२०८३ भाद्र २५ बिहीबार
२०८३ भाद्र २५ बिहीबार

काठमाडौं महानगरपालिकालाई ‘सडक मानवमुक्त’ बनाउने अभियानअन्तर्गत पशुपति क्षेत्रको तिलगंगामा ‘स्क्रिनिङ सेन्टर’ (होल्डिङ सेन्टर) सञ्चालनमा ल्याइएको छ । 
काठमाडौं महानगरपालिका, पशुपति क्षेत्र विकास कोष र मानव सेवा आश्रमको संयुक्त पहलमा वैशाख २२ गतेदेखि वडा नं. ८ स्थित तिलगंगामा उक्त सेन्टर सञ्चालन गरिएको हो । अभियानको पहिलो दिन पशुपति क्षेत्रका विभिन्न स्थानबाट ३६ जना सडक सहयोगापेक्षीहरूको उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये २८ जनालाई सेन्टरमा राखिएको छ भने केही व्यक्तिहरू सेन्टरको पर्खाल नाघेर भागेका थिए । उद्धार गरिएकामध्ये ५० प्रतिशतभन्दा बढीलाई सोही दिन साँझसम्ममा परिवारसँग पुनर्मिलन गराइएको महानगरले जनाएको छ । 
महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले मंगलवार सेन्टरको स्थलगत निरीक्षण गर्दै पूर्वाधार, स्वास्थ्य सुविधा र व्यवस्थापनबारे जानकारी लिनुभएको छ । सो क्रममा उहाँले उद्धार गरिएका व्यक्तिहरूसँग कुराकानी गर्दै उनीहरूको पारिवारिक अवस्था र सडकमा आउनुपर्ने कारणबारे चासो राख्नुभएको थियो । उहाँले सडकमा आश्रितहरूको व्यवस्थापन गर्दा पारिवारिक पुनर्मिलनलाई प्राथमिकता दिइने र असहाय एवं बेवारिसेलाई मात्र आश्रममा राखिने प्रष्ट पार्नुभयो । महानगरले हाल बिहान, दिउँसो र राति गरी तीनवटा सिफ्टमा उद्धार टोली परिचालन गरिरहेको छ । विशेषगरी पशुपति लगायतका धार्मिक र पुरातात्विक क्षेत्रमा सडक आश्रितहरूको संख्या धेरै भएकाले ती क्षेत्रमा केन्द्रित भएर काम भइरहेको छ । स्क्रिनिङ सेन्टरको स्थापनासँगै अब उद्धार गरिएका व्यक्तिहरूको वास्तविक अवस्था पहिचान गर्न सहज हुने र अभियानले थप गति लिने महानगरको विश्वास छ । 
कार्यवाहक प्रमुख डंगोलकाअनुसार सडकमा रहेका असहाय तथा अलपत्र नागरिकहरूको उचित व्यवस्थापनका लागि महानगरको टोली बिहान, दिउँसो र राति गरी तीन सिफ्टमा खटिएको छ । विशेषगरी पशुपति लगायतका मठमन्दिर र सम्पदा क्षेत्रमा देखिएका समस्या समाधान गर्न पशुपति क्षेत्र विकास कोषसँगको समन्वयमा काम भइरहेको उहाँले जानकारी दिनुभयो । महानगरले सञ्चालनमा ल्याएको स्क्रिनिङ सेन्टरले सडकबाट उद्धार गरिएका व्यक्तिहरूको अवस्था वर्गीकरण गर्नेछ । पारिवारिक अवस्था भएका, असहाय, अशक्त र उपचारको आवश्यकता भएका व्यक्तिहरूलाई छुट्टाछुट्टै व्यवस्थापन गर्न यस केन्द्रले सहज बनाउने महानगरको विश्वास छ । महानगरपालिकाले सडकमा कोही पनि नागरिक भोकै बस्न नपरोस् र कसैले पनि सडकमा कष्टपूर्ण जीवन व्यतित गर्नु नपरोस् भन्ने उद्देश्यका साथ यो अभियान सञ्चालन गरेको हो । यसबाट सडकमा हुनसक्ने आपराधिक क्रियाकलाप नियन्त्रणमा सहयोग पुग्ने र नागरिकले सरकारको अभिभावकत्व महशुस गर्ने डंगोलले बताउनु भयो । महानगरपालिकाले यस अभियानलाई सफल बनाउन आम नागरिकसँग सहयोगको अपेक्षा गरेको छ । सडकमा कोही पनि व्यक्ति अलपत्र परेको वा बिरामी अवस्थामा भेटिएमा मानवसेवा आश्रमको सार्वजनिक गरिएको टेलिफोन नम्बरमा सम्पर्क गर्न महानगरले अनुरोध गरेको छ । यो कार्य सबैको साझा दायित्व भएको भन्दै कार्यवाहक प्रमुख डंगोलले यसमा सबै पक्षलाई हातेमालो गर्न आग्रह गर्नुभयो । 
कार्यवाहक प्रमुख डंगोलले भन्नुभयो,‘आज बिहान उद्धार गरिएका व्यक्तिहरूमध्ये ५० प्रतिशतभन्दा बढीलाई स्क्रिनिङ सेन्टरमार्फत पहिचान गरी साँझसम्म परिवारसँग पुनर्मिलन गराउन सफल भएका छौँ । केन्द्रको स्थापनाले काममा थप गति दिएको छ । जसको कोही छैन, उसको लागि सरकार छ भन्ने अनुभूति दिलाउनु हाम्रो मुख्य प्राथमिकता हो । कोही पनि नागरिक भोकै वा बेवारिसे भएर सडकमा बस्न नपरोस् भन्ने हाम्रो मुख्य उद्देश्य हो । जसको कोही छैन, उसका लागि सरकार छ भन्ने अनुभूति दिलाउन हामीले यो कार्य शुरु गरेका हौँ ।’
पहिलो दिन उद्धार गरिएकाहरूमा ६ जना महिला र २२ जना पुरुष छन् । उनीहरू २५ देखि ७८ वर्ष उमेर समूहका छन् । ठेगानाका आधारमा उनीहरू सोलुखुम्बु, सर्लाही, मकवानपुर, सुनसरी, मोरङ, बारा, महोत्तरी, खोटाङ, धनकुटा, सुर्खेत र दोलखा लगायतका जिल्लाका रहेका छन् । उद्धार गरिएकामध्ये चार जनामा मानसिक स्वास्थ्य समस्या देखिएको छ भने एकजना ज्येष्ठ नागरिक कुकुरको टोकाइबाट घाइते भएका छन् । ह्विलचेयर र वैशाखी प्रयोगकर्ताहरूलाई पनि सेन्टरमा ल्याएर आवश्यक उपचार र स्याहारको व्यवस्था मिलाइएको छ । 
पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक सुवासचन्द्र जोशीले सेन्टरको पूर्वाधारलाई थप व्यवस्थित र सुरक्षित बनाउन कोषले पूर्ण सहयोग गर्ने प्रतिवद्धता जनाउनु भयो । कार्यवाहक प्रमुख डंगोलले सडकमा अलपत्र परेका, बिरामी वा असहाय व्यक्तिहरू देखेमा मानव सेवा आश्रमको सार्वजनिक गरिएको टेलिफोन नम्बरमा सम्पर्क गरी सहयोग गर्न नागरिकहरूलाई आग्रह गर्नुभएको छ । यो अभियानलाई सफल बनाउनु सबैको साझा दायित्व भएको उल्लेख गर्दै उहाँले समाजका सबै पक्षसँग हातेमालो गर्न आह्वान गर्नुभएको छ । 

राजनीति र शासनसत्ताको इतिहासमा सामान्यतया प्रखर वक्तृत्वकला र ओजश्वी स्वरलाई शक्तिको प्रतीक मानिँदै आएको छ । तर इतिहासका विभिन्न कालखण्डमा यस्ता शासकहरू पनि उदाएका छन्, जसले शब्दभन्दा बढी मौनतालाई महत्व दिए । उनीहरूले स्वरको गम्भीरताभन्दा शान्तिको गहिराइबाट शासन सञ्चालन गर्दै मौनतालाई नै आफ्नो शक्तिशाली रणनीतिक हतियार बनाएका थिए । 
यस्ता शासकहरूको मुख्य विशेषता कम बोल्नु र गहन चिन्तनपछि मात्र निर्णय लिनु हुन्थ्यो । उनीहरूका लागि शब्द केवल सञ्चारको माध्यम नभई एक रणनीतिक औजारका रूपमा रहन्थ्यो । भीडलाई उत्तेजित पार्ने भाषणबाजीमा अल्झिनुभन्दा उनीहरू पर्दा पछाडि बसेर गम्भीर योजना तर्जुमा गर्न र त्यसलाई दृढतापूर्वक कार्यान्वयन गर्न रुचाउँथे । उनीहरूको यो मौनता कमजोरी नभई उच्च आत्मविश्वास र आत्मसंयमको परिचायक मानिन्थ्यो ।
विश्व इतिहास र राजनीतिक दर्शनमा ‘मौन शासक’ का रूपमा चिनिने यी व्यक्तित्वहरूले शक्ति प्रदर्शनका लागि आवाजको सहारा लिएनन् । उनीहरूको शान्त स्वभावले विपक्षीहरूमाझ एक प्रकारको भय र कौतुहलता पैदा गर्ने गर्दथ्यो । जब शासक मौन रहन्छ, तब उसका आगामी कदमहरू पूर्वानुमान गर्न कठिन हुन्छ भन्ने सामरिक सिद्धान्तलाई उनीहरूले कुशलतापूर्वक प्रयोग गरेका थिए । 
मौनतामा रमाउने शासकहरूले सस्ता आश्वासनभन्दा ठोस परिणामलाई प्राथमिकता दिए । उनीहरूको बुझाइमा, अत्यधिक वाचालताले मानिसको ऊर्जा क्षय गर्छ र निर्णय प्रक्रियामा विचलन ल्याउन सक्छ । त्यसैले, उनीहरूले आफ्ना विचारहरूलाई सार्वजनिक बहसको विषय बनाउनुको सट्टा कार्यसम्पादनमार्फत नै आफ्नो प्रभाव पुष्टि गर्ने बाटो रोजे। नेतृत्वको वास्तविक सामथ्र्य आवाजको तिब्रतामा होइन, विचारको स्पष्टता र कार्यको दृढतामा लुकेको हुन्छ भन्ने तथ्यलाई उनीहरूले प्रमाणित गरिदिए । 
विश्व इतिहासलाई फर्केर हेर्दा, प्रभावशाली शासकहरूले कम बोलेर वा मौन रहेरै राज्य सञ्चालनमा कठोर र दूरगामी निर्णयहरू कार्यान्वयन गरेका अनेकौँ उदाहरणहरू छन् । विशेष गरी सङ्कटको समयमा वा आमूल परिवर्तनको खाँचो हुँदा ‘व्यावहारिक’ नेताहरूले भाषणबाजीभन्दा प्रशासनिक संयन्त्रको परिचालनमा जोड दिएका छन् । 
रुसका पिटर द ग्रेटदेखि चीनको आधुनिक आर्थिक रूपान्तरणका संवाहक देङ सियाओपिङसम्म आइपुग्दा ‘मौनताको शक्ति’ प्रस्ट देखिन्छ । सियाओपिङले ‘बिरालो कालो होस् वा सेतो, यसले मुसो समात्नुपर्छ’ भन्ने दर्शन अघि सार्दै कम प्रचार र बढी नतिजाको नीति अख्तियार गरेका थिए ।
चिनियाँ नेता देङ सियाओपिङले अघि सारेको ‘बिरालो कालो होस् वा सेतो, यसले मुसो समात्नुपर्छ’ भन्ने भनाइ विश्व राजनीति र अर्थतन्त्रमा व्यावहारिक दर्शनको एक उत्कृष्ट नमूना मानिन्छ । यसको मूल मर्म विचारधारा वा प्रक्रियाभन्दा परिणाम र उपलब्धि प्रधान हुनुपर्छ भन्ने हो । वर्तमान नेपालको राजनीतिक र प्रशासनिक परिवेशमा यो दृष्टान्त झनै सान्दर्भिक देखिएको छ । नेपाली राजनीति लामो समयदेखि विभिन्न राजनीतिक वाद र विचारधारामा अल्झिएको देखिन्छ । लोकतन्त्र, समाजवाद वा अन्य कुनैपनि राजनीतिक व्यवस्था केवल साधन हुन्, साध्य होइनन् । जनताको मुख्य चाहना सुशासन, आर्थिक विकास र दैनिक जीवनमा आउने सकारात्मक परिवर्तन हो । 
यो दृष्टान्तको सन्दर्भमा, सरकार कुन दल वा कुन विचारधाराको नेतृत्वमा छ भन्नेकुरा गौण रहन्छ; महत्वपूर्ण कुरा त्यस सरकारले मुलुकको आर्थिक संकुचन हटाउन, भ्रष्टाचार नियन्त्रण गर्न र नागरिकलाई आधारभुत सुविधा पु¥याउन कस्तो भुमिका निर्वाह गर्छ भन्ने हो । राजनीतिक स्थिरता र समृद्धिको लक्ष्य प्राप्तिका लागि दलहरूले वैचारिक कट्टरताभन्दा माथि उठेर व्यवहारिक नीति अपनाउनु आजको आवश्यकता हो । 
नेपालको सार्वजनिक प्रशासनमा प्रक्रियामुखी पद्धति हावी हुनु एक मुख्य चुनौतीका रूपमा रहेको छ । कर्मचारीको नियुक्ति, सरुवा वा बढुवामा कुन पक्षको झुकाव छ वा कुन प्रक्रियाबाट आयो भन्ने भन्दा पनि उसले दिने सेवा प्रवाह कति प्रभावकारी छ भन्नेकुराले प्राथमिकता पाउनुपर्छ । 
प्रशासनिक निकायले फाइल घुमाउने र प्रक्रियामा अल्झिने परम्परालाई त्यागेर नतिजा निकाल्ने कार्यशैली अपनाउनु पर्ने देखिन्छ । यदि प्रशासनिक संयन्त्रले जनताका समस्या समाधान गर्न र विकास निर्माणका कार्यलाई तिब्रता दिन सक्दैन भने त्यसको संरचनागत स्वरूप जतिसुकै आकर्षक भएपनि त्यसको सार्थकता रहँदैन ।  
नेपालको सन्दर्भमा ‘मुसो समात्नु’ भनेको गरिबी निवारण, पूर्वाधार विकास, सुशासन र नागरिक सन्तुष्टि प्राप्त गर्नु हो । राजनीतिक दल र कर्मचारीतन्त्रले कुन रङको बिरालो (विचारधारा वा पद्धति) प्रयोग गर्ने भन्ने बहस गर्नुभन्दा पनि कसरी छिटो र प्रभावकारी रूपमा जनअपेक्षा पूरा गर्ने भन्नेमा ध्यान केन्द्रित गर्नुपर्छ । जबसम्म राज्यका संयन्त्रहरू परिणाममुखी हुँदैनन्, तबसम्म देशले समृद्धिको मार्ग समात्न कठिन देखिन्छ । तसर्थ, नेपालको समग्र विकासका लागि व्यवहारिक र नतिजामुखी दृष्टिकोण नै वर्तमान समयको अपरिहार्य माग हो ।
त्यस्तै, सिङ्गापुरको आधुनिक विकासका निर्माता ली कुआन युले पनि आफ्नो प्रारम्भिक शासनकालमा लोकतान्त्रिक वाचालताभन्दा अनुशासित कार्यसम्पादनलाई प्राथमिकता दिएका थिए । उनीहरूको शासन शैलीमा शब्दहरूको आडम्बरभन्दा कानूनको कार्यान्वयन र भौतिक प्रगति सर्वोपरि हुन्थ्यो । 
नेपालको इतिहासमा पनि पृथ्वीनारायण शाहको एकीकरण अभियान ताका होस् वा जङ्गबहादुर राणाको उदयका बेला, रणनीतिक मौनता र आकस्मिक कार्यसम्पादनलाई सत्ता सञ्चालनको मुख्य कडी मानिन्थ्यो । तर पछिल्लो समय बहुदलीय प्रजातन्त्र र गणतन्त्रको आगमनसँगै राजनीतिमा चर्को भाषण र शब्दजालको संस्कृति हाबी भयो ।
नेपाली जनतामा परम्परागत राजनीतिप्रति बढ्दो निराशा र वितृष्णाका बीच एउटा नयाँ धारको उदय भएको छ, जसले स्थापित वाचालतालाई चुनौती दिइरहेको छ । यसै धारको पछिल्लो र सशक्त उदाहरणका रूपमा प्रधानमन्त्री बालेन्द्र साह (बालेन) को कार्यशैलीलाई विश्लेषण गर्न थालिएको छ ।
साहले सार्वजनिक पद सम्हालेदेखि नै परम्परागत पत्रकार सम्मेलन, सञ्चारमाध्यमसँगको अनावश्यक संवाद र लामा भाषणहरूलाई त्यागेका छन् । उनको यो शैलीलाई धेरैले ‘मौन शासन’ को आधुनिक अभ्यासका रूपमा लिएका छन् । साहको कार्यशैली परम्परागत राजनीतिक व्याकरणभन्दा भिन्न छ । उनी सार्वजनिक मञ्चहरूमा कम बोल्छन्, तर आफ्ना निर्णय र कार्यप्रगति सामाजिक सञ्जालमार्फत सिधै जनतासम्म पु¥याउँछन् । उनको शासन पद्धतिमा कार्यक्षेत्र (फिल्ड) मा हुने सक्रियता र प्रशासनिक कडाइ मुख्य देखिन्छ । 
राजनीतिक विश्लेषकहरूकाअनुसार यो शैलीले एक प्रकारको ‘प्राविधिक नेतृत्व’ को झल्को दिन्छ, जहाँ भावनाभन्दा तथ्याङ्क र नतिजालाई सर्वोपरि मानिन्छ । परम्परागत दलका नेताहरूले सपना बाँड्ने र भाषण गर्ने शैली अपनाइरहँदा, ‘मौन तर आक्रामक’ कार्यशैलीले नयाँ पुस्ताको ध्यान खिचेको छ । 
इतिहास साक्षी छ कि धेरै बोल्ने शासकहरू सधैँ सफल हुँदैनन् । कतिपय अवस्थामा शासकको मौनताले उसको कार्यसम्पादन प्रतिको दृढता र गम्भीरतालाई झल्काउँछ । विश्व इतिहासका सफल प्रयोगहरू र नेपालमा हाल देखिएको यो नवीनतम शैलीले लोकतन्त्रमा नेतृत्वको नयाँ मानक स्थापित गर्न खोजेको देखिन्छ । जनताले अब भाषणको मिठासभन्दा पनि कार्यको ठोस नतिजा खोजिरहेको वर्तमान अवस्थामा ‘मौन शासन’ को महत्व र सान्दर्भिकता झन् बढेर गएको छ । यस परिप्रेक्ष्यमा साहले अवलम्वन गरेको जस्तो नतिजामुखी र व्यावहारिक दृष्टिकोण नै नेपालको समग्र विकासका लागि अपरिहार्य मार्ग देखिन्छ । नेतृत्वको वास्तविक सामथ्र्य आवाजको तिब्रतामा होइन, विचारको स्पष्टता र कार्यको दृढतामा निहित हुन्छ भन्ने तथ्यलाई वर्तमान राजनीतिक परिवर्तनले पुष्टि गर्दै लगेको छ ।

मध्यपूर्वमा जारी तनावका कारण इन्धनको मूल्यमा भएको वृद्धिसँगै अस्ट्रेलियामा घरायसी खर्चमा उल्लेख्य बढोत्तरी भएको छ । अस्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्स (एबीएस) ले मंगलवार सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत मार्च महिनामा घरायसी खर्च १.६ प्रतिशतले बढेको छ । एबीएसकाअनुसार जनवरीमा ०.२ प्रतिशत र फेब्रुअरीमा ०.३ प्रतिशतले बढेको घरायसी खर्च मार्चमा आइपुग्दा तिब्र गतिमा वृद्धि भएको हो । सन् २०२४ को मार्चको तुलनामा यो खर्च ६.३ प्रतिशतले बढी हो । एबीएसका व्यवसाय तथ्याङ्क प्रमुख टम लेका अनुसार इन्धनको मूल्य वृद्धिका कारण यातायात लागतमा ५.१ प्रतिशतले वृद्धि भएपछि समग्र घरायसी खर्च बढ्न पुगेको हो । मार्च महिनाको शुरुदेखि नै इन्धनको मूल्य बढ्न थालेको र महिनाको अन्त्यतिर यो उच्च बिन्दुमा पुगेको तथ्याङ्कले देखाएको छ । 
मूल्य वृद्धिका कारण उपभोक्ताहरूको व्यवहारमा समेत परिवर्तन देखिएको छ । सवारी धनीहरूले एकैपटक धेरै इन्धन भर्नुको सट्टा पटक–पटक थोरै परिमाणमा इन्धन भर्ने गरेको पाइएको छ । त्यस्तै, निजी सवारी साधनको सट्टा सार्वजनिक यातायातको प्रयोगमा वृद्धि हुनुले पनि उपभोक्ताहरू महँगो इन्धनबाट बच्न खोजेको संकेत गर्दछ । 
यसैगरी, खाद्यान्न खर्चमा पनि १.७ प्रतिशतको वृद्धि देखिएको छ। विश्वव्यापी आपूर्ति शृङ्खलामा आउन सक्ने सम्भावित अवरोधका कारण सर्वसाधारणले सावधानीस्वरूप खाद्यान्न भण्डारण (स्टक) गरेकाले यो खर्च बढेको बताइएको छ ।  
तथ्याङ्कअनुसार मार्च महिनामा इन्धनको मूल्य ३२.८ प्रतिशतले बढेपछि इन्धन खरिदको परिमाण भने १.३ प्रतिशतले घटेको छ । मार्च त्रैमासिकमा घरायसी खर्चको कुल परिमाण ०.७ प्रतिशतले बढेको छ, जुन लगातार छैटौँ त्रैमासिक वृद्धि हो । विशेषगरी स्वास्थ्य र खाद्यान्न जस्ता अत्यावश्यक क्षेत्रमा खर्च बढेका कारण यो वृद्धि देखिएको टम लेले जानकारी दिनुभयो । वार्षिक रूपमा हेर्दा, घरायसी खर्चको परिमाण २.८ प्रतिशतले बढेको छ, जुन सन् २०२३ को मध्ययताकै सबैभन्दा बलियो वार्षिक वृद्धि हो । 

News Summary

  • सरकारले संवैधानिक परिषद्को बैठक बस्नका लागि गणपूरक संख्या चार राख्ने अध्यादेश जारी गरेको छ।
  • संवैधानिक परिषद्को बैठकमा अध्यक्ष र कम्तीमा तीन सदस्य उपस्थित हुँदा बैठक गणपूरक मानिने व्यवस्था छ।
  • परिषद्को निर्णय अध्यक्ष र दुई सदस्यको सहमतिमा बहुमत मानिने र मत बराबर हुँदा अध्यक्षको मत निर्णायक हुने व्यवस्था छ।

२२ वैशाख,

६ सदस्यीय संवैधानिक परिषद्को बैठक बस्नका लागि गणपूरक संख्या चार राखिएको छ । सरकारले संवैधानिक परिषद् सम्बन्धी अध्यादेशमार्फत यस्तो व्यवस्था गरेको हो ।

मंगलबार जारी अध्यादेशअनुसार ६ सदस्यीय संवैधानिक परिषद्को बैठक बस्नका लागि ४ जना उपस्थित हुनुपर्छ ।

अध्यादेशको दफा ६ को उपदफा (४) मा संवैधानिक परिषद्को बैठकमा अध्यक्ष र कम्तीमा तीनजना सदस्यहरू गरी कम्तीमा चारजना उपस्थित भएमा परिषद्को बैठकको लागि गणपूरक संख्या मानिने व्यवस्था छ ।

संवैधानिक परिषद्मा रहने छ जना सदस्यमध्ये चारजनाको उपस्थितिले कूल सदस्यको बहुमत भई गणपूरक संख्या पूरा हुने भनिएको छ ।

संवैधानिक परिषद्का अध्यक्ष र कम्तीमा तीनजना सदस्य उपस्थित भएको बैठकमा अध्यक्ष र दुईजना सदस्य गरी कम्तीमा तीन जनाको निर्णय परिषद्को निर्णय मानिने व्यवस्था  अध्यादेशको दफा ६ को उपदफा (५) को स्पष्टीकरणको खण्ड (ग) मा छ ।

अध्यक्ष र पाँचजना सदस्य गरी परिषद्को पूर्ण (छ जना) उपस्थित हुँदा यो संख्या बिजोर नभई जोर भएकोले कुनै प्रस्ताव उपर निर्णय गर्दा मत बराबर अर्थात् तीन/तीनको संख्या भएको खण्डमा परिषद्को अध्यक्ष सहमत भएको पक्षमा बहुमत भएको मानेर निर्णय गर्ने व्यवस्था अध्यादेशमा छ ।

गणपूरक संख्याको आधारमा संवैधानिक परिषद्को बैठक बसेको बैठकमा समेत सर्वसम्मत हुन नसके बहुमतवाट निर्णय गर्न सक्ने व्यवस्था छ ।

संवैधानिक निकायका प्रमुख र पदाधिकारी नियुक्तिका लागि सिफारिस गर्न प्रधानमन्त्री अध्यक्ष रहने ६ सदस्यीय संवैधानिक परिषद् सर्वोच्च संवैधानिक निकाय हो ।

परिषद्को सदस्यहरूमा प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभा अध्यक्ष, उपसभामुख र प्रमुख प्रतिपक्षी दलको नेता रहन्छन् ।

रास्वपाका सांसद अशोककुमार चौधरीले पहिलो महिनाको रपोर्ट कार्ड सार्वजनिक गरेका छन् ।

 
 

News Summary
  • राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अशोककुमार चौधरीले पहिलो महिनाको संसदीय रपोर्ट कार्ड सार्वजनिक गरेका छन्।
  • चैत १९ देखि २७ गतेसम्म चलेको पहिलो अधिवेशनमा उनले उठाएका विषयवस्तु र सहभागितालाई रिपोर्ट कार्डमा उल्लेख गरेका छन्।
  • वैशाख ४ गते संसदीय विषयगत समितिको सभापतिको निर्वाचनमा चौधरी कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापतिमा निर्वाचित भएका छन्।

२२ वैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अशोककुमार चौधरीले पहिलो महिनाको रपोर्ट कार्ड सार्वजनिक गरेका छन् ।

२१ फागुनबाट आएको प्रतिनिधिसभाको पहिलो अधिवेशन गत चैत १९ गतेदेखि चैत २७ गतेसम्म चलेको थियो । त्यसअवधिमा उठाएका विषयवस्तु र संसदीय गतिविधिमा जनाएको सहभागितालाई उनले रिपोर्ट कार्डमा उल्लेख गरेका छन् ।

यही वैशाख ४ गते  संसदीय विषयगत समितिको सभापतिको निर्वाचन भएको थियो । चौधरी कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापतिमा निर्वाचित भए ।

सुनसरी निर्वाचन क्षेत्र नम्बर ३ बाट निर्वाचित चौधरी अघिल्लो प्रतिनिधिसभामा पनि थिए । त्यसबेला समानुपातिक तर्फबाट निर्वाचित भएका उनी यसपटक प्रत्यक्ष निर्वाचित भएका हुन् ।

हेर्नुहोस् रिपोर्ट :

News Summary

  • सरकारले संघीय संसद् सचिवालय कर्मचारी युनियन अध्यादेशमार्फत खारेज गरेको छ।
  • अध्यादेशले कर्मचारीको गुनासो सुनुवाइको व्यवस्था राखेको छ।
  • कर्मचारीले सेवा, सर्त, सुविधा सम्बन्धी गुनासो कार्यालय प्रमुख वा अधिकृतसमक्ष राख्न सक्नेछन्।

२२ वैशाख, संघीय संसद् सचिवालय कर्मचारी युनियन खारेज भएको छ । सरकारले केही नेपाल ऐन संशोधन अध्यादेशमार्फत संघीय संसद् सचिवालय कर्मचारी युनियन खारेज गरिदिएको हो ।

संघीय संसद् सचिवालय सम्बन्धी ऐन २०६४ को दफा ७३ मा कर्मचारी युनियनसम्बन्धी व्यवस्था थियो ।

 

जहाँ ‘मर्यादापालक बाहेकका सचिवालयमा कार्यरत राजपत्राङ्कित तृतीय श्रेणी वा सो भन्दा मुनिका कर्मचारीहरूले आफ्नो पेशागत हक हितको लागि एउटा कर्मचारी युनियन गठन गर्न सक्ने’ भनिएको छ ।

यस्तो व्यवस्थालाई अध्यादेशमार्फत खारेज गरिएको हो ।

 

यसलाई खारेज गरेर कर्मचारीको गुनासो सुनुवाइको व्यवस्था राखिएको छ ।

जसअनुसार कर्मचारीले सेवा, सर्त, सुविधा र कर्मचारीसँग सरोकार राख्ने विषयमा आफूलाई मर्का परेको छ भन्ने लागेमा कार्यालय प्रमुख वा कार्यालय प्रमुखले तोकेको अधिकृतसमक्ष आफ्नो पीर मर्का र गुनासो लिखित वा मौखिक रूपमा राख्न सक्नेछन् ।

गुनासो प्राप्त भएमा बढीमा तिसदिन भित्रमा गुनासो फछ्यौट गर्नुपर्ने हुन्छ ।

कर्मचारीको पीर, मर्का र गुनासो फछ्यौट हुन नसक्ने भएमा सम्बन्धित सम्बन्धित पक्षलाई गुनासो सुनुवाइ गर्ने जिम्मेवारी प्राप्त अधिकृतले १५ दिनभित्र लिखित रूपमा आधार र कारण सहितको निर्णयको जानकारी गराउनु पर्नेछ ।

यस्तो निर्णयउपर चित्त नबुझेमा पीर मर्का परेको सम्बन्धित कर्मचारीले एक तह माथिको अधिकारी समक्ष पुनरावलोकनको लागि निवेदन दिन सक्नेछन् ।

त्यस्तो पुनरावलोकनको निवेदन उपर भएको सुनुवाइमा समेत चित्त नबुझेमा प्रचलित कानुन बमोजिम हुने भनिएको छ ।

अध्यादेशअनुसार कर्मचारीले राजनीतिक र संगठित गतिविधि गर्न पाउने छैनन् ।

नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया शुरु भएको छ ।  महासंघको विधानअनुसार नयाँ कार्यसमिति चयनका लागि मतदान कार्य अगाडि बढाइएको हो । महासंघको विद्यमान विधानमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान रहेको छ । सोही व्यवस्थाअनुसार वर्तमान वरिष्ठ उपाध्यक्ष अञ्जान श्रेष्ठ अबको नयाँ कार्यकालका लागि महासंघको अध्यक्ष बन्नुहुने निश्चित भएको छ । अध्यक्ष पद स्वतः सुनिश्चित भएपनि अन्य विभिन्न पदाधिकारी पदका लागि भने तिब्र प्रतिष्पर्धा देखिएको छ । निर्वाचनमा मुख्यतया दुईवटा प्यानल खडा गरी उम्मेदवारहरू चुनावी मैदानमा उत्रिएका छन् । वरिष्ठ उपाध्यक्षसहितका अन्य कार्यकारी पदहरूमा आफ्नो प्यानलको वर्चश्व कायम गर्न दुवै समूहका उम्मेदवारहरूबीच प्रतिष्पर्धा भइरहेको छ 

गौशाला धर्मशाला पशुपति क्षेत्र विकास कोषअन्तर्गत रहने काठमाडौं जिल्ला अदालतकै फैसलालाई उच्च अदालत पाटनले पनि सदर गरेको छ ।

सो फैसलासँगै मारवाडी सेवा समितिले व्यापार व्यवसाय सञ्चालन गरिरहेको गौशाला धर्मशालाका जग्गा खाली गनुपर्ने भएको छ । करिब २५ वर्षदेखि समितिको कब्जामा रहेको साविक पशुपति पञ्चायत वडा नं २ को कित्ता नम्बर ८३ को चार रोपनी १५ आना दुई दाम र कित्ता नम्बर ८५ को चार रोपनी १० आना जग्गामा समितिको मोही हक नलाग्ने ठहर जिल्ला अदालत काठमाडौंले गरेको थियो ।

यसैलाई उच्च अदालत पाटनले सदर गरेको अदालतका सूचना अधिकारी गोविन्दप्रसाद कोइरालाले राससलाई जानकारी दिए । फैसलासँगै पशुपति गौशाला धर्मशालाको सबै स्वामित्व कोषमै फिर्ता भएको छ ।

 

उच्च अदालत पाटनका न्यायाधीशद्वय खड्गबहादुर केसी र रमेशप्रसाद ज्ञवालीको इजलासले सोमबार फैसला गर्दै काठमाडौं जिल्ला अदालतको ‘पशुपति क्षेत्र विकास कोष स्वामित्वको पशुपति गौशाला धर्मशालाको सम्पूर्ण जग्गा जमिनमा समितिको मोहियानी हक नलाग्ने’ फैसला गरेको हो ।

 

काठमाडौं जिल्ला अदालतको फैसलापछि समितिले कोष, कोषका तत्कालीन सदस्य-सचिव डा. मिलनकुमार थापासहित १२ जनालाई विपक्षी बनाएर २०८१ मङ्सिर २१ गते उच्च अदालत पाटनमा मुद्दा दायर गरेको थियो ।

काठमाडौं जिल्ला अदालतका तत्कालीन न्यायाधीश कमलप्रसाद पोखरेलको इजसालले २०८१ असोज १६ गते गरेको फैसलाको पूर्णपाठमा धर्मशालाको जग्गामा आफ्नो मोही हक रहेको दाबी गरे पनि सो जग्गामा समिति मोही रहेको तथ्य अस्वीकार गरिएको भनिएको छ ।

फैसलामा साविक समयदेखि पशुपति गौशाला धर्मशाला नामक कुनै पनि संस्था अस्तित्वमा रहेको नदेखिने र सो तथ्यलाई मारवाडी समितिले २०६० जेठ १२ गते पशुपति अमालकोट कचहरीसँग सम्झौता गर्दा स्वीकार गरेको देखिने प्रष्ट पारिएको छ ।

‘धार्मिक कार्यमै लगाउनुपर्छ’

कोषका पूर्वसदस्यसचिव थापाले एक दशकको न्यायिक सङ्घर्षपछि न्यायालयबाटै पशुपतिनाथको सम्पत्ति फिर्ता भएको बताए । अब सो जग्गा धार्मिक र सामाजिक कार्यका लागि सरकारी निकायसँगै समन्वय गरेर गैरनाफामूलक ढङ्गले सञ्चालन गर्न सकिने उनको भनाइ छ।

“कोष सञ्चालक परिषद्को २०८१ असोज २० गतेको निर्णय र असोज २२ गते कोष र काठमाडौँ महानगरपालिकाबीच भएको सहमतिअनुसार पशुपति गौशाला धर्मशाला सञ्चालक तथा व्यवस्थापन प्रक्रिया अघि बढाएर भगवान् पशुपतिनाथ मन्दिर दर्शन गर्न आउने भक्तजनलाई सेवा दिन सकिन्छ”, थापाले भने ।

वर्तमान प्रधानमन्त्री एवं काठमाडौं महानगरका तत्कालीन प्रमुख वालेन्द्र शाह र पूर्वसदस्य सचिव थापाको समन्वयमा कोष र काठमाडौं महानगरबीच पशुपति गौशाला धर्मशालालाई सामाजिक एवं धार्मिक कार्यका लागि गैरनाफामूलक ढङ्गबाट सञ्चालन गर्ने सहमति भएको थियो ।

“वर्तमान प्रधानमन्त्रीले महानगर प्रमुख हुँदा नै पशुपतिनाथको सम्पत्ति फिर्ता गरेर राज्यकै निकायले सञ्चालन गर्ने कार्यमा अग्रसरता लिनुभएको थियो । सरकारले तत्कालै धर्मशाला खाली गराएर उक्त सहमति कार्यान्वयन गर्दा उपयुक्त हुन्छ”, थापाले भने ।

अधिवक्ता कृष्णमुरार पुडासैनीले काठमाडौं जिल्ला अदालतको फैसलालाई उच्च अदालत पाटनले सदर गरेपछि र मारवाडी सेवा समिति पुनरावेदनमा जान नपाउने बताए । पुडासैनीका अनुसार दुवै तहको न्यायालयबाट पशुपति क्षेत्र विकास कोषको पक्षमा फैसला भएपछि समितिले दोहोर्‍याइ पाउँ भनेर निवेदन गर्न पाउने छैन ।

“उच्च अदालतको फैसला आइसकेपछि धर्मशाला खाली गर्ने प्रक्रिया अघि बढाउन सकिन्छ”, पुडासैनीले भने।

फैसलामा के छ ?

काठमाडौ| जिल्ला अदालतको फैसलामा ‘जग्गा श्री पशुपति अमालकोट कचहरीमा दर्ता भएका गुठीको जग्गा भन्ने तथ्यमा विवाद नदेखिए पनि श्री पशुपतिनाथ अमालकोट कचहरीबाट मोही दर्ता भई मोहीदर्ताको प्रमाण पुर्जा प्राप्त गरेको भनी सोको छायाँप्रति पेस गरी सो दर्ता अभिलेखमा दाबीको जग्गाको मोही महलमा श्री पशुपति गौशाला धर्मशाला रहेको तथ्यलाई मुख्य आधार लिएको देखियो’ भनिएको छ । जिल्ला अदालतले समितिबाट पेस भएको कुनै पनि निर्णय अभिलेखका प्रमाणबाट उनीहरूको दाबीको जग्गामा मारवाडी सेवा समितिको मोही हक रहेको तथ्य प्रमाण पेस हुन नसकेको फैसलामा उल्लेख छ ।

साथै अदालतले धर्मशालामा निर्माण भएका घर जग्गालगायतका भौतिक संरचनामाथि पशुपति अमालकोट कचहरीको पूर्ण स्वामित्वलाई मारवाडी सेवा समितिले स्वीकार गरेको तथ्यलाई पुष्टि गरेको देखिएको फैसला गरेको छ । सोही फैसलालाई उच्च अदालत पाटनले सदर गरिदिएको हो ।

धर्मशालाको इतिहास

विसं १९९९ जेठ ५ गतेको पुर्जीले पशुपतिमा छोडिएका दूध कटुवा नन्दी (साँढे) को संरक्षणका लागि जुनेलो घाँस लगाउन हरिनारायण भनिने रामकुमार मारवाडीलाई एक रोपनी दुई आना जग्गा उपलब्ध गराएको दस्तावेजमा उल्लेख छ ।

साविक पशुपति पञ्चायत वडा नं २ ‘क’ को कित्ता नं ८३ को चार रोपनी दुई आना र कि.नं.८५ को चार रोपनी १० आना गरी जम्मा नौ रोपनी नौ आना दुई पैसा जग्गामा कोही पनि मोही नरहेको तथ्य कोषको अभिलेखमा देखिने पूर्वसदस्य सचिव थापा बताउँछन् ।

“विसं २०६० मा समितिसँगको सम्झौतामा वर्षको रु ५१ हजार लिने भनिएको छ । तर मोहीसँग सम्झौता गरिँदैन । सहयोग पनि लिइँदैन । समितिलाई धर्मशाला सञ्चालन गर्न मात्रै दिइएको थियो”, उनले भने ।

नेपाल दशनामी समाज कास्की, जिल्ला कार्य समितिले एक कार्यक्रम बीच भवनको शिलान्यास गरेको छ । पोखरा-१७ मा निर्माण हुन लागेको भवनको उद्घाटन परमहंस प्ररिव्राजकाचार्य श्रोत्रीयब्रहमनिष्ठ निरन्जन निरन्जन पिठाधिस अनन्त विभूषित महामण्डलेश्वर स्वामी डा. आत्मानन्द गिरी महाराजले उद्घाटन गर्नुभएको थियो । उक्त अबसरमा बोल्नुहुदै डा. महाराजले संस्कार विना मानिसहरु अघि भढ्न नसक्ने बताउनुभयो । सस्कारी भए समाजमा कुनै बिकृति नहुने बिश्वास व्यक्त गर्नुभयो । उहाँले पछिल्लो समय शिक्षित भएता पनि मानिसहरुमा सस्कार नभएका कारण भ्रष्टाचार, छलकपट, चोरीडकैती र विभिन्न खालका अपराध भैरहेको औलाउनुभयो ।

 

 

यस्ता खालका समस्यबाट मुक्त हुनका लागि सबैजना सस्कारी र ब्यबहारिक हुनुपर्ने सहभागी सबैलाई आग्रह गर्नुभयो । कार्यक्रममा समाजका सल्लाहकार संयोजक राजकुमार गिरीले समाजले दशनामीहरुको अधिकार शुनिश्चित गर्नका लागि विभिन्न खालका काम र पहल गर्दै आइरहेको जानकारी दिनुभयो ।

कुनैपनि कार्य गर्नका लागि भवनको अतिआवश्वक पर्ने भएकोले भवन निर्माण समेत अघि बढेको उहाले जनाउनुभयो । ५ आना क्षेत्रफलमा ४ तलाको भवन निर्माण हुन लागेको समाजका सचीव बोधराज गिरीले जानकारी दिनुभयो । नेपाल दशनामी समाज कास्की, जिल्ला कार्य समितिका अध्यक्ष भुपेन्द्र गिरीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य प्रथम उपाध्यक्ष भरत गिरीले राख्नु भएको थियोे भने, सचीव बोधराज गिरीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

News Summary

  • सरकारले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश पुन: जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ।
  • मन्त्रिपरिषद् बैठकले संवैधानिक परिषद् (पहिलो संशोधन) अध्यादेश २०८३ पुन: सिफारिस गर्ने निर्णय गरेको प्रवक्ता पोखरेलले बताए।
  • यसअघि ८ वटा अध्यादेश सिफारिस भएका थिए, तीमध्ये ७ वटा राष्ट्रपतिले जारी गरेका थिए भने संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाइएको थियो।

२१ वैशाख, सरकारले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश पुन: जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले संवैधानिक परिषद् (पहिलो संशोधन) अध्यादेश २०८३ जारी गर्नका लागि पुन: सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।

 

यसअघि पनि योसहित विभिन्न ८ वटा अध्यादेश सिफारिस भएका थिए । तीमध्ये ७ वटा राष्ट्रपतिले जारी गरेका थिए भने संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुनर्विचारका लागि फिर्ता पठाएका थिए । उक्त अध्यादेश जस्ताको तस्तै सिफारिस भएको प्रवक्ता पोखरेलले जानकारी दिए।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।