२०८३ बैशाख ३ बिहीबार
२०८३ बैशाख ३ बिहीबार

“फेसन बन्दै छाता: घामपानी छेल्ने वस्तु, ११ महिनामा ६२ करोडको आयात”

घाम र वर्षाबाट जोगिन छाता बोक्नेहरूको संख्या बढेसँगै यसको व्यापार पनि फस्टाएको छ। बर्खायाम सुरु भएपछि बजारमा नयाँ–नयाँ डिजाइनका रंगीबिरंगी छाताहरू भित्रिएका छन्। नेपाली संस्कृति र परम्परासँग जोडिएको छाता नेपालमा भने उत्पादन हुँदैन, पूर्ण रूपमा आयातमा निर्भर छ।

काठमाडौंको नयाँ बानेश्वर बस्ने रियाशा गोले फागुन महिनादेखि नै ब्यागमा छाता बोक्न छुटाउँदिनन्। घामको ताप र वर्षाको झरीबाट जोगिन उनको लागि छाता अनिवार्य भएको छ। “जाडो सकिएपछि मेरो ब्यागमा छाता कहिल्यै छुट्दैन। मलाई त छाताको सौख नै छ,” कालो–सेतो बुट्टा भएको छाता ओढेर बिजुलीबजारतर्फ हिँडेकी रियाशाले भनेकी छन्, “मैले हरेक वर्ष नयाँ छाता किन्छु। अहिले मेरो संग्रहमा लुगाको रङसँग मिल्ने ६ वटा स्टाइलिस छाता छन्।”

रियाशालाई छाता केवल घामपानीबाट जोगिन मात्र होइन, फेसनका लागि पनि उत्तिकै महत्त्वपूर्ण छ। विशेषगरी जापानी युवतीहरूले बोक्ने गुलाबी रङमा सेता बुट्टा भएका छाताहरू उनलाई निकै मनपर्छ। “मैले जापानमा बस्ने मामालाई त्यहाँको स्टाइलिस छाता पठाइदिन भनेकी छु,” उनले हाँस्दै भनिन्, “डिजाइन, रङ र बुट्टा मेरो रोजाइअनुसारको छ।” रियाशासँग न्युरोड, असन र बानेश्वरबाट २५० देखि ७५० रुपैयाँसम्ममा किनिएका छाताहरू छन्।

काठमाडौं कोटेश्वरकी सविना शाही पनि छाता बोक्न छुटाउँदिनन्। बर्खा सुरु हुनुअघि नै उनले बौद्धबाट ५८० रुपैयाँमा छाता किनेकी छन्। “यो मौसममा कहिले घाम चर्किन्छ, कहिले पानी दर्किन्छ, थाहै हुँदैन,” उनी भन्छिन्, “छाता बोकेपछि यी दुवै समस्याबाट छुटकारा पाइन्छ।”

छाता व्यापारमा वृद्धि

काठमाडौं उपत्यकामा छाता बोक्नेहरूको संख्या बढेसँगै यसको व्यापार पनि उकालो लागेको छ। बानेश्वरमा छाता बेच्ने सुशीला महर्जनले फागुनदेखि नै छाताको बिक्री सुरु भएको बताइन्। “यो वर्ष फागुनदेखि गर्मी बढेकाले त्यतिबेलैदेखि छाता किन्ने ग्राहक आए,” उनले भनिन्, “अहिले त बर्खा सुरु भइसकेको छ, व्यापार राम्रो छ।” उनले हालसम्म ७०० थान छाता बिक्री गरिसकेकी छन्। उनको पसलमा २५० देखि १,००० रुपैयाँसम्मका छाताहरू छन् र दैनिक औसत २० वटा बिक्री हुने गरेको उनले बताइन्।

नेपाली समाजमा छाता विवाह, व्रतबन्ध, जात्रा, स्वागत, सम्मान र मृत्यु संस्कारजस्ता शुभकार्य तथा धार्मिक कार्यमा अनिवार्य मानिन्छ। सडक र रेस्टुरेन्टलाई आकर्षक बनाएर ग्राहक तान्ने रणनीतिमा पनि छाताको प्रयोग हुन्छ। चितवनको अम्ब्रेला स्ट्रिट र काठमाडौंको न्युरोड गेटदेखि संकटा मन्दिरसम्मको रंगीचंगी छाताले सजिएको सडक यसका उदाहरण हुन्।

सुशीलाको अनुभवमा युवतीहरूले छातालाई फेसनका रूपमा रुचाएका छन्। उनीहरू बलियो र टिकाउभन्दा चिटिक्क र आकर्षक छाता रोज्छन्। फोल्ड गर्न मिल्ने, बुट्टा र जाली भएका वा प्रिन्टेड छाताहरू उनीहरूको रोजाइमा पर्छन्। भारत, चीन र हङकङबाट आयात हुने यस्ता छाताहरू बजारमा लोकप्रिय छन्।

नेपालमा छाता उत्पादन शून्य, आयातमा निर्भरता

नेपाली संस्कृति र परम्परासँग जोडिएको छाता देशमा उत्पादन हुँदैन। भन्सार विभागको तथ्यांकअनुसार नेपालले वार्षिक करोडौँ रुपैयाँको छाता आयात गर्छ। चालु आर्थिक वर्ष २०८१/८२ को साउनदेखि जेठसम्म ६२ करोड १ लाख ५५ हजार रुपैयाँको ४६ लाख ५६ हजार थान छाता आयात भएको छ।

गत आर्थिक वर्ष २०८०/८१ मा ६० करोड ३७ लाख १ हजार रुपैयाँको छाता आयात भएको थियो, जुन यो वर्षको तुलनामा २ करोड कम हो। आव २०७९/८० मा ६० करोड ३१ लाख रुपैयाँको ४९ लाख २७ हजार थान र आव २०७८/७९ मा ३६ करोड ३० लाख रुपैयाँको ३३ लाख ६३ हजार थान छाता आयात भएको थियो। यी तथ्यांकले छाता आयातमा क्रमिक वृद्धि भएको देखाउँछ।

कुन देशबाट आउँछ छाता?

भन्सार विभागका अनुसार नेपालमा सबैभन्दा धेरै छाता चीनबाट आयात हुन्छ। त्यसपछि हङकङ, भारत, थाइल्यान्ड र मलेसियाबाट आयात हुने गरेको छ। अस्ट्रेलिया, साउदी अरब, युनाइटेड अरब इमिरेट्स (यूएएई), बेलायत, कम्बोडिया, इजरायल, कतार र अमेरिकाबाट पनि केही मात्रामा छाता भित्रिन्छ।

विगतमा न्युरोड र असनमा छाता मर्मत र एसेम्बल गर्ने पसलहरू थिए, तर अहिले ती पसलहरू हराएका छन्। उद्योगीहरूका अनुसार नेपालमा छाता उत्पादन गर्नुभन्दा आयात गर्न सस्तो पर्ने भएकाले उत्पादनमा कसैको ध्यान गएको छैन।

विश्व बजारमा छाता

विश्व छाता बजारको आकार सन् २०२४ मा ५ अर्ब ६० करोड अमेरिकी डलर (७ खर्ब ६७ अर्ब २० करोड रुपैयाँ) रहेको विभिन्न अन्तर्राष्ट्रिय प्रतिवेदनले देखाएका छन्। यो बजार वार्षिक २ प्रतिशतले बढ्दै सन् २०३७ सम्ममा ७ अर्ब ४३ करोड डलर (१० खर्ब १७ अर्ब १९ करोड रुपैयाँ) पुग्ने अनुमान छ। विश्वका प्रमुख छाता उत्पादक कम्पनीहरूमा चीनको सन्नी ग्रुप, अमेरिकाको टोटस आइसोटोनर र बेलायतको फुल्टन अम्ब्रेलाज छन्।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।