकको निर्णयअनुसार नै प्रहरीले बिहीबार साँझ थापाथलीलगायत काठमाडौंका ४ वटा सुकुमवासी बस्तीमा माइकिङ गरेको थियो । प्रशासनले पहिलोचरणमा काठमाडौं उपत्यकाको थापाथलीसहित ४ वटा सुकुमवासी बस्तीमा डोजर चलाउने जनाएको छ ।

 

सरकारले डोजर चलाउने सूचना पाएपछि कतिपयले आफैं बोकेर र कतिपयले गाडीमा लोड गरेर सामान सारिरहेका छन् । कतिपयले भने सरकारको निर्णय अवज्ञा गर्ने योजना अनुसार बस्ती खाली नगर्न आग्रह गरिरहेका छन् ।

प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नेपालमा साइबर बुलिङ्ग लगायत साइबर अपराध तिब्र गतिमा बढिरहेको बताउनुभएको छ । 
बिहीवार बसेको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा उहाँले इन्टरनेट र मोबाईलको बढ्दो प्रयोगसँगै साईवर अपराधका घटनाहरु वृद्धि भएको बताउनुभएको हो । उहाँकाअनुसार विशेषगरी महिला र युवाहरू साईबर अपराधका घटनाबाट बढी प्रभावित भएका छन् । हालको तथ्याङ्कअनुसार ४ हजारभन्दा बढी सामाजिक सञ्जालको फेक एकाउण्टबाट घृणा फैलाउने सम्बन्धी निवेदन प्रहरीमा दर्ता भएका छन् । त्यसैगरी बुलिङ र ह्यारेसमेन्टका ३ हजारभन्दा बढी घटनाहरू दर्ता भएको उहाँले जानकारी दिनुभयो । उहाँकाअनुसार सबैभन्दा बढी वित्तीय अपराधका १० हजार भन्दा बढी उजुरी प्रहरीकोमा परेको छ । एकाउन्ट ह्याकिङ, अनलाइन ठगी, धम्की (थ्रेट) दिने, यौनजन्य हिंसा जस्ता गतिविधि व्यापक बन्दै गएको उहाँले बताउनु भयो । 
उहाँले भन्नुभयो, ‘नेपालमा साईबर बुलिङका घटनाहरुको वृद्धि भएको देखिन्छ, अहिले तथ्याङ्कअनुसार सबैभन्दा बढी वित्तीय अपराधलाई देखाउँछ, यो १० हजार पुगेको अवस्था छ । फेक एकाउन्टको ४ हजार माथी छ । बुलिङ र ह्यारेसमेन्टका ३ हजार भन्दा बढी घटनाहरु रिपोर्टेड छन् । एकाउण्ट ह्याकिङ गर्ने, पैसा चोरी गर्ने, थ्रेड दिने लगायतका घटनाहरु छन् । ईन्टरनेटको बढ्दो प्रयोगको कारण महिला र युवा बढी प्रभावित भएको पाइन्छ ।’ 
महानिरीक्षक कार्कीले सामाजिक सञ्जाल प्लेटफर्महरू विदेशी कम्पनीद्वारा सञ्चालित भएकाले साईवर अपराध सम्बन्धी मुद्दाहरुमा अनुसन्धानका लागि आवश्यक विवरण प्राप्त गर्न ठूलो चुनौती रहेको बताउनु भयो । उहाँकाअनुसार नेपालमा सञ्चालित रहेको सामाजिक सञ्जालको प्लेटफर्महरूमा नेपाल प्रहरीको प्रत्यक्ष नेटवर्क र कानूनी व्यवस्था पनि पर्याप्त छैन । फेसबुक, इन्स्टाग्राम जस्ता प्लेटफर्मबाट विवरण लिन प्रहरीले व्यक्तिगत सम्बन्धको प्रयोग गर्नुपरेको उहाँको भनाई छ । उहाँले अनुसन्धानको लागी सामाजिक सञ्जाल प्रयोगकर्ताको विवरण प्रहरीकोमा आउन २०–२५ दिन लाग्ने गरेको छ । सामान्य ह्यारेसमेण्ट वा बुलिङका केसमा करिव एक हप्ताभित्र युजरनेम प्राप्त हुने भएपनि गम्भीर केस नाबालक हराएको वा आत्महत्या सम्बन्धी घटनामा भने २४ घण्टाभित्र जानकारी आउने गरेको उहाँले बताउनु भयो । उहाँकाअनुसार नेपालमा प्लेटफर्म दर्ता नभएकाले अनुसन्धान ढिलो हुने र अनुसन्धान ढिलो हुँदा पीडितले न्याय नपाउने अवस्था सिर्जना हुने बताउनु भयो । उहाँकाअनुसार हालसम्म नेपालमा टिकटक, भाइबर, निम्बज, वीटक र कपोकोलाइभ आधिकारिक रूपमा दर्ता भएका छन् । तर फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएपको मातृ कम्पनी मेटा भने नेपालमा दर्ता छैनन् । यी प्लेटफर्महरू सबैभन्दा बढी प्रयोगमा भएपनि दर्ता नहुँदा प्रयोगकर्ता विवरण र विवादास्पद सामग्री हटाउने प्रक्रिया जटिल बनेको उहाँको भनाई छ । प्रहरीले मेटालाई अनुरोध पठाउँदा पनि प्रतिक्रिया आउन करिव एक हप्ता लाग्ने गरेको उहाँले बताउनु भयो । ह्वाट्सएप, डिस्कोर्ड, एक्स, स्न्यापच्याट, इमो, वीच्याट, रेडिट, युट्युब, जिमेल लगायतका प्लेटफर्मबाट प्रयोगकर्ता विवरण वा टेकडाउन सम्बन्धी प्रतिक्रिया नआउने समस्या रहेको उहाँले बताउनु भयो । 
उहाँले भन्नुभयो, ‘प्रचलित र लोकप्रिय सामाजिक सञ्चालका प्लेटफर्महरु सबैजसो विदेशी कम्पनीबाट सञ्चालित भएकोले हामीलाई आवश्यक विवरण प्राप्त गर्न कठिनाई भइरहेको छ । नेपालमा तिनीहरुको प्लार्टफर्म कसैको पनि छैन र बाहिर हाम्रो नेटवर्क छैन । हामीले कुरा चाहीँ धेरै राम्रो गरेका छौँ तर कानुनमा हामीले व्यवस्था गरेका छैनौँ । फेसबुक ईस्टाग्राम लगायतका सामाजिक सञ्जालबाट डिटेल प्राप्त गर्नको लागि धेरै गाह्रो छ, व्यक्तिगत सम्बन्धको आधारमा हामीले प्राप्त गरेका छौँ । यसको लागी २०देखी २५ दिनको समय लाग्छ । सामान्य किसिमको ह्यारेसमेन्ट, बुलिङ, सेक्सजिन, सेक्सटोर्सन र व्यालकमेलिङको हकमा युजरनेम मोटामोटी एक हप्तासम्म प्राप्त हुन्छ । माईनर मिसिङ, सुसाईडको हकमा भने २४ घण्टाभित्र सूचना दिएको पाइन्छ, अन्य केसमा एक हप्ता लगाईदिन्छ । सोसल मिडियाको प्लेटफर्म नेपालमा नै दर्ता नभएको कारणले अनुसन्धान गर्न समय लाग्ने गरेको छ । हामीले खुकुरी रम खुवाएर र खुकुरी दिएर व्यक्तिगत रुपमा हाम्रा प्रहरी कर्मचारी सिंगापुर, दुबई र भारतमा जो अपराध अनुसन्धानको तालिम गर्न जान्छन्, त्यही बेला उनीहरुले त्यो उपहार दिएर बनाएको सम्बन्धलाई उपयोग गरेर अनुसन्धानको काम गर्ने गरिएको छ । कानुनी हिसावले एकदमै जटिल छ । अहिलेसम्म नेपालमा टिकटक, भाईबर निम्बज, वीटक र पोकोलाईभ आधिकारिक रुपमा दर्ता भएका छन् । फेसबुक, ईन्स्टाग्राम, ह्वाट्सएपको मातृ कम्पनी मेटा नेपालमा दर्ता छैन । सबैभन्दा धेरै प्रयोग यीनै सामाजिक सञ्जाल हुन्छन् । यो नेपालमा दर्ता नुहँदा अपरेशन दर्ता हामीलाई प्राप्त हुँदैन र विवादास्पद सामग्री हटाउने प्रक्रिया पनि जटिल छ । हामीले मेटामा लेखेर पठाउनुपर्छ, मेटाले एक हप्ता लगाईदिन्छ । ह्वाट्सएप, डिस्कोर्ड, एक्स, स्न्यापच्याट, ईमो, वीच्याट, रिडिट, युटुव, जिमेल लगायतका प्लेटर्फमबाट युजर डिटेल र टेकडाउन सम्बन्धमा कुनैपनि रेस्पोन्स आउँदैन ।’ 
उहाँले साइबर अपराध नियन्त्रणका लागि स्पष्ट कानूनी व्यवस्था गर्न, डिजिटल प्लेटफर्महरूलाई नेपालमा दर्ता गर्ने व्यवस्था गर्न पनि माग गर्नुभयो । उहाँले साईबर अपराधमा संलग्नहरु कडा कारबाही गर्नेगरि कानून बनाउन आग्रह गर्नुभयो । हाल विद्यमान कानुनले मात्रै साईवर अपराधलाई नियन्त्रण गर्न नसकिने उहाँको भनाई छ । 

अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय खेलकुद परिषद् (राखेप) बीच नेपाली फुटबलमा देखिएको पछिल्लो संकट समाधानका लागि औपचारिक वार्ता शुरु भएको छ । 
बिहीवार एन्फाका महासचिव किरण राईले राखेपका पदाधिकारीहरूलाई भेटेर फिफाले पठाएको पछिल्लो पत्र हस्तान्तरण गर्नुभएको हो । महासचिव राईकाअनुसार फिफाले आगामी मे ४ सम्मको समयसीमा तोक्दै नेपाली फुटबलमा देखिएको हस्तक्षेपको अवस्था अन्त्य गर्न पत्र पठाएको छ । राखेप, फिफा, एएफसी र एन्फाबीच यसअघि भएको भर्चुअल छलफलपछि फिफाले यो नयाँ पत्र पठाएको हो । 
राईले भन्नुभयो, ‘फिफाको पत्रमा मे ४ सम्म सस्पेन्सनको खतरा हट्नुपर्ने उल्लेख छ, त्यसपछि मात्रै अन्य विषयमा छलफल गर्न सकिने जनाइएको छ ।’
विवादको बीचमै एन्फाले वैशाख १४ गते सोमवारदेखि खेलाडीहरूलाई बन्द प्रशिक्षणमा बोलाउने निर्णय गरेको छ । यसलाई रणनीतिक चाल नभई फुटबलको दायित्व भएको राईले दाबी गर्नुभयो । 
‘भोलि निकास निस्किहालेमा तयारी शुन्य नहोस् भनेर हामीले प्रशिक्षण शुरु गर्न लागेका हौँ । तयारी गर्दै जाँदा कुरा मिले हामी खेल्छौँ, मिल्दै मिलेन भने त रोकिएला ।’ उहाँले भन्नुभयो । 
नेपाली फुटबल क्षेत्र अब केवल खेल मात्र नभई एउटा अर्ध–व्यवसायिक ‘उद्योग’ बनिसकेकाले यसमा आश्रित हजारौँ खेलाडी, प्रशिक्षक र रेफ्रीहरूको भविष्य संरक्षण गर्नु राज्य र संघको दायित्व भएको उहाँले बताउनु भयो । फुटबलमै निर्भर रहेका व्यक्तिहरूलाई न्याय दिनका लागि पनि छिटो निकास आवश्यक रहेको उहाँको धारणा छ । 
नेपालको खेलकुद कानून र फिफाको विधानबीच देखिएको नीतिगत टकरावका कारण समस्या उत्पन्न भएको भन्दै राईले इमान्दारीपूर्वक काम गरिरहेको दाबी गर्नुभयो । राखेपसँगको वार्ता सकारात्मक रहेको र आगामी दिनमा पनि छलफल जारी रहने उहाँले जानकारी दिनुभयो । समर्थकहरूलाई आश्वस्त पार्दै उनले कुनै ‘अपराध’ नभएको र भविष्यका लागि दीर्घकालीन निकास निस्किनेमा आफू विश्वस्त रहेको बताउनु भयो ।

 

 
  • गृहमन्त्री सुधन गुरुङले विवादित सेयर कारोबार आरोपपछि प्रधानमन्त्री बालेन्द्र शाहलाई राजीनामा बुझाएका छन्।
  • गुरुङले सामाजिक सञ्जालमार्फत आफ्नो राजीनामाबारे जानकारी गराएका छन्।
  • रास्वपा सभापति रवि लामिछानेसँगको छलफलपछि गुरुङले राजीनामा दिएको उच्च स्रोतले जनाएको छ।

९ वैशाख, काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएका छन् ।

विवादित व्यवसायीसँग विभिन्न सेयर कारोबारमा मुछिएको आरोप लागेका गुरुङले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई राजीनामा बुझाएका हुन् । उनले आफ्नो राजीनामाबारे सामाजिक सञ्जालबाट जानकारी गराएका छन् ।

 

प्रधानमन्त्री शाहले आफू नियुक्त भएकै दिन मन्त्रिपरिषद् गठन गरेका थिए । सोही दिन गुरुङ गृहमन्त्री नियुक्त भएका थिए ।

सुरुवाती दिनमा उच्च पदस्थ कर्मचारीलाई पक्राउ गरेर चर्चा कमाएका गुरुङ पछिल्लो समय भने आलोचनाको केन्द्रमा परेका थिए ।

 

उच्च स्रोतका अनुसार, रास्वपा सभापति रवि लामिछानेसँगको छलफलपछि गुरुङले प्रधानमन्त्री शाहसमक्ष राजीनामा बुझाएका हुन् ।

नेपाल राष्ट्र बैंकले फेरि निक्षेप संकलन उपकरण प्रयोग गर्दै ४० अर्ब रुपैयाँ खिच्ने भएको छ ।
बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि राष्ट्र बैंकले १६० दिनका लागि ४० अर्ब रुपैयाँ तान्ने भएको हो । पछिल्लो समय कर्जाको माग नबढेपछि बैंकिङ प्रणालीमा तरलता पर्याप्त छ । बैंक तथा वित्तीय संस्थाहरु ३ प्रतिशतको हाराहारीको ब्याजदरमै केन्द्रीय बैंकलाई पैसा दिइरहेका छन् ।केन्द्रिय बैंकले वित्तीय प्रणालीको अधिक तरलता र ब्याजदर व्यस्थापनका लागि निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधामार्फत तरलता खिच्दै आएको छ । बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् । 
दीर्घकालीन निक्षेप संकलन रकम बाँडफाँट गर्दा काउण्टर पार्टीहरूले बोल गरेका ब्याजदरअनुसार सबैभन्दा कम दर बोल गर्ने रकम प्राथमिकता क्रममा राखी आह्वान गरेको रकमसम्म क्रमशः बाँडफाँट गरिनेछ । निक्षेप चुलिँदा आज अनलाइन खरिद प्रणालीमार्फत बोलकबोल गर्न लागिको छ र ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ । बोल गर्न सकिने रकम न्युनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म हुनेछ । 
यो १६० दिने निक्षेप संकलन उपकरणको आउँदो असोज २१ गते साँवा तथा ब्याज भुक्तानी गरिनेछ ।
खासगरी केन्द्रिय बैंकको खुला बजार कारोबार सम्बन्धी कार्यविधिअनुसार वित्तीय बजारमा दीर्घकालीन प्रकृतिको अधिक तरलता स्थिति देखिए त्यसको व्यवस्थापन गरी बजार ब्याजदर व्यवस्थित गर्न कारोबार सञ्चालन समितिले आवश्यकताअनुसार कुनैपनि दिन संरचनात्मक खुला बजार कारोबार अन्तर्गत बढीमा ६ महिना अवधिको दीर्घकालीन निक्षेप संकलन उपकरण प्रयोग गर्न सक्ने व्यवस्था छ । यही व्यवस्था टेकेर केन्द्रिय बैंकले पटकपटक निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ ।

भारतसँगको सीमावर्ती रुपैडिहा बजारमा भारु ९७ रुपैयाँ अर्थात् नेपाली १५५ रुपैयाँ २० पैसामै एक लिटर पेट्रोल पाइन्छ। उत्तर प्रदेशको रुपैडिहा वारिपट्टिको नेपालगन्जमा पेट्रोलको मूल्य २१६ रुपैयाँ ५० पैसा छ।

अर्थात् खुला सीमाबाट भारततर्फ छ किलोमिटर यात्रा गर्दा नेपालभन्दा ६१ रुपैयाँ सस्तोमा पेट्रोल पाइन्छ। नेपालका सीमावर्ती भारतीय बजारमा नेपाली बजारमाभन्दा ५० देखि ६० रुपैयाँसम्म सस्तो पेट्रोल पाइने भएपछि सीमा क्षेत्रका भारतीय पम्पहरूमा इन्धन भर्न नेपाली सवारी साधनहरूको भीड नै लाग्न थालेको बताइएको छ। तर नेपालमाभन्दा सस्तो भए पनि नेपालमा जस्तो भारतीय पेट्रोल पम्पहरूमा सहजै इन्धन भर्न नपाइने अनुभवीहरूले बताएका छन्। भारतमै इन्धन अभाव हुँदा सस्तोमा इन्धन पाइने लोभमा त्यहाँ पुगेका कतिपय नेपालीहरू घण्टौँ लाम बस्न बाध्य भएका त कोही रित्तै फर्कनु परेको भुक्तभोगीहरू सुनाउँछन्।

नेपालगन्जको सीमापारि रहेको रुपैडिहा बजारका कतिपय पेट्रोल पम्पहरूमा डिजेल र पेट्रोल नरहेको सूचना टाँस गरिएको छ। पेट्रोल वितरण भइरहेका पम्पहरूमा गाडी र मोटरसाइकलको लामो लाइन देखिन्छ। नेपालसँग सीमा जोडिएका भारतीय राज्यहरू उत्तर प्रदेश, बिहार, पश्चिम बङ्गाल र उत्तराखण्डका अधिकांश सीमावर्ती बजारसम्म नेपाली सवारी साधनहरूलाई बिना इजाजत लैजान अनुमति दिइने गरिएको छ। भारतसम्म किनमेल र अन्य कामका लागि पुग्ने नेपालीहरू भारतीय पम्पमा इन्धन भरेर फर्कने गरेका छन्। कतिपय नेपालीहरू पेट्रोल हाल्नकै लागि रुपैडिहा पुगे पनि नेपाली नम्बरको गाडीलाई पेट्रोल नदिइने जानकारी पाएर त्यसै फर्किएको बताउँछन्।

सरकारले हालै कार्यान्वयनमा ल्याएको शनिवार र आईतवारको दुई दिने सार्वजनिक बिदाको निर्णयलाई पोखराका पर्यटन व्यवसायीहरूले स्वागत गरेका छन् । यस निर्णयले आन्तरिक पर्यटनलाई मात्र गति दिएको छैन, बरु सुस्ताएको पर्यटन व्यवसायमा नयाँ आशाको सञ्चार गरेको पर्यटन व्यवसायीको भनाइ छ । यसलाई प्याकेजको रूपमा अगाडि बढाएर ओझेलमा परेका गन्तव्यहरूको प्रवद्र्धन गर्नुपर्ने उनीहरुको भनाइ छ । पोखराका पर्यटन व्यवसायीहरूकाअनुसार यो निर्णयले कर्मचारी वर्गलाई मात्र नभई समग्र अर्थतन्त्रलाई चलायमान बनाउन मद्दत गर्नेछ । अब राज्यले यस्ता बिदालाई ‘होलिडे प्याकेज’ का रूपमा विकास गरी ओझेलमा परेका गन्तव्यहरूको पहिचान र प्रवद्र्धनमा ध्यान दिनु आवश्यक छ । दुई दिने बिदाले नेपालीहरूमा भ्रमण गर्ने संस्कृतिको विकास गर्न र देशको आन्तरिक पर्यटकीय सम्भावनालाई उजागर गर्न कोसेढुङ्गा सावित हुने अपेक्षा गरिएको छ । ट्रेकिङ एजेन्सी एशोसिएशन अफ नेपाल  (टान) गण्डकीका अध्यक्ष कृष्ण आचार्यकाअनुसार यो निर्णय आन्तरिक पर्यटन प्रवद्र्धनका लागि कोशेढुङ्गा सावित हुनेछ । कोभिड–१९ को महाव्याधिपछि बिस्तारै तङ्ग्रिँदै गरेको पर्यटन व्यवसायका लागि नयाँ आन्दोलन र सकारात्मक परिवर्तनको आवश्यकता रहेको आचार्यको भनाइ छ । विशेषगरी जेन–जी पुस्तामा बढ्दो भ्रमण संस्कृतिको सन्दर्भमा यो निर्णय अझ प्रभावकारी हुने देखिएको छ । यसले नेपालीहरूबिच देश घुम्ने कुरालाई सहज बनाउने र आर्थिक रूपमा पनि चलायमान बनाउने काम गर्नेछ ।
उहाँले भन्नुभयो, ‘हप्तामा दुई दिन बिदा दिने निर्णयले मानिसहरूलाई घुमघाम गर्ने फुर्सद दिन्छ, जसले समग्र आन्तरिक पर्यटनलाई चलायमान बनाउँछ । मान्छेले जागिर खाए पनि आफ्ना कुराहरू गर्ने र घुम्ने परिपाटी यसले बसाल्न सक्छ ।’
अध्यक्ष आचार्यले राज्यका विभिन्न निकायहरूमा कार्यरत कर्मचारीहरूलाई पनि ‘भ्रमण प्याकेज’ को अवधारणा ल्याएर प्रोत्साहित गर्नुपर्ने बताउनु भयो । कर्मचारीहरूलाई योजनावद्ध रूपमा भ्रमणमा पठाउँदा अहिलेसम्म ओझेलमा परेका र कम परिचित पर्यटकीय गन्तव्यहरूको पहिचान र प्रवद्र्धनमा मद्दत पुग्ने उहाँको धारणा छ । पर्यटकीय गन्तव्यहरूको उचित प्रवद्र्धन र सरकारका यस्ता नीतिहरूको निरन्तरताले नेपालको आर्थिक समृद्धिमा पर्यटन क्षेत्रको भूमिका अझ सशक्त हुनेमा उनले जोड दिनुभयो । 
पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) की सचिव एवं होटल लेक क्वीनकी सञ्चालक शान्ता सुवेदी तिमिल्सिनाले यस कदमबाट पर्यटन क्षेत्रमा सकारात्मक प्रभाव परेको बताउनु भयो । नयाँ वर्षको पूर्वसन्ध्या र बिदाको प्रभावले अहिले पर्यटकीय शहर पोखरा आन्तरिक पर्यटकले भरिभराउ भएको छ । 
‘सरकारले दिएको दुई दिने बिदाले पर्यटनमा एकदम ऊर्जा प्राप्त भएको छ,’ सुवेदीले भन्नुभयो, ‘पर्यटन अहिले पोखरामा भरिभराउ नै छ ।’
स्वयं होटल व्यवसायी समेत रहनुभएकी सुवेदीले यो बिदाको व्यवस्थाले पर्यटन क्षेत्रमा दीर्घकालीन रूपमा थप टेवा पु¥याउने विश्वास व्यक्त गर्नुभयो । उहाँकाअनुसार बिदाका कारण मानिसहरूले घुमफिरका लागि पर्याप्त समय पाउने हुँदा यसले समग्र पर्यटन व्यवसायमै ऊर्जा थपिएको हो । 
पर्यटकीय क्षेत्रहरु पोखरा, लेखनाथ र यस वरिपरिका गन्तव्यहरुमा पर्यटकको उपस्थितिले आर्थिक गतिविधि चलायमान बनाएको पर्यटन व्यवसायी बताउँछन् । पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) की महासचिव शोभा अधिकारी पौडेलले दुई दिने विदाले पर्यटन क्षेत्रमा सकारात्मक प्रभाव पारेको बताउनु भयो । 
उहाँले भन्नुभयो, ‘अहिले यो दुई दिने विदाले गर्दा अब पोखराका पर्यटन क्षेत्रहरु, पोखरालाई मात्र नभइकन, लेखनाथलाई मात्र नभइकन पोखरा वरिपरि रहेका क्षेत्रहरुलाई पनि एकदमै आन्तरिक पर्यटक आएर अहिले एकदम चलायमान भएको हामीले अनुभव गरेका छौँ ।’
लामो समयको सुनसानपछि सार्वजनिक विदाको सदुपयोग गर्दै भ्रमणमा निस्कने आन्तरिक पर्यटकका कारण पोखराका होटल, रेस्टुरेण्ट र ग्रामीण पर्यटकीय क्षेत्रहरुमा रौनक फर्किएको छ । फेवाताल, बेगनासताल र सराङकोट जस्ता मुख्य पर्यटकीय स्थलहरुमा पर्यटकको उपस्थिति बाक्लो देखिएको छ । यसले गर्दा स्थानीय स्तरमा रोजगारी र व्यापारमा समेत टेवा पुगेको पर्यटन व्यवसायीहरुको ठहर छ । 
आन्तरिक पर्यटन प्रवद्र्धनका लागि यो कदम कोशेढुङ्गा सावित हुने उनीहरूको विश्वास छ । होटल संघ पोखराका कोषाध्यक्ष नेत्र पौडेल यस निर्णयले पर्यटन क्षेत्रमा नयाँ उत्साह थपेको बताउनु हुन्छ । उहाँकाअनुसार विदेशमा आइतबार बिदा हुने प्रचलन रहेकाले नेपालमा पनि सोही अनुरूप गरिँदा अन्तर्राष्ट्रिय पर्यटनका साथै आन्तरिक पर्यटनमा समेत ठूलो टेवा पुग्नेछ । 
उहाँले भन्नुभयो, ‘नेपाल सरकारले शनिवार र आईतवार गरी हप्ताको २ दिन बिदा दिने जुन घोषणा गरेको छ, यो हाम्रो पर्यटन क्षेत्रका लागि स्वागत योग्य छ । अन्तर्राष्ट्रिय जगतमा आइतबार बिदा हुने अभ्यास रहेकाले यसले तालमेल पनि मिलाउँछ । मुख्य कुरा, आन्तरिक पर्यटन प्रवद्र्धन गर्न यसले ठूलो सहयोग पु¥याउँछ ।’
पोखराको पर्यटन बजारलाई केन्द्रित गर्दै उहाँले यो बिदाले विशेष गरी आन्तरिक पर्यटकको चहलपहल बढ्ने र यसले समग्र होटल व्यवसायलाई नै नयाँ ऊर्जा दिने विश्वास व्यक्त गर्नुभयो ।
पौडेलले कर्मचारी वर्गको सन्दर्भ उठाउँदै भन्नुभयो, ‘जुन कर्मचारी वर्गहरू हुनुहुन्छ, उहाँहरूले अब लगातार २ दिन बिदा पाउने भएपछि परिवारसँग घुमघाम गर्न पर्याप्त समय मिल्नेछ । शनिवार त बिदा छँदै थियो, अब आईतवार पनि थपिँदा आन्तरिक पर्यटनको प्रवद्र्धनमा यसले ठूलै प्रभाव पार्नेछ ।’
पर्यटन व्यवसायीहरूले लामो समयदेखि उठाउँदै आएको यो माग सम्बोधन हुँदा कोभिडपछिको पर्यटन क्षेत्रलाई पुनरुत्थान गर्न मद्दत पुग्ने देखिएको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।