२०८३ भाद्र २४ बुधबार
२०८३ भाद्र २४ बुधबार

नेपालमा मानव बेचबिखनको स्वरूपमा आएको तिब्र परिवर्तनले यसको नियन्त्रण र उद्धार प्रक्रियामा नयाँ तथा जटिल चुनौतीहरू थपिएका छन् ।  नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरो र स्थानीय तहका सरोकारवालाहरूले पछिल्लो समय वैदेशिक रोजगारी तथा आप्रवासनका नाममा हुने मानव बेचबिखनको स्थिति भयावह बन्दै गएको भन्दै चिन्ता व्यक्त गरेका हुन् । मानव बेचबिखन नियन्त्रणका लागि ‘पीडित केन्द्रित न्याय प्रणाली’ आवश्यक रहेको विज्ञहरूको ठम्याइ छ । यसका लागि स्थानीय तहसम्म प्रभावकारी सूचना प्रणालीको विकास, अन्तर्राष्ट्रिय निकायहरूसँगको समन्वय र वैदेशिक रोजगारीमा जानेहरूको सूक्ष्म अध्ययन जरुरी छ । साथै स्वदेशमै कृषि र उत्पादनमूलक क्षेत्रमा लगानी वृद्धि गरी वैदेशिक रोजगारीको बाध्यतालाई न्युनिकरण गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् । 
नेपालमा मानव बेचबिखनको स्वरूप परिवर्तन हुँदै गएको र यसले जटिल चुनौती थपेको नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले जनाएको छ । ब्युरोका प्रहरी उपरीक्षक (एसपी) हरिबहादुर ओलीकाअनुसार पछिल्लो समय वैदेशिक रोजगारी र आप्रवासनका नाममा हुने मानव बेचबिखन तथा ओसारपसारको स्थिति भयावह देखिएको छ । विगतमा अन्य प्रहरी इकाईहरूबाट सम्पादन हुँदै आएको मानव बेचबिखन सम्बन्धी कार्यलाई विशिष्टीकृत ढंगले अगाडि बढाउन वि.सं. २०७५ सालमा यस ब्युरोको स्थापना गरिएको थियो । हाल विद्यमान ‘मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४’ पुरानो भइसकेको र यसले मानव तस्करी, जबरजस्ती श्रम (फोस्र्ड लेबर) र आप्रवासनका नवीन चुनौतीहरूलाई पूर्ण रूपमा सम्बोधन गर्न नसकेकाले ऐन संशोधनको प्रक्रियामा रहेको एसपी ओलीले जानकारी दिनुभयो । आर्थिक वर्ष २०८०/८१ को तथ्याङ्कअनुसार ब्युरो र अन्य सरोकारवाला निकायको समन्वयमा विभिन्न मुलुकबाट ठूलो सङ्ख्यामा पीडितहरूको उद्धार गरिएको छ । प्राप्त विवरणअनुसार ओमानबाट ११७, कुवेतबाट ५२५, युएईबाट ५३, दक्षिण एशियाली मुलुकहरूबाट ३४०, दक्षिणपूर्वी एशियाबाट ९६ र युरोपबाट २८ जनाको उद्धार गरिएको छ । 
यसैगरी दक्षिणपूर्वी एशियाली मुलुकहरूबाट डिपोर्ट (निष्कासित) भएर आउनेको सङ्ख्या पनि उच्च रहेको छ । म्यानमारबाट १०६ जना (७ महिला र ९९ पुरुष) र कम्बोडियाबाट २३२ जना गरी जम्मा ३३८ जनाको उद्धार तथा फिर्ती भएको छ । यस्तै, अमेरिका जाने अवैध बाटो (डन्की रुट) बाट ९६३ जना डिपोर्ट भएका छन्, जसमा सबैभन्दा बढी दाङका २८७, पश्चिम रुकुमका २११ र पूर्वी रुकुमका ८४ जना रहेका छन् । 
पछिल्लो समय कम्बोडिया र म्यानमारका ‘स्क्याम सेन्टर’ हरूमा नेपालीहरूलाई वन्धक बनाई अनलाइन ठगीमा लगाउने गरिएको अनुसन्धानले देखाएको छ । आकर्षक तलबको प्रलोभनमा पारिएका नेपालीहरूलाई त्यहाँ शारीरिक तथा मानसिक यातना दिने गरिएको छ । यसै गम्भीरतालाई बुझेर कम्बोडिया सरकारले हालै ५ लाख डलरसम्म जरिवाना र जन्मकैदसम्मको सजाय हुनेगरी नयाँ कानून पारित गरेको एसपी ओलीले बताउनु भयो । अमेरिका जाने प्रलोभनमा परेर नेपालीहरूले करोडौं रुपैयाँ गुमाउने गरेको र ज्यान जोखिममा पार्ने गरेको पाइएको छ । दलालहरूले अफ्रिकी मुलुक र मेक्सिको हुँदै अवैध बाटोबाट लैजाने क्रममा पीडितहरूलाई वन्धक बनाउने, कुटपिट गर्ने र भिडियो बनाएर परिवारसँग थप रकम असुल्ने गरेको पाइएको छ । अधिकांश कारोबार अनौपचारिक (हुन्डी) माध्यमबाट हुने भएकाले कानुनी कारबाहीका लागि प्रमाण जुटाउन कठिन हुने गरेको ब्युरोको निष्कर्ष छ । वास्तविक पीडित चिन्न गाह्रो हुनु र पीडितहरूले नै उजुरी दिन नचाहनु, लेनदेनका प्रमाणहरू नहुनु र पीडितले पीडकको स्पष्ट विवरण खुलाउन नसक्नु, भिजिट भिसाको माध्यमबाट अवैध रूपमा मान्छे ओसार्ने प्रवृत्ति बढ्नु, हालको २५ दिने अनुसन्धान अवधि अपर्याप्त हुनु, कम्बोडिया जस्ता धेरै देशहरूमा कूटनीतिक नियोग नहुँदा उद्धारमा समस्या हुने गरेको उहाँको भनाइ छ । 
प्रहरी उपरीक्षक ओलीले मानव बेचबिखन नियन्त्रणका लागि ‘पीडित केन्द्रित न्याय प्रणाली’ आवश्यक रहेकोमा जोड दिनुभयो । यसका लागि स्थानीय तहसम्म सूचना प्रणाली प्रभावकारी बनाउनुपर्ने, वैदेशिक रोजगारी र अध्ययन भिसामा जानेहरूको सुक्ष्म अध्ययन गर्नुपर्ने र अन्तर्राष्ट्रिय निकायहरूसँग समन्वय बढाउनुपर्ने सुझाव दिनुभयो । ब्युरोले हाल सूचना सङ्कलन, पीडित पहिचान, उद्धार, काउन्सिलिङ र सरकारी वकिलमार्फत मुद्दा चलाउने प्रक्रियालाई तिब्रता दिएको छ । साथै, इन्टरपोल र युरोपोलमार्फत विदेशमा रहेका पीडकहरूलाई कानूनी दायरामा ल्याउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।  रामग्राम नगरपालिकाकी उपप्रमुख सम्झना चौधरीले देशमा विद्यमान कानूनको कार्यान्वयन पक्ष फितलो हुँदा मानव बेचबिखन र श्रम शोषणका घटनाहरू बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्नुभयो । मानव बेचबिखन नियन्त्रण कानून संशोधन र श्रम आप्रवासनसँगको अन्तर सम्बन्को सम्बोधनबारे आयोजित कार्यक्रममा बोल्दै उपप्रमुख चौधरीले संविधान र कानून बने पनि त्यसको सही पालना हुन नसक्दा नागरिकहरूले विभिन्न सास्ती भोग्नुपरेको बताउनु भयो ।  उपप्रमुख चौधरीले डान्स बार, मसाज पार्लर र अर्केस्ट्रा जस्ता क्षेत्रमा महिला तथा बालबालिकाहरू बाध्यताले श्रम शोषणमा परिरहेको उल्लेख गर्नुभयो । विशेषगरी भारतसँगको खुला सीमानाका कारण विना राहदानी र भिसा आवतजावत सहज हुँदा नेपाली महिलाहरू शोषणको उच्च जोखिममा रहेको उहाँको भनाइ छ । 

उहाँले भन्नुभयो, ‘बाध्यता र मजबुरीका कारण धेरै दिदीबहिनीहरू भारतका विभिन्न शहरमा पुगेर श्रम तथा यौन शोषणको सिकार हुनुपरेको छ । यस्ता समस्या समाधानका लागि सामूहिक आवाज बुलन्द पार्नु आवश्यक छ । कानूनमा प्रयोग गरिएका कतिपय शब्दहरूले महिलाको मानमर्दन गरिरहेकोतर्फ ध्यानाकर्षण गराउँदै उहाँले ‘वेश्यावृत्ति’ वा ’वेश्यागमन’ जस्ता अपमानजनक शब्दहरूलाई परिमार्जित गरिनुपर्ने माग गर्नुभयो । यस्तै भन्सारमा सर्वसाधारणले सानो परिमाणको सामान ल्याउँदा भोग्नुपर्ने सास्ती र ठूला कर छली गर्नेहरूमाथि हुने फितलो निगरानीको समेत उहाँले आलोचना गर्नुभयो । समाजमा व्याप्त बालश्रमबारे बोल्दै उहाँले पसल तथा ग्यारेजमा काम गर्ने बालबालिकाहरूको अवस्था दयनीय रहेको बताउनु भयो । बालश्रमिकहरूको उद्धार गरे पनि उनीहरूको उचित पुनस्र्थापना र व्यवस्थापनमा राज्यको संरचना अझै प्रभावकारी हुन नसकेको उहाँको अनुभव छ । उहाँका अनुसार नगरपालिकाले वैदेशिक रोजगारीबाट फर्किएका वा पीडित महिलाहरूलाई आयआर्जनका लागि लघु उद्यमसँग जोड्ने कार्य गरिरहेको छ ।  उपप्रमुख चौधरीले विदेश जानुपूर्व आवश्यक कागजातको प्रतिलिपि घरमा छोड्न र सीप सिकेर मात्र जान आग्रह गर्नुभयो । हतारमा वा प्रक्रिया पूरा नगरी जाँदा विदेशमा संकटमा परिने र उद्धार गर्न कठिन हुने उहाँको तर्क छ । 

नेपाल सरकार र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) ले मुलुकको दीर्घकालीन विकास प्राथमिकता र दिगो विकास लक्ष्य (एसडीजी) प्राप्तिका लागि द्विपक्षीय सहकार्यलाई थप सुदृढ बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।  सिंहदरबारस्थित अर्थ मन्त्रालयमा मंगलवार आयोजित ‘यूएनडीपी कन्ट्री प्रोग्राम डकुमेन्ट (सीपीडी) २०२३–२०२७’ को वार्षिक समीक्षा बैठकमा यस्तो साझा प्रतिबद्धता जनाइएको हो । बैठकले सन् २०२५ मा हासिल भएका उपलब्धिहरूको मूल्यांकन गर्नुका साथै नेपालको बदलिँदो विकास परिदृश्य र आगामी वर्षका लागि तय गरिने रणनीतिक प्राथमिकताका विषयमा गहन छलफल गरेको छ । सन् २०२३ देखि २०२७ सम्मको पाँचवर्षीय रणनीतिक योजना (सीपीडी) ले मुख्यतया तीनवटा क्षेत्रलाई प्राथमिकतामा राखेको छ । दिगो र समावेशी आर्थिक रूपान्तरण; सुशासन, संघीयता र समावेशीकरण, तथा वातावरणीय दिगोपन र जलवायु उत्थानशीलता रहेका छन् । समीक्षा बैठकलाई सम्बोधन गर्दै यूएनडीपीकी आवासीय प्रतिनिधि क्योको योकोसुकाले नेपालसँगको ६ दशक लामो साझेदारी संस्थागत सुदृढीकरण र नागरिकको हितका लागि समर्पित रहेको उल्लेख गर्नुभयो ।  उहाँले भन्नुभयो, ‘नेपाल सरकार र राष्ट्रिय संस्थाहरूसँगको संयुक्त प्रयासमा तयार पारिएको सीपीडीले जवाफदेहिता र परिणामका लागि एउटा साझा खाका प्रदान गरेको छ । यस समीक्षाले हाम्रा सामूहिक प्रगतिको मूल्यांकन गर्दै भविष्यका चुनौती सामना गर्न मार्गप्रशस्त गर्नेछ ।

कार्यक्रममा अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका प्रमुख एवं सहसचिव धनीराम शर्माले नेपाल हाल राजनीतिक स्थिरता र आर्थिक सुधारको नयाँ चरणमा प्रवेश गरेको बताउनु भयो । सरकारले सुशासन, सार्वजनिक सेवा प्रवाहमा प्रभावकारिता र निजी क्षेत्रको वृद्धिका लागि लगानीमैत्री वातावरण निर्माणलाई उच्च प्राथमिकता दिएको उहाँको भनाइ थियो। यूएनडीपीलाई एक भरपर्दो साझेदारको रूपमा चित्रण गर्दै सहसचिव शर्माले आगामी दिनमा डिजिटल गभर्नेन्स, संस्थागत सुधार र नवीन वित्तपोषणका क्षेत्रमा थप सहयोगको अपेक्षा गरिएको उल्लेख गर्नुभयो ।  सोही अवसरमा यूएनडीपीले नेपालमा आफ्नो ६० वर्ष पुगेको उपलक्ष्यमा ‘वार्षिक प्रतिवेदन २०२५’ समेत सार्वजनिक गरेको छ । प्रतिवेदनले सरकार, नागरिक समाज, स्थानीय समुदाय र निजी क्षेत्रसँगको सहकार्यबाट राष्ट्रिय विकास लक्ष्य प्राप्तिमा पुगेको योगदानलाई समेटेको छ । बैठकमा सहभागी विभिन्न सरोकारवालाहरूले विकास कार्यक्रमको पहुँच विस्तार गर्न र डिजिटल रूपान्तरणलाई तिब्रता दिनुपर्नेमा जोड दिएका थिए । नेपाल अति कम विकसित मुलुक (एलडीसी) बाट स्तरोन्नति हुने क्रममा रहेको वर्तमान सन्दर्भमा यूएनडीपीले विकास साझेदार, कूटनीतिक नियोग र अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूसँगको समन्वयलाई अझ प्रभावकारी बनाएर एकीकृत नतिजा निकाल्ने प्रतिवद्धता दोहो¥याएको छ । 

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रिय समितिको जारी छ ।  काठमाडौंको वनस्थलीस्थित पार्टी केन्द्रिय कार्यालयमा बैठक बुधवार बिहान १० बजेबाट शुरु भएको हो । पार्टी सभापतिको निर्देशन बमोजिम बोलाइएको उक्त बैठकमा पार्टीको आगामी प्रथम राष्ट्रिय महाधिवेशनको तयारीबारे छलफल हुनेछ । महाधिवेशनको मिति, स्थान र सांगठनिक कार्ययोजनाका विषयमा केन्द्रीय सदस्यहरूबीच गहन छलफल भइरहेको बुझिएको छ । बैठकमा महाधिवेशनका अतिरिक्त अन्य समसामयिक तथा विविध विषयहरूलाई पनि कार्यसूचीमा समावेश गरिएको छ । पार्टीको भावी रणनीति र सांगठनिक सुदृढीकरणका दृष्टिले यस बैठकलाई निकै महत्वका साथ हेरिएको छ ।

३० बैशाख, 

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो सीआईबीले नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ ज्योति प्रकाश पाण्डेलाई पक्राउ गरेको छ ।

उनलाई सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर ६ बसपार्कबाट यही वैशाख २९ गते राति करिब ८ बजे पक्राउ गरेको सीआई प्रवक्ता शिव कुमार श्रेष्ठले जानकारी दिए । पक्राउ गरेर उनलाई काठमाडौं ल्याइएको छ ।

 

उनीमाथि स्मार्ट सेलको सम्पत्ति गैरकानुनी रूपमा लिलामी गरेको आरोप छ ।

काठमाडौंको रक्तकाली ठेगाना भई ललितपुरको मानभवन बस्दै आएका ६३ वर्षीय पाण्डेविरुद्ध मुलुकी अपराध संहिताको ठगी तथा आपराधिक विश्वाघातको कसुरमा अनुसन्धान अघि बढाइएको सीआईबीका प्रवक्ता एवम् एसएसपी श्रेष्ठले बताए ।

२९ वैशाख,

भदौको विद्रोह, फागुनको चुनावपछि आएको बालेन सरकारबाट प्रस्तुत पहिलो नीति तथा कार्यक्रमले इतिहासको क्रमभंग गर्ने अपेक्षा धेरैको थियो ।

निर्वाचनको घोषणापत्रदेखि नै १०० बुँदाप्रति मोह देखाएको सरकारले नीति तथा कार्यक्रम पनि १०० बुँदे नै ल्यायो, जसको विषयवस्तुमा सुधारका कुनै ठूला एजेन्डा देखिएनन् । तर, नीति कार्यक्रम प्रस्तुत गर्दै गर्दा प्रधानमन्त्रीले देखाएको व्यवहार भने इतिहासमा अरु कसैले देखाउने भन्दा भिन्न थियो ।

 

उनी बीचमै संसदको बैठक छोडेर हिँड्दा संसद र राष्ट्रपतिको मात्रै होइन, सरकारकै सबैभन्दा ठूलो नीतिगत दस्तावेज ‘नीति तथा कार्यक्रम’कै अपमान भएको जानकार तथा विश्लेषकहरु बताउँछन् ।

सरकारको नीति तथा कार्यक्रममा अधिकांश बुँदा पुरानै विषयवस्तु दोहोरिएको र आमूल रुपान्तरणका कुनै विषयवस्तु नदेखिएको त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक तथा राष्ट्रिय योजना आयोगका पूर्वसदस्य डा. रमेश पौडेल बताउँछन् ।

 

सन्दर्भ फरक भए पनि नीति तथा कार्यक्रमका शुरुका दुई बुँदाहरु गत वर्ष, अघिल्लो सरकारले गरेका घोषणासँग दोहोरिएका छन् । अघिल्लो सरकारले पनि संविधान संशोधन गर्ने तथा व्यापक आर्थिक सुधार गर्ने घोषणा गरेको थियो ।

राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार संघीय संसद्को संयुक्त सभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रमको पहिलो बुँदामा ‘संविधान संशोधन बहस पत्र’ तयार गरिने घोषणा गरिएको छ । सरकारले चालु आर्थिक वर्षमा नै संविधान संशोधनको बहसपत्र तयार गर्नका लागि एउटा कार्यदल बनाएर काम गरिरहेको छ ।

यसका साथै, सुशासनलाई समृद्ध नेपालको आधारशीलाका रुपमा ग्रहण गर्दै भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति लिने घोषणा पनि पहिलो बुँदामा गरिएको छ । यद्यपि, डा. पौडेल सरकारको कार्यशैली र नीति कार्यक्रमको यो घोषणबीच तादात्म्य नमिलेको बताउँछन् ।

‘सरकारले सुशासनमा केन्द्रित हुने बताएको छ, त्यो सकारात्मक हो । तर, सुशासनको पहिलो शर्त भनेको पारदर्शिता हो । पारदर्शिताको सन्दर्भमा भने यो सरकारको प्रतिबद्धतामा प्रश्न छ । सरकारको नीति निर्माण तथा निर्णयहरु पारदर्शी रुपमा समाजमा बहस गरेर होइन, कोठे बैठकहरुमार्फत गरिँदै आएको देखिन्छ,’ उनी भन्छन् ।

नीति–कार्यक्रमको दोस्रो बुँदामा आगामी दशक औसत आर्थिक वृद्धि दर सात प्रतिशत पुग्ने गरी नयाँ चरणको आर्थिक सुधारको शृंखला शुरु गर्ने घोषणा गरिएको छ । नेपालमा दोस्रो चरणको आर्थिक सुधारको बहस लामो समयदेखि चलिरहेको छ । त्यसो हुँदा आर्थिक सुधारको प्रतिबद्धतालाई धेरैले सकारात्मक मानेका छन् ।

तर, नयाँ चरणको आर्थिक सुधार गर्ने घोषणा गरे पनि ‘र्‍याडिकल डिपार्चर’ गर्ने कार्यक्रमहरु कुनै पनि घोषणा नभएको अर्थशास्त्री डा. पौडेल बताउँछन् ।

‘सरकारले यो गर्छु, त्यो गर्छु भनेर धेरै कुरा भनेको छ । तर, कसरी गर्छु भन्ने कुरा गरेको छैन,’ उनी भन्छन् ।

राजनीतिशास्त्री डा. सञ्जीव हुमागाईं पनि यति ठूलो जनादेश पाएको सरकारले राजनीतिक नाराभन्दा माथि उठेर तथ्यमा आधारित नीति तथा कार्यक्रम ल्याउला भन्ने अपेक्षा गरेको भए पनि त्यो नदेखिएको बताउँछन् ।
सरकारले दीर्घकालीन आर्थिक दूरदृष्टि कसरी निर्माण गर्दै जाने भन्ने विषय पनि नीति कार्यक्रममा नसमेटेको डा. हुमागाईंको तर्क छ ।

२८ वैशाख,

राष्ट्रिय परीक्षा बोर्डले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा २९ दिनमा सार्वजनिक गर्‍यो । सोमबार सार्वजनिक गरेको नतिजामा ६५.९८ प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन् । यो नतिजा गत वर्षभन्दा ४.१७ प्रतिशतले बढेको हो ।

२०८१ मा ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडड भएका थिए । यसवर्ष परीक्षामा सबैभन्दा बढी जीपीए (३.६० देखि ४.००) ल्याउने विद्यार्थीको संख्या ४८ हजार ३ सय ९२ छ । ४ लाख ३० हजार ६६७ विद्यार्थीमध्ये सबैभन्दा बढी ३.६० देखि ४.०० जीपीए ल्याउनेको छ ।

 

जीपीए ३.२० देखि ३.६० सम्म ल्याउने विद्यार्थीको संख्या ८० हजार ३७२ रहेको छ । २.८० देखि ३.२० सम्मको जीपीए ल्याउने विद्यार्थीको संख्या ९४ हजार २२२ रहेको छ । ५५ हजार ९७७ विद्यार्थीले यस वर्ष २.४० देखि २.८० जीपीए ल्याएका छन् । जीपीए २.०० देखि २.४० सम्म ल्याउने विद्यार्थीको संख्या ५ हजार १९० रहेका छन् । १.६० देखि २.०० जीपीए ल्याउने विद्यार्थीको संख्या ७ जना रहेको बोर्डले जनाएको छ ।

प्रदेश अनुसार, यो वर्ष वर्गीकृत विद्यार्थी कोशीमा ५० हजार ८९०, मधेशमा ४४ हजार ५९२, बागमतीमा ७७ हजार ११३, गण्डकीमा २६ हजार ५५०, लुम्बिनी ४४ हजार २५६, कर्णाली १९ हजार ९५ र सुदूरमपश्चिमा २१ हजार ६६४ छन् ।

 

सरकारले १ महिनाभित्र नतिजा सार्वजनिक गर्न निर्देशन दिए अनुसार बोर्डले नतिजा सार्वजनिक गरेको हो । ‘३० दिनभित्र नतिजा सार्वजनिक गर्न सरकारले निर्देशन दिएको थियो । २९ दिनमै नतिजा प्रकाशित भएको छ,’ परीक्षा नियन्त्रक टुकराज अधिकारीले भने, ‘परीक्षा केन्द्रमा नै उत्तरपुस्तिका परीक्षण गरेकाले छिटो नतिजा सार्वजनिक गर्न सम्भव भएको हो ।’

विगतका वर्षहरूमा ३ महिनामा नतिजा सार्वजनिक हुने गरेको थियो । विद्यार्थीलाई तनाव हुन नदिन सरकारले १ महिनामा नतिजा सार्वजनिक गर्न भनेको हो ।

News Summary

  • सरकारले २८ वैशाखदेखि ८ जेठसम्म देशव्यापी ‘राष्ट्रिय सरसफाइ सप्ताह’ सञ्चालन गर्ने निर्णय गरेको छ।
  • स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले वीर अस्पतालमा सरसफाइ अभियानको शुभारम्भ गरेकी छन्।
  • सरकारी कार्यालय, स्वास्थ्य संस्था र शैक्षिक संस्थामा सरसफाइसँगै सूचना बोर्ड र भित्ताहरूको मर्मत तथा रङरोगन गरिनेछ।

२८ वैशाख,

सरकारले सरकारी निकाय र सार्वजनिक संस्थामा सरसफाइलाई संस्थागत गर्न देशव्यापी ‘राष्ट्रिय सरसफाइ सप्ताह’ सुरु गरेको छ ।

अभियानको सोमबार वीर अस्पतालमा सरसफाइ गरेर स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले शुभारम्भ गरेकी हुन् ।

सरकारले सोमबारदेखि ८ जेठसम्म संघ, प्रदेश र स्थानीय तहअन्तर्गतका सरकारी कार्यालय, स्वास्थ्य संस्था तथा शैक्षिक संस्थामा सरसफाइ अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो ।

कार्यक्रममा मन्त्री मेहताले सरसफाइलाई दैनिक व्यवहारमा रूपान्तरण गर्नुपर्नेमा जोड दिइन् ।

वीर अस्पताल देशकै पुरानो र सबैभन्दा बढी सेवाग्राही चाप रहेको अस्पताल भएकाले यहीँबाट सरसफाक्ष अभियान सञ्चालन गरेको उनले जानकारी दिइन् ।

सरसफाइसँगै अब सरकारी कार्यलयमा रहेका सूचना बोर्ड, नागरिक वडापत्र र सङ्केत चिह्नहरूलाई स्पष्ट र व्यवस्थित बनाइनेछ ।

चर्किएका वा उक्किएका भित्ताहरूको मर्मत र रङ्गरोगन गरि मुख्य सेवा क्षेत्र र प्रवेशद्वारलाई आकर्षक र सफा राखिने जर्नाएको छ ।

News Summary

  • राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गर्न आज वा भोलि बोर्ड बैठक बस्ने तयारी गरेको छ।
  • एसईई परीक्षा गत चैत १९ देखि २९ गतेसम्म सञ्चालन भएको थियो र यसपटक उत्तरपुस्तिका परीक्षा केन्द्रमै परीक्षण गरिएको थियो।
  • यस वर्ष ५ लाख १२ हजार ४२१ जना विद्यार्थीले फारम भरेका थिए, जसमा दुई लाख ५७ हजार ६१३ छात्रा र दुई लाख ५४ हजार ८०१ छात्र छन्।

२८ वैशाख,

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ । परीक्षा भएको एक महिनामा नतिजा सार्वजनिक गर्न लागिएको हो ।

परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार नतिजा प्रकाशनका लागि आईटीको टिमले काम गरिरहेको छ । ‘आइटीले अब बोर्ड बैठक बस्दा हुन्छ भनेपछि बस्छ,’ उनले भने, ‘आईटी टिमले आज काम सकिएमा आज, नभए भोलि सार्वजनिक गर्ने तयारी छ ।’

 

बोर्डका सदस्य सचिव जंगबहादुर अर्यालले पनि नतिजा प्रकाशनको गृहकार्य भइरहेको बताए । उनले भने, ‘नतिजा प्रकाशनको तयारीका लागि आज वा भोलि बोर्ड बैठक बस्छ ।’

एसईई परीक्षा गत चैत १९ देखि २९ गतेसम्म सञ्चालन भएको थियो । यसपटक परीक्षा केन्द्रमा नै उत्तरपुस्तिका परीक्षण गरिएकाले छिटो नतिजा सार्वजनिक गर्न लागिएको हो ।

 

‘शिक्षक साथीहरूको राम्रो सहभागिता रह्यो । परीक्षा केन्द्रमा नै उत्तरपुस्तिका परीक्षण भयो । रणनीति परिवर्तन हुँदा नतिजा छिटो सार्वजनिक गर्न लागेका हौँ,’ नियन्त्रक अधिकारीले भने ।

यसवर्ष एसईई परीक्षामा ५ लाख १२ हजार ४२१ जना विद्यार्थीले फारम भरेका थिए । नियमिततर्फ चार लाख ४१ हजार ५६६ जनाले र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ जनाले परीक्षाका लागि फारम भरेका थिए । जसमा दुई लाख ५७ हजार ६१३ छात्रा, दुई लाख ५४ हजार ८०१ छात्र र अन्य ७ जना छन् ।

 

पोखरा ।

पोखरा महानगरपालिका वडा नम्बर २ स्थित बागलुङ बसपार्कमा ग्याङ फाइट गर्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । गत वैशाख २२ गते राति करिब ९:३० बजेको समयमा भएको उक्त झगडाको भिडियो सामाजिक संजालमा भाइरल भएपछि जिल्ला प्रहरी कार्यालय कास्की र मातहतको वडा प्रहरी कार्यालय बगरबाट खटिएको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले वैशाख २६ गते पोखराको बाझपाटन र बागलुङ बसपार्क क्षेत्रबाट उनीहरुलाई पक्राउ गरी थप अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ । पक्राउ पर्नेहरुमा पोखरा महानगरपालिका वडा नम्बर १३ बाझपाटन बस्ने २७ वर्षीय सुजन आले मगर, सोही स्थान बस्ने मादी गाउँपालिका वडा नम्बर ११ का २३ वर्षीय राजेश परियार र गोरखा धार्चे गाउँपालिका वडा नम्बर ६ घर भई बाझपाटन बस्ने ३० वर्षीय दिपेश भन्ने दिलेराम गुरुङ रहेका छन् ।

 

त्यसैगरी नुवाकोट स्थायी ठेगाना भई हाल पोखरा २ बागलुङ बसपार्क बस्ने १८ वर्षीय सुजन तामाङ र २५ वर्षीय राजकुमार तामाङ तथा पोखरा २ बागलुङ बसपार्क बस्ने २० वर्षीया लिजा पुनलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुबीच लागुऔषध कारोबारका विषयलाई लिएर विवाद हुँदा झगडा भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक हरी बहादुर बस्नेतले ‘सामाजिक संजालमा सार्वजनिक भएको भिडियोका आधारमा खोजतलास गर्दा उनीहरु पक्राउ परेको र झगडाको मुख्य कारण लागुऔषध कारोबार देखिएको’ बताए । उनले सार्वजनिक स्थानमा अशान्ति मच्चाउने र गैरकानुनी गतिविधिमा संलग्न हुनेहरुलाई कुनै पनि हालतमा नछाडिने उल्लेख गरे । प्रहरीले पक्राउ परेका ६ जनामाथि नै म्याद थप गरी विस्तृत अनुसन्धान गरिरहेको छ ।

 

२७ वैशाख,

पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र उनकी पत्नी एवं पूर्वपरराष्ट्र मन्त्री डा. आरजु राणा देउवाविरुद्ध रेड नोटिस जारीका लागि प्रक्रिया सुरु भएको छ ।

रेड नोटिसका लागि इन्टरपोलले थप कागजात मागेपछि एनसीबी (नेसनल सेन्ट्रल ब्यूरो)ले उक्त विवरण पठाएको प्रहरी प्रधान कार्यालय स्रोतले जानकारी दिएको छ । ‘केही दिनअघि थप कागजात माग गर्दै इमेल आएकाले सोही अनुसार थप कागजात पठाएका हौं’, प्रहरी स्रोतले भन्यो ।

 

गत २४ चैतमा देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रका आधारमा काठमाडौं जिल्ला अदालतले उनीहरूविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । पक्राउ पुर्जी जारी भएसँगै देउवा दम्पतीलाई नेपाल ल्याउने प्रक्रिया अघि बढाएको थियो ।

देउवा दम्पतीविरुद्ध रेड नोटिसका लागि एनसीबीले औपचारिक रूपमा इन्टरपोललाई पत्राचार गरेको थियो । तर, इन्टरपोलले भने कागजात नपुगेको भन्दै रेड नोटिस जारी गरेको छैन ।

 

पक्राउ पुर्जी जारी हुँदा देउवा दम्पती भने विदेशमा छन् । चुनावको पूर्वसन्ध्यामा १४ फागुनमा देउवा दम्पती उपचारका लागि भन्दै सिंगापुर उडेका थिए । त्यहाँबाट उनीहरू ७ चैतमा हङकङ गएको बताइएको छ ।

यसअघि पनि जेनजी आन्दोलनपछि उपचारका लागि भन्दै देउवा दम्पती सिंगापुर गएका थिए । त्यतिबेला भने उपचार गरेर उनीहरू फर्केका थिए ।

अहिले भने १४ फागुनमा देश छाडेका उनीहरू अहिलेसम्म नेपाल फर्केका छैनन् । स्रोतका अनुसार उनीहरू अहिले पनि हङकङमै रहेका छन् ।

रेड नोटिस जारी भएको अवस्थामा इन्टरपोलका १९६ सदस्य मुलुकले देउवा दम्पतीलाई पक्राउ गर्न सक्ने छन् । यसरी पक्राउ परेको अवस्थामा कानुनी प्रक्रिया पूरा गरेर उनीहरूलाई नेपाल ल्याउन सकिने छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।