अमेरिका र इजरायलले इरानमा आक्रमण सुरु गरेपछि जारी तनावका कारण कच्चा तेलको मूल्य चार वर्षयताकै उच्च भएको छ । ताजा आकडा अनुसार कच्चा तेलको मूल्य ११९.७६ डलर प्रतिब्यारेल पुगेको छ । यो सन् २०२२ को जुन महिनायताकै सबैभन्दा उच्च मूल्य हो ।
रुस–युक्रेन युद्धका कारण सन् २०२२ को फेब्रुअरी–मार्च तिर कच्चा तेलको मूल्य बढेर करिब १३० डलर प्रतिब्यारेलसम्म पुगेको थियो ।
द गार्जियनका अनुसार कच्चा तेलको मूल्य अहिले उच्च हुनुमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पछिल्लो अभिव्यक्ति पनि एक कारण हो । ट्रम्पले इरानका बन्दरगाहहरुमा सैन्य नाकाबन्दी जारी राख्ने अभिव्यक्ति दिएका थिए । ट्रम्पले इरान आफ्नो परमाणु बन्द गर्ने सम्झौताका लागि तयार नभएसम्म नाकाबन्दी जारी रहने बताएका छन् ।
यसको सिधा असर स्ट्रेट अफ होर्मुज समुद्री मार्गमा परेको छ । इरान नियन्त्रित स्ट्रेट अफ होर्मुज विश्वभर तेल ढुवानी हुने महत्वपूर्ण जलमार्ग हो । यहाँ अमेरिका र इरानबीच बेलाबेला आक्रमणका घटना हुँदै आएका छन् । असुरक्षाका कारण सयौं तेल ट्यांकरहरु र पानी जहाजहरु अलपत्र छन् । जसका कारण विश्वभर तेल र ग्याँसको ढुवानी प्रभावित हुँदा महँगी बढेको छ ।
तनाव अन्त्यका लागि अमेरिका र इरानका प्रतिनिधिबीच पाकिस्तानमा वार्ताको पहल भइरहे पनि परिणाममुखी हुन सकेको छैन ।
प्रधानमन्त्री बालेन शाहका राजनीतिक सल्लाहकार असीम साहले सरकारले ल्याएका अध्यादेश कुनै व्यक्ति र स्वार्थ समूहका लागि नभई नागरिकको हितको लागि भएको दाबी गरेका छन् ।
सरकारले अध्यादेश ल्याएपछि आलोचना भइरहेका बेला सामाजिक सञ्जाल फेसबुकमा स्पष्ट्याउने प्रयास गर्दै सल्लाहकार साहले राज्य संयन्त्रको प्रभावकारिताका लागि अध्यादेश ल्याइएको बताएका हुन् ।
उनले अघि लेखेका छन्, ‘कानुनी जटिलताका कारण जनसरोकारका काम रोकिनु हुँदैन भन्ने लोकतान्त्रिक मान्यतालाई आत्मसात गर्दै यसले देशको समृद्धिको यात्रालाई थप गति दिने बलियो आधार खडा गरेको छ ।’
उनले अहिले सरकारले सार्वजनिक सेवा प्रवाह र प्रशासनिक प्रणालीमा रहेका नीतिगत जटिलताहरू हटाउन महत्वपूर्ण कदम चालेको बताउँदै सोही अनुसार वैशाख १४ गतेको मन्त्रिपरिषद् बैठकको अध्यादेश प्रमाणीकरणका लागि राष्ट्रपति रामचन्द्र पौडेललाई पठाएको बताएका छन् ।
उनले सरकारले शासकीय सुधारका लागि राजनीतिक नियुक्ति पाएका पदाधिकारीहरूलाई मार्गप्रशस्त गर्न आह्वान गरेको तर यसको बावजुद कार्यसम्पादन र समन्वयमा व्यवहारिक कठिनाइ देखिएपछि अध्यादेश ल्याएको दाबी गरेका छन् ।
सरकारले ल्याएका ६ अध्यादेशहरुमा निजामती कर्मचारीको ट्रेड युनियन र राजनीतिक नियुक्त खारेज, विश्वविद्यालयका सबै पदाधिकारी हटाउनसक्ने लगायत संवैधानिक परिषद्सँग सम्बन्धित विषय रहेका छन् ।

- रास्वपा सभापति रवि लामिछानेले निवर्तमान गृहमन्त्री सुधन गुरुङमाथि छानबिन प्रक्रिया चाँडै सुरु हुने जानकारी गराए।
- लामिछानेले गुरुङमाथि कस्तो छानबिन हुने भन्ने बारे पनि चाँडै जानकारी दिने बताए।
- गुरुङ विवादित व्यवसायीसँग साझेदारी देखिएपछि गृहमन्त्री पदबाट राजीनामा दिन बाध्य भएका थिए।
१६ वैशाख, रास्वपा सभापति रवि लामिछानेले निवर्तमान गृहमन्त्री सुधन गुरुङमाथि चाँडै छानबिन प्रक्रिया सुरु भएको जानकारी गराएका छन् ।
बुधबार सिंहदरबारमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले कस्तो छानबिन हुने भन्नेबारे पनि चाँडै जानकारी गराउने बताए ।
‘मलाई लाग्छ छानबिनको प्रक्रिया चाँडै सुरु हुन्छ । कस्तो छानबिन हुन्छ भन्ने कुरा पनि जानकारी गराउँछौं,’ लामिछानेले भने, ‘उहाँले म माथि पनि छानिबन होस्, अरुलाई जस्तै मलाई पनि छानबिन गरियोस् भन्नुभएको छ । उहाँमाथि कुन प्रक्रियाबाट छानबिन हुने भन्ने कुरा चाँडै हुन्छ ।’
गुरुङ विवादित व्यवसायीसँग व्यवसायीक साझेदारी देखिएपछि गृहमन्त्री पदबाट राजीनामा दिन बाध्य भएका थिए ।
- यातायात व्यवस्था विभागले डिजेलको मूल्य वृद्धि भएसँगै सार्वजनिक यातायातको भाडा ५ प्रतिशतले बढाएको छ।
- भाडा वृद्धि अन्तरप्रदेश यातायात र मालबहाक सवारीमा लागू हुने विभागले जनाएको छ।
- विद्युतीय सवारीसाधनले भाडा बढाए कारबाही हुने विभागले चेतावनी दिएको छ।
१६ वैशाख, काठमाडौं । यातायात व्यवस्था विभागले इन्धनको मूल्य वृद्धि भएसँगै फेरि सार्वजनिक यातायातको भाडा बढाएको छ । विभागले अन्तरप्रदेशमा सञ्चालन हुने सार्वजनिक यातायातमा भाडा बढाएको हो । बढेको भाडा आज बुधबारदेखि नै लागू हुने विभागले जनाएको छ ।
अन्तरप्रदेश यात्रुबाहक सवारी, पहाडी बाटोमा सञ्चालन हुने मालबाहक र तराईको बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधनमा समान ५–५ प्रतिशतका दरले भाडा बढाइएको छ ।
यसअघि चैत २५ गते पनि भाडा वृद्धि गरिएको थियो । भाडा बढाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले १२ वैशाखमा सहमति दिएको थियो । सोहीअनुसार सार्वजनिक सवारी साधनको भाडा बढाइएको विभागले जनाएको छ ।
हाल डिजलको मूल्य प्रतिलिटर २३५.८३ रुपैयाँ छ । विद्युतीय सवारी साधनले भने भाडा बढाउन नपाउने विभागले जनाएको छ । यदि विद्युतीय सवारी साधनले भाडा बढाएमा कारबाही हुने विभागले चेतावनी दिएको छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज हावाहुरी सुरु हुने समय र प्रभावित हुने जिल्लाहरुको विवरण अध्यावधिक गरेको छ ।
विभागले आज बिहान ८ बजे जारी गरेको विशेष बुलेटिनमा उल्लेख भए अनुसार अपराह्न चार बजेबाटै हावाहुरी सुरु हुने छ ।
हावाहुरीबाट सुदूरपश्चिम प्रदेशका कञ्चनपुर, डडेलधुरा र डोटीसहित आसपासका जिल्ला प्रभावित हुने सम्भावना छ ।
यसैगरी लुम्बिनी प्रदेशका बर्दिया, बाँके, दाङ, अर्घाखाँची, परासीसहित आसपासका जिल्लामा पनि हावाहुरीको प्रभाव पर्ने छ ।
गण्डकी प्रदेशको नवलपुर र बागमती प्रदेशको चितवन आसपासका जिल्ला पनि हावाहुरीबाट प्रभावित हुनसक्ने सूचनामा उल्लेख छ ।
यस्तै मधेश प्रदेशका बारा, पर्सा र धनुषासहित आसपासका जिल्लामा पनि हावाहुरीबाट प्रभावित हुनसक्ने विभागले जनाएको छ ।
कोशी प्रदेशका झापा र मोरङसहित आसपासका जिल्लामा पनि तीव्र हावाहुरीको सम्भावना रहेकाले सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।
विभागले हावाहुरी सुरु हुने समय पनि संशोधन गरेको छ । विभागको अध्यावधिक सूचनामा आज अपराह्न ४ बजे तीव्र गतिको हावाहुरी सुरु हुने र भोलि बिहान ६:४५ बजे समाप्त हुने उल्लेख छ ।
हिजो विभागले वैशाख १६ गते साँझ ५:४५ हुरी चल्न सुरु हुने र १७ गते बिहान ७:४५ बजे समाप्त हुने सम्भावना रहेको जनाएको थियो ।
विभागका अनुसार हावाहुरीसँगै मेघगर्जन, चट्याङ सहित असिना पानी पर्ने प्रणाली पनि पश्चिमबाट पूर्वतिर सर्दै जाने सम्भावना छ ।
देशका धेरै ठाउँहरुमा यसको प्रभाव पर्ने सम्भावना भएकाले सतर्कना अपनाउन विभागले सबैलाई अनुरोध गरेको छ ।
आर्थिक वर्ष २०८२/०८३ मा नेपालको आर्थिक वृद्धि ३.८५ प्रतिशत हुने प्रक्षेपण गरिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले मंगलवार प्रतिवेदन सार्वजनिक गर्दै यस्तो प्रक्षेपण गरेको हो । कार्यालयकाअनुसार चालु आवमा देशको अर्थतन्त्रको आकार ६६ खर्बको हुने प्रक्षेपण रहेको प्रमुख तथ्याङ्क अधिकारी डा. कमलप्रसाद पोख्रेलले जानकारी दिनुभयो । अर्थ मन्त्रालयले सोमवार नेपालको वर्तमान आर्थिक स्थितिपत्रमार्फत आर्थिक वर्ष २०८२/८३ मा देशको आर्थिक वृद्धि ३.५ प्रतिशतले विस्तार हुने प्रक्षेपण गरेको थियो । प्रमुख तथ्यांक अधिकारी पोखरेलका अनुसार आर्थिक वर्ष २०८२/८३ का लागि औद्योगिक वर्गीकरणअनुसार विभिन्न क्षेत्रहरूको कुल मूल्य अभिवृद्धिमा योगदान र वृद्धिदर समेत सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको विवरणअनुसार कृषि, वन तथा मत्स्य क्षेत्रले सबैभन्दा बढी २४.०३ प्रतिशत योगदान दिएको छ । यसको वृद्धि दर भने १.५८ प्रतिशत रहेको छ । थोक तथा खुद्रा व्यापार, गाडी तथा मोटरसाइकल मर्मत सेवाले १४.०९ प्रतिशत योगदान दिएको छ । यसको वृद्धि दर ४.५१ प्रतिशत रहेको छ । केन्द्रिय तथ्याङक कार्यालयका अनुसार यातायात तथा भण्डारण क्षेत्रको योगदान ७.२३ प्रतिशत रहेको छ भने उद्योग क्षेत्रको योगदान ५.७२ प्रतिशत रहेको छ । घर, जग्गा कारोबार सेवाले ८.०७ प्रतिशत योगदान दिएको छ ।
सूचना तथा सञ्चार क्षेत्रको योगदान १.९३ प्रतिशत, वित्तीय तथा बीमासम्बन्धी ६.७२, शिक्षा क्षेत्रले ९.२२ प्रतिशत योगदान पु¥याएका छन् । मानव स्वास्थ्य तथा सामाजिक कार्य क्षेत्रमा १.८७ प्रतिशत योगदान दिएको छ ।
प्रमुख तथ्यांक अधिकारी पोख्रेलले भन्नुभयो– ‘अब जहाँसम्म हाम्रो यो आकारको कुरा आयो, समग्र राष्ट्रिय अर्थतन्त्रको आकार चाहीँ ६६ खर्ब पुगेको छ । गत वर्षभन्दा ४ खर्ब बढेको छ । जीडीपी वृद्धिदर ३.८५ प्रतिशत हुनेछ । हामीले डेटाबेस विधि प्रयोग गरेर गरेका छौँं । हाम्रो प्रक्षेपणको विश्वनियता र आधिकारिकता सन्तोष लिने ठाउँमा छ । खास गरेर नेपालको हकमा यो डेटा टु डिसिजन अथवा डेटा टु पोलिसीमा हामीले जोड दिन खोजिरहेका छौँ । पोलिसीको लागि पनि डेटा युज होस् र डिसिजन मेकिङमा पनि डेटा युज होस् र सम्बन्धित सेक्टरहरूले आफ्नो पर्फमेन्स बढाउनको लागि यसको चाहीँ प्रयोग गर्नुहोस भन्ने हाम्रो अपेक्षा, स्वभाविक अपेक्षा पनि हो । ने
पाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रामशरण खरेलले गत आर्थिक वर्ष ४ दशमलव ४३ प्रतिशतको आर्थिक वृद्धि हुँदा यो वर्ष पनि ३.८५ प्रतिशतको आर्थिक वृद्धि हुने अनुमान राम्रो भएको बताउनु भयो । उहाँकाअनुसार सुरुमै मौसम प्रतिकूलताले यो आर्थिक वर्षमा चुनौती दिएको थियो । उहाँले जेन–जी आन्दोलनले पनि चुनौती थपिदिएको बताउनु भयो । कार्यकारी निर्देशक खरेलले भन्नुभयो–‘भदौमा जेन–जी आन्दोलन भयो, तर आन्दोलन त दुई दिन मात्रै भएको हो । क्षति अब आकलन भइसकेको छ, कति ८४ अर्बको क्षति भएको हो । त्यसले अर्थतन्त्रमा जीडीपी ग्रोथमा ठूलो असर नपर्नुपर्ने हो । शान्ति सुरक्षा कायम हुन्छ कि हुँदैन भन्नेमा केही लामो समयसम्म व्यावसायिक वातावरण बन्न सकेन । त्यसपछि चुनाव हुन्छ कि हुन्न भन्नेमा पनि धेरै मान्छेहरूले विश्वास गरिरहेका थिएनन । यो ३.८५ प्रतिशतको आर्थिक वृद्धि हासिल हुनको लागि अन्तरिम सरकारको राम्रो मेहनत छ । तत्कालीन अर्थमन्त्रीले तत्काल क्षतिको पुनर्निर्माणको लागि नेपाल राष्ट्र बैंक सहित व्यावसायिक वातावरणलाई सुधार गर्न, व्यावसायिक निरन्तरताको लागि विभिन्न खालका कार्यक्रमहरू, सहुलियत र अनुदानका व्यवस्थाहरू, ट्याक्स लगायतका कुराहरूमा काम गरे । विद्युत उत्पादनका कुराहरू आफ्नो गतिमै अगाडि बढिरह्यो । वाह्य पर्यटन त खासै पहिलाकै अवस्थामा फर्किसकेको थियो, त्यसले गर्दा पर्यटन क्षेत्र पनि राम्रो भयो ।
उहाँले अन्तरिम सरकारका प्रयासहरू आर्थिक गतिविधि सुधारतर्फ केन्द्रित रहेको र तत्कालीन अर्थमन्त्रीले पुनर्निर्माण, व्यवसाय निरन्तरता र लगानी प्रवद्र्धनका लागि विभिन्न कार्यक्रमहरू ल्याएका कारण आर्थिक वृद्धिमा सकारात्मक असर परेको बताउनु भयो । नेपाल राष्ट्र बैंक सँगको सहकार्यमा तत्कालिन सरकारले सहुलियत कर्जा, अनुदान, कर सहजीकरण लगायतका नीतिहरू लागू गरेकाले त्यसको असर सकारात्मक परेको उहाँले बताउनु भयो ।
निर्माण व्यवसायीहरुले निर्माण उद्योगमा आपतकाल घोषणा गरी आफूहरुलाई तत्काल राहतको व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन् । इन्धनलगायतका निर्माण सामग्रीहरुमा चर्को मूल्यवृद्धि भईरहेका बेला मंगलवार निर्माण व्यवसायीहरुले काठमाडौं जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री बालेन्द्र साहलाई ज्ञापन पत्र बुझाउँदै सो माग गरेका हुन् । निर्माण कार्य ठप्प हुनेगरी निर्माण सामग्रीहरुमा मूल्य वृद्धि भएकाले तत्काल राहत दिन काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलमार्फत प्रधानमन्त्री साहसँग माग गरिएको काठमाडौं उपत्यका निर्माण व्यवसायी संघका महासचिव पञ्चबहादुर तामाङले बताउनु भयो । उहाँले निर्माण सामग्रीहरुको मूल्य समायोजन गरेर व्यवसायमैत्री बनाउन पनि सरकारको ध्यानाकर्षण गराउनु भयो ।
महासचिव तामाङले भन्नुभयो,‘निर्माण कार्य तिब्र हुनुपर्ने समयमा इन्धनसहित निर्माण सामग्रीहरुमा निरन्तर भइरहेको अत्याधिक मूल्यवृद्धि एवं अभावप्रति निर्माण व्यवसायीहरुलाई ठूलो आर्थिक भार परेको हुँदा निर्माण उद्योगमा आपत्काल घोषणा गरी व्यवसायीहरुलाई अविलम्व राहत दिन संघ जोडदार माग गर्दछ । साथै प्रत्येक आयोजनामा मूल्यवृद्धि भएर हालको कानूनी व्यवस्थाबाट मूल्य समायोजन हुन नसक्ने हुँदा मूल्य समायोजन तत्काल जारी गर्न र सबै अवधिका ठेक्काहरुको हकमा मूल्य समायोजन गरी मूल्य वृद्धिको समस्याबाट निकास दिन सरकारसँग हार्दिक अपिल गर्दछ । संघले प्रधानमन्त्री साहलाई बुझाएको ज्ञापन पत्रमा निर्माण कार्य ठप्प हुने अवस्था आएकाले सरकारले इन्धन, निर्माण सामग्री लगायतमा भएको मूल्यवृद्धि तत्काल हटाउनुपर्नेमा जोड दिइएको छ ।
नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष दीपक मल्होत्राले विलासिताका वस्तुमा लाग्दै आएको कर घटाउनुपर्ने बताउनुभएको छ ।
हाल विलाशिताको वस्तु र सेवामा लगाइँदै आएको करको दर उच्च रहेको बताउँदै उहाँले त्यस्तो कर घटाउनुपर्ने बताउनुभएको हो । आर्थिक वर्ष २०८३÷८४ को नीति तथा कार्यक्रम र बजेटबारे ‘अर्थको अर्थ’ द्वारा आयोजित छलफल कार्यक्रममा बोल्दै उपाध्यक्ष मल्होत्राले त्यस्ता वस्तुमा लाग्दै आएको कर सरकारले घटाएर राजश्व वृद्धि हुनुका साथै अनौपचारिक अर्थतन्त्र औपचारिक दायरामा आउने समेत बताउनु भयो । उपाध्यक्ष मल्होत्राले भन्नुभयो–‘अहिले नयाँ सरकार गठन भएको छ र सरकारले महत्वकांक्षी योजना अघि सारेको छ । योजना अनुसार अर्थतन्त्रको आकारलाइ १०० बिलियन आगामी ७ वर्ष भित्रमा कुल गार्हस्थ्य उत्पादन बढाउने र प्रतिव्यक्ती आयलाई ३ हजार डलर पु¥याउने छ, त्यो सफल हुनसक्छ । त्यसको लागि हामी पनि सरकारलाई साथ दिन तयार छौँ । सरकारले हामीलाई साथ लिएर हिडे पुरा गर्न सम्भव छ । यो बजेटको साइज हरेक वर्ष बढ्नुपर्छ भन्ने कुरा आयो । त्यो कुरालाई पनि हामी मान्छौँ । तर आजसम्म हामीले के देखेका छौँ भने हरेक वर्ष बजेट प्रस्तुत हुन्छ र न त रेभिन्यु नै उठेको देखिन्छ । जति उठ्नु पर्ने हो न खर्च नै पूरा भएको अवस्था छ । हरेक ६, ७, ८ महिनामा त्यसलाई फेरि रिभ्यु गर्ने घटाउने काम भएको छ । यथार्थपरक बजेट अहिलेसम्म आउन सकेको छैन ।’
सरकारले राखेको आगामी ७ वर्षमा १०० बिलियन डलरको अर्थतन्त्र र ३ हजार डलर प्रतिव्यक्ति आय पु¥याउने लक्ष्य महत्वाकांक्षी भएपनि पूरा गर्न सम्भव रहेको बताउनु भयो । त्यस्का लागि सरकारले निजी क्षेत्रलाई साथमा लिएर हिड्नुपर्ने उहाँको भनाइ छ । मल्होत्राले हरेक वर्ष बजेटको आकार बढ्ने तर लक्ष्यअनुसार नउठ्ने गरेको बताउँदै आगामी बर्षको बजेट यर्थाथपरक हुनुपर्नेमा जोड दिनुभयो ।
धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिको प्रक्रिया अघि बढेको छ । अर्थ मन्त्रालयले नेपाल धितोपत्र बोर्डको रिक्त अध्यक्ष पदका लागि आवेदन खुलाएको हो । मन्त्रालयद्वारा गठित सिफारिस समितिले इच्छुक तथा योग्य नेपाली नागरिकबाट व्यक्तिगत विवरण पेस गर्न सूचना जारी गरेको छ । इच्छुक उम्मेदवारले १२ वैशाखभित्र अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा, सिंहदरबारस्थित समितिको सचिवालयमा कार्यालय समयमा आवेदन दिनुपर्नेछ ।
अघिल्लो साता मन्त्रिपरिषद्को बैठकले बोर्ड अध्यक्ष नियुक्तिका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरेको थियो । समितिमा अर्थ मन्त्रालयका सचिव डा. घनश्याम उपाध्याय र नेपाल बैंकर्स एशोसिएशनका पूर्वअध्यक्ष भूवनकुमार दाहाल सदस्य रहेका छन् ।
धितोपत्र बोर्डका तत्कालीन अध्यक्ष सन्तोषनारायण श्रेष्ठले दुई साताअघि पदबाट राजीनामा दिएका थिए । भ्रष्टाचार र अनियमितताको आरोप लागेका श्रेष्ठले सरकारले हटाउन सक्ने संकेत पाएपछि राजीनामा दिएका थिए । उनले राजीनामा दिएपछि रिक्त पदपूर्तिका लागि सरकारले प्रक्रिया अघि बढाएको हो ।
अध्यक्ष पदका लागि मान्यताप्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरेको र धितोपत्र बजार व्यवस्थापन, पुँजीबजार विकास, आर्थिक, वित्तीय, वाणिज्य, व्यवस्थापन वा कानुन क्षेत्रमा कम्तीमा सात वर्षको अनुभव भएको व्यक्ति योग्य हुनेछन् । साथै, उच्च नैतिक चरित्र, नेपाली नागरिकता तथा प्रचलित कानूनअनुसार अयोग्य नभएको हुनुपर्नेछ । उम्मेदवारको उमेर ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्नेछ ।
नेपाल उद्योग परिसंघ (सिएनआई) का अध्यक्ष वीरेन्द्रराज पाण्डेले आगामी १० वर्षभित्र नेपालको अर्थतन्त्रलाई १०० अर्ब अमेरिकी डलरमा पु¥याउन सकिने दाबी गर्नुभएको छ । मंगलवार काठमाडौंमा ‘अर्थको अर्थ’ कार्यक्रमको ३३ औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष पाण्डेले निजी क्षेत्रले यसका लागि स्पष्ट प्रतिवद्धता र मार्गचित्र तयार पारिरहेको बताउनुभएको हो । पाण्डेले पहिलो चरणको आर्थिक सुधारपछि नेपालले केही प्रगति गरे पनि समयक्रमसँगै ‘सेकेण्ड जेनेरेसन’ सुधार हुन नसक्दा अर्थतन्त्रले सोचेजस्तो गति लिन नसकेको बताउनु भयो । अध्यक्ष पाण्डेले मुलुकमा उद्योग, उत्पादन र रोजगारी सिर्जनाका लागि कम्तिमा १० वर्षसम्म नीतिगत परिवर्तन नहुने सुनिश्चितता कायम गरिनुपर्ने बताउनु भयो । लगानीकर्तालाई विश्वासमा लिन ‘प्रेडिक्टिबिलिटी’ र लामो समयको ‘भिजिबिलिटी’ महत्वपूर्ण हुने उहाँको तर्क छ । सुशासनका लागि सार्वजनिक सेवालाई ‘फेसलेस, पेपरलेस र कन्ट्याक्टलेस’ बनाउनुपर्नेमा पाण्डेको जोड छ । अनलाइन ‘सिंगल विन्डो’ प्रणाली निर्माण गरी स्थानीय तहसम्म लागू गर्नुपर्ने उहाँले बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘अब अहिले यो अर्थतन्त्रलाई रूपान्तरण गर्न हामी दोस्रो चरणको आर्थिक सुधारमा केन्द्रित हुन आवश्यक छ । मुलुकको उद्योग, स्वदेशमै उत्पादन, रोजगारी सिर्जना, आयात प्रतिस्थापन, अर्थतन्त्रमा सुधार जस्ता प्रमुख आर्थिक विषयहरूमा कम्तीमा १० वर्षसम्म नीतिगत परिवर्तन नहुने सुनिश्चितता कायम गरी लगानीकर्तालाई विश्वासमा लिनुपर्छ । यो प्रेडिक्टिबिलिटी र लङ्ग टर्म एउटा जुन भिजिविलिटीको कुराहरू छ, त्यो एकदमै महत्वपूर्ण रूपमा हामीले त्यसलाई अगाडि लिएर जानुपर्छ । तयारी वस्तुमा लागेको भन्सार भन्दा सो वस्तु उत्पादन गर्न प्रयोग हुने कच्चा पदार्थमा लाग्ने भन्सार दर कम्तीमा एक तह हुनुपर्ने कानूनी व्यवस्थाको पूर्ण रूपमा पालना गर्नुपर्छ । साथै परिसंघ र उद्योगहरूको माग अनुसार यस्तो फरक कम्तीमा दुई तहको अथवा १० प्रतिशतको हुनुपर्छ भन्ने हाम्रो एउटा सुझाव रहिआएको छ । त्यो हुँदाखेरि एउटा स्वदेशी उद्योगहरूको प्रवद्र्धनमा यसले सहयोगी भूमिका निर्वाह गर्छ जस्तो लाग्छ । सुशासन र डिजिटल प्रवाहको प्रणालीको सन्दर्भमा सम्पूर्ण सार्वजनिक सेवा प्रवाह तथा प्रक्रियालाई अनलाइन प्रणालीबाट हुने गरी सार्वजनिक सेवालाई फेसलेस, पेपरलेस र कन्ट्याक्टलेस बनाउनुपर्छ । यो हाम्रो वाचापत्रमा पनि आइसकेको कुरा हो । विद्युतीय एकद्वार सेवा प्रणालीको सन्दर्भमा उद्योगहरूलाई सरल तथा सहज सेवा सुविधा उपलब्ध गराउन विद्युतीय माध्यममा आधारित एकद्वार प्रणाली, यो अनलाइन सिंगल विन्डो, वान डोर प्रणाली निर्माण गर्नुपर्छ । यसरी निर्माण भएको प्रणाली, एकद्वार प्रणाली आवश्यक पर्ने सम्पूर्ण सरकारी निकायहरू, प्रदेश र स्थानीय तहमा समेत यो लागू गरिनुपर्छ । दोस्रो चरणको आर्थिक सुधारका लागि कर प्रणालीमा व्यापक सुधार गर्नु आवश्यक छ। नेपालमा विद्यमान अनेक थरीका रंगीचंगी करहरूलाई एकीकृत गर्दै सीमित प्रकारका करहरू मात्र रहने व्यवस्था कायम गरिनुपर्दछ। कर असुल गर्ने व्यवस्थालाई एकीकृत गर्दै एकै स्थानबाट सबै कर संकलन गर्ने र राज्यले विभिन्न तह वा निकायमा बाँडफाँड तथा वितरण गर्ने प्रणालीको विकास गर्नुपर्छ । अर्को एउटा अनअथोराइज्ड ट्रेडको एउटा इम्पोटेन्ट इस्यु छ । चोरी पैठारीले स्वदेशी उद्योगहरूलाई निकै मर्कामा पारिरहेको र यसबाट सरकारले समेत राजश्व गुमाइरहेको अवस्थामा यसलाई संवद्ध सबै निकायहरूले मिलेर नियन्त्रण गर्न आवश्यक छ । यसका लागि अनधिकृत आयात तथा भन्सार राजश्वलाई राजस्व विचलनलाई नियन्त्रण गर्न स्पष्ट कार्यादेश र जिम्मेवारीसहित अन्तरसरकारी समन्वयलाई प्रभावकारी बनाइनुपर्छ । चोरी पैठारी नियन्त्रणका लागि नेपाल सरकारले जिम्मेवार बनाएका सुरक्षा निकाय, आन्तरिक राजस्व विभाग, राष्ट्रिय अनुसन्धान विभाग लगायतका निकायहरूलाई जिम्मेवारी अनुसार जवाफदेही बनाइनुपर्ने, बनाइनुपर्दछ । दोस्रो चरणको आर्थिक सुधारलाई केन्द्रित गरी पुराना एवं असान्दर्भिक कानूनहरूको खारेजी, सुधार तथा नयाँ कानुनहरूको निर्माण गरिनुपर्दछ । एउटा यो लिगल रिफर्म असाध्यै महत्वपूर्ण छ ।
व्यवसायिक कसुरमा व्यवसायीलाई थुनेर अनुसन्धान गर्ने विद्यमान परिपाटीले त्रासको वातावरण सिर्जना गरेको उहाँले बताउनुभयो । परिसंघले सुझाएअनुसार पुराना एवं असान्दर्भिक कानूनहरूको खारेजी र नयाँ प्रविधि र समय अनुकूलका कानूनहरूको निर्माण गरिनुपर्ने उहाँको माग छ । यसले गर्दा लगानीको वातावरण सुधार हुने र मुलुक समृद्धिको दिशामा अघि बढ्ने उनले विश्वास व्यक्त गर्नुभयो ।