प्रशासनको सूचना अटेरी गर्दै राजावादीहरूले भोलि दिउँसो त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा जुलुस निकाल्ने तयारी गरेपछि सुरक्षाकर्मीलाई ‘हाइ अलर्ट’मा राखिएको छ ।

आज साँझदेखि नै विमानस्थल परिसरमा नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीको तैनाथी बढाउन लागिएको हो । जिल्ला प्रशासन कार्यालय, काठमाडौँले भोलिदेखि विमानस्थल र आसपासका क्षेत्रमा पाँच जनाभन्दा बढी भेला भएर प्रदर्शन, जुलुस, र्याली र सभा नगर्नरनगराउन भन्दै सूचना जारी गरिसकेको अवस्थामा मेडिकल व्यवसायी दुर्गा प्रसाईंले चुनौती दिएका छन् ।
आज बिहान पत्रकार सम्मेलन गरेर उनले अन्तिम राजा ज्ञानेन्द्र शाहको स्वागतको लागि उपत्यका आसपासका जिल्लामा रहेका समर्थकलाई भोलि मध्याह्न १२ बजे विमानस्थल गेटमा आउन उर्दी जारी गरेका थिए । राजसंस्था पुनःस्थापनाको लागि संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीसमेत प्रशासनको प्रतिबन्धले पूर्वराजाको स्वागत नरोकिने चेतावनी दिएका छन् ।
विमानस्थलजस्तो संवेदनशील क्षेत्रमा राजावादीले भेला हुने तयारी गरेपछि सरकारले सुरक्षा तैनाथी बढाउन लागेको हो । विमानस्थल परिसरमा व्यापक सुरक्षाकर्मी परिचालनको तयारी भइरहेको एक उच्च प्रहरी अधिकारीले जानकारी दिए । उनका अनुसार प्रशासनको अटेरी गरेर राजावादीहरु भेला भएमा बल प्रयोग हुनेछ ।
‘स्थानीय प्रशासनले जारी गरेको सूचना नै मान्दैनौँ भन्नुहुन्छ भने प्रहरीले पनि आफ्नो कर्तव्य त पूरा गर्नुपर्ने हुन्छ’, उनले भने, ‘सुरक्षाकर्मीलाई अलर्टमा राखिएको छ, स्थिति हेरेर आवश्यकता अनुसार परिचालन हुन्छन् ।’











