मोरङको सुन्दरहरैंचा नगरपालिका–७, बेलगाछीमा यात्रुबाहक बसको ठक्करबाट सिटी सफारीमा सवार एक जनाको मृत्यु भएको छ भने चालक गम्भीर घाइते भएका छन्।

पूर्व–पश्चिम लोकमार्गस्थित बेलगाछी चोकमा विराटचोकबाट गछियातर्फ जाँदै गरेको मे १ ख २७९६ नम्बरको सुर्योदय यातायातको बसले बाटो क्रस गर्दै गरेको प्र.१–०२–००४ ह ४२२४ नम्बरको केरा बोकेको सिटी सफारीलाई ठक्कर दिएको हो।
दुर्घटनामा गम्भीर घाइते भएका सिटी सफारीमा सवार सुनसरीको इटहरी उपमहानगरपालिका–४ निवासी ६१ वर्षीय तुलसीप्रसाद गुरागाईंको नोबेल अस्पताल, विराटनगरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा सिटी सफारीका चालक बलबहादुर लिम्बु (४२ वर्ष), सुनसरीको दुहबी नगरपालिका–५ निवासी, गम्भीर घाइते भएका छन्। उनको पनि नोबेल अस्पतालमै उपचार भइरहेको छ।
बसमा रहेका अन्य यात्रुहरू सकुशल रहेको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धान अनुसार, बसको तीव्र गतिका कारण दुर्घटना भएको हो।
घटनापछि बस र चालक सुन्दरहरैंचा–७ निवासी ४२ वर्षीय लेप्चन साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ।











